MENU

विशेष

श्रीमान् र सासुससुराले बेचेका चेलीका वेदना : ‘ओमनका साहुले बन्दुक देखाएर शरीरमा हात हाल्थे’

सन्जिता देवकोटा/उज्यालो । 

काठमाडौं, वैशाख ८ – दुई वर्ष कुवेतमा काम गरेर शिला (नाम परिवर्तन) फर्किएकी थिइन् । एक दिन सोल्टीसित भेट भयो । ती सोल्टी शिलाको भाउजुको भाइ पर्ने थिए । अर्थात भाउजूको फुपूका छोरा । घरमा आएका सोल्टीसित त्यस अघि चिनापर्ची थिएन । 

सोल्टी फर्केको केही दिन पछि भाउजुले शिलालाई सोल्टीसित विहेको प्रस्ताव ल्याइन् । तिमीहरुका धेरै कुरा मिल्छन्, विहे गर भनेर प्रस्ताव राख्दा शिला छक्क परिन । धेरै सोचिन् । तर अन्तिममा भाउजुको जीत भयो । भाउजुको प्रस्ताव शिलाले नाईं भन्न सकिनन । घर सल्लाह मै शिलाले साेल्टीसित विहे गरिन् । 

बेहुली बनेर भित्रिँदै दुई सन्तानकाे अामा 

तेश्री श्रीमती भएर शिला नयाँ घरमा भित्रिएकी थिइन् । शिलाले आफू तेश्री श्रीमती रहेछु भन्ने बेहुली भएर श्रीमानको घर पुगको धेरै दिन पछि मात्रै थाहा पाइन् । उनी भन्दा अगाडी नै उनका श्रीमानको दुई जनासँग विहे भैसकेको रहेछ ।

अरु पट्टिका दुई वटा बच्चा पनि थिए । तर ती बच्चाका आमा कहाँ छन् भन्ने कुरा शिलालाई पत्तो थिएन् । शिलाले श्रीमानलाई कहिले सोधिनन पनि । 

दुई जना छोरालाई आमाको माया दिन पाउँदा उनी निकै खुसी थिइन् । छोराहरु सँगै उनका पनि सपना बढ्दै थिए । अभावमै पनि शिलाले सपनाको ठूलो घर बनाएकी थिइन् । 

तर शिलाका खुसी धेरै दिन टिकेनन् । उनले नयाँ घरलाई सिङ्गार्न नपाउँदै भत्कियो । जोडिएका सम्बन्ध टुटिसकेका थिए । सम्बन्ध जोड्नलाई उनले धेरै प्रयास पनि गरिन । तर  दुनियाँलाई साँचि राखेर जोडिएको सम्बन्ध कति बेला तोडियो उनले पनि पत्तो पाइनन् । 

एजेन्टलाई दिएको पासपोर्ट फिर्ता गरेर ससुरालाई 

घरको आर्थिक अवस्था राम्रो थिएन् । श्रीमानको कमाईले ६ जनाको परिवार चलाउन गाह्रो थियो ।  त्यसैले उनले श्रीमानकै सल्लाहमा विदेश जाने निधो गरिन । विदेश पठाउने एजेन्ट आफ्नै ससुरा थिए । 

शिला विदेशमा कम्पनीकाे काम गर्न चाहन्थिन् । अर्कै एजेन्टबाट साउदीको कम्पनीमा काम गर्न जानका लागि पासपोर्ट समेत बुझएकी थिइन् । तर उनका श्रीमानले आफ्नो बुवा मार्फत नगए सम्बन्ध तोड्ने धम्कि दिएपछि अर्कैलाई दिएको पासपोर्ट फिर्ता ल्याएर ससुरालाई दिइन् । 

पासपोर्ट बुझाएको १० दिनमा उनका ससुराले घरेलु कामका लागि भनेर दुवई उडाए । दुवईको विमानस्थलमा ओर्लिएपछि शिला छाँगाबाट खसे झैं भइन् । किनभने श्रीमान, सासु र ससुरा मिलेर बेचेको कुरा उनले त्यहाँ पुगेर थाहा पाइन् । 

पैसाको लोभमा आफन्तले बेचे 

दुवई विमानस्थलबाट उनलाई अरु नेपाली महिला राखेको ठाउँमा लगियो । त्यहाँ भेटिएका साथीहरुले भने पछि उनले आफू बेचिएको पत्तो पाइन् । शिलाले घरका दुई जना छोराका आमालाई सम्झिइन् । उनलाई लाग्यो पक्कै ती छोराका आमाहरु पनि यस्तै विपतमा छन् । 

‘मलाई श्रीमान, सासु र ससुराले बेचे । पैसाको लोभमा आफ्नैले बेचे,’ उनले भनिन् । उनले १० दिनमै कसरी जान मिल्यो भनेर सोध्दा महिलाका लागि विदेश जान बन्द हुन लाग्यो भनेका थिए ससुराले । 

पशुको झैं मान्छेको मोलमोलाई 

दुवईमा धेरै जना दिदीबहीनीलाई थुनेर राखिएको थियो । उनलाई पनि त्यही लगेर थुनियो । भोलिपल्ट बिहान सबैलाई कालो कपडाले मुख छोपेर लाइनमा राखियो । किन्न आउने मालिकले उनीहरुलाई छान्न थाले । शिलालाई अच्चम लाग्यो । गाउँमा पशु बेच्दा यस्ताे मोलमाेलाई हुन्थ्याे । उसरी नै मानिस किन्न आएका साहु उनको मोल गर्दै थिए ।

शरीर छाम्ने देखि उचाल्ने गरेपछि मोलमाेलाई गरेर एक जना साहुले उनलाई किने । ती साहु ओमनका थिए । उनलाई दुवईबाट ओमनमा लगियो ।

काम गर्ने ठाउँमा कामको दुःख सँगै साहुले दुर्व्यवहार गर्थे । ‘श्रीमती नभएको बेला उनलाई साहुले शरीर भरी छाम्थे । ‘ओके बाबा जेन’ भन्दै एकान्तमा लगेर शरीर भरी छाम्यो, नमाने मारिदिने धम्की दिन्थ्यो ।

‘मैले ज्यान जोगाउन ओके बाबा जेन नै भन्थें’ यसको अर्थ तिमी साह्रै राम्री भनेको हो,  साहुले कसरी  दुर्व्यवहार गर्थे भन्ने सुनाइन् । 

बिरामी हुँदा पनि काम 

काम पनि सजिलो थिएन । दिनमा एकपटक मात्र खान दिन्थे । दिनभरी घर सफा गर्ने, आइरन लगाउने, घर पुछ्ने देखि लुगा धुने सबै काम शिलाले नै गर्न पर्थ्याे । काम गरेको भएन भन्दै उनलाई साहु र साहुनी दुवैले पिट्थे । 

खान नपाएपछि शिला बिरामी परिन् । घरको तलमाथि गर्न उनलाई गाह्रो पर्ने । त्यतिबेला पनि काम गरिनस् भनेर साहुनीले घिसार्दै पिटिन् । शिलाले काम गर्न नसक्ने भएपछि एजेन्टकोमा पुर्‍याइदिन साहुलाई आग्रह गरिन । तर साहुले सुनेको नसुनेको झैं गर्थे । 

उनलाई मारिदिन्छु भन्दै साहुले बन्दुक तेर्स्याउँथे । साहुले मारिदिन्छु भनेर बन्दुक देखाउँदा उनले बाँचेर फर्कने आशै मारेकी थिइन् । 

शिला धेरथोर अरबी भाषा जान्दथिन् । काम गर्न सकिन भनेर साहु साहुनीले मार्ने योजना बनाएको उनले आफ्नै कानले सुनेकी थिइन् । कुन दिन मार्ने हुन भन्ने डरले शिलाले काम गर्नै सकिनन् । 

नेपाली एजेन्टले पनि कुट्न छाडेनन् 

धेरै बिरामी परेपछि उनलाई साहुले नेपाली एजेन्टकोमा पुर्‍याइ दिए । घरमा काम गर्न नसकेको भन्दै नेपाली एजेन्टकोमा झनै पिडा दिइयो । ‘छातीमा मिनरल वाटरको बोतलले पिट्थे, जति रोएपनि पिट्न छाडेनन्, नेपालीले नै पिटे’ शिलाले भनिन् ।

नेपाली एजेन्टको बस्दा पनि सुख थिएन । साहु परिवर्तन गर्दै काम गर्न पठाउँथे । फेरि दुई चार दिनमा साहुले त्यही एजेन्टकोमा फर्काइ दिन्थे । यो क्रम चलिरह्यो ।

धामीलाई फुक्न लगाउने बहानामा उद्दार गर्न आग्रह 

शिलाले साहुलाई आफू बिरामी भएकाले नेपालबाट धामीले फुकेपछि निको हुने भन्दै नेपालमा फोन गरिदिन आग्रह गरिन । साहुले फोन लगाइदिए । फुक्ने बहानामा उनले बहिनीलाई फोन गरेर आफूलाई बचाउन भनिन् । 

यसअघि उहाँले श्रीमानलाई पनि आफ्नो अवस्थाको बारेमा बताएकी थिइन् । ‘बेच्नेले के फर्काउँथ्यो । अझ एजेन्टलाई पो कुरा लगाइ दिएछ । त्यही भन्दै एजेन्टले मलाई कति कुटे कुटे’ उनले भनिन् । दुःख बाहेक उनले विदेशमा एक रुपैयाँ पनि तलव पाईनन् ।

अहिले शिला बहिनीको सहयोगमा नेपाल फर्किएकी छिन् । फर्किंदा उनी श्रीमानको घर नै गइन् । तर श्रीमान् र सासुससुराले उनलाई स्वीकार गरेनन् । सासुले आफ्नो छोरासँग बस्न नदिने भन्दै धम्क्याइन् । ससुरा एक शब्द बोलेनन् । 

त्यसपछि आफ्नै दाइ भाउजूलाई गुहारिन् । तर कसैले उनलाई साथ दिएनन् । उनी फर्कंदा श्रीमानले अर्कै केटीसँग विहे गरिसकेका थिए । 

सपनाको घर भत्किए पनि शिला अरुकै घर बनाउने ठाउँमा हिजोआज ज्यामीका रुपमा काम गर्छिन् । काठमाडौंमा कोठा लिएर एक्लै बसेकी छिन् । 

 

(यो कथा एक जना नेपाली चेलीले वैदेशिक राेजगारीका क्रममा भोगेको वास्तविक भोगाइमा आधारित छ । व्यक्तिगत गोपनियताका लागि नाम परिवर्तन गरिएको छ । ठेगाना उल्लेख गरिएको छैन् ।) 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
  • साउदी अरेबियामा आजिवन जेल परेका स्थानेस्वरलाई बचाउ अभियान नै चलाइदै रहेछ, राम्रो कुरा हो। बिगतमा पनि अमर राई र बमबहादुरको लागि चाहिने भन्दा धेरै रकम संकलन भएको थियो। अझ एकजनाको त पुरै ब्लडमनि अज्ञात ब्यक्तिले दिएको थियो। त्यो पैसा अहिले कहाँ र कोसँग छ ? त्यस्को सोधी खोजी कसले गर्ने ? यदि त्यो पैसा त्यस्तै निर्दोशलाई बचाउन राखिएको हो भने त्यसबाटै स्थानेस्वरलाई बचाउन सकिँदैन र ?

    दुर्गेस सापकोटा
  • मलेसियामा न त कानुनसम्बन्धी कुनै भरपर्दो निकाए नै छ जस्ले कामदारका हितमा सघाओस् न त भनेजस्तो तलब सुबिधानै। अन्तराष्ट्रीय नियम अनुसार श्रमिकहरुको न्युनतम कामगर्ने समय र महिनाभरी पर्ने पब्लिक डे र अन्य बिदाको त कुनै अर्थ नै छैन। न त कम्पनीले दिन मान्छ, न यहाँको सरकारी निकायबाट छानबिन नै हुन्छ। दिनरातको असुरक्षित बातावरणमै दुःखमा दिन बिताउन बाध्य छ्न् यहाँ कार्यरत अधिकांश नेपाली कामदारहरु। नेपालसरकारको त कुरै नगरौँ, दुतावासले सहयोग गर्ला सोच्योकी बिचौलियालाई ठिक्क पारिन्छ।

    करन महरा / मलेसिया
  • मलेसियामा सुरक्षा गार्ड कम्पनीले श्रम सम्झौतामा उल्लेख  भए अनुसारको न काम दिन्छ, न त  तलब नै। आफ्नो ब्यक्तिगत सुरक्षाको त कुरा नै नगरौं। त्यस्तै परे आफ्नो कम्पनीको मानिसले नै कुन बेला मान्छे र पुलिस लगाएर कुटाउन बेर लगाउदैन। हामी श्रमिकले त नेपालका म्यानपावरलाई एक देखि दुई लाख सम्म बुझाएका हुन्छौं। मलेसियामा बेसिक नौं सय रिङ्गिट  गरी जम्मा १६ सय हुन्छ। होस्टेल, लेबि, ड्रेस अनि यातायातको पैसा कट्दा र खाना खाँदा मुस्किलले एक बर्षमा ऋण तिरिएला। बरु यो भन्दा नेपाल सकारले मालेसियामा कामदार पठाउन बन्द गरेर विकल्प खोज्नुपर्छ। किनकि नेपालको दूतावासले पनि दीर्घकालीन समाधान भन्दा कामदारलाई  थम्थमाउने तिर मात्र लागेको देखिन्छ।

    ठाकु योञ्जन / मलेसिया
सबै हेर्नुहोस