MENU

विशेष

सीप सिके काम र कमाई दुवै राम्रो

सुष्मा साह/सर्लाही ।

पुस १२ – सर्लाहीको सुन्दरपुर गाविसकी संझदेवी ३४ वर्षकी हुनुभयो । १६ वर्षमा बिहे गरेकी संझ ५ छोरीकी आमा भइसक्नुभयो । कलिलै उमेरमा बिहे गरेकी संझलाई सानै उमेरमा ठूलै जिम्मेवारी आयो ।त्यसमाथि श्रीमानको निधन भयो । त्यसैले कहिले काहिँ त जिन्दगीदेखि हार पनि नलागेको होइन उहाँलाई । ‘अब नसक्ने रहेछु यिनीहरुलाई कसरी पाल्ने अनि कसरी घर धान्ने भन्ने चिन्ता थियो’ संझ भन्नुहुन्छ । तर संझदेवीलाई अहिले यो चिन्ता छैन । 

सर्लाही मलंगवाकी संझादेवी १७ वर्षको हुँदा २०५६ फागुनमा सुन्दरपुर गाविसका विनोद रायसँग बिहे गर्नुभयो । १३ वर्षको अन्तरमा ५ छोरी जन्मिए । परिवारमा संख्या बढेसँगै समस्या पनि बढे । त्यही भएर विनोदले विदेश जाने सोच्नुभयो । विदेश जाने तयारीमा मेडिकल गर्न पुगेका विनोदलाई जण्डिस रहेको र त्यो पनि धेरै पुरानो भएको भनेपछि विनोदसँगै उहाँको परिवार छाँगाबाट खसे जस्तै भयो । न विनोदलाई त्यो भन्दा अघि कुनै समस्या देखिएको थियो न त कुनै लक्षण नै । कमाउने मेलो नभएकाले विदेश जान लागेका विनोदको उपचार गर्ने पैसा परिवारसँग थिएन । त्यसैले संझले तीन लाख रुपैयाँ ऋण खोज्नुभयो । ऋण खोजेर उपचार गराए पनि संझले श्रीमानलाई बचाउन सक्नुभएन । विनोदको २०६९ जेठ १० गते निधन भयो । 

आर्थिक संकटमा परेकी संझदेवीलाई ऋण त लाग्यो नै श्रीमान पनि रहनुभएन । विनोदका दाजुभाइले उहाँ बिरामी हँुँदा सहयोग गरेनन् । उहाँ बितेपछि संझदेवी र छोरीहरुको हेरचाह पनि गरेनन् । विनोदको निधनपछि गाउँलेले भए नभएको आरोप मात्रै लगाए उहाँलाई । त्यसैले संझदेवी घर छोडेर माइतमा बस्न थाल्नुभयो । त्यसपछि उहाँले विद्यालयको सहयोगीको काम गर्न थाल्नुभयो । 

छोरीहरुसँग माइती बसेकी संझदेवीले विनोदको परिवारसँग अंशको मुद्दा पनि लड्नु भयो । मुद्दा जितेर पाएको जग्गा बेचेर उहाँले श्रीमानलाई उपचार गर्न लिएको ऋण तिर्नुभयो । बाँकी बसेको रकमले मलंगवामा खेत किन्नुभयो । माइतबाट पाएको जग्गामा सानो घर बनाएर छोरीहरुसँग त्यहीँ बस्न थाल्नुभयो ।

संझदेवी काममा जानुपर्ने त्यसैले छोरीहरुको हेरविचार गर्ने कोही नभएपछि उहाँकी आमाले छोरीहरु स्याहारेर उहाँसगै बस्न थाल्नुभयो । विद्यालयको सहयोगीको काम चल्दै थियो तर त्यसबाट आउने तलबले परिवार चलाउन पुग्दैनथ्यो उहाँलाई । त्यसैले तरकारीको व्यापार थाल्नुभयो । त्यसले खान लाउनै पुगेन उहाँको परिवारलाई ।

त्यसपछि भने उहाँको यात्रा अन्तै मोडियो । त्यतिञ्जेल गाउँमै सम्भावना खोजेकी संझदेवीले अब भने विदेश जाने निर्णय गर्नुभयो । तर उहाँलाई विदेशका बारेमा त्यति धेरै जानकारी थिएन । ‘विदेश जाँदा पैसा कमाउन सकिएला कि भन्ने लाग्यो । तर कहाँ जाने, कसरी जाने अनि के काम गर्ने भन्ने केही थाहा थिएन । त्यसैले उहाँ मंलगवामा रहेको सूचना केन्द्रमा पुग्नुभयो । सूचना केन्द्रबाट विदेशको जानकारी मात्रै होइन विदेश जाँदा लिन पाइने तालिमको जानकारी पनि पाउनुभयो उहाँले । उहाँले गार्मेण्टको काम सिकेर विदेश जाने निर्णय गर्नुभयो । 

मलंगवाबाट सीप सिक्न आएकी संझदेवीले आफूले भने जस्तै सीप सिक्नुभयो एफ स्किलको सहयोगमा । सीप सिकेर फर्किएकी संझदेवी फ्रि भिसा फ्रि टिकटमा जोर्डन जान पाउनुभयो । उहाँले १५ हजार रुपैयाँ ऋण लिएर लुगा किनेर घरबाट काठमाडौं हिँड्नुभयो । सामान बसमै चोरी भए पनि उहाँ आत्तिनुभएन । फेरि सामान किन्नुभयो र २०७२ असोज २१ गते जोर्डन उड्नुभयो । 

जोर्डनमा उहाँले यहाँ सिकेकै काम अर्थात गार्मेण्टकै काम पाउनुभयो । उहाँको तलब महिनाको ३५ हजार थियो । ‘यहाँ काम सिकेर गएकाले सजिलो भयो अनि तलब पनि भने जस्तै पाएँ’ खुशी हुँदै संझदेवीले सुनाउनुभयो । 

विदेश जाँदा १५ हजार भन्दा अरु ऋण थिएन । त्यसैले उहाँले कमाएको पैसा छोरी पढाउन थोरै खर्च भयो अरु सबै बच्यो । त्यही पैसाले अहिले आफ्नै पक्की घर बनाउनुभएको छ । 

संझाले श्रीमानको निधन हुँदा र घर परिवारले पनि साथ नदिँदा छोरीहरुलाई हुर्काउन र पढाउन सकिँदैन होला भन्ने साच्नुभएको थियो । तर आज त्यसका लागि पनि सक्षम हुनुभएको छ उहाँ । सीप सिकेर गएकाले आफूलाई सजिलो भएकाले विदेश जान चाहनेलाई सीप सिकेर जान उहाँको सुझाव छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • नेपालमा त सरकार नै छैन भन्दानि हुन्छ। यदि भएको भए त म्यानपावरका दलालहरुले किन मनपरी गर्थे र ? जवकी खाडी मुलुकमा जानको लागी फ्री भिसा फ्री टिकट अनि जम्मा दश हजार रुपैयाँ तोकेकोमा मान्छे बेच्न पल्केका दलालहरुले खाडी मुलुक अन्तरगत संयुक्त अरब इमिरेट्स अबुधाबिको पि.एस.बि.डी.सेक्युरिटी गार्डको लागी ४ लाख ५० हजार रुपैयाँ लिरहेकाछ्न्। यो सरासर सरकारको आँखामा छारो हालेको भएन र ? यदि हाम्रो देशमा सरकार छ भने अबिलम्व त्यस्ता म्यानपावर भनाउँदा दलालहरु उपर छानबिन गरी कार्वाही होस्।

    देब सल्यानी देबु
  • मरुभुमिको यो तातो घाममा दिनभरी गैती र बेल्चा हान्नुपर्छ। न त भने जस्तो खान पाइन्छ न थकाइ लाग्यो भनेर थकाइ नै मार्न पाइन्छ। खाना पनि बासिभात खानुपर्छ। नत राख्ने ठाउँ छ ल्याएर एउटा खजुरको बोट मुनि राखेर काम थाल्नुपर्छ। भरे खाने बेलामा त्यो तातो घामले गजज्ज पानी आइराखेको हुन्छ। बाध्यता, त्यसैलाइ पानी हालेर पखालेर खानुको बिकल्प अरु केनै छ  र? खुन र पसिनामा निथ्रुक्क भिजेर यो दुःखी जीवन यस्तै छ। यस्तो परिश्रम गर्ने हो भने त हाम्रो देशमा सुन फलाइन्छ। जय मार्तीभुमी। 

    दोहा, कतार
  • म युरोपको इटली आएको चार बर्ष भयो। सोचे जस्तो काम नपाएर बाच्नै मुश्किल भइरहेको छ। बस्न खान मात्रै नेपाली ४०-४५ हजार लाग्छ।  अहिले आएर लाग्छ कि नेपालमै मेहनेत गर्दा हुने थियो बरु। के गर्नु विदेशको जिन्दगी। युरोपमा त सजिलै पैसा कमाउन सकिन्छ भन्ने सोचेको थिए।

    किरण थापा /इटहरी (हाल इटली)
  • खनाइदैछ श्रम खाड़ीको देशमा, सबै सोच्छन सुन फल्छ विदेशमा, नेपालमा पैसा हैन श्रम सम्मानको खाँचोंछ, विदेशमा पसीना बग्दैछ तर मातृभूमि बाझो छ।

    राकेश लुइटेल / भक्तपुर
सबै हेर्नुहोस