MENU

विशेष

‘आमा ढुङ्गा बोकेर भएपनि पढाउनु पछि हेर्छु’ छोराको कुराले विदेश जाँदैछिन् भावना

 मोहन पौडेल/उज्यालो ।

काठमाडौं, पुस १४ – साउदी जान लाग्दा दिदीले भावनालाई सँगै विदेश हिँड भनेर पटक पटक भन्नुभयो तर भावना मान्नुभएन । त्यति बेला दिदीले भारतको बाटो हुँदै जाने भनेपछि उहाँले त्यसमा जोखिम देख्नुभयो । त्यही भएर म त्यसरी जान्न भनेर बस्नुभयो । 

तर अहिले विदेश नगइ नहुने बाध्यता आयो । साउदी गएकी दिदी उतै सम्पर्कविहीन हुनुभएको छ । न भनेको बेलामा बोल्न पाइन्छ न त परिवारमा परेका सारो गाह्रो सुनाउन नै । विदेश गएका अरु महिलाको अवस्था राम्रो छैन भन्ने हरेक दिन जसो सुन्नुहुन्छ । त्यही माथि पढाइ पनि छैन भावनाको । त्यसैले विदेश जान जोखिम छ भन्ने थाहा छ उहाँलाई । तर जोखिम हुँदा हुँदै पनि विदेश जान बाध्य हुनुभएको छ । श्रीमान् र तीनजना छोरी अनि सासु ससुरासहित ७ जनाको परिवार भावनाको । कैलालीको चौमाला गाविसको राजिपुरमा बस्ने भावनाको परिवारको आफ्नो जग्गा जमिन पनि छैन अनि घर पनि । त्यसैले झण्डै १२ वर्षअघि श्रीमान दिपक भारत जानुभयो । भावनालाई श्रीमानले कमाउनुहुन्छ अनि त घरपरिवारको अवस्था सुध्रिन्छ भन्ने लागेको थियो । श्रीमानले कमाउनु पनि भयो । श्रीमानकै कमाइले परिवारलाई लागेको पहिल्यैदेखिको ऋण पनि तिर्नुभयो । त्यसपछि भने उहाँलाई भारतको भन्दा धेरै कमाउने आशा जाग्यो । भारतको कमाइले ऋण तिरेँ अब विदेश जान पाए कमाउन र जमाउन सकिन्थ्यो भन्ने लागेर उहाँ घर फर्किनुभयो । 

श्रीमानको योजना भावनालाई पनि ठिकै लाग्यो । त्यसैले उहाँले विदेश पठाउने पैसा जोहो गर्न थाल्नुभयो । काठमाडौं आएका दिपकलाई पासपोर्ट बनाउन ४५ हजार रुपैयाँ लाग्यो । ‘५ हजारदेखि ५५ सय रुपैयाँसम्ममा बन्ने पासपोर्टका लागि त्यत्रो पैसा खर्च भयो । त्यो दलालले पैसा खाइदिएछ’ भावनाले धेरै पैसा लाग्नुको कारण सुनाउनुभयो । पासपोर्ट लिएर म्यानपावर पुगेका दिपकलाई ड्राइभरको काममा पठाइदिने भन्दै डेढ लाख रुपैयाँ लियो । पासपोर्ट बनाउँदा, काठमाडौं आउँदा जाँदा अनि बस्दाको खर्च सबै जोड्ला अढाइ लाख रुपैयाँ लाग्यो । खर्च भएपनि कमाइ पनि हुन्छ भन्ने आशा थियो भावनाका जोडीलाई । त्यही भएर आफूसँग पैसा नहुँदा पनि ऋण खोजेर विदेश जाने आँट गरे । साउदी पुगेका दिपकले भनेकै काम पाउनुभयो । कमाइ पनि ठिकै थियो । तर काम थालेको ९ महिना नपुग्दै दुर्घटनामा पर्नुभयो । 

दुर्घटनामा परेपछि दिपकलाई टाउको दुख्ने समस्या देखियो । ‘अलिअलि त भारतमा हुँदा पनि दुख्थ्यो तर दुर्घटनापछि खप्नै नसक्ने गरी टाउको दुख्न थाल्यो’ दिपकले भन्नुभयो । टाउको दुख्ने समस्या बढ्दै गएपछि दिपक एकोहोरो हुन थाल्नुभयो । ‘समस्या विस्तारै मानसिक समस्या जस्तो देखिन थालेछ त्यही भएर घर फर्कायौं’ भावना भन्नुहुन्छ । 

श्रीमानलाई घर त ल्याउनुभयो तर भावनासँग उहाँको उपचार गर्ने पैसा छैन । त्यसमाथि छोराहरुलाई पढाउने खर्च पनि भावनाकै काँधमा छ । भावनाका ९, ६ र ५ वर्षका छोरा छन् । सुरुमा त छोराहरु सरकारी विद्यालय पढ्थे । श्रीमानले केही कमाएपछि अरुका छोराछोरीले जस्तै पढाइ राम्रो होस् भनेर भावनाले उनीहरुलाई पनि बोर्डिङमा भर्ना गर्नुभयो । बोर्डिङ हाल्दा छोराको कक्षा घटेपनि खर्च बढ्यो । सरकारी विद्यालयमा तीन कक्षामा पढ्दै गरेका ठूलो छोरा बोर्डिङमा यु केजीमा पुग्यो भने अरु दुई जना नर्सरीमा भर्ना भए । श्रीमानले कमाउञ्जेल सासु ससुरासँग मिलेर आफूले चलाएको सिलाइ पसलको कमाइले घरको खर्च धान्दै थियो । तर श्रीमान बिरामी भएर फर्किएपछि सिलाइ पसलको कमाइले पुग्ने कुरै भएन । त्यसैले भावना अब विदेश जाने निधोमा पुग्नुभयो । 

उहाँले विदेश जान पासपोर्ट बनाइसक्नुभएको छ । तर अरु धेरै महिला जस्तै समस्यामा पो परिने हो कि भन्ने चिन्ता छ उहाँलाई । ‘जोखिम छ भन्ने पनि थाहा छ तर छोराको भविष्य हेर्नुपर्यो नी सर । अहिले मलाई ढुङ्गा बोकेर भएपनि पढाउनु म पछि तपाईंलाई हेर्छु ममी भन्छ अनि म के गर्नु’ भावना भन्नुहुन्छ । 

दिदी बेपत्ता भएको कुराले झस्काउँछ 

अवस्था कमजोर हुँदै गएकाले भावनाले तयारी गरेको केही महिना भयो । आफूसँग सिलाइको सीप भएकाले त्यही काममा विदेश जान भावनाको तयारी छ । त्यसकै लागि उहाँले यही पुस २६ गतेदेखि सिलाइको तालिम पनि लिँदै हुनुहुन्छ । तालिम लिएर जाने तयारी भएपनि दिदी साउदीमै सम्पर्कविहीन भएको घटनाले झस्काइरहेको छ भावनालाई । त्यति मात्रै होइन रेडियो, टिभी अनि पत्रपत्रिकामा विदेशमा समस्यामा परेका महिलाका कुरा सुन्नु, हेर्नु, अनि पढ्नुभएको छ । ‘त्यसैले कतै मलाई पनि त्यस्तै हुने हो कि भन्ने निकै डर लाग्छ’ भावना भन्नुहुन्छ ।  उहाँकी दिदी भारत हुँदै साउदी जानुभएको थियो । एक वर्षसम्म फोन हुँदै थियो तर त्यसपछि उहाँ सम्पर्कविहीन हुनुभएको छ । त्यही भएर पनि भावना धेरै आत्तिनुभएको छ । उहाँकी साथी डेढ वर्षअघि जोर्डन जानुभएको थियो । सिलाइकै काममा गएकी साथी श्रीमान् विदेशबाट फर्किने बित्तिकै फर्किन पाउनुभयो । त्यसैले उहाँ जोर्डन नै जान लाग्नुभएको हो । तर रहरभन्दा धेरै बाध्यता भएको उहाँ बताउनुुहुन्छ । भन्नुहुन्छ ‘बाध्यता थिएन भने यति धेरै जोखिम हुँदा हुँदै किन जान्थें र ?’

(दिनेश एफएमका रोहित गिरीको सहयोगमा) 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
  • साउदी अरेबियामा आजिवन जेल परेका स्थानेस्वरलाई बचाउ अभियान नै चलाइदै रहेछ, राम्रो कुरा हो। बिगतमा पनि अमर राई र बमबहादुरको लागि चाहिने भन्दा धेरै रकम संकलन भएको थियो। अझ एकजनाको त पुरै ब्लडमनि अज्ञात ब्यक्तिले दिएको थियो। त्यो पैसा अहिले कहाँ र कोसँग छ ? त्यस्को सोधी खोजी कसले गर्ने ? यदि त्यो पैसा त्यस्तै निर्दोशलाई बचाउन राखिएको हो भने त्यसबाटै स्थानेस्वरलाई बचाउन सकिँदैन र ?

    दुर्गेस सापकोटा
  • मलेसियामा न त कानुनसम्बन्धी कुनै भरपर्दो निकाए नै छ जस्ले कामदारका हितमा सघाओस् न त भनेजस्तो तलब सुबिधानै। अन्तराष्ट्रीय नियम अनुसार श्रमिकहरुको न्युनतम कामगर्ने समय र महिनाभरी पर्ने पब्लिक डे र अन्य बिदाको त कुनै अर्थ नै छैन। न त कम्पनीले दिन मान्छ, न यहाँको सरकारी निकायबाट छानबिन नै हुन्छ। दिनरातको असुरक्षित बातावरणमै दुःखमा दिन बिताउन बाध्य छ्न् यहाँ कार्यरत अधिकांश नेपाली कामदारहरु। नेपालसरकारको त कुरै नगरौँ, दुतावासले सहयोग गर्ला सोच्योकी बिचौलियालाई ठिक्क पारिन्छ।

    करन महरा / मलेसिया
  • मलेसियामा सुरक्षा गार्ड कम्पनीले श्रम सम्झौतामा उल्लेख  भए अनुसारको न काम दिन्छ, न त  तलब नै। आफ्नो ब्यक्तिगत सुरक्षाको त कुरा नै नगरौं। त्यस्तै परे आफ्नो कम्पनीको मानिसले नै कुन बेला मान्छे र पुलिस लगाएर कुटाउन बेर लगाउदैन। हामी श्रमिकले त नेपालका म्यानपावरलाई एक देखि दुई लाख सम्म बुझाएका हुन्छौं। मलेसियामा बेसिक नौं सय रिङ्गिट  गरी जम्मा १६ सय हुन्छ। होस्टेल, लेबि, ड्रेस अनि यातायातको पैसा कट्दा र खाना खाँदा मुस्किलले एक बर्षमा ऋण तिरिएला। बरु यो भन्दा नेपाल सकारले मालेसियामा कामदार पठाउन बन्द गरेर विकल्प खोज्नुपर्छ। किनकि नेपालको दूतावासले पनि दीर्घकालीन समाधान भन्दा कामदारलाई  थम्थमाउने तिर मात्र लागेको देखिन्छ।

    ठाकु योञ्जन / मलेसिया
सबै हेर्नुहोस