MENU

विशेष

​युएईमा महिला कामदार : ‘काम गर्न सकिन नेपाल फर्काइदिनुस्’

उमाकान्त पाण्डे/उज्यालो । 

युएई, असार ३ – युएई स्थित नेपाली दूतावासमा समस्यामा परेर शरण लिन आउने नेपाली महिलाको संख्या दिनहुँ बढीरहेको छ । गएको हप्ता मात्रै युएईमा अलपत्र परेका १० जना महिलालाई दूतावासले नेपाल फर्कायो । 

तर त्यही दिन दुईजना आवास गृहमा शरणका लागि थपिए । समस्यामा परेर दूतावास आउने र दूतावासकै आवास गृहमा शरण लिनेहरु बढ्दा आवास गृह कहिल्यै खाली हुँदैन।

गएको हप्ता दूतावासले नेपाल फर्काएका महिलामा ठोसे–६ रामेछापकी सुमिना माया श्रेष्ठ, लेखनाथ–१२ कास्कीकी शोभा परियार, लहचोक–८ कास्कीकी बिष्णुमाया ढकाल, कुस्मा–९ पर्वतकी सुबिना श्रेष्ठ, धुबचौर–७ सिन्धुपाल्चोककी कान्छीमाया तामाङ, सिन्धुपाल्चोककै सम्झना तामाङ हुनुहुन्छ । 

त्यस्तै प्रकाशपुर सुनसरीकी सावित्री परियार, तौलिहवा–२ कपिलवस्तुकी नमकला जीसी, बालुवाटार–६ दैलखकी प्रेरणा शाही र चिलिया–२ रुपन्देहीकी माया पौडेललाई नेपाल पठाएको दूतावासका प्रवक्ता तथा द्वितीय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो । 

धेरैजसो महिला अन्य कामको श्रम स्वीकृति लिएर पनि घरेलु काम गरिरहेका  र कुवेतका लागि भनेर श्रम स्वीकृती भए पनि युएईमै घरेलु काम गर्ने महिलाहरु समस्या लिएर दूतावास सम्म आईपुग्छन् ।

अहिले पनि दूतावासको आवास गृहमा घरेलु काममा समस्यामा परेका ४ जना महिलाले आश्रय लिईरहेका छन् । आश्रय लिनेहरुमा चितवनको माडी–४ की मन्जु नेपाली, झापाको दमम–११ की अनु माझी, चितवनको कुमरोज–२ की कुमारी गुरुङ र सिन्धुपाल्चोकको भोटसिपा–५ की सविना तामाङ  छन् । 

दूतावासको तथ्याकंअनुसार महिनामा झण्डै १५ देखि २० जना महिला आश्रय लिन दूतावासमा आउँछन् । खाडी मुलुकहरु मध्ये युएई सबैभन्दा सुरक्षित गन्तब्य मुलुकको रुपमा लिइन्छ । तर पनि कामदारका समस्या दिनहुँ बढिरहेकाे छ । 

ट्रान्जिट बनाएर आउने र घरमा काम गर्ने महिला समस्यामा : श्रम सहचारी यादव 

युएईलाई ट्रान्जिट बनाएर आउने र युएईमै घरमा काम गर्ने धेरै महिलाहरु समस्यामा पर्ने गरेको दूतावासकी श्रम सहचारी हिरा कुमारी यादवले बताउनु भयो । 
समस्यामा परेर दूतावास आउने धेरैजसो महिलाको एउटै बोली हुन्छ ‘काम गर्न सकिन नेपाल फर्काइदिनुस् ।’ तर उनीहरुले भनेजस्तो नेपाल फर्काउने कानुनी प्रकृया पूरा गर्न सजिलो छैन ।

ट्रान्जिट बनाएर युएई आउने, श्रम स्वीकृति अर्कै देशको बनाएर युएई पुगेर स्थानीयको घरमा काम गर्ने गर्दा उद्दार गर्न पनि समस्या हुन्छ । श्रमसहचारी हिरा कुमारी यादवका अनुसार पछिल्लो पटक दूतावासले पठाएका १० जना महिला मध्ये रामेछापकी सुमिना माया श्रेष्ठ युएईको सीटीसी कम्पनीमा क्लिनरको रुपमा ब्याक्तिगत श्रम स्वीकृति लिएर युएई आउनु भएको हो । 

कास्कीकी शोभा परियार र बिष्णुमाया ढकाल, कुस्मा पर्वतकी सुविना श्रेष्ठ पनि कुवेतमा रहेको कम्पनीमा ब्याक्तिगत श्रम स्वीकृति लिएर आए पनि युएई ट्रान्जिट बनाएर युएई मै काम गर्न थाल्नुभएको हो । विदेशमा हुने काम, कमाई र वैदेशिक रोजगारीका बारेमा राम्रो जानकारी नभई परदेशिदा धेरै नेपाली समस्यामा परेका छन् ।

मानव तस्करी शुन्य गर्न नसकेकोमा दुःखी छौः कार्यबाहक राजदूत 

दूतावासले धेरै पटक आफ्नो महिला आवास गृह खाली गर्ने प्रयास गरे पनि अहिलेसम्म त्यसो हुन नसकेको जनाएको छ ।  युएईमा झन्डै दुई लाख ६ हजार नेपालीहरु वैधानिक रुपमा कार्यरत छन् ।

वैधानिक रुपमा युएई आएका महिलाहरु खासै समस्या लिएर नआए पनि सेटिङ र अवैध महिला ओसारपसारले समस्या बढीरहेको युएईका लागि कार्यबाहक राजदूत नेत्रबहादुर टण्डनले बताउनु भयो । 

‘दलाल र तस्करीमा संलग्नहरुको पूर्ण विवरण सम्बन्धित निकायमा पठाएका छौं, तर अहिलेसम्म कारवाही नभएर होला तस्करी गर्ने काम रोकिएको छैन,’ राजदूत टन्डनले भन्नुभयो । 

मानवतस्करीको जालो तोडेर शुन्य बनाउने भन्ने योजना भए पनि सुरक्षित रुपमा महिला ल्याउने बाटो बन्द हुँदा महिलाहरु थप समस्यामा परेको राजदूत टन्डनको भनाई छ ।

टिकटको जोहो आफै, अधिकारको कुरा शुन्य 

दूतावासमा आउने महिला सबैले न्याय पाउँदैनन। समस्यामा परेर आउने महिला घरबाट भागेर आउनु पर्ने हुन्छ । भागेको समयमा घर मालिकले देखे वा भेटे उल्टै उनीहरुलाई विभिन्न आरोप लगाउने र उजुरी गर्ने गरेकाले न्याय पाउन सजिलो भने छैन ।

साँच्चिकै अन्यायमा परेको र अधिकारका लागि लड्ने हो भने दूतावासले सहयोग गर्ने दूतावासका प्रवक्ता अर्याल बताउनुहुन्छ । ‘धेरैजसो अधिकार भन्दा पनि सक्दो छिट्टो नेपाल फर्किने मनसायले आउनुहुन्छ, अधिकार माग्ने त परको कुरा’ द्वितीय सचिव कृष्ण अर्यालले  भन्नुभयो ।

दूतावासको शरणमा आएकालाई सुरक्षित रुपमा खान बस्न र कानूनी प्रक्रियाका लागि दूतावासले सहजीकरण गर्ने गरेको छ । कानूनी प्रक्रिया पूरा गरेपछि समस्यामा परेका स्वयमले टिकट काटेर नेपाल जाने गरेका छन् ।

दूतावासबाट पछिल्लो पटक नेपाल जान बाहिरिएका १० जना मध्ये कास्कीकी विष्णुमाया ढकाललाई कास्की आदर्श सेवा समाजले हवाई टिकट दिएको थियो भने बाँकी सबैले नेपालबाट पैसा झिकाएर, साथीभाइसँग खोजेर टिकट काटेर नेपाल फर्किएका हुन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस