MENU

विशेष

गाउँकै एक्ला प्लस टु पास दिपेन्द्र कमाउने आशमा मलेसिया, ३ लाख तिर्न ३ वर्ष

सोम दियाली/सर्लाही ।

वैशाख, ७ –  साविकको सर्लाहीको नेत्रगंजमा पर्ने पुनर्वास अहिले लालबन्दी नगरपालिका-२ मा पर्छ । गाउँको नाम जस्तै यो गाउँमा धनुषाको झिँजाबाट पुनर्वास गराइएका पासवानहरुको बस्ती छ । 

सरकारले २०३४/३५ सालतिर २ सय ८ परिवारलाई पुनस्र्थापना गरेको थियो । प्रति परिवार दुई बिघा जग्गा दिएर । अहिले त जनसङ्ख्या बढेर झण्डै ५ सय घरधुरी पुगेको छ । धनुषामा छँदा उनीहरुसँग केही काम थिएन । 

त्यसैले उनीहरुले सरकारले दिएको जग्गामा खेती गर्न थाले । यहाँका मानिसहरु विशेष गरी तरकारी खेती गर्छन् । उनीहरुले आफनो उत्पादन स्थानीय बजार लालबन्दी, नवलपुर, हरिवन लगायतका ठाउँका व्यापारीहरुले लैजान्छन् । अहिले पनि यहाँका मानिसहरु तरकारी खेती नै गर्छन् । कामको मेलो पाएपछि उनीहरुले छोराछोरीलाई पढाउन पनि थाले । 

त्यही गाउँमा थियो दिपेन्द्र पासवानको परिवार पनि । दिपेन्द्रले पनि प्लस टुसम्म पढ्न पाउनुभयो । उहाँले २०५७ सालमा प्लस टु पास गर्नुभयो । तर जागिर पाउन सक्नुभएको थिएन । त्यतिबेला पासवान बस्तीमा पनि वैदेशिक रोजगारीको हावा लागिसकेको थियो ।  

उहाँका गाउँका युवा पनि पासपोर्ट बनाएर विदेश जान थाले । ऋण लिएर विदेश जानेहरुले पठाएको पैसा भने घर खर्च र छोराछोरी पढाउनै ठिक्क हुन्थ्यो । यो वास्तविकता देख्ता देख्तै पनि दिपेन्द्र पनि ६२ सालमा मलेसिया जानुभयो । विदेश जान लाग्ने पैसा न उहाँसँग न त परिवारसँग त्यसैले उहाँले ऋण खोजेर जानुभयो । ‘जाने बेलामा विदेश पुगेपछि त जसरी पनि कमाउन सकिन्छ भन्ने सोचेको थिए’ दिपेन्द्रले भन्नुभयो । 

तर विदेशको वास्तविकता उहाँ पुगेपछि मात्रै बुझ्न पाउनुभयो । न भाषा नै आउने न त चिनेका कोही थिए । त्यसैले मलेसिया पुगिसकेपछि त उहाँलाई नेपालमै केही गर्नेपर्ने रहेछ भन्ने लाग्यो । ‘विरामी पर्दा पानी तताएर दिने मान्छे पनि नभएपछि कति नराम्रो लाग्छ होला’ जिज्ञासाको शैलीमा दिपेन्द्रले भन्नुभयो । 

तर नेपाल फर्किन सजिलो थिएन दिपेन्द्रलाई । किनकी पासपोर्ट बनाउँदादेखि नै उहाँलाई ऋण लागेको थियो । यतिकै फर्किंदा त्यो ऋण कहिले तिर्ने ? यही प्रश्नले उहाँलाई सताइरह्यो । त्यसैले मन बुझाएर बस्नुभयो । 

विदेश जाने बेलामा उहाँलाई झण्डै ३ लाख रुपैयाँ ऋण लागेको थियो । त्यो ऋण तिर्न उहाँलाई तीन वर्ष लाग्यो । अनि कमाएर जुमाउने सपना पूरा गर्दा गर्दै उहाँले १० वर्ष मलेसियामै बिताउनुभयो । विदेशको कमाईले ७ कठ्ठा जग्गा किन्नुभयो । अरु पैसा त छोराछोरीको पढाईमा र घर खर्च मै सकियो । 

त्यसबाट बचेको पैसाले उहाँले घर फर्किएर कुखुरा पाल्न थाल्नुभएको छ । परिवारसँग बसेर काम गर्न सकियो भने विदेशको जत्तिकै कमाउन सकिन्छ भन्ने आशा लिएर सुरु गरेको कुखुरा फार्मको कमाई सोचे जस्तै भइरहेको छ । ४५ दिनमा  एक लट कुखुरा बेच्नुहुन्छ । त्यसबाट खर्च कटाएर ६० देखि ७० हजार रुपैयाँ कमाई हुन्छ उहाँको । 

१० वर्ष विदेश बस्दा उहाँले नेपालबाट सुरु हुने ठगिदेखि विदेशमा नेपालीले पाउने दुःख पनि नजिकबाटै नियाल्नुभयो । ‘एक त नेपालीहरुलाई आफू काम गर्न जाने देशका बारेमा थोरै पनि जानकारी नहुने रहेछ अनि नेपालमा भनेको काम र तलब नदिँदा पनि दुःख पाएका रहेछन्’ दिपेन्द्रले भन्नुभयो, ‘कसैसँग गुनासो गर्यो वा कसैलाई भन्यो भने एउटा बहाना बनाएर कामबाट निकाल्ने जेल हाल्ने अनि उस्तै पर्यो भने त मार्ने पनि त रहेछ ।’

यस्तै समस्याले गर्दा नेपालीहरुले समस्या हुँदा हुँदै पनि सहेर बसेको उहाँले देख्नुभयो । विदेशमा समस्यामा परेका नेपालीहरुलाई दूतावासहरुले पनि सहयोग गर्छन् भनिन्छ तर नेपालीहरुका समस्या बारे त्यति धेरै चासो दिएको उहाँ १० वर्षसम्म बस्दा पनि थाहा पाउनुभएन । आफैंसँग काम गर्ने अरु देशका कामदारका समस्या तत्काल उनीहरुको सरकारकै पहलमा समाधान भएको देख्दा उहाँलाई नरमाइलो लाग्थ्यो । 

उहाँले विदेश पुगेपछि घरबाट विदेश जान निस्किँदै गर्दादेखि नै ठगिएकाहरु बारेमा लेखिएका समाचार पनि पढ्नुभयो । त्यतिबेला उहाँलाई संयन्त्र दरो भए पो ठगि रोकिन्थ्यो त जस्तो लाग्छ । ‘ठगिका खबरहरु धेरै आउँछन् तर ठग्नेहरुलाई कारबाही भएको खबर निक्कै कम मात्रै सुनिन्छ अनि कसरी ठगि रोकिन्छ त हैन ?’ दिपेन्द्र प्रश्न गर्नुहुन्छ। 

यस्ता समस्या आउनुका पछाडी नेपालबाट विदेश जान कुनै मापदण्ड नहुनु मुख्य कारण रहेछ भन्ने दिपेन्द्रले थाहा पाउनुभयो । जसले पायो त्यसले, जसरी मन लाग्यो त्यसरी नै विदेश पठाउने भएपछि उहाँ पुगेका नेपाली समस्यामा पर्नु स्वभाविक हो जस्तो लाग्छ दिपेन्द्रलाई । त्यसैले विदेश जानेहरु नै सचेत हुनुपर्ने अनि सरकारले पनि नेपालमै ठगि नियन्त्रण गर्नुपर्ने उहाँ बताउनुहुन्छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
  • साउदी अरेबियामा आजिवन जेल परेका स्थानेस्वरलाई बचाउ अभियान नै चलाइदै रहेछ, राम्रो कुरा हो। बिगतमा पनि अमर राई र बमबहादुरको लागि चाहिने भन्दा धेरै रकम संकलन भएको थियो। अझ एकजनाको त पुरै ब्लडमनि अज्ञात ब्यक्तिले दिएको थियो। त्यो पैसा अहिले कहाँ र कोसँग छ ? त्यस्को सोधी खोजी कसले गर्ने ? यदि त्यो पैसा त्यस्तै निर्दोशलाई बचाउन राखिएको हो भने त्यसबाटै स्थानेस्वरलाई बचाउन सकिँदैन र ?

    दुर्गेस सापकोटा
  • मलेसियामा न त कानुनसम्बन्धी कुनै भरपर्दो निकाए नै छ जस्ले कामदारका हितमा सघाओस् न त भनेजस्तो तलब सुबिधानै। अन्तराष्ट्रीय नियम अनुसार श्रमिकहरुको न्युनतम कामगर्ने समय र महिनाभरी पर्ने पब्लिक डे र अन्य बिदाको त कुनै अर्थ नै छैन। न त कम्पनीले दिन मान्छ, न यहाँको सरकारी निकायबाट छानबिन नै हुन्छ। दिनरातको असुरक्षित बातावरणमै दुःखमा दिन बिताउन बाध्य छ्न् यहाँ कार्यरत अधिकांश नेपाली कामदारहरु। नेपालसरकारको त कुरै नगरौँ, दुतावासले सहयोग गर्ला सोच्योकी बिचौलियालाई ठिक्क पारिन्छ।

    करन महरा / मलेसिया
  • मलेसियामा सुरक्षा गार्ड कम्पनीले श्रम सम्झौतामा उल्लेख  भए अनुसारको न काम दिन्छ, न त  तलब नै। आफ्नो ब्यक्तिगत सुरक्षाको त कुरा नै नगरौं। त्यस्तै परे आफ्नो कम्पनीको मानिसले नै कुन बेला मान्छे र पुलिस लगाएर कुटाउन बेर लगाउदैन। हामी श्रमिकले त नेपालका म्यानपावरलाई एक देखि दुई लाख सम्म बुझाएका हुन्छौं। मलेसियामा बेसिक नौं सय रिङ्गिट  गरी जम्मा १६ सय हुन्छ। होस्टेल, लेबि, ड्रेस अनि यातायातको पैसा कट्दा र खाना खाँदा मुस्किलले एक बर्षमा ऋण तिरिएला। बरु यो भन्दा नेपाल सकारले मालेसियामा कामदार पठाउन बन्द गरेर विकल्प खोज्नुपर्छ। किनकि नेपालको दूतावासले पनि दीर्घकालीन समाधान भन्दा कामदारलाई  थम्थमाउने तिर मात्र लागेको देखिन्छ।

    ठाकु योञ्जन / मलेसिया
सबै हेर्नुहोस