MENU

विशेष

छिनमै २० लाख कमाउन खोज्दा १० लाख यसरी फुत्कियो

उजिर कार्की/उज्यालो । 

काठमाडौं, पुस २० - लमजुङको बेंसीसहर घर भै कामाडौंको बसुन्धरा बस्ने मिनमाया तामाङले वर्षौं मलेसिया बस्दापनि कमाउन नसकेको रकम केही मिनेटमै कमाउने सपना देखिन् । यो सपना देखाएका थिए सिन्धुपाल्चोकको कर्थली ६ का ३३ वर्षीय लक्ष्य भन्ने नारायण बहादुर भण्डारी र उनकै गाउँले भाइ २३ वर्षीय सरोज भण्डारीले । 

मिनमायाका श्रीमानसँग नारायणको ६ महिना पहिले मलेसियाको केलाङमा सामान्य चिनजान भएको थियो । मिनमाया र उनका श्रीमान् मलेसियामा रोजगारी गर्छन् । नारायण पनि ६ महिना अघि रोजगारीका लागि मलेसिया गएका थिए । तर जाँदाजाँदै पासपोर्ट हराएपछि नारायणलाई कम्पनीले एक महिना नपुग्दै नेपाल फर्काइदियो । 

नेपाल फर्किएपछि नारायणले पैसा कमाउने उही गलत धन्दा थाले, डलरसित नेपाली रुपैयाँ साट्ने । यस्तो अवैधानिक धन्दा यसअघि पनि नारायणले गरेका थिए । यस पटक भने नारायणका काका भतिजको निसानामा परे मिनमाया दम्पती । 

नारायणले केही दिन अघिदेखी मिनमायाका श्रीमानलाई फोन गरिरहेका थिए । सामान्य चिनजान भएका नारायणले उनीसितको कुराकानी पछि फसाउन सकिने अनुमान लगाए र निरन्तर फोन गर्न थाले । आफूसँग १९ हजार डलर भएको र साटिदिन आग्रह गरे । १० लाख रुपैयाँमा १९ हजार डलर पाउने भएपछि मिनमाया दम्पती लोभिए । अहिलेको सटही दर अनुसार १९ हजार अमेरिकी डलरको झण्डै २० लाख ५० हजार रुपैयाँ हुन्छ । 

बिना परिश्रम, बिना लगानी छोटो समयमा १० लाख रुपैयाँ बढि नाफा देखेपछि मिनमाया दम्पती पनि पैसा साट्न आतुर भए । तर मिनमायाका श्रीमानको पुस १६ गते मलेसियाको ‘फ्लाइट’ थियो । आफू जाने भएपछि उनले मिनमायालाई १० लाख रुपैयाँ लिएर जान नारायणलाई भेट्न भनेका थिए । उनैले नारायणसँगको कुरा मिलाइसकेका थिए । १९ हजार डलरमा १० लाख रुपैयाँ साट्ने । 

पुस १७ गते मिनमाया दोब्बर पैसा ल्याउने उद्देश्य सहित १० लाख रुपैयाँको पोको बोकेर एक जना आफन्तसित ललितपुरको ग्वार्को पुगिन् । त्यहीँ आएका थिए नारायण र उनका गाउँले भाइ सरोज । पहिल्यै दररेटको कुरा भैसकेकाले दुबै पक्ष पैसा साटेर छिट्टै फर्किन आतुर थिए । काठमाडौंको ग्वार्को चोक नजिकै १५/२० मिनेट उनीहरुको कुराकानी भयो । अपरान्हको तीन बजिसकेको थियो । 

नारायण र सरोजले रुमालमा पोको पारेका डलरका बिटा पल्टाएर देखाए । बिटाको छेउ छेउमा ५० का नोट र बीचमा १ का नोट राखिएको मिनमायालाई पत्तै थिएन । मिनमायाले संका व्यक्त नगर्दै सरोजले आ-आफ्नो नोट गन्न प्रस्ताव गरे । तर मिनमायाले जवाफ नदिँदै नारायणले भने ‘बिच सडकमा यति धेरै पैसा नगनौं ।’ 

१० लाख रुपैयाँ गन्नु पर्ने भएपछि मिनमायाले पनि सहमती जनाइन् । सरोज र नारायणले पहिल्यै डलर पल्टाई पल्टाई देखाएकाले मिनमायाले ठगिन्छु भन्ने कल्पना पनि गरेकी थिइनन् । उनीहरुले ढुक्क भएर पैसाको पोको साटासाट गरे । 

पैसा साट्ना साथ सरोज र नारायण बाटो लागे । उनीहरु गएपछि भने मिनमायाले सडक छेउमै पैसाको पोको खोलिन् र नोट पल्टाउन थालिन् । अनि मिनमाया छाँगाबाट खसे झैं भइन् । जब पोकाभीत्र एक डलरका नोटहरु फेला परे । तीनवटा ५० का र २ सय ८८ वटा १ डलरका नोट मात्रै थिए ।

त्यसपछि मिनमाया नारायण र सारोजलाई खोज्दै उनीहरु गएतिरै लागिन् । केही पर पुगेपछि बस चढ्न लागेका नारायणलाई फेला पारिन् । त्यसपछि चिच्याउँदै सहयोग मागिन् । सादा पोशाकमा रहेका प्रहरीले नारायणलाई पाँच लाख रुपैयाँ सहित समाते । तर सरोज ५ लाख रुपैयाँ लिएर भाग्न सफल भए ।

नारायण ललितपुर प्रहरीको फन्दामा परेपनि सरोज फरार छन् । मिनमाया दम्पतीलाई पनि “नाफा खोज्ने चुत्थो, साँउ पनि फुत्को” भनेझैं भयो । अवैध धन्दा गरेर छिनमै १० लाख हात पार्ने सपना चकनाचुर भयो । यसरी रकम साट्नु गैर कानूनी हो ।

नारायणले पहिले पनि डलर साटेर ठगेका थिए 

झण्डै दुई वर्ष पहिले नारायणघाटमा पूर्वका एक युवालाई चार हजार डलर छ भनेर लोभ देखाएका थिए नारायणले । तर ती युवाबाट एक लाख हात पारेर डलर नदिई भाग्न सफल भएको नारायणको बयान छ । उनी भन्छन् ‘त्यहाँ ठग्न सफल भएपछि फेरिपनि यहि काम गर्न मन लाग्यो ।’ 

अवैध रुपमा डलरसित रुपैयाँ साट्ने धन्दाले २०७२ सालमा पनि निरन्तरता पायो । २०७२ साल भदौ २५ गते ललितपुरमा डलरसित रुपैयाँ साटेर ठग्न लाग्दा भने उनी समातिएका थिए । तीन सय ४० अमेरिकी डलर सहित समातिएका नारायणलाई प्रहरीले राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाएको थियो । विदेशी विनिमय (नियमित) गर्ने ऐन, २०१९ अनुसार उनलाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाडिएको थियो । 

धरौटी बुझाएर छुटेका नारायण रोजगारीका लागि मलेसिया गएपनि एक महिनामै फर्किए । अनि, पुरानै अवैध धन्दालाई निरन्तरता दिन खोज्दा फेरि फन्दामा परेका हुन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
  • साउदी अरेबियामा आजिवन जेल परेका स्थानेस्वरलाई बचाउ अभियान नै चलाइदै रहेछ, राम्रो कुरा हो। बिगतमा पनि अमर राई र बमबहादुरको लागि चाहिने भन्दा धेरै रकम संकलन भएको थियो। अझ एकजनाको त पुरै ब्लडमनि अज्ञात ब्यक्तिले दिएको थियो। त्यो पैसा अहिले कहाँ र कोसँग छ ? त्यस्को सोधी खोजी कसले गर्ने ? यदि त्यो पैसा त्यस्तै निर्दोशलाई बचाउन राखिएको हो भने त्यसबाटै स्थानेस्वरलाई बचाउन सकिँदैन र ?

    दुर्गेस सापकोटा
  • मलेसियामा न त कानुनसम्बन्धी कुनै भरपर्दो निकाए नै छ जस्ले कामदारका हितमा सघाओस् न त भनेजस्तो तलब सुबिधानै। अन्तराष्ट्रीय नियम अनुसार श्रमिकहरुको न्युनतम कामगर्ने समय र महिनाभरी पर्ने पब्लिक डे र अन्य बिदाको त कुनै अर्थ नै छैन। न त कम्पनीले दिन मान्छ, न यहाँको सरकारी निकायबाट छानबिन नै हुन्छ। दिनरातको असुरक्षित बातावरणमै दुःखमा दिन बिताउन बाध्य छ्न् यहाँ कार्यरत अधिकांश नेपाली कामदारहरु। नेपालसरकारको त कुरै नगरौँ, दुतावासले सहयोग गर्ला सोच्योकी बिचौलियालाई ठिक्क पारिन्छ।

    करन महरा / मलेसिया
  • मलेसियामा सुरक्षा गार्ड कम्पनीले श्रम सम्झौतामा उल्लेख  भए अनुसारको न काम दिन्छ, न त  तलब नै। आफ्नो ब्यक्तिगत सुरक्षाको त कुरा नै नगरौं। त्यस्तै परे आफ्नो कम्पनीको मानिसले नै कुन बेला मान्छे र पुलिस लगाएर कुटाउन बेर लगाउदैन। हामी श्रमिकले त नेपालका म्यानपावरलाई एक देखि दुई लाख सम्म बुझाएका हुन्छौं। मलेसियामा बेसिक नौं सय रिङ्गिट  गरी जम्मा १६ सय हुन्छ। होस्टेल, लेबि, ड्रेस अनि यातायातको पैसा कट्दा र खाना खाँदा मुस्किलले एक बर्षमा ऋण तिरिएला। बरु यो भन्दा नेपाल सकारले मालेसियामा कामदार पठाउन बन्द गरेर विकल्प खोज्नुपर्छ। किनकि नेपालको दूतावासले पनि दीर्घकालीन समाधान भन्दा कामदारलाई  थम्थमाउने तिर मात्र लागेको देखिन्छ।

    ठाकु योञ्जन / मलेसिया
सबै हेर्नुहोस