MENU

विशेष

दलाल ६० हजार लिएर कतार भागे

दुर्गाप्रसाद भट्टराइ/सर्लाही ।

पुस २८ – अघिल्लो वर्ष वैशाख १२ गतेको भूकम्पले घर आधा भत्कायो । आधा भत्किएको घर फेरि बनाउने आँट छैन सर्लाहीको गौरीशंकर–२ का ७० वर्षका रामदेव रामसँग । ‘पैसा भएन न आँट हुने हो । पैसा नभएपछि कसरी आँट गर्नु’ रामदेवले समस्याको पोको खोल्नुभयो । रामका छोरा दिनेश रोजगारीका लागि भारतमा हुनुहुन्थ्यो । छोराको कमाई घर खर्चमै ठिक्क हुने भएपछि रामदेवलाई घर कसरी बनाउने भन्ने चिन्ताले सताएको थियो । 

त्यही समस्याका बिचमा गाउँकै रामधारी भन्ने श्याम तक्माले छोरालाई विदेश पठाउने भए राम्रो काम र कमाईको माग आएको भन्दै लोभ देखाए । ‘समस्यामा परेका बेला त ढुङ्गा खोज्दा देउता मिले जस्तै हुँदो रहेछ’ रामदेवले श्यामलाई भेट्दाको अनुभव सुनाउनुभयो । 

श्यामलाई भेटेपछि निराश भएका रामदेवलाई केही आशा पलायो । छोरालाई विदेश पठाउन पाए घर बनाउन सकिन्थ्यो अनि अवस्था पनि सुध्रिन्थ्यो भन्ने सोच्नुभयो । त्यतिबेला दिनेश पनि घर आउनुभएको थियो । त्यही मौकामा रामदेवले छोरासँग पनि सल्लाह गर्नुभयो । 

श्यामले भनेको काम दिनेशले भारतको लुधियानामा गरिरहेकै काम थियो । दिनेश लुधियानामा कपडा सिलाउने काम गर्नुुहुन्थ्यो । आफ्नो र एजेण्टले भनेको काम मिलेपछि दिनेश विदेश जान तयार हुनुभयो । त्यसका लागि श्यामले ८५ हजार रुपैयाँ लाग्छ भनेका थिए । कुन देश भन्ने चाहिँ केही नबताए पनि श्यामले विदेशमा १२ सय भन्दा धेरै तलब र गर्न सकेजति ओभरटाइम पाइने आश्वासन दिए । अवसर राम्रो जस्तो लागे पनि दैनिक ज्याला मजदुरीले घर चलाउँदै आएका रामदेवसँग पैसा थिएन । 

त्यसैले श्यामसँग पैसा केही दिनमा जुटाएर दिने भन्दै तत्काललाई पासपोर्ट राखेर प्रक्रिया सुरु गर्न आग्रह गर्नुभयो तर श्यामले कुरै सुनेनन् । श्यामले पासपोर्टसँगै ६० हजार रुपैयाँ दिए मात्रै प्रक्रिया अघि बढ्ने बताए ।

श्यामको जवाफपछि रामदेवले हरिपुरवा–६ का दिनकर रायसँग महिनाको १८ सय ब्याज दिने सर्तमा ६० हजार ऋण लिनुभयो र श्यामलाई दिनुभयो । बुवाले पैसा दिँदा बेलामा दिनेश लुधियानामै हुनुहुन्थ्यो । त्यसैले रामदेवले पैसा बुझाएपछि विदेश जाने पक्का भएको भन्दै दिनेशलाई घर बोलाउनुभयो । 

पैसा हात पारेपछि भने श्यामले आज भन्दै, भोलि भन्दै आलटाल गर्न थाले । आठ महिनासम्म पनि छोरा विदेश जान नपाएपछि रामदेवले पठाउन नसक्ने भए पैसा र पासपोर्ट फिर्ता दिन भन्नुभयो ।

‘त्यतिबेला उसले काका तपाईंलाई मेरो विश्वास नलागेको भए मैले ६० हजार लिएपनि २ लाख ४० हजारको भरपाई बनाई दिन्छु भन्दै गाउँका केही मान्छे बेलाएर तमसुक पनि बनाइदियो’ रामदेवले सुनाउनुभयो । ६० हजार रुपैयाँ लिएको व्यक्तिले २ लाख ४० हजार रुपैयाँको तमसुक बनाइदिएपछि भने रामदेवलाई पठाइदिन्छ होला भन्ने आशा लाग्यो । 

श्यामले यस्तो आश्वासन दिएको केही समयपछि मधेस आन्दोलन सुरु भयो । हिजोसम्म अरु कुरा गरेर झुलाइरहेका श्यामले त्यसपछि भने आन्दोलनकै कारणले काम भएको छैन भन्दै ढाँटिरहे । श्यामलाई फोन गर्दा ‘सबै काम पूरा भएको छ, बन्द खुले लगतै पठाइदिन्छु’ भन्न थाले । रामदेवका बाउछोरा उनकै कुरा पत्याएर बसे । तर उड्ने दिन आएन । बन्द खुलिसक्दा पनि सम्पर्क नगरेपछि रामदेव उसकै घरमा पुग्नुभयो । तर त्यति बेलासम्ममा श्याम कतार पुगिसकेका थिए । ‘त्यसपछि त आत्तिनु र निराश हुनु बाहेक के बाँकी रह्यो र’ रामदेव भन्नुहुन्छ । 

ऋण दिनेले भने विदेश पठाइदिन्छु भन्ने व्यक्ति पासपोर्ट र पैसा भागेको सुईँको पाए । त्यसपछि समस्यामा परेका बेला आड भरोसा दिनुको साटो पैसा फिर्ता माग्न थाल्यो । दिनैपिच्छे किचकिच गर्न थालेपछि सहन नसकेका रामदेवले डुमरियाका राधेश्याम ठाकुर सँग ८५ हजार सय कडा तीन रुपैयाँका दरले ऋण लिनुभयो र दिनकर रायलाई बुझाउनुभयो । 

श्याम विदेश गएपनि उनका बुवा अनि श्रीमती घरमै थिए । त्यसैले परिवारलाई भनेर भएपनि पैसा फिर्ता सकिने आशमा उनीहरुलाई पनि गुहार्नुभयो रामदेवले । तर श्यामका बुवाले उ आफूहरुसँग छुट्टिइसकेको भन्दै छोराको बारेमा केही थाहा नभएको बताए ।

अनि श्यामकी श्रीमतीले चाहिँ विदेशबाट पैसा मगाएर दिने बताइन् । तर उनले वचन दिएको तीन वर्ष पुग्न लाग्दा पनि रामदेवले पैसा फिर्ता पाउनुभएको छैन । 

केही हुन्छ कि भनेर उहाँ हरिऔनमा सूचना केन्द्रमा पनि पुग्नुभयो । सूचना केन्द्रले विदेश पठाई दिने भनेर पैसा लिएर नपठाए आधा पैसा थपेर फिर्ता दिनुपर्ने कानुनी प्रावधान रहेको जानकारी दियो ।

त्यसले केही आशा जागेपछि श्यामका बारेमा उजुरी लिएर रामदेव प्रहरी चौकी पनि पुग्नुभयो तर प्रहरीले पैसा लिने व्यक्ति नभएसम्म केही गर्न नसकिने भन्दै भएका कागजपत्र जतन गरेर राख्न सुझाव दियो ।

तर दिनेशका बाउछोरासँग पासपोर्ट पनि छैन । त्यसैले कानुनले केही सहयोग गरे ऋणबाट मुक्ति पाइन्थ्यो कि भन्ने आशा छ, दिनेश र उहाँका बुवा रामदेवको । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • मरुभुमिको यो तातो घाममा दिनभरी गैती र बेल्चा हान्नुपर्छ। न त भने जस्तो खान पाइन्छ न थकाइ लाग्यो भनेर थकाइ नै मार्न पाइन्छ। खाना पनि बासिभात खानुपर्छ। नत राख्ने ठाउँ छ ल्याएर एउटा खजुरको बोट मुनि राखेर काम थाल्नुपर्छ। भरे खाने बेलामा त्यो तातो घामले गजज्ज पानी आइराखेको हुन्छ। बाध्यता, त्यसैलाइ पानी हालेर पखालेर खानुको बिकल्प अरु केनै छ  र? खुन र पसिनामा निथ्रुक्क भिजेर यो दुःखी जीवन यस्तै छ। यस्तो परिश्रम गर्ने हो भने त हाम्रो देशमा सुन फलाइन्छ। जय मार्तीभुमी। 

    दोहा, कतार
  • म युरोपको इटली आएको चार बर्ष भयो। सोचे जस्तो काम नपाएर बाच्नै मुश्किल भइरहेको छ। बस्न खान मात्रै नेपाली ४०-४५ हजार लाग्छ।  अहिले आएर लाग्छ कि नेपालमै मेहनेत गर्दा हुने थियो बरु। के गर्नु विदेशको जिन्दगी। युरोपमा त सजिलै पैसा कमाउन सकिन्छ भन्ने सोचेको थिए।

    किरण थापा /इटहरी (हाल इटली)
  • खनाइदैछ श्रम खाड़ीको देशमा, सबै सोच्छन सुन फल्छ विदेशमा, नेपालमा पैसा हैन श्रम सम्मानको खाँचोंछ, विदेशमा पसीना बग्दैछ तर मातृभूमि बाझो छ।

    राकेश लुइटेल / भक्तपुर
  • हामी नेपाली कामकालागि खाडी जान्छौं । जहाँ जान सरकारले फ्रिः भिसा फ्रिःटिकटको व्यवस्था गरेको छ। तर म्यानपावरले ठगि गरि धेरै पैसा लिने गरेको छ। हामीहरुलाई विदेश पठाउन सरकारले नै व्यवस्था गरे हुदैन र? यदि यसो गरेमा धेरै नेपालीहरु ठगिबाट जोगिने थिए कि?

    रुद्रबहादुर बिक/ दाङ
सबै हेर्नुहोस