MENU

समाचार

राष्ट्रपति भण्डारी युएईमा (भ्रमण तालिका)

राष्ट्रपति भण्डारी युएईमा (भ्रमण तालिका)

उमाकान्त पाण्डे/उज्यालो । 

कात्तिक २८ – सोमबार साँझ आबुधाबी आएकी राष्ट्रपति भण्डारीलाई विमानस्थलमा भब्य स्वागत तथा सम्मान गरिएको छ । सम्मानपछि उहाँलाई आबुधाबीमा रहेको इमिरेट्स प्यालेस होटलमा राखिएको छ । 

राष्ट्रपति भण्डारी यहाँ रहुन्जेल सोही होटलमा बस्नुहुने छ । भण्डारीले मंगलबार आबुधाबीका युवराज तथा सशस्त्र बलका नायव सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा दुई देशबीचको कुटनैतिक सम्बन्ध, आपसी सहयोग तथा अन्य विषयमा छलफल हुनेछ । 

बुधबार दिउँसो युएईको दुवई इमिरेट भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ । दुवईमा युएईकी महिला सभामुख तथा फेडेरल अफ नेसनल काउन्सिल (एफएनसी)का अध्यक्ष शेखा अम्मल अल क्वीवीसीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

बुधबार नै दुवईमा रहेको संसारकै अग्लो भवन बुर्ज खालिफा र अन्य पर्यटकीय स्थलको भ्रमण गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले बुधवार साँझ आबुधाबीमा रहेको होटल कन्टिनेन्टलमा नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममार्फत युएईमा रहेका नेपालीलाई सम्बोधन गर्नुहुने कार्यतालिका छ । कार्यक्रममा युएईमा सक्रिय विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, व्यवसायी लगायतको उपस्थिति रहने दूतावास स्रोतले जनाएको छ । 

राष्ट्रपति भण्डारी बिहीबार बिहान आबुधाबीमा ६ सय भन्दा बढी कलाकृति प्रदर्शन गरिएको लुभ्रु संग्रहालय पुग्ने र सोही दिन दिउँसो इतिहाद एयरवेजको उडानमार्फत नेपाल फर्किने कार्यक्रम छ । राष्ट्रपति भण्डारीलाई युएईको आन्तरिक भ्रमण सडक, जल, हवाइ यात्रा मार्फत तय गरिएको छ ।  चार दिने औपचारिक भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार साँझ युएई आइपुग्नु भएको हो । 

नेपाल र युएईबीच कुटनीतिक सम्बन्ध स्थापनाको ४० वर्ष पूरा भएको अवसरमा आबुधावीका युवराज तथा यहाँका सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार इतिहाद एयरवेजको उडानबाट युएई आउनु भएको हो । 

उहाँको स्वागत तथा सम्मानका लागि युएईका मानव संशाधनमन्त्री नासर थानी अल हमेली लगायत युएईका उच्च सरकारी अधिकारी विमानस्थल पुगेका थिए । साथै राष्ट्रपति भण्डारीको स्वागतमा नेपालका लागि युएईका राजदूत साइद हमदान अल नाकेइ आबुधावी विमानस्थल पुग्नुभएको थियो । राष्ट्रपतिको भ्रमणबारे नेपालमा तयारी सकेर केही दिन अघी मात्रै उहाँ युएई आउनु भएको हो । 

त्यस्तै स्वागतका लागि युएईका लागि कार्यबाहक नेपाली राजदूत नेत्रबहादुर टन्डन, दूतावासका प्रवक्ता द्वितीय सचिव कृष्ण अर्याल, द्वितीय सचिव बिष्णु अधिकारी तथा श्रम काउन्सिलर भेषबहादुर कार्की र श्रम सहचारी हिराकुमारी यादव सहित दूतावासका कर्मचारी पनि विमानस्थल पुगेका थिए । 

नेपालका लागि भारत र चीनपछि युएई तेस्रो ठूलो व्यावसायिक साझेदार मुलुक हो । युएईबाट वार्षिक ५‍.१ प्रतिशत सामान नेपालमा आयात हुने र नेपालबाट युएईमा ०.४ प्रतिशत निर्यात हुने गरेको छ । अन्य देशको तुलनामा युएई नेपाली कामदारका लागि पहिलो सुरक्षित गन्तब्य मुलुक हो ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।