MENU

विशेष

टरुवामा चिन्ता, टर्ला त कतारको संकट !

उजिर कार्की/उज्यालो । 

नवलपरासी, असार ५ - नवलपरासीको कावासोती–७ टरुवाका टेकनारायण महतो कतारमा गाडी चलाउनुहुन्छ । उहाँकै कमाइले टरुवामा टरेको छ, ६ जना परिवारको गुजारा । तर कतारमा देखिएको पछिल्लो संकटले के हुने हो भन्ने चिन्ता परेको छ । 

कतारसित छिमेकी देशले सम्बन्ध तोडेको भोलीपल्टै टेकनारायणले फोन गरेर भन्नुभयो, ‘अब काम पाइएला जस्तो छैन, फर्किनु पर्छ होला !’ टेकनारायण फर्किने कुराले परिवारलाई खुशी बनाएन । झनै समस्या थपिने पो हो कि भन्ने चिन्ताले दुःखी पनि बनाएन । 

कतारको यो घटना थाहा पाउनासाथ बुबा गोविन्दले कतारमा भएका आफन्तलाई पनि सोध्नु भयो । तर मान्छे अनुसारका फरक फरक भनाई आए । कसैले केही फरक पर्दैन भने त कसैले हाम्रो रोजिरोटी गुम्दैछ भने । छोरा टेकनारायणले पनि यसै हुन्छ भन्न सकेका छैनन् । 

टेकनारायणले साउदीबाट दुध ओसारेको पैसाले उहाँका तीन जना बालबच्चा पढ्न पाएका छन् । तर साउदीको जमिनमा कतारका गाडी कुद्न पाउन छाडेका छन् । टेकबहादुरको दुध ओसार्ने काम बन्द भएपछि श्रीमती र बा आमालाई पनि खर्चबर्चको आशा टुट्ने चिन्ता छ । 

टेकबहादुरको कमाई मासिक दुई हजार रियाल हुन्छ । टेकनारयाण कतार बस्न थालेको १२ वर्ष भयो । यो अवधिमा तीन पटक छुट्टिमा घर आउनु भएको थियो । १२ वर्ष ढुक्कले बिताएको छोराको चिन्ता अहिले परेको छ गोबिन्दलाई, ‘अब कतारमा के होला ?’ 

टेकनारायणलाई छिटो बोलाउन आमाले ताकेता गर्छिन् । तर अब कतारमा के हुन्छ भन्ने नजानि बोलाउन मन छैन गोविन्दलाई । कमाई रहेको छोरालाई बोलाउन जाति लागेको छैन, ‘हाम्रो छोराले पढेको छैन, भोलि यहाँ आएर पनि के गर्ने र’ गोविन्दले भन्नुभयो, ‘मैले पनि चुनाव हारें ।’ 

पहिलो चरणको चुनावमा कावासोती–७ बाट वडाध्यक्षमा उठेका गोविन्द ६९ भोटले हार्नुभयो । नेकपा एमालेले टिकट दिए पनि गोविन्दलाई नागरिकले जित्नेगरि भोट दिएनन् । जसले गर्दा गाउँको विकासमा अगुवाई गर्ने गोविन्दको सपना पूरा भएन । गोविन्दले भन्नुभयो, ‘हुने र चाहिने मात्रै योजना सुनाएँ पत्याएनन्, हावा कुरा गर्न मन लागेन, चुनाव हारें ।’

चुनावको माहोलबाट पन्छिएका गोविन्दलाई अहिले छोराको जागिर गुम्लाकि भन्ने चिन्ता त छनै तर त्याे भन्दा बढी चिन्ता छ छोरा अप्ठेरोमा पर्ला कि !

भिसा लागे पनि गएनन् प्रेमसागर

टरुवाकै प्रेमसागर महतोको पनि कतारको भिसा लागेको दुई हप्ता भयो । रेडकोलर म्यानपावर कम्पनीले प्रेमसागरलाई ताकेता गरिरहेको छ । तर कतारमा देखिएको पछिल्लो समस्या थाहा पाएपछि उहाँलाई तत्काल जान मन छैन । भोलि समस्या थपिंदै गयो भने आपत आइलाग्ला कि भन्ने चिन्ता छ । 

प्रेमसागरका ठूलो बुबाका छोरा र भिनाजु कतारमै काम गर्छन् । उनीहरुले अहिले तत्काल नआउनु भनेपछि रोकियो प्रेमसागरको कतार यात्रा । 

म्यानपावरले भने कुनै समस्या हुँदैन भन्दै पैसा लिएर आउन भनेको छ । तर प्रेमसागरका बुबा गंगारामलाई परदेशको बारेमा राम्रैसँग थाहा छ । गंगाराम पनि साउदीमा अढाई वर्ष र अफगानिस्तानमा ३३ महिना गाडी चलाएर फर्किनु भएको हो । 

गंगारामलाई छोरो विदेशनै पठाउनु पर्ने वाध्यता पनि छैन । आफ्नै कमाइले १५ कट्ठा जमिन जोडेर पक्की घर बनाउनु भएको छ । तीन वटा घडेरी पनि किन्नु भएको छ । अहिले गाउँमा पनि गंगारामले तरकारी खेती गरेर रोजिरोटीको मेसो मिलाउनु भएको छ । 

गाडि चलाउने काममा जान लागेका छोरालाई कतारको समस्या समाधान नभइ नपठाउने अठोट उहाँसँग छ । गंगारामले भन्नुभयो, ‘बरु नेपालमै गाडी कुदाउँछ, राम्रो भएन भने कतार पठाउँदिन, बुझ्दै छु ।’

केहि हप्ता पहिले कतारसित छिमेकी सात देशले कुटनितिक सम्बन्ध तोडेपछि त्यहाँ रहेका नेपालीको भविश्य के होला भनेर चिन्ता सुरु भएको छ । कतारको रोजगारीका लागि भिसा लागेका युवा पर्ख र हेरको अवस्थामा छन् । 

अनि कतारमै काम गरिरहेकाहरुका परिवारलाई पनि अब के होला भन्ने चिन्ता छ, अहिले नै फर्काउने कि अझै केही समय बिचार गर्ने ! 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस