MENU

विशेष

१० वर्ष बित्यो मलेसिया गएको छोराको फोन कुर्दै छिन् देवकी

रामकुमार थापा/धादिङ ।

पुस १५ –  दामोदरको घर पुग्ने बित्तिकै उहाँका साथीले घेरेर भन्न थाले सर जसरी भएपनि दामोदरलाई नेपाल झिकाउन पर्‍यो ।  तिनै मध्येका एक युवाले  भने ‘हामीले गर्न सक्ने काम गरिसक्यौं यहाँभन्दा उता के गर्ने हामीलाई थाहै छैन ।’ गजुरीको कालिका मन्दिरबाट त्रिशुलीको झोलुङले पुल तरेर ३० मिनेटको पैदल हिँडेपछि दामोदर पण्डितको घर पुग्दा आएको आग्रह हो यो । कमाउन विदेश गएका दामोदर १० वर्षसम्म पनि घर नफर्किएपछि परिवारमा पीडा मात्रै छ यतिबेला । आमा देवकी पण्डितले भेट्नासाथ भन्नुभयो ‘छोराको फोन पर्खेर बसेको पनि १० वर्ष भइसक्यो तर अहिलेसम्म न फोन आउँछ न त चिठ्ठी आउँछ, छोरो आउने बाटो हेरेर बसेको वर्षौं बितिसक्यो ।’ धादिङको कुम्प्पुर गाविस–३ को माझिटारका दामोदर मलेसिया गएको १० वर्ष भयो । 

त्यतिबेला दामोदर घरमै खेतबारीको काम गर्नुुहुन्थ्यो । पढाइ थिएन । एसएलसीसम्म मात्रै पढेकाले जागिर खाने कुरै भएन । त्यसैले उहाँ विदेश जाने हुनुभयो । तर घर सल्लाहमा होइन । विदेश जानकै लागि उहाँले आफ्नो अंश मागेर ६० हजार रुपैयाँमा बेच्नुभयो अनि विदेश जान मामा पर्ने एजेण्टलाई पासपोर्ट बुझाउनुभयो । 

एजेण्टले दामोदरलाई काठमाडौंमा रहेको क्लासिक ओभरसिज म्यानपावरमा पुर्‍याए । अनि म्यानपावरले मेलेसियामा रहेको गुडवे रबर कम्पनी पठाउने भन्दै सम्झौता गर्यो । काठमाडौंमा म्यानपावरले गुडवे रबर कम्पनीका लागि भनेर सम्झौता गरेको थियो । तर मलेसिया पुगेपछि दामोदरले फलामको काम गर्नुपरेको भन्दै फोन गर्नुभएको थियो । त्यसैले कमाइ पनि छैन भन्नुभयो बुवासँग । 

छोरालाई विदेश पठाउनुभन्दा पनि पहिलेदेखिको तीन लाख रुपैयाँ जति ऋण थियो घरमा । त्यसैले बिष्णुप्रसादले छोरालाई तत्कालै घर बोलाउन पनि सक्नुभएन । ‘अवस्था नै राम्रो थिएन, त्यसैले मैले ऋण छ अहिले जसोतसो गरेर काम गर अलिक पछि घर आउनु भनेको थिएँ’ विष्णुप्रसाद पण्डितले भन्नुभयो । ऋण त नेपाली सेनाका जागिरे माइला छोरा अनि आफैं जेनतेन गरेर तिर्नुभयो विष्णुप्रसादले । 

त्यो फोन पछि भने न दामोदरको फोन आयो न त उहाँ नै । फोन गर्दै गरेको छोरो बेपत्ता भएपछि पण्डित परिवारमा तनाव भएको छ । ‘त्यो पनि एक दुई वर्ष होइन दश वर्ष भइसक्यो’ आमा देवकी पण्डित भन्नुहुन्छ ‘नजिक भए पो कुदेर गएर भेट्नु सात समुद्र पारि छ के गर्ने गर्ने ?’

छोरो बेपत्ता भएपछि विष्णुप्रसाद म्यानपावरमा पनि पुग्नुभयो । तर म्यानपावरले दामोदरका बारेमा केही बताएन । पहिला काम गरेको कम्पनी छोडेर अन्तै गएकाले आफूहरुलाई केही जानकारी नभएको उत्तर दियो म्यानपावरले । 

भाइ र बहिनीको बिहे भइसक्यो तर दामोदरको बिहे पनि भएको छैन । बिहे गर्ने बेलामा छोरा फर्किने बाटो हेरिरहेकी देवकी भन्नुहुन्छ ‘यसरी कतिञ्जेल बाँच्ने ?’ छोराको खोजी गरिदिन आग्रह गर्दै देवकी पण्डितले धादिङको सूचना तथा परामर्श केन्द्रमा निवेदन दिनुभएको छ । तर कागजपत्रको अभावमा खोज्न समस्या भएको सामी परियोजनाका कार्यक्रम संयोजक गंगा सुवेदीले बताउनुभयो । दामोदरको परिवारले उहाँको पासपोर्ट नम्बर २६६८३२७ रहेको भन्दै कसैले देखे वा भेटे खबर गरिदिन पनि आग्रह गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • आफ्नै देशमा रोजगारिको ग्यारेन्टी गर्न सक्दैन नेपाल सरकारले ।  त्यसैको फलस्वरुप लाखौं यूवा परदेशिन बाध्य भएकाछन्।  तर परदेशमा पनि अरु देशका नागरिकलाई झैं हेर्दैनन संबन्धित कम्पनिहरुले। तलव देखि लिएर बस्ने ठाउँ सम्ममा गिराएको हुन्छ नेपाली कामदारलाई। एउटै कम्पनीमा उस्तै काम, अझै भन्ने हो भने अरु देशका कामदार दक्ष नभए पनि तलब भनेजस्तै हुन्छ। नेपाली कामदार दक्ष नै होस् तर हेपिनैरहेको देखेकोछुँ । तर हाम्रो बिलौना कस्ले हेर्ने? कस्ले सुनिदिने? नेपाली दूतावासमा न्याय खोज्न गयो, उतै दलाल भेटिन्छन्। उल्टै हाम्रै गल्ती देखाउछन्।  प्रधानमन्त्री ज्यु भ्याए सम्म साउदी, कतार, मलेसिया आएर संबन्धित निकायसँग जोडिनुस्।    

    बिष्णु धिताल/ गोर्खा (हाल मलेसिया)
  • परदेशि भएर बाच्नु भनेको आफ्नो बाल बच्चाको भबिष्य बिगार्नु रैछ। आज म घरबाट हिडेको २० बर्ष भयो। दिन बित्न केहि बेर लागेन तर पछाडि फर्कि हेर्दा जहाँ को त्यही देख्दछु। यतिका बर्ष पदेशमा बसेर पनि कुनै कुराको परिवर्तन भएन।

    तुल मगर/ बर्दघाट, परासि (हाल दुवई)
  • विदेश जाने सोच्नु भएका साथिहरु कृपया कुनै पनि देश जानु भन्दा अगाडी त्यस देशको रहनसहन, भेषभुषा, धर्म, भाषा, वातावरण र काम गर्न जान लागेको कम्पनी नयाँ होकी पुरानो ! यस्ता कुरा राम्ररी बुझ्नुहोला। यदि नयाँ कम्पनी हो भने कामदार कति छन त्यस्ता कुरा पनि ध्यान दिनु पर्छ। विदेशीएका मध्य धेरैले भनेको काम नपाउनु, भने जति पैसा नपाउने भनेका यस्तै नयाँ कम्पनीहरु हुन। त्यसैले जसरी विदेश जान गाह्रो छ, त्यसको दश गुणा स्वदेश फर्कन छ। त्यसैले यदि जानु हुन्छ भने शाहस बोकेर जानुहोला। जस्तो सुकै काम गर्न सक्छु भन्न सक्ने मात्र जानु होला। विदेशमा सजिलो काम भन्ने हुदैन। अत्यन्तै गाह्रो हुन्छ। गए पछि तुरुन्त फर्कन सकिन्न। यदि फर्किहाले पनि लगानी डुब्छ। बरु त्यो लगानी नेपालमा गर्नुहोस। त्यहि लाभदायक हुनेछ। 

    हरि थापा/ भेड्पु दोलखा (हाल मलेसिया)
  • समस्या त धेरै छन् तर समस्यामध्ये मुल समस्या भनेको यो परदेशमा समयमा तलब नपाउने तलब पाए पनि आफूले गरेको कामको पुरा नपाउने।  साथै कामदारको लागि कम्पनीले दिने खाना अनि बस्ने ठाँउ राम्रो नहुनु। अनि मेरो आफ्नै अनुभवमा भन्नु पर्दा अर्को समस्या हामी आफैमा पनि हुन्छ। जस्तै कि आउने देशको भाषा, नियम कानुन, कामको बारेमा राम्रो जानकारी नहुनु। त्यसैले वैदेशिक रोजगारीमा आउनु भन्दा पहिला आफू जाने देशको बारेमा केही न केही जानकारीहरु हुनै पर्ने रैछ।

    राज कुमार तामाङ /अबुधाबी,युएई
सबै हेर्नुहोस