MENU

विशेष

एक वृद्ध यसरी ठगिए : ‘के गर्नु पढेको थिइनँ, धम्क्याएपछि ल्याप्चे लगाइदिएँ’

दुर्गाप्रसाद भट्टराई/सर्लाही ।

वैशाख ८ – साउदी पुगेका श्रीमानको चार महिना पछि फोन आउँदा फुरुङ्ग हुनुहुन्थ्यो सर्लाहीको गौरीशंकर-९ की राजकुमारी महतो । 

फोन आउँदा खुशी भएकी राजकुमारी श्रीमानको कुरा सुनेपछि भने तनाबमा पर्नुभयो । श्रीमानले चार महिना काम गर्दा पनि कम्पनीले तलब नदिएको अनि सधैँ खान पनि नपाएका कुरा भन्नुभयो फोनमा । श्रीमानले उहाँसँग आफूलाई साउदीबाट तत्काल निकाल्न पनि आग्रह गरेपछि उहाँलाई तनाब भएको हो । 

यहाबाट सुपरमार्केट भनेर लगेपछि त्यहाँ क्लिनरको काममा लगाएकाले आफूले काम गर्न नसकेको भन्दै श्रीमान् तत्काल नेपाल फर्काउन भनेपछि राजकुमारीले गर्ने भन्ने पनि सोच्न सक्नुभएन् । त्यसैले उहाँ भोली पल्टै हरिवनमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा पुग्नुभयो । केन्द्रले राजकुमारीलाई काठमाडौंमा रहेको पिपुल फोरममा जान सल्लाह दियो । 

त्यही सल्लाहमा उहाँले ससुरा रामसिकिल महतोलाई काठमाडौं पठाउनुभयो । काठमाडौं आएका रामसिकिलले पिपुल फोरमको सहयोगमा वैदेशिक रोजगार विभागमा भनेको काम र तलब दिलाइदिन माग गर्दै काठमाडौंको नाइल ओभरसिज प्रा.लि. म्यानपावर बिरुद्ध उजुरी दिनुभयो ।  

उजुरी दिएको तीन महिनापछि म्यानपावर आफैंले राजकुमारीलाई फोन गरेर ससुरालाई चार दिनभित्र कार्यालयमा पठाइदिनु भन्यो । ‘मैले अब उहाँलाई घर फर्काउने कुरा गर्न बोलाएको होला भन्ने सोचेर ससुरा बुवालाई छिमेकीसँग पैसा मागेर काठमाडौं पठाएँ’ राजकुमारीले भन्नुभयो । 

तर छोराको उद्धार हुने आशम आएका रामसिकिललाई म्यानपावरका सञ्चालकले छोरा फर्काउने भन्दा पनि हामी बिरुद्ध मुद्दा हाल्ने भन्दै गाली गरे । त्यति मात्रै होइन मुद्दा फिर्ता लिने कागजमा सही गरे मात्रै तेरो छोरा नेपाल आउँछ भन्दै धम्क्याए पनि । ‘के गर्नु मैले लेखपढ गरेको थिइन, त्यसैले छोरा आउँछ भनेपछि कागजमा ल्याप्चे लगाइदिएँ’ रामसिकिल भन्नुहुन्छ ।  

कागजमा सही गरिसकेपछि उहाँलाई म्यानपावरले तीन महिनामा छोरो फकाईदिने भन्दै त्यतिञ्जेलका लागि घर खर्च भन्दै २० हजार रुपैयाँ पनि दियो । उहाँ त्यही २० हजार र कागज बोकेर घर फर्किनुभयो । 

तर घर पुगेर अरुले कागज हेरेपछि मात्रै म्यानपावरले आफू माथि पर्ने गरि कागजमा ल्याप्चे हान्न लगाएको थाहा पाउनुभयो उहाँले । ‘अरुले किन यस्तो कागजमा नबुझी ल्याप्चेको हानेको भनेपछि मात्रै मात्रै मैले त्यो कागज त म्यानपावरले आफू उम्किने गरी बनाएको रहेछ भन्ने थाहा पाएँ’ ६० वर्षका रामसिकिलले भन्नुभयो । 

म्यानपावरले फसाउन खोजेपछि राजकुमारी श्रीमानलाई विदेश पठाउने एजेण्टको मोहित लामाकोमा पुग्नुभयो । उनी आफ्नै गाउँका थिए ।

राजकुमारीले विदेश पठाउँदा ८० हजार रुपैयाँ लिए पनि श्रीमानले उहाँको भनेको काम र तलब नपाएको भन्दै फर्काइदिन आग्रह गर्नुभयो तर एजेण्टले पनि तिम्रो ससुराले म्यानपावरमा गएर सहमति गरेर कागजमा ल्याप्चे लाएर आएको भन्दै केही गर्न नसक्ने जवाफ दिए ।  

अहिले त न म्यानपावरले फोन उठाउँछ न त एजेण्टले नै सहयोग गर्छन । म्यानपावरले ८० हजार रुपैयाँ लिएपनि १० हजार रुपैयाँको मात्रै रसिद दिएकाले उहाँसँग सहयोग माग्ने आधार पनि छैन । 

‘म्यानपावरले मान्छेलाई यसरी झुक्याउँछ भन्ने थाहा नै भएन, आफू फस्ने भएपछि कागजमा झुक्कायर सहि छाप गरायो’ राजकुमारी भन्नुुहुन्छ, ‘झुटो आशा देखाएर मुद्दा पनि फिर्ता गर्न लगायो । अहिले त उहाँ पनि लापता हुनुभयो अब के गर्ने ?’ राजकुमारी सोध्नुहुन्छ यस्तो म्यानपावरलाई सरकारले कारवाही गर्न सक्दैन ? 

उद्धारका लागि गरिरहेको पहल सफल नभइ रहेका बेला गएको मंसिर १२ गतेदेखि श्रीमान सम्पर्क विहीन भएपछि भने उहाँलाई झनै तनाव भएको छ । ‘१२ गते अघिसम्म जति सक्दो छिटो यहाँबाट निकाल भन्नुहुन्थ्यो अहिले त फोन गर्न नै छोड्नुभयो, हामीले फोन गर्दा लाग्दैन’ राजकुमारी भन्नुहुन्छ ।  

कमाउन गएका श्रीमान समस्यमा परेपछि घर व्यावहार चलाउन समस्या भएको छ राजकुमारीलाई । उहाँ अहिले घरका लागि चाहिने पैसा ऋण गरेर चलाउँदै हुनुहुन्छ । श्रीमान गएदेखि अहिलेसम्म एक लाख रुपैयाँ ऋण लागिसकेको उहाँले सुनाउनुभयो । 

धेरैतिरको प्रयास पनि सफल नभएपछि अब राजकुमारीको आशा सरकारमा गएर अड्किएको छ । सरकारले चाहे आफ्नो श्रीमानको उद्धार हुने उहाँको विश्वास छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • नेपालमा त सरकार नै छैन भन्दानि हुन्छ। यदि भएको भए त म्यानपावरका दलालहरुले किन मनपरी गर्थे र ? जवकी खाडी मुलुकमा जानको लागी फ्री भिसा फ्री टिकट अनि जम्मा दश हजार रुपैयाँ तोकेकोमा मान्छे बेच्न पल्केका दलालहरुले खाडी मुलुक अन्तरगत संयुक्त अरब इमिरेट्स अबुधाबिको पि.एस.बि.डी.सेक्युरिटी गार्डको लागी ४ लाख ५० हजार रुपैयाँ लिरहेकाछ्न्। यो सरासर सरकारको आँखामा छारो हालेको भएन र ? यदि हाम्रो देशमा सरकार छ भने अबिलम्व त्यस्ता म्यानपावर भनाउँदा दलालहरु उपर छानबिन गरी कार्वाही होस्।

    देब सल्यानी देबु
  • मरुभुमिको यो तातो घाममा दिनभरी गैती र बेल्चा हान्नुपर्छ। न त भने जस्तो खान पाइन्छ न थकाइ लाग्यो भनेर थकाइ नै मार्न पाइन्छ। खाना पनि बासिभात खानुपर्छ। नत राख्ने ठाउँ छ ल्याएर एउटा खजुरको बोट मुनि राखेर काम थाल्नुपर्छ। भरे खाने बेलामा त्यो तातो घामले गजज्ज पानी आइराखेको हुन्छ। बाध्यता, त्यसैलाइ पानी हालेर पखालेर खानुको बिकल्प अरु केनै छ  र? खुन र पसिनामा निथ्रुक्क भिजेर यो दुःखी जीवन यस्तै छ। यस्तो परिश्रम गर्ने हो भने त हाम्रो देशमा सुन फलाइन्छ। जय मार्तीभुमी। 

    दोहा, कतार
  • म युरोपको इटली आएको चार बर्ष भयो। सोचे जस्तो काम नपाएर बाच्नै मुश्किल भइरहेको छ। बस्न खान मात्रै नेपाली ४०-४५ हजार लाग्छ।  अहिले आएर लाग्छ कि नेपालमै मेहनेत गर्दा हुने थियो बरु। के गर्नु विदेशको जिन्दगी। युरोपमा त सजिलै पैसा कमाउन सकिन्छ भन्ने सोचेको थिए।

    किरण थापा /इटहरी (हाल इटली)
  • खनाइदैछ श्रम खाड़ीको देशमा, सबै सोच्छन सुन फल्छ विदेशमा, नेपालमा पैसा हैन श्रम सम्मानको खाँचोंछ, विदेशमा पसीना बग्दैछ तर मातृभूमि बाझो छ।

    राकेश लुइटेल / भक्तपुर
सबै हेर्नुहोस