MENU

विशेष

मस्जिद सफा गर्ने भनेर लगेर कतारमा शौचालय सफा गराए

दुर्गाप्रसाद भट्टराई/सर्लाही ।

पुस २१ – ‘तपाइँ त्यसको टन्टा नलिनु मसँग मस्जिद सफा गर्ने कामको कोटा छ उसलाई त्यहीँ पठाउँ धर्म पनि गर्छ अनि पैसा पनि कमाउँछ’ शेख गफारले यस्तो भनेपछि महमद सिफारिस टेलरलाई भारी बिसाए जस्तै भयो । महमद केही दिनदेखि छोरालाई विदेश पठाइदिने मान्छे खोज्दै हुनुहुन्थ्यो । 

त्यसकै लागि उहाँ सर्लाहीबाट रौतहट पुग्नुभयो । घर आएकी बहिनीले मेरो सम्धीले विदेश पठाउँछन् भनेपछि उहाँलाई खोज्दै रौतहट पुग्नुभएको थियो । रौतहट पुगेपछि महमदले भेट्नुभयो बहिनीका सम्धी शेख गफारलाई । गफारले त्योभन्दा अघि पनि धेरैलाई विदेश पठाउनुभएको थियो । उनले अहिलेसम्म आफूले पठाएका सबैले राम्रो कमाइरहेको भनेपछि महमदले पत्याउनुभयो । ‘आफ्नै मान्छे भएपछि के शंका गर्नु थ्यो र’ महमदले भन्नुभयो ।  

                                                          अमुल हसनका बावु महमद सिफारिस टेलर

उनले कुनै काम पाएका थिएनन् । त्यसैले भविष्यमा के गर्ला भन्ने चिन्ताले सताइरहेको थियो । गाउँमा केही नभएपनि विदेश गयो भने त कमाएर केही गर्ला कि भन्ने त महमदलाई एक डेढ वर्षअघि नै लागेको थियो । तर पठाउने विश्वासिलो मान्छे फेला पार्नुभएको थिएन । त्यसैले परिवारमा उहाँले कुरा गर्नुभएको थिएन । बहिनी आएको त्यो दिन महमदले छोरा अमुल हसनलाई विदेश जाने हो त ? भनेर सोध्नुभयो । अमुलले उतर दिनुभन्दा अगाडी सँगै रहेकी महमदकी बहिनीले ‘गए भइगो नी यहाँ काम पाइँदैन बरु मेरो सम्धीले विदेश पठाउने काम पनि गर्छन्’ भन्नुभयो । उहाँले आफन्तबाट गयो भने ठगिने सम्भावना पनि कम हुन्छ भनेपछि अमुलले पनि सहमति जनाउनुभयो । 

बहिनीको प्रस्ताव अनुसार उहाँ भोलिपल्ट रौतहट पुग्नुभयो । रौतहटको गमरिया गाविसमा पुगेपछि भेट्नुभएको हो शेख गफारलाई । भेट्ने बित्तिकै गफारले मैले २/३ सय जनालाई विदेश पठाई सकें भनेपछि महमदलाई बल्ल सही मान्छे भेटें भन्ने लाग्यो । त्यसैले त्यति बेलै छोरा अमुललाई विदेश पठाइदिन आग्रह गर्नुभयो । उहाँले छोरो अल्लारे नै भएकाले सजिलो काममा पठाइदिनुहोला भनेपछि शेखले मस्जिदको काममा पठाइदिने बताए । त्यसका लागि १ लाख ५० हजार लाग्छ भनेपछि अरु सबै बिर्सिए जस्तै गरेर महमद पैसा जोहो गर्न तिर लाग्नुभयो । 

आफूसँग डेढ लाख थिएन । एक दुई जनासँग माग्नु पनि भयो तर दिएनन् । दिनेले धितो राख्नुपर्ने बताए । धितो राख्न उहाँसँग १० धुर घडेरी बाहेक केही थिएन । त्यसैले त्यही घडेरी ऋण दिने व्यक्तिको नाममा पास गरिदिएर सयकडा तीन रुपैयाँका दरले पैसा लिनुभयो । पैसा जुटाएपछि गफारले अमुलसँगै महमदलाई पैसा लिएर काठमाडौं नै बोलाए । 

काठमाडौं आएका महमदका बाबुछोराले गफारलाई डेढ लाख रुपैयाँ बुझाए । ‘त्यो मध्ये ४० हजार रुपैयाँ हाम्रै अगाडी उसले निकालेर खल्तीमा हाल्यो अनि यो चाहिँ म्यानपवारलाई भनेर गयो’ महमद भन्नुहुन्छ । पैसा बुझेपछि गफारले सबै प्रक्रिया पूरा भएको बतायो । 

छोरा विदेश जाने सबै प्रक्रिया गर्दा र घरदेखि काठमाडौं र काठमाडौंदेखि घर र बस्दा खाँदा र भाडा गरेर ७० हजार रुपैयाँ भन्दा धेरै सकियो । त्यसैले छोरालाई कतार पठाउन लागत पुग्यो २ लाख २० हजार रुपैयाँ ।  महमदले पैसा बुझाएको एक महिनामा अमुल कतार पुग्नुभयो २०७३ असोजमा ।

कतार उड्दै गर्दा अमुलले मस्जिदको कामको कल्पना गर्नुभयो तर उहाँ पुगेपछि न भनेको ठाउँ पर्यो न त काम नै । मस्जिदमा भनेर लगिएका अमुललाई स्टील कारखानामा पुर्याइयो । अनि काम लगायो कारखानाको शौचालय सफा गर्ने । त्यही भएर घरमा फोन गर्दा कामका बारेमा भन्न पनि चाहनुभएन । ‘उसले काम गर्ने ठाउँ चाहिँ ठूलो छ तर काम के भन्नु र ! भन्यो’ महमद भन्नुहुन्छ, ‘मैले के हो त्यस्तो भनेर भन भनेपछि मधुरो स्वरमा शौचालय सफा गर्ने भन्यो ।’ अमुलले बुवालाई काम फरक परेको मात्रै सुनाउनुभएन । मेनेजरसँग काम फरक परेको बारे कुरा गर्दा काम गर्ने भए गर नभए घर फर्कि भनेको कुरा पनि सुनाउनुभयो । केही दिन अघिसम्म छोरालाई आफन्तमार्फत विदेश पठाएर राम्रो गरें भन्ने सोचिरहेका महमदलाई त्यसपछि भने पछुतो लागिरहेको छ । 

छोराको कुरा सुनेपछि महमद गफारको घर पुग्नुभयो । तर ऊ भेटिएन । छिमेकीसँग कुरा गर्दा महमदले गफारको वास्तविकता थाहा पाउनुभयो । गफारले पठाएर धेरैले भनेको काम र तलब पाएका रहेनछन् । छिमेकीले फेसबुकमा विदेश गएकाहरुले गफारका बारेमा भनेका कुरा देखाएपछि उहाँलाई ठूलो समस्यामा परे जस्तो लाग्यो । घर फर्किएर छोरालाई फोन गरेर गफारका बारेमा सबै कुरा सुनाउनुभयो महमदले । छोराले केही जवाफ दिएनन् । त्यतिकै फोन काटिदिए । 

कुरा भएको एक महिनामा अमुल घर फर्किनुभयो । सुपरभाइजरसँग दिनदिनै रोइकराइ गरेपछि उसैले टिकट गरेर अमुललाई नेपाल फर्काइदिएको हो । छोरा घरमा आएपछि महमदले गफारलाई फोन गर्नुभयो । गफारले चार वटा नम्बर दिएको थियो उहाँलाई । तिनै नम्बरमा धेरै दिन फोन गरिरहेपछि फोन उठ्यो । गफारसँग महमदले भनेको काम दिलाउन नसकेकाले पैसा फिर्ता गर्न आग्रह गर्नुभयो । तर गफारले उत्तर दिए ‘मैले त ४० हजार रुपैयाँ मात्रै लिएको हो । त्यसैले म्यानपावरसँग कुरा गर्नु ।’ त्यसपछि उनको फोन लागेन । 

पैसा फिर्ता माग्दै उहाँ म्यानपावरमा पनि पुग्नुभयो । तर म्यानपावरले अमुललाई विदेश पठाउँदा जम्मा ६५ हजार मात्रै लागेको र आफूले २५ हजार रुपैयाँ मात्रै लिएको भन्दै बाँकी पैसा गफारसँगै माग्न भन्यो । तर गफारको अहिलेसम्म कुनै अत्तोपत्तो छैन ।  

विदेश पठाइदिने एजेण्ट बेपत्ता भएपनि त्यति बेला लिएको २ लाख २० हजार रुपैयाँ ऋणको ब्याज भने बढेको बढ्यै छ । अहिले महमदसँग ऋण लिएको पैसाको महिनाको ८ हजार ब्याज तिर्ने आयस्रोत पनि छैन । ‘छोराले अहिले यतै सानो तिनो काम गरेर ८/९ हजार रुपैयाँ कमाउँछ तर त्यो पैसाले घर चलाउनु कि ब्याज तिर्नु’ महमदले भन्नुभयो । अहिले उहाँ पैसा दिने व्यक्तिले भएको त्यही जग्गा पनि खाइदिने हुन कि भन्ने चिन्तामा हुनुहुन्छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
  • साउदी अरेबियामा आजिवन जेल परेका स्थानेस्वरलाई बचाउ अभियान नै चलाइदै रहेछ, राम्रो कुरा हो। बिगतमा पनि अमर राई र बमबहादुरको लागि चाहिने भन्दा धेरै रकम संकलन भएको थियो। अझ एकजनाको त पुरै ब्लडमनि अज्ञात ब्यक्तिले दिएको थियो। त्यो पैसा अहिले कहाँ र कोसँग छ ? त्यस्को सोधी खोजी कसले गर्ने ? यदि त्यो पैसा त्यस्तै निर्दोशलाई बचाउन राखिएको हो भने त्यसबाटै स्थानेस्वरलाई बचाउन सकिँदैन र ?

    दुर्गेस सापकोटा
  • मलेसियामा न त कानुनसम्बन्धी कुनै भरपर्दो निकाए नै छ जस्ले कामदारका हितमा सघाओस् न त भनेजस्तो तलब सुबिधानै। अन्तराष्ट्रीय नियम अनुसार श्रमिकहरुको न्युनतम कामगर्ने समय र महिनाभरी पर्ने पब्लिक डे र अन्य बिदाको त कुनै अर्थ नै छैन। न त कम्पनीले दिन मान्छ, न यहाँको सरकारी निकायबाट छानबिन नै हुन्छ। दिनरातको असुरक्षित बातावरणमै दुःखमा दिन बिताउन बाध्य छ्न् यहाँ कार्यरत अधिकांश नेपाली कामदारहरु। नेपालसरकारको त कुरै नगरौँ, दुतावासले सहयोग गर्ला सोच्योकी बिचौलियालाई ठिक्क पारिन्छ।

    करन महरा / मलेसिया
  • मलेसियामा सुरक्षा गार्ड कम्पनीले श्रम सम्झौतामा उल्लेख  भए अनुसारको न काम दिन्छ, न त  तलब नै। आफ्नो ब्यक्तिगत सुरक्षाको त कुरा नै नगरौं। त्यस्तै परे आफ्नो कम्पनीको मानिसले नै कुन बेला मान्छे र पुलिस लगाएर कुटाउन बेर लगाउदैन। हामी श्रमिकले त नेपालका म्यानपावरलाई एक देखि दुई लाख सम्म बुझाएका हुन्छौं। मलेसियामा बेसिक नौं सय रिङ्गिट  गरी जम्मा १६ सय हुन्छ। होस्टेल, लेबि, ड्रेस अनि यातायातको पैसा कट्दा र खाना खाँदा मुस्किलले एक बर्षमा ऋण तिरिएला। बरु यो भन्दा नेपाल सकारले मालेसियामा कामदार पठाउन बन्द गरेर विकल्प खोज्नुपर्छ। किनकि नेपालको दूतावासले पनि दीर्घकालीन समाधान भन्दा कामदारलाई  थम्थमाउने तिर मात्र लागेको देखिन्छ।

    ठाकु योञ्जन / मलेसिया
सबै हेर्नुहोस