MENU

विशेष

पारिवारिक विघटन र अपराधको स्रोत बन्दै वैदेशिक रोजगार, कोही खोरमा, कसैलाई एचआईभी

खोज पत्रकारिता केन्द्र

काठमाडाै‌, पुस २६- २०७२ पुस पहिलो साता पाँचथर रानीगाउँ-२ का सोमबहादुर सम्बाहाम्फे दुई वर्ष कतारमा काम गरेर घर फर्कने  तयारीमा थिए । टिकटको टुंगो लागिसकेपछि उनले श्रीमती सरितालाई फोन गरे । सरिताले ‘मोबाइल चाहिएको थियो’ भनिन्, ३० हजार हालेर मोबाइल किने । सँगै एउटा कम्बल र एउटा क्यामेरा पनि किने ।

श्रीमतीले ‘पैसा बोकेर आउँदा जोखिम हुन्छ, मेरो नाममा आईएमई गरिदिनू’ भनिन् । त्यसै गरे । काठमाडौं आइपुगेर फोन गरे, श्रीमतीको फोन उठेन । एकछिन पछि सोमबहादुरको फोनमा ‘मेसेज’ आयो । लेखिएको थियो– ‘मैले अर्कै केटासँग बिहे गरिसकें । मलाई नखोज्नु, छोराछोरी मसँगै छन् ।’ 

सरिताले त्यसअघि नै इलाम पशुपतिनगरका बिक्रम राईसँग दोस्रो विवाह गरिसकेकी थिइन् । उनले ७ वर्षीय छोरा र ५ वर्षीया छोरी आफूसँगै राखेकी छन् । अहिले सोमबहादुर रानीगाउँको घरमा एक्लै छन् । सरिता र सोमबहादुरको आठ वर्षअघि विवाह भएको थियो । गाउँठाउँमा विवाह दर्ता गर्ने चलन थिएन । अहिले सम्बाहाम्फेलाई कानूनी प्रक्रियामा जान समस्या भइरहेको छ । 

“कतार गएपछि कमाएको सबै पैसा श्रीमतीकै नाममा पठाएँ । पशुपतिनगरमा घडेरी खरीद गर्न, छोराछोरीको फी तिर्न भनेर दुई वर्षमा ८ लाख रुपैयाँ पठाएछु । घर फर्कने बेलामा आईएमई गरेको समेत जोड्दा एघार लाख रुपैयाँ भयो होला ।” सम्बाहाम्फे दुःखेसो पोख्छन्, “कत्ति विदेश बस्नु, सानोतिनो व्यवसाय गरेर यतै बसौं भनेर घर फिरेको । न सम्पत्ति, न सन्तान, न श्रीमती पो भएँ ।” 

रोल्पा तालाबाङ–६ खाराबाङका हरि घर्तीमगर २०६८ सालमा विदेशिए । उनी विदेश रहेको बेला श्रीमती मनकुमारी गर्भवती भइन् । लोग्ने विदेशिएपछि देवरसँग मनकुमारीको हिमचिम बढेको थियो । गर्भवती भएको आठ महीनापछि घटना सार्वजनिक भयो । मनकुमारीका दुई छोराहरू कमल कक्षा ६ मा र हिमाल कक्षा १ मा पढ्दैथिए । 

गाउँका मानिस भेला भएर मनकुमारीलाई देवर कर्णबहादुरको जिम्मा लगाए । कर्णबहादुरले दाजु हरिलाई जरिवानास्वरुप दुई लाख रुपैयाँ तिरे । विवाद मिलाउन सक्रिय स्थानीय नेकपा माओवादी केन्द्रका कार्यकर्ता दलबहादुर घर्तीमगर भन्छन्, “के गर्नु गाउँठाउँको कुरा मिलाउनै प¥यो ।” वैदेशिक रोजगारीले हरि घर्तीमगरको परिवार चकनाचूर भयो । 

पाँचथर प्राङ्वुङ-४ का भीमबहादुर ज्ञाङमी मगरको पीडा मार्मिक छ । उनी स्थानीय साहूकहाँ सयकडा तीन रुपैयाँका दरले ऋण काढेर पाँच वर्षअघि रोजगारीका लागि साउदी अरब गएका थिए । २०६३ सालमा विवाह गरेका भीमबहादुर विदेश गएपछि छोरो युगल र घरव्यवहार हेर्ने जिम्मा श्रीमती फूलकुमारीको काँधमा आयो । भीमबहादुरले साउदीमा ‘हेभी ड्राइभिङ’ को काम पाए । कमाइ मासिक ६० हजार रुपैयाँ पुग्थ्यो । ६ महीना लगाएर साहूबाट काढेको सावाँ–व्याज ऋण तिरे । बाँकी चार वर्षको कमाइ श्रीमतीका नाममा पठाए ।

२१ वैशाख २०७३ का दिन उनी काम गरिरहेका थिए । कसैले उनलाई फोन गरेर ‘श्रीमती घरका झ्यालढोका थुनेर छोरो लिएर हिंडिन्’ भन्ने खबर सुनाइदियो । एक महीना लगाएर घर फर्किने चाँजोपाँजो मिलाए । ५ असारमा घर आइपुगे । फूलकुमारी छिमेकी मेमेङ गाविस–२ मच्छेवुङका ज्ञानबहादुर केरुङसँग दोस्रो विवाह गरेर बसेकी थिइन् । फर्किएलगत्तै भीमबहादुरले जिल्ला अदालत पाँचथरमा धनमाल अपचलन गरेको मुद्दा हाले । भीमबहादुर भन्छन्, “विदेशमा पैसा कमाएर यहाँ सुखसँग जीवन बिताउँला भन्ने थियो, सपना भयो ।” भीमबहादुरले अदालतमा प्रमाणका रूपमा फूलकुमारीका नाममा पठाएको रकम आईएमई गरेका रसिद र सुन किनेको बिलको प्रतिलिपि पेश गरेका छन् । आक्रोशित भीमबहादुर भन्छन्, “जीत हार जे सुकै होस्, समय र पैसा जतिसुकै खर्च होस्, म मुद्दा किनारा नलागेसम्म लडिरहन्छु ।” 

तीन छोराछोरीकी आमा पाँचथर भारपा–८ निवासी चन्द्रमाया थापाले २०७२ असोजमा पति प्रेम योक्पाङदेनसँग सम्बन्धविच्छेद गरिन् । विवाह गरेको १५ वर्षपछि सम्बन्धविच्छेद गर्नुको कारण थियो– पतिको वैदेशिक रोजगारी । 

१३ वर्ष उमेर पुग्दा नपुग्दै प्रेमसँग प्रेम विवाह गरेकी चन्द्रमायाको विदेश जानुपूर्व पतिसँग सम्बन्ध सहज थियो । उनीहरू भारपा–८ स्थित मेची राजमार्गमा होटल व्यवसाय र सुँगुरपालन गरेर बसेका थिए । कमाइ पनि नराम्रो थिएन । २०६८ सालमा प्रेमले ‘साथीभाइ सबै गए, कमाइ पनि राम्रो हुन्छ भन्छन्’ भनेर विदेश जाने इच्छा देखाए । चन्द्रमायाले पनि ‘हुन्छ’ भनिन् । प्रेम कतार गएपछि चन्द्रमायाका काँधमा पसल सम्हाल्ने, सुँगुर पाल्ने, छोराछोरीको रेखदेख गर्ने अभिभारा थपियो । दैनिक सोह्र÷अठार घण्टासम्म खट्न थालिन् उनी । 

कतार पुगेको केही समयदेखि प्रेमको व्यवहार बदलियो, धेरै शंकालु भए । यतिसम्म भयो कि– चन्द्रमायाले प्रत्येक महीनाको १ गते नजीकैको देवालयमा गएर एकहातले घण्टी बजाउँदै अर्को हातमा बोकेको फोनबाट ‘म अरू केटासँग लागेकी छैन’ भनेर कसम खानुपर्ने भयो ।   

watr-rolpa-ko-jailbang-gaun

पूर्वी रोल्पाको जेल्बाङ स्थित ठूलोगाउँ । जहाँका अधिकाश युवा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा छन ।

यो क्रम चलिरहेकै बेला २०७२ भदौमा प्रेम घर फर्के । चन्द्रमायाका भनाइमा, भोलिपल्ट बिहानै आलो गोबर ल्याएर घरको मूल खाँबो वरिपरि लिप्न लगाए । अनि पाथी ओढ्न लगाएर ‘अरू केटासँग लसपस गरेकी छैन’ भनेर कसम खान लगाए । त्यसरी कसम खुवाउँदा चन्द्रमायाकी आमा र बडीआमालाई पनि साक्षी राखिएको थियो । तर प्रेमले चन्द्रमायाको आरोप अस्वीकार गरे । उनले भने “त्यो काम मैले जबर्जस्ती गरेको होइन, चन्द्रमायाले मेरो विश्वास जित्न स्वेच्छाले गरेकी हो ।”  

प्रेम कतारमै हुँदा छोरीलाई मुटुको समस्या देखिएको थियो । पसलको कमाइबाट ३ लाख रुपैयाँ खर्च गरेर चन्द्रमायाले उपचार गरिन् । प्रेमले पनि दुई वर्षमा ५ लाख रुपैयाँ कमाएर पठाएका थिए । चन्द्रमायाले प्रेमलाई त्यो पैसा फिर्ता गरिदिइन् । अन्त्यमा छोरीको उपचारमा लागेको खर्च श्रीमान्ले व्यहोर्ने, छोराछोरी श्रीमान्ले नै पढाउने शर्तमा सम्बन्धविच्छेद भयो । चन्द्रमायाका भनाइमा, “प्रेमले पढाइ खर्च नदिएपछि अहिले तीनमध्ये दुई जना छोराछोरी उनीसँगै छन् ।” 

अहिले झापाको बिर्तामोडमा बस्दै आएकी चन्द्रमायालाई मुटुको समस्या छ र मिर्गाैलामा पत्थरी देखिएको छ । निराश चन्द्रमाया भन्छिन्, “वैदेशिक रोजगारीले मेरो परिवारको खुशी खोस्यो । बुढेसकालमा बिरामी छु अब भीख माग्नु बाहेक मसँग अरू उपाय छैन ।”

१२ पुस २०७२ मा पाँचथर मौवा–१ का रामबहादुर थापा मगरकी १९ वर्षीया पत्नी प्रमिला मगर हराएको भनेर आफन्तले जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन दिए । निवेदनमा ‘लोग्नेले विदेशमा कमाएको सम्पत्ति लिएर श्रीमती हराएको’ भनिएको थियो । खोजबीनका क्रममा प्रहरीले प्रमिला झापाको कन्काई नगरपालिका वडा नम्बर ७ निवासी राजबहादुर मगरसँग दोस्रो विवाह गरेर बसेको पत्ता लगायो । 

प्रमिलाले दोस्रो विवाह गर्नुको कारण उनका पूर्व पति रामबहादुरले प्रहरीमा दिएको निवेदनमा उल्लिखित व्यहोरा भन्दा बिल्कुलै फरक थियो । विवाह गर्दा प्रमिला सत्र वर्षकी थिइन् । केटो माग्न आएको भनेर परिवारले कर गरे । २०७० माघमा विवाह भयो । एक महीना नबित्दै श्रीमान् साउदी अरब हान्निए । 

प्रमिलाका भनाइमा, “श्रीमान् विदेश गएपछि बुहारीलाई पैसा नपठाउनु अर्कैसँग लागेकी छे, कुम्ल्याएर हिंड्छे भनेर घरकाले पोल लगाएछन् क्या हो । मलाई त पैसा पठाउनै छाडे ।” उनले भनिन्, “यो उमेरमा परिवारबाटै अपहेलित भएर के बस्नु भनेर अर्को विवाह गरें ।”

श्रीमान् विदेश गएपछि कतिपय परिवारमा महिलालाई कस्तोसम्म समस्या आइलाग्छ भन्ने एउटा उदाहरण हुन् पाँचथर अमरपुर–९ की सीता चौहान । २०७० सालमा विदेश गएका श्रीमान्ले के सोचेर हो उनलाई पैसा पठाउँदै पठाएनन् । सीता भन्छिन्, “दुई चार रुपैयाँ माग्दा पनि सासूआमाले तेरो पोइले कमाएर पठाको भा’पो दिनु भन्नुहुन्थ्यो । साथीसँगी चाहिं ‘लाहुरेकी बूढी’ भनेर फुक्र्याउँथे । मर्नु हुन्थ्यो मलाई ।” उनले भनिन्, “हातखुट्टा धुने साबुन किन्ने पैसा थिएन मसँग । मन लागेको लाउन र खुशी मनले खान नपाएपछि मैले दोस्रो विवाह गरें ।”

पाँचथरका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइराला ‘श्रीमान् वैदेशिक रोजगारीमा रहेका बखत श्रीमतीले दोस्रो विवाह गरेको, घरबाट हराएको र सम्पत्ति अपचलन गरेको’ भनेर जिल्ला प्रहरी कार्यालय पाँचथरमा सातामा दुई/तीन वटा मुद्दा आउने बताउँछन् ।

आर्थिक वर्ष २०७२/७३ मा पाँचथर जिल्लामा मात्रै ५६ जना महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो । हराएका भनिएका ५६ मध्ये २५ महिलाका श्रीमान् विदेशमा रहेको प्रहरी नायव उपरीक्षक कोइराला बताउँछन् । जसमध्ये १४ जनाले दोस्रो विवाह गरेको पुष्टि भयो । अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा ७६, २०७०/७१ म ६७ र २०६९/७० मा ५८ महिला हराएको निवेदन पाँचथर प्रहरीमा परेको थियो । 

अदालतमा पुगेका यस्ता पारिवारिक विवाद हेर्दै आएका अधिवक्ता टीका तिम्सिना भन्छन्, “वैदेशिक रोजगारमा गएका पुरुषले श्रीमतीलाई खर्च नपठाउने, वास्ता नगर्ने र कतिपयले विदेशमा नै घरजम गर्ने कारणले पनि महिलाहरू नयाँ जीवन शुरू गर्न बाध्य हुन्छन् ।” तिम्सिना भन्छन्, “तर केही महिलाले चाहिं सम्पत्तिका लागि विवाह गर्ने र तुरुन्तै सम्बन्धविच्छेद गर्ने गरेको पनि देखियो ।” 

रेमिट्यान्सले पुर्‍यायो जेल

पाँचथर यासोक–२ की शान्ता परियार (२२) दुई वर्षअघि हाडनाता करणी र ज्यान मारेको अभियोगमा पक्राउ परिन् । दुवै मुद्दामा दोषी ठहर गरेर जिल्ला अदालत पाँचथरले उनलाई कारागार पठाएको छ । चौध वर्षको उमेरमा विवाह गरेकी शान्ता जेल जानुपर्ने कारण मार्मिक छ । उनले २०६५ सालमा उमेरमा आफूभन्दा ८ वर्ष जेठा यासोक–२ का जीवन परियारसँग बिहे गरिन् । विवाह हुँदा जीवन तीन वर्ष मलेशियामा रोजगारी गरेर फर्केका थिए । फोन वार्ताका क्रममै बिहे गर्ने टुंगो गरेका उनीहरूले लगनगाँठो कसेको १० महीनामा एक छोरा पनि जन्माए । उनी अहिले ७ वर्षका छन् । 

1-watr-mark

राहदानी लिन जिल्ला प्रशासन कार्यालय रोल्पामा लाइन बसेका युवा ।

छोरो जन्मेको दुई महीनापछि जीवन पुनः वैदेशिक रोजगारीका लागि मलेशिया गए । शान्तालाई पैसा पठाइदिन थाले । घर खर्च चलाउन ८–१० हजार र कहिले बचत गर्न भनेर एक–डेढ लाख रुपैयाँसम्म पठाउन थाले । चार वर्षमा उनले झण्डै १० लाख रुपैयाँ पठाए । लामो समयसम्म उनी घर नफर्कंदा शान्ता आफ्नो उमेरका देवरसँग नजिकिइन्, यौन सम्पर्क हुनथाल्यो । तिनै देवरसँगको शारीरिक सम्पर्क पछि जन्मेको शिशु मारेर फ्याकेको पोल खुलेपछि शान्ता र उनका देवर पक्राउ परे ।

 

पाँचथर जेलमा भेटिएकी शान्ताले भनिन्, “चार वर्षसम्म नआउँदा श्रीमान्को यादले खूब सताउँथ्यो । उमेर मिल्ने देवरसँग मनका कुरा साटासाट गर्दागर्दै शारीरिक सम्पर्क शुरू भयो । समाजले थाहा नपाओस् भनेर गर्भ फाल्दा आज यो हालत भयो ।” निराश शान्ता दुःखेसो गर्छिन्, “उहाँ घर आउजाउ गरिरहेको भए मेरो यो हालत हुँदैनथ्यो ।” जिल्ला अदालत पाँचथरले शान्तालाई २० वर्ष कैद गर्ने फैसला गरेको छ । 

पाँचथर यासोक-५ की राजकुमारी लावती (३०) अहिले शिशु हत्या अभियोगमा पाँचथर कारागारमा छिन् । उनका श्रीमान् इन्द्रकुमार २०६५ सालदेखि वैदेशिक रोजगारीका लागि मलेशियामा छन् । 

जेठाजु नाताका मुखराम लावतीसँगको शारीरिक सम्पर्क पछि जन्मिएको छोरो मारेर सामुदायिक वनमा गाडेको अभियोगमा ३० चैत २०७२ मा राजकुमारी र मुखरामलाई प्रहरीले पक्राउ ग¥यो । पक्राउ परेपछि राजकुमारीले दिएको प्रतिक्रिया साँच्चिकै मार्मिक थियो । उनले भनेकी थिइन्, “पैसा पठाउनुहुन्थ्यो, के गर्नु लोग्नेसँग साटिने सबै दुःखसुख पैसासँग साट्न मिलेन । उमेरकी श्रीमती सम्झेर बेलाबखत घर आउनुभएको भए म यो हालतमा पुग्ने थिइनँ ।” अहिले राजकुमारी र मुखराम दुवै पुर्पक्षका लागि पाँचथर कारागारमा थुनामा छन् । यो कारागारमा शान्ता र राजकुमारी जस्ता १३ महिला कैदी बन्दी छन् । १३ मध्ये चार ज्यान मुद्दामा समातिएका छन् । चारै जनाका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन् ।

रोल्पा पश्चिम इरिबाङमा सौतेनी आमा र काकाबीचको सहवास देखेको कारण एक बालकको ज्यान गएको छ । १० साउन २०७३ मा १४ वर्षीय भरत पुनमगरको ज्यान गएको हो । इरिबाङ–१ ओगाउँका सौतेनी आमा विमला पुनमगर र स्थानीय गोविन्द पुनमगरबीच यौन सम्पर्क भइरहेको बालकले देखेका थिए । विमला र गोविन्दले ‘आफूहरूबीचको शारीरिक सम्बन्ध खुलासा हुने डरले बालकको हत्या गरेको’ बयान प्रहरीमा दिएका छन् ।  

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता केशवबहादुर बस्नेतका भनाइमा, “आत्महत्या गरेको देखाउन विमला र गोविन्दले बालकलाई सलले बाँधेर घरको बार्दलीमा झुण्ड्याइदिएका थिए ।” बालकका बुवा वीरसिंह दुई वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा छन् । २५ वर्षे विमलाको साथमा साढे दुई वर्षको छोरो छ । अहिले गोविन्द र विमला पुर्पक्षका लागि रोल्पा कारागारमा थुनामा छन् ।

२७ चैत २०७१ मा रोल्पाको पूर्वी मिझिङ–१ की अनिता विष्टले गढवा–९ दाङका २१ वर्षीय प्रकाश चौधरीको अण्डकोष थिचेर हत्या गरिन् । २६ वर्षीय अनिता मिझिङ–७ सुलिचौर बसपार्क छेउमा किराना, चिया, नास्ता पसल गर्दै आएकी थिइन् । चौधरी सुलिचौरमै रहेको शंकर फर्निचर उद्योगमा मिस्त्री काम गर्थे ।

दुई वर्षदेखि अनिता र चौधरीबीच यौन सम्बन्ध रहँदै आएको थियो । प्रहरीका भनाइमा, चौधरीले अनितासँग २७ चैत राति पनि एक पटक यौन सम्पर्क राखेका थिए । चौधरीले दोस्रो पटक यौन सम्पर्क गर्न खोज्दा अण्डकोषमा जोडले थिचिदिएकाले उनको मृत्यु भएको बयान अनिताले दिएकी छन् ।

आफूलाई यौन सम्पर्क गर्न मूड नचलेकाले ख्यालख्यालैमा अण्डकोष थिचिदिंदा चौधरीको मृत्यु भएको अनिताको भनाइ थियो । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका अनिताका श्रीमान् बमबहादुर विष्ट तीन महीनापछि नेपाल फर्कने तयारीमा थिए । प्रहरीले अनितालाई ज्यान मुद्दा लगाएको छ । जिल्ला अदालत रोल्पाले उनलाई १० वर्ष कैद गर्ने फैसला गरेको छ । अनिता अहिले रोल्पा कारागारमा छन् ।

उवा-८ घोडाबाङका बस्ती घर्तीमगरले साउदी अरबमा १२ वर्ष बिताए । यो अवधिमा उनले ४४ लाख रुपैयाँ कमाए । तर विदेशमा कमाएको यो पैसाकै कारण उनको ज्यान गयो । वैदेशिक रोजगारीबाट फर्केपछि बस्तीले श्रीमतीसँग चार दिन बिताए । चार दिनपछि विदेशमा कमाएको पैसाको विषयलाई लिएर श्रीमान्-श्रीमतीबीच खटपट शुरू भयो । बस्तीले आफूले कमाएर पठाएको पैसाको हिसाबकिताब खोजे । २८ वर्षीया श्रीमती चान्चीले लोग्नेले विदेशमा कमाएर पठाएको पैसाको हिसाब देखाउन सकिनन् । घरमा झगडा भयो । बस्ती आमाको घर गएर केही दिन बसे । गाउँमा नानाथरी टीकाटिप्पणी हुन थालेपछि चान्चीले श्रीमान्लाई आफ्नै घर लिएर गइन् ।

७ फागुन २०७२ का दिन बस्तीको आफ्नै घरमा हत्या भयो । प्रहरीका अनुसार राति घरमा सुतिरहेका बस्ती माथि खुकुरी प्रहार गरिएको थियो । घरमा अरू पनि मान्छे बस्थे । उनीहरूले घटनाको सुइँको समेत पाएनन् । चान्चीले प्रहरी र मिडियालाई ‘लुटेरा समूहले लुटपाट गरी श्रीमान्को हत्या गरेको’ बताइन् । आक्रमणमा परेका श्रीमान्को स्थानीय क्लिनिकमा उपचार गर्दागर्दै ज्यान गएको चान्चीको भनाइ थियो । चान्चीको भनाइको विश्वास गरेर गाउँलेहरू मलामी पनि गए । उनले प्रहरीमा गाउँकै दुई युवाबाट हत्या गरिएको आशंका छ भनेर उजुरी दर्ता गराइन् । प्रहरीले ती युवालाई पक्राउ पनि ग¥यो । तर, प्रहरीले पोलिग्राफ परीक्षण गरेपछि घटनाको यथार्थ बाहिर आयो । चान्ची र उनका प्रेमी भनिने भरतले मिलेर हत्या गरेको खुल्यो । अदालतमा मुद्दा दर्ता भयो । जिल्ला अदालत रोल्पाले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठायो । अहिले उनीहरू दुवै रोल्पा कारागारमा छन् । 

कोही खोरमा, कसैलाई एचआईभी

तेह्रथुम चुहानडाँडा-८ बोखिमका उदयनारायण दाहाल (३३) लाई चार वर्षदेखि घरको एउटा कुनामा फलामको खोरमा थुनेर राखिएको छ । उनलाई फलामे खोरमा पुर्‍याउने कारक थियो– वैदेशिक रोजगारी । 

2-water-mark

बैदेशिक रोजगारीको क्रममा दुवाइबाट मानसिक सन्तुलन गुमाएर फर्किएका उदयनारायण दाहाल

कक्षा ८ मा पढ्दापढ्दै उदयनारायणलाई कमाउन विदेश जाने हावाले छोयो । बा–आमाले एकलाख पचास हजार रुपैयाँ खर्च गरेर दुबई पठाइदिए । ६ महीनापछि उनले कमाएर ६० हजार रुपैयाँ घर पठाए । दशौं महीनामा उनी बिरामी भएको खबर आयो । बुवा चूडामणि भन्छन्, “काठमाडौं ल्याएर उपचार ग¥यौं । ६ महीनासम्म औषधि खाएपछि सञ्चो भयो ।”  

निको भएपछि उदयनारायण पुनः भारतको मद्रास गए । दुई महीना नपुग्दै फेरि बिरामी भएर फर्किए । बुवा आमाले उनलाई उपचारका लागि ललितपुर लगनखेलको मानसिक अस्पताल लगे । त्यहाँ डाक्टर सुरेन्द्र शेरचनले उदयनारायणलाई ‘बाइपोलार डिस्अर्डर’ रोग लागेकाले लामो समयसम्म नियमित औषधि सेवन गर्नुपर्ने सल्लाह दिए । 

आमा मैना भन्छिन्, “औषधि उपचारमा करीब पाँचलाख रुपैयाँ सकेर घर लिएर आयौं । एक वर्षसम्म ठीकै थियो । एकदिन अचानक रोग बल्झेछ । घरमा काम गरिरहेका बुवालाई काठको मुंग्रोले हिर्काएर लडायो । बुवा बेहोश भएपछि एम्बुलेन्स झिकाएर उपचार गर्न लानुप¥यो ।” 

बुवा चूडामणिले बेलिबिस्तार लगाएर भने, “नियन्त्रणमा नराखे थप क्षति हुने देखेर छिमेकी जिल्ला पाँचथरको फिदिम पुगेर खोर अर्डर ग¥यौं । अहिले त्यही खोरमा थुनेर राखेका छौं ।” विरक्तिंदै उनले भने, “पैंतीसहजार रुपैयाँमा खोर किनेर छोरालाई थुनेर राख्नुपर्दा कुन बावुआमाको मन नरोला र ?”

उनलाई आमाले खोरभित्रै लगेर खानेकुरा दिन्छिन् । उदयनारायण खानेकुरा थापेर खान्छन् । कपडा फेर्न, कपाल, दाह्री काट्न दुईचार जना लाठे खोजेर उनलाई बाहिर निकाल्नुपर्छ । खटियामुनि प्वाल पारेर प्यान राखी दिसापिसाब गर्ने प्रबन्ध मिलाइएको छ । बेलाबेला सामान्य अवस्थामा आउँछन् र कुरा गर्छन् । सामान्य अवस्थामा भेटिएका उदयनारायणले भने, “औषधि गर्न पाए ठीक हुन्थें होला !”   

3-water-mark

तेह्रथुम चुहानडाँडा-८ बोखिमका उदयनारायण दाहालका बाबु आमा

पाँचथरको रानीटार–२ की चन्द्रमा (नाम परिवर्तन) लाई एचआईभी पोजिटिभ भएको छ । श्रीमान् चन्द्रेश्वर (नाम परिवर्तन) वैदेशिक रोजगारीबाट फर्किएपछि २७ वर्षीया चन्द्रमालाई एचआईभी संक्रमण भएको हो । २०६३ सालयता दुई पटक कुवेत गएका चन्द्रेश्वरलाई आफूलाई कसरी एचआईभी संक्रमण भयो भन्ने पनि थाहा रहेछन् । उनले भने, “कुवेत जान दिल्लीमा भेला हुँदा रमाइलो गर्न भनेर साथीहरूको लहलहैमा लागियो, त्यही बेला भयो होला ।” 

दुवै अहिले जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको एचआईभी परामर्शदाता ओमप्रकाश यादवको निगरानीमा औषधि सेवन गरिरहेका छन् । चन्द्रमा भन्छिन्, “घरखेत धितो राखेर १ लाख ५० हजार ऋण गरेर कुवेत पठाएँ । कमाएर ल्याउलान् र सुखका दिन फिर्लान् भनेको त आगो ल्याएर सल्काए ।” जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको विवरण अनुसार, पछिल्लो एक आर्थिक वर्ष (२०७२/७३) मा मात्रै पाँचथरमा चार पुरुष र एक महिलामा एचआईभी पोजेटिभ देखिएको छ । तीमध्ये चारै पुरुष वैदेशिक रोजगारीबाट फर्केका हुन् । चारमध्ये तीन जना २५–३० वर्ष उमेर समूहका युवा छन् ।

तर, विदेशको कमाइ ‘रेमिट्यान्स’ को बखानमा रमाइरहेको नेपाली राज्य–व्यवस्था र नीति–निर्मातालाई त्यो कमाइ समाजलाई कति महङ्गो परिरहेको छ भन्ने कुनै हेक्का देखिंदैन ।

-लक्ष्मी गौतम, पाँचथर र हीराबहादुर घर्तीमगर, रोल्पा: खोज पत्रकारिता केन्द्रका लागि

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • आफ्नै देशमा रोजगारिको ग्यारेन्टी गर्न सक्दैन नेपाल सरकारले ।  त्यसैको फलस्वरुप लाखौं यूवा परदेशिन बाध्य भएकाछन्।  तर परदेशमा पनि अरु देशका नागरिकलाई झैं हेर्दैनन संबन्धित कम्पनिहरुले। तलव देखि लिएर बस्ने ठाउँ सम्ममा गिराएको हुन्छ नेपाली कामदारलाई। एउटै कम्पनीमा उस्तै काम, अझै भन्ने हो भने अरु देशका कामदार दक्ष नभए पनि तलब भनेजस्तै हुन्छ। नेपाली कामदार दक्ष नै होस् तर हेपिनैरहेको देखेकोछुँ । तर हाम्रो बिलौना कस्ले हेर्ने? कस्ले सुनिदिने? नेपाली दूतावासमा न्याय खोज्न गयो, उतै दलाल भेटिन्छन्। उल्टै हाम्रै गल्ती देखाउछन्।  प्रधानमन्त्री ज्यु भ्याए सम्म साउदी, कतार, मलेसिया आएर संबन्धित निकायसँग जोडिनुस्।    

    बिष्णु धिताल/ गोर्खा (हाल मलेसिया)
  • परदेशि भएर बाच्नु भनेको आफ्नो बाल बच्चाको भबिष्य बिगार्नु रैछ। आज म घरबाट हिडेको २० बर्ष भयो। दिन बित्न केहि बेर लागेन तर पछाडि फर्कि हेर्दा जहाँ को त्यही देख्दछु। यतिका बर्ष पदेशमा बसेर पनि कुनै कुराको परिवर्तन भएन।

    तुल मगर/ बर्दघाट, परासि (हाल दुवई)
  • विदेश जाने सोच्नु भएका साथिहरु कृपया कुनै पनि देश जानु भन्दा अगाडी त्यस देशको रहनसहन, भेषभुषा, धर्म, भाषा, वातावरण र काम गर्न जान लागेको कम्पनी नयाँ होकी पुरानो ! यस्ता कुरा राम्ररी बुझ्नुहोला। यदि नयाँ कम्पनी हो भने कामदार कति छन त्यस्ता कुरा पनि ध्यान दिनु पर्छ। विदेशीएका मध्य धेरैले भनेको काम नपाउनु, भने जति पैसा नपाउने भनेका यस्तै नयाँ कम्पनीहरु हुन। त्यसैले जसरी विदेश जान गाह्रो छ, त्यसको दश गुणा स्वदेश फर्कन छ। त्यसैले यदि जानु हुन्छ भने शाहस बोकेर जानुहोला। जस्तो सुकै काम गर्न सक्छु भन्न सक्ने मात्र जानु होला। विदेशमा सजिलो काम भन्ने हुदैन। अत्यन्तै गाह्रो हुन्छ। गए पछि तुरुन्त फर्कन सकिन्न। यदि फर्किहाले पनि लगानी डुब्छ। बरु त्यो लगानी नेपालमा गर्नुहोस। त्यहि लाभदायक हुनेछ। 

    हरि थापा/ भेड्पु दोलखा (हाल मलेसिया)
  • समस्या त धेरै छन् तर समस्यामध्ये मुल समस्या भनेको यो परदेशमा समयमा तलब नपाउने तलब पाए पनि आफूले गरेको कामको पुरा नपाउने।  साथै कामदारको लागि कम्पनीले दिने खाना अनि बस्ने ठाँउ राम्रो नहुनु। अनि मेरो आफ्नै अनुभवमा भन्नु पर्दा अर्को समस्या हामी आफैमा पनि हुन्छ। जस्तै कि आउने देशको भाषा, नियम कानुन, कामको बारेमा राम्रो जानकारी नहुनु। त्यसैले वैदेशिक रोजगारीमा आउनु भन्दा पहिला आफू जाने देशको बारेमा केही न केही जानकारीहरु हुनै पर्ने रैछ।

    राज कुमार तामाङ /अबुधाबी,युएई
सबै हेर्नुहोस