MENU

विशेष

विद्यालयको मुख नदेखेका बेनबहादुरलाई दैवले परीक्षा लियो

सिर्जना बस्नेत/रामेछाप ।

रामेछाप, फागनु ६ – काँधमा कालो झोला, हातमा राहादानीको फारम । अनि काखे छोरी च्यापेर एकजना मानिस जिल्ला प्रशासन कार्यालय रामेछापमा घरी यता घरी उता गर्दै थिए । यसरी प्रशासनको काम गर्दा उहाँलाई अप्ठ्यारो भएको प्रष्टै देखिन्थ्यो । छोरी भने बुबाको साथमा मख्ख थिइन् । यो देख्ने जो कोहीलाई पनि लाग्न सक्छ, हिँड्ने उमेर भइसकेकी छोरीलाई एकछिन भुईंमा खेल्न छाडे भैहाल्यो नि । बच्चा खेल्ने र हिँड्ने उमेर भइसकेको जस्तो देखिन्छ । तर कथा बेग्लै छ । 

रामेछापको खाँडादेवी–३ का बेनबहादुर मगर । उहाँले कहिल्यै विद्यालयको मुख देख्नुभएन । तर बेनबहादुरलाई दैवले परीक्षा लियो । 

सानैमा काम र मामको खोजीमा काठमाडौं छिर्नुभयो । होटलको भाँडा माझ्नेदेखि इट्टा बोक्ने काम गर्नुभयो । शहरका दुःख यत्तिमै सकिएनन् ।

बाआमाले खोजेको केटी विवाह गरेपछि बेनबहादुर एकबाट दुई भए । जिम्मेवारी थपिने नै भयो । गाउँमा खेती किसानी गरेर उब्जाएको अन्नले वर्षभरी खान मुश्किल थियो । त्यसैले श्रीमतीलाई गाउँमा नै छाडेर उहाँ काठमाडौं आउनुभयो । काठमाडौंमा मजदुरी गरेर कमाएको पैसाले गाउँमा छाक टार्न सहयोग पुग्थ्यो । 

२०७० सालमा बेनबहादुर दम्पतीलाई सन्तान लाभ भयो । छोरी तिर्सना जन्मिदा उनीहरु खुसी थिए । छोरी हुर्किदै गई । तर अरु केटाकेटी भन्दा फरक स्वभावकी । शारीरिक रुपमा पनि अपाङ्ग । सामान्य अवस्थामा भए तीन वर्षीया तिर्सना ताते ताते गरेर हिँड्नु पर्ने हो । तर अहिलेसम्म खुट्टा टेकेर उभिने छाँटकाँट देखिएको छैन । 

तिर्सना बोल्न सक्दिनन् । शरीर हड्डी नभएजस्तो लुलो छ । ओल्टो कोल्टो फेर्न पनि सक्दिनन् । उनलाई एक जना ढुक्कै गोठालो बस्नुपर्छ । 

तिर्सनालाई बोकेको देख्दा कसैलाई पनि शारीरिक रुपमा अपांग छिन जस्तो लाग्दैन । मुस्कुराउँदै बुवाको काखमा लुटपुटिन्छिन् । तर उनलाई कतिखेर भोक लाग्छ, दिसापिसाव कतिबेला लाग्छ थाहा हुन्न । छोरीको अवस्था यस्तो भएपछि बेनबहादुर परिवारलाई पिरलो छ । 

निको हुने आशमा धामीझाँक्री नलाएको होइन । तर पार लागेन । छोरीको उपचारका लागि उहाँले अहिले श्रीमतीलाई पनि काठमाडौंमा नै राख्नुभएको छ । उपचारमा झण्डै तीन लाख रुपैयाँ खर्च भइसक्यो । तर अहिलेसम्म तिर्सनाको स्वास्थ्य बीसको उन्नाइस भएको छैन । 

बरु उपचार गर्दा काडेको ऋणको ब्याज बढ्न थाल्यो । साहुले ब्याज यति भयो, उति भयो भन्दा बेनबहादुरको मन आत्तिन्छ । 

जहाँ पातलो त्यही प्वाल छिटो पर्छ भन्ने उखान बेनबहादुरको जीवनमा ठ्याक्कै मेल खाएको छ । ६ महिना अघि कान्छी छोरी जन्मिदा उहाँको श्रीमतीको ढाडको नसा च्यापियो । र ४५ दिन अस्पतालमा राखेर उपचार गर्नुपर्यो । उपचारपछि पनि उहाँका श्रीमती सामान्य हिँडडुल गर्न मात्र सक्छिन । नियमित औषधि खानुपर्छ । 

श्रीमतीलाई पनि नियमति औषधि किन्नपर्ने भएपछि बेनबहादुरको खर्च बढ्यो । तर आयस्तर भने अरु केही छैन । दिनभर मजदुरी गरेर कमाई भएको पैसाले खर्च धान्नुपर्छ । नेपालमा नै मजदुरी गरेको पैसाले दुई जनाको उपचार खर्च जोड्न नसकिने भएपछि उहाँले विदेशको सपना देख्न थाल्नुभयो । र पासपोर्ट बनाउन काठमाडौंबाट छोरी च्यापेर मन्थली आउनुभएको हो । 

विदेशको दुःखसुखका बारेमा बेनबहादुर अपडेट हुनुहुन्छ । उहाँलाई विदेशमा काम गरेर फर्केकाहरुले त्यताको सजिलो अप्ठ्यारो सुनाएका छन् । फेरी नेपालमा नै काम गरेर दुई जनाको उपचार खर्च जुटाउन पनि कठिन हुन थालेको छ । 
बेनबहादुरलाई अझै पनि आश छ, छोरी निको हुन्छिन र किताबकापी बोकेर स्कुल जाने हुन्छिन् । त्यसैले छोरीको उपचार खर्च कमाउन उहाँ विदेश जाने प्रक्रियामा हुनुहुन्छ । 

विदेशमा मृत्यु भएकाको परिवारले क्षतिपूर्ति पाउने पनि उहाँले सुन्नुभएको छ । नेपालमा केही सिप नलागेपछि विदेशको सपना देखेका बेनबहादुरको चित्त बुझाउने अर्को मेलो पनि छ, विदेशमा नै तलमाथि भइहाले परिवारले पैसा त पाउँछन् । “नेपालमै मरें भने स्वास्नीले पैसा पाउँदिनन् । उतै मरें भने क्षतिपूर्तिमा आउने पैसाले छोरीको उपचार हुन्छ ।” उहाँले भन्नुभयो । 

नेताहरुले राज्यको ढुकुटीबाट खर्च लिएर विदेश गएर उपचार गराउने उहाँलाई थाहा छ । बेनबहादुरलाई लाग्छ, सरकारले पनि हुने खानेलाई हेर्छ । गरिबले उपचार गर्न नपाएर मर्नु पर्दो रहेछ । 

हिँड्ने बेलामा गहभरी आशुँ पार्दै उहाँले भन्नुभयो ‘मलाई पनि कसैले सहयोग गरे त छोरीको उपचार गर्न सक्थें होला । यसले पनि ठमठम हिड्न सकेको दिन कस्तो होला ?’ छोरीको उपचार गर्दा लागेको ऋण तिर्ने र थप उपचारका लागि पैसा विदेशमा कमाउन सकिएला भन्नेमा पनि विश्वस्त हुनुहुन्न बेनबहादुर । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • ​शिक्षा कार्यालय र विद्यालयले जिम्मेवारी बुझेनन्, वैदेशिक रोजगार छात्रवृत्ति अन्योलमा

    नवलपरासीको कावासोती १ की प्रितिमाया सिंजाली वैदेशिक रोजगार छात्रवृतिका लागि छोरो पढ्ने नजिकैको एभरेष्ट निजी विद्यालयमा निवेदन लिएर पुग्नुभयो । तर विद्यालयले निवेदन लिन मानेन । वैदेशिक रोजगारीका क्रममा अविभावक गुमाएका वालवालिकालाई छात्रवृति दिने कुरा विद्यालयलाई थाहै रहेनछ ।

  • घरमा बाबुले सिकाएकै काम साउदीमा

    ‘सिप भनेको केटा जीवन जिउने आधार हो, राम्रोसँग सिक् पछि पनि काम लाग्छ ।’ जालपा ६ खोटाङका मौलिधन राईलाई बुबा डम्बर राईले ९ वर्ष अघि यसै भन्नु भएको थियो ।

  • छोराछोरी परदेशमा आमा स्कूलमा

    कपिलवस्तुकी सोना खान आफूसँग भएको पैसा बचत गर्न बैंक जानुभएको थियो । पैसा जम्मा गर्ने रसिदमा हस्ताक्षर गर्नु पर्ने भयो तर उहाँलाई आएन । उहाँ ल्याप्चे लाउन बाध्य हुनुभयो । आफ्नो नाम पनि लेख्न नआएको भन्दै छेउछाउकाले खिल्ली उडाए ।

  • युएईमा ६ नेपालीलाई तलव मागे मुद्दा हाल्ने कम्पनीको चेतावनी

    सेक्युरिटी गार्डको रुपमा कामगर्न भन्दै ९ महिना पहिले युएई आएका ६ जना नेपाली अलपत्र परेका छन । युएईमा रहेको रोयल फाल्कोन सेक्युरिटी कम्पनीका लागि डिडी ओभरसिजबाट १८ जना र सेभेनसिस प्रालीबाट ८ जना प्रतिब्यक्ती ४ लाख तिरेर युएई आएका थिए ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • खनाइदैछ श्रम खाड़ीको देशमा, सबै सोच्छन सुन फल्छ विदेशमा, नेपालमा पैसा हैन श्रम सम्मानको खाँचोंछ, विदेशमा पसीना बग्दैछ तर मातृभूमि बाझो छ।

    राकेश लुइटेल / भक्तपुर
  • हामी नेपाली कामकालागि खाडी जान्छौं । जहाँ जान सरकारले फ्रिः भिसा फ्रिःटिकटको व्यवस्था गरेको छ। तर म्यानपावरले ठगि गरि धेरै पैसा लिने गरेको छ। हामीहरुलाई विदेश पठाउन सरकारले नै व्यवस्था गरे हुदैन र? यदि यसो गरेमा धेरै नेपालीहरु ठगिबाट जोगिने थिए कि?

    रुद्रबहादुर बिक/ दाङ
  • आफ्नै देशमा रोजगारिको ग्यारेन्टी गर्न सक्दैन नेपाल सरकारले ।  त्यसैको फलस्वरुप लाखौं यूवा परदेशिन बाध्य भएकाछन्।  तर परदेशमा पनि अरु देशका नागरिकलाई झैं हेर्दैनन संबन्धित कम्पनिहरुले। तलव देखि लिएर बस्ने ठाउँ सम्ममा गिराएको हुन्छ नेपाली कामदारलाई। एउटै कम्पनीमा उस्तै काम, अझै भन्ने हो भने अरु देशका कामदार दक्ष नभए पनि तलब भनेजस्तै हुन्छ। नेपाली कामदार दक्ष नै होस् तर हेपिनैरहेको देखेकोछुँ । तर हाम्रो बिलौना कस्ले हेर्ने? कस्ले सुनिदिने? नेपाली दूतावासमा न्याय खोज्न गयो, उतै दलाल भेटिन्छन्। उल्टै हाम्रै गल्ती देखाउछन्।  प्रधानमन्त्री ज्यु भ्याए सम्म साउदी, कतार, मलेसिया आएर संबन्धित निकायसँग जोडिनुस्।    

    बिष्णु धिताल/ गोर्खा (हाल मलेसिया)
  • परदेशि भएर बाच्नु भनेको आफ्नो बाल बच्चाको भबिष्य बिगार्नु रैछ। आज म घरबाट हिडेको २० बर्ष भयो। दिन बित्न केहि बेर लागेन तर पछाडि फर्कि हेर्दा जहाँ को त्यही देख्दछु। यतिका बर्ष पदेशमा बसेर पनि कुनै कुराको परिवर्तन भएन।

    तुल मगर/ बर्दघाट, परासि (हाल दुवई)
सबै हेर्नुहोस