MENU

विशेष

विदेशमा साहुले 'कुकुर्नी' बनाए, समाजले बिग्रेकी केटी (श्रृंखला ५)

सन्जिता देवकोटा/उज्यालो ।

काठमाडौं, साउन २२ – ‘तँ बुढिकन्या हुने भइस्, लाहुर गएर आएकी तँलाई कसले बिहे गर्छ,’ विदेशबाट फर्केर आएपछि आफ्नै काकीले भोजपुरकी उर्मिला (नाम परिवर्तन)लाई यस्तो वचन लगाइन् । काकीले यस्तो वचन लगाउलिन भन्ने उनले एक मनमा पनि सोचेकी थिइनन् । काकीले मात्र हैन गाउँका अरुले पनि उर्मिलालाई यस्तै  व्यवहार गरे ।

२०६९ सालमा कतार गएकी उर्मिला २७ महिना पछि घर फर्केकी थिइन् । उनी घरेलु काममा कतार गएकी थिइन् । उर्मिला पनि अरु जस्तै कमाउनकै लागि परदेश गएकी थिइन् । कमाउन गएका अरु लोग्ने मान्छे विदेशबाट फर्कंदा गाउँलेले स्वगत गर्थे । तर उनी फर्कंदा अर्कै ग्रहबाट आएको मान्छेलाई झैं व्यवहार गरे ।

सात जना दिदीभाइमध्ये काँइली छोरी उर्मिलाले गाउँमै एसएलसीसम्म पढिन् । त्यसपछि परिवारको पढाउन सक्ने अवस्था थिएन् । उर्मिलाले इटहरी नजिकैको शहरमा बसेर पोते उन्ने काम गर्थिन् । सँगै काम गर्ने साथीले विदेशमा धेरै कमाइ हुन्छ भनेपछि उनी विदेशमा हुने कमाइको लोभमा विदेश गएकी थिइन् ।

२७ महिना कतारमा काम गरेर फर्कदा सबैले गरेका व्यवहारले उनलाई विदेश गएरै ठूलै पाप गरेछु भन्ने लाग्यो । उनलाई अहिले पनि विदेश गएरै ठूलै गल्ती गरेछु भन्ने लागिरहन्छ । विदेशमा सहेका सुखदुःखबारे उनलाई कसैले सोधेनन् । फेरि विदेशबाट फर्कना साथ बिहेकै बारेमा गाउँलेले त्यतिधेरै किन सोचे भन्ने उनले बुझिनन् । उनलाई विदेशमा रोजगारी गरेर फर्किएकै कारण अहिलेसम्म भोग्नुपरेका अनेकौं आरोप र व्यवहार देख्दा केटी मान्छे विदेश जानु भनेकै बिग्रनु हो भन्ने जस्तो लाग्छ । 

तीन वर्ष कान्छो केटोसँग बिहे

सबैले गरेका यस्ता व्यवहारले उर्मिलालाई बिहे गर्ने मन पनि थिएन् । सात जना दिदीभाइ मध्ये बिहे गर्न बाँकी उनै उर्मिला मात्रै थिइन् । एकदिन नातामा काका पर्नेले उर्मिलासामु बिहेको कुरा ल्याए । केटा उर्मिला भन्दा ३ वर्ष कान्छो थिए । उर्मिलाले आफ्नो बारेमा र गाउँलेले गर्ने व्यवहारबारे केटालाई बताइन् । ती केटा उर्मिलासँग बिहे गर्न मन्जुर भए । ‘उहाँलाई म भन्दा पनि मैले गरेका दुःख मन पर्यो  रे,’ उर्मिलाले भनिन्, ‘त्यसैले केटो आफू भन्दा कान्छो भएपनि बिहे गरियो ।’

२०७२ साल मंसिरमा कतारबाट आएकी उर्मिलाको माघमा बिहे भयो । विदेशमा बिग्रेकी केटीलाई कसले बिहे गर्छ भन्ने समाजको अघि उनको बिहे भयो । समाजका मान्छेले बिग्रिएर फर्किएको आरोप लगाएपनि उनको श्रीमान्लाई उर्मिला विदेशबाट फर्किएकोमा कुनै आपत्ति थिएन । 

गर्भ खेर गयो, कुरा काट्ने मेलो पाए गाउँलेले 

उनको वास्तविकता स्वीकार गर्ने श्रीमान् मात्रै थिए । श्रीमानले राम्रो व्यवहार गरेपनि परिवारका सदस्यले भने माइती गाउँकाले गर्ने भन्दा फरक व्यवहार गरेनन् । एक्लो सहारा बनेका श्रीमान् बिहे भएको २ महिना पछि विदेश गए । त्यसपछि उनको जीवनमा अनेक उतारचढाव आए ।

श्रीमान् विदेश जाँदा गर्भवती रहेकी उर्मिलाको केहिदिन पछि गर्भ खेर गयो । के निहुँ पाउँ भन्दै बसेका आफन्त र छिमेकीलाई अरु के चाहियो र । कुरा काट्ने खुराक पाए । ‘बुढो विदेश गएपछि, गह्रौं बोक्नै पर्‍याे, साइकल पेल्न पर्‍याे । तर अरुले विदेशमा ज्यान बिगारेर बच्चा खेर गएको भने । उर्मिलाले मसिनो स्वरमा भनिन्, ‘गर्भ खेर गएपछि मलाई जिन्दगी नै बेकार भएजस्तो लाग्यो ।’

गर्भ खेर गएपछि उनलाई सबैले खराब भने । एक त विदेशमा बिग्रेकी भन्थे, त्यसमाथि गर्भ खेर गएपछि साँच्चै बिग्रिएको प्रमाणित भए झैं गरे समाजका मानिसले । उनलाई गाउँघरमा अनुहार देखाएर हिँड्न पनि अप्ठेरो भयो । त्यसै त गर्भ खेर गएपछि गलेकी उर्मिला सबैले गर्ने व्यवहार र घृणाले झनै गलिन् । सुखदुःखमा साथ दिने श्रीमान् पनि सँगै थिएनन् । 

२ वर्ष पछि गएको वैशाखमा उनका श्रीमान् नेपाल फर्किए । २ महिनाको छुट्टि पछि उनी फेरि मलेसिया फर्किएका छन् । प्लम्बरको काम गर्ने उनको श्रीमानको कमाइ पनि राम्रो छ ।

केही गर्ने उर्मिलाको आँटमा श्रीमानले मलजल त गरेका छन्, तर उनलाई समाजमा बसेर अघि बढ्न त्यति सजिलाे छैन । पहिलो गर्भ खेर गएपछि पनि उनले गरेको प्रगतिले समाजको मुखमा बुझो त लाग्यो, तर दोस्रो पटक पनि गर्भ खेर गएपछि भने फेरि समाजले गर्ने व्यवहार उही भएको छ । 

उनलाई पनि पटकपटक गर्भ खेर जाँदा दिक्क लागेको छ । तर उनलाई विदेश गएकै कारण गर्भ खेर गयो जस्तो लाग्दैन् । उनको कुरामा श्रीमान् पनि सहमत छन् । उर्मिला लगातार बच्चा खेर गएपछि निरास छिन् । तर उनलाई श्रीमानले सम्झाउछन् । उर्मिलाले भनिन् ‘बुढोले त हाम्रो बच्चा हुनै पर्छ भनेका छैनन् ।’

श्रीमानले त्यसो भनेपनि उर्मिलाको चित्त बुझ्दैन् । सासुससुराले छोराको अर्को बिहे गरिदिने भन्दा उनलाई छटपछि हुन्छ । स्वर मधुरो पारेर उर्मिला बोलिन्, ‘ मेरो बच्चा नहोला जस्तो छ, श्रीमानको बिहे अर्कैसँग गरिदिने हुन कि भन्ने डर लाग्छ ।’

उर्मिलाको कतार यात्रा 

विदेशमा पनि उर्मिले दुःख पाइन् । घर फर्किएपछि पनि उनलाइ भाग्यले ठग्यो । १० कक्षा पढेर धरान झरेकी उर्मिला पोते उन्ने काम गर्थिन् । सँगै काम गर्ने साथीका आफन्तले विदेशको लोभ देखाए । विदेशमा धेरै कमाइ हुने भएपछि उनले दलाललाई ४० हजार रुपैयाँ बुझाइन् । तर ती दलालले कतार पुर्‍याएनन् । 

आजभोली भन्दै दलालले चार महिना दिल्लीमा थुनेर राखे । दिल्लीको चार महिनाको बसाइ पशुको झैं थियो । चार महिना पछि उर्मिला सहित धेरै जना त्यहाँबाट भागेर नेपाल आए । उर्मिला भोजपुर गइनन् । काठमाडौंबाटै अर्को दलालले उनलाई त्यसको १५ दिनमा कतार पठाए । कम्पनीको काममा ११ सय रियाल मासिक तलव भनेर उनलाई घरेलु काममा पठाए ।

घरको काम, साहुसाहुनीको पिटाई 

उर्मिला घरबाट हिँडेको पाँच महिनामा कतार पुगिन् । १० कक्षा पढेपनि उनले परदेशमा भाँडा माझ्न नजान्दा कुटाइ सहनु पर्योम । साहुका छोरीहरुले नराम्रो व्यवहार गर्थे । कुटाई खान उनले कुनै गल्ती गर्नु पर्दैनथ्यो । उर्मिलालाई ती दिन सम्झदा अझै पनि शरीर दुखेको महसुस हुन्छ । 

उनले पेटभर खान पनि पाइनन् । भोको पेटमा कसरी काम गर्नु । काम गर्न नसक्दा साहुसाहुनीले तल्लोस्तरको शब्द प्रयोग गरेर गाली गर्थे । ‘साहुनी र उनका छोरीहरुले काम गर्न नसक्ने, खान नपाएर आएकी, कुकुर्नी भनेर गाली गर्थे । पहिले त के भनेका हुन् केही बुझिन, भाषा बुझेपछि म त कत्ति रुन्थें, उर्मिलाले सुनाइन् । 

उनलाई घरमा फोन गर्न दिइन्नथ्यो । केही सामान फुटेपनि उनकै तलवबाट काटिन्थ्यो । वासिङ मेसिन बिग्रदा उनको एक महिनाको तलव काटियो । त्यसपछि उर्मिलाले काम गरिनन् । यति भएपछि उनलाई साहुले घर पठाइदिए । 

र श्रीमानको साथ 

‘कुकुर्नी’ बनेर परदेशमा गरेको दुःख श्रीमानले त बुझे, तर समाजले बिग्रिएर आएकी केटीको उपमा दिए । गर्भ खेर गएको केही समयसम्म उनलाई निकै गाह्रो भयो । तर उनले हिम्मत हारिनन् ।

कतारको २७ महिनाको कमाइले उनले सुनसरीमा घडेरी किनिन् । श्रीमानले मलेसियामा कमाएको पैसाले तीनकोठे घर पनि बनाइन् । समाजले बिग्रेकी भनेपनि उनको घर धानिरहेकी छिन् । सात समुन्द्र पारी बस्ने श्रीमानको साथले उनलाई समाजसँग लड्ने अाँट दिएकाे छ । अाखिर त्यै समाजमा बसेर जिउनु त छँदैछ । 

याे पनि पढ्नुहाेस्

बुढेसकालमा विदेश गएँ, फर्केर आउँदा छोराले भन्छ ‘आमा तिमी खराब हौ’ (श्रृंखला ४)

साउदीबाट फर्किएकी उषाको वेदना : घर, कमाई र ईज्जत सबै डुब्यो (श्रृंखला – ३)

कुवेतबाट गर्भमा ल्याएकी छोरी तीन वर्ष पुगिन्, बिहे गर्छु भनेर माया लाएका प्रेमी फर्केनन् (श्रृंखला – २)

सिरियाबाट उद्धार गरेको दुई वर्ष नपुग्दै सकियो सुनिताको जीवन (श्रृँखला–१)

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • विदेशमा अलपत्र परेकी श्रीमती फर्काउन दलालले लाख मागे

    मंसिर २७ – कुवेत पुगेर समस्यामा परेकी सिन्धुपाल्चोककी टुक्सी तामाङलाई नेपाल फर्काउन एजेन्टले पैसा मागेका छन् । २०७३ फागुनमा कुवेत पुगेकी जुगल गाउँपालिका–५ बराम्चीकी टुक्सी समस्यामा परेपछि उहाँलाई घर फर्काउन दलालले पैसा मागेका हुन् ।

  • ​विदेश जानेलाई सीपकाे निःशुल्क तालिम

    काठमाडौं, मंसिर २६ – वैदेशिक रोजगारीमा जानेले मेसन (डकर्मी) र सटरिङ्ग कार्पेन्टर (फर्मा लगाउने) तालिम निःशुल्क लिन पाउने भएका छन् ।

  • ​वडा अध्यक्षमा ४ मतले हारेपछि राजेन्द्र कतार पुगे

    ‘त्यो बेला मैले जितेको भए बरबोटे क्षेत्रको मुहार फेर्ने थिएँ, स्थानीय स्रोतसाधनको परिचालन गरी युवा स्वरोजगार अभियान चलाउँथे,’ राजेन्द्रले भन्नुभयो, ‘तर सोचेभन्दा विपरित नतिजा आयो ।’

  • नक्कली भिसाले विदेश हिँडेकी माया विमानस्थलमै थुनिइन्

    अध्यागममा रहेका महिलाका कुरा सुनेरै आत्तिएकी मायालाई विमानस्थलका कर्मचारीले पनि त्यही कुरा भनेपछि अक्क न बक्क भइन । ‘तपाईं यहाँबाट जान पाँच हजार रुपैयाँ धरौटी राख्नुपर्छ भने, कहाँबाट ल्याउनु पैसा भन्दा पैसा नदिए अदालत लैजान्छौं भने,’ मायाले आफूसँग पैसा छैन् भन्दै छुटाइदिन आग्रह गरिन् । तर त्यो सम्भव थिएन ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • पहिलो कुरा भ्रष्टाचारविरुद्ध खरो रुपमा प्रस्तुत हुनुहुपर्छ। सरकार, नेता, कर्मचारी, सञ्चारमाध्यम र सर्वसाधारणले नियम पालना गर्नुपर्छ। स्वरोजगारका लागि सरकारले आयमुलक योजना ल्याउनुपर्छ। प्राकृतिक साधन र स्रोतको गहिरो अध्ययन गरेर उपयोग गर्नुपर्छ। यसका लागि बाह्य पूँजी नभई स्वदेशी लगानीमा गर्नुपर्छ। सर्वसाधारणलाई पनि लगानीका लागि वातावरण बनाउनुपर्छ। यसो गर्दा स्वरोजगार हुनेको संख्यामा वृद्धि हुन्छ। रोजगारीका लागि विदेश जाने स्वतः घट्छन। विदेश नै पठाउने हो भने जि टु जी सम्झौता गरेर पठाउनुपर्छ। अरु आकर्षक गन्तव्य पनि खोजी गर्नुपर्छ। 

    गंगा राना / मलेसिया
  • प्रतिनिधसभा र प्रदेशसभा चुनावमा पाएको उपलब्धी नेपाली कम्युनिष्ट इतिहासमा दोहोरिन मुस्किल छ। साधारण बहुमत समेत ल्याउन नसकिरहेका बेला यो परिणाम नेपाली कम्युनिस्ट आन्दोलनको उपलब्धि ऐतिहासिक हो। आपसी झगडामा वाम गठबन्धनले यो अवसर गुमाए भने नेपाली नागरिकले यिनीहरुलाई कहिल्यै माफी दिने छैनन। ५ वर्ष भित्र नेपाली नागरिकले शासन प्रणालीमा सुधार र देशको भौतिक तथा आर्थिक बिकासमा परिवर्तनको आभास पाउनुपर्छ। 

    अनमोल श्रेष्ठ / दुवई
  • भर्खर मात्र देश संविधान कार्यान्वयनको बाटोमा अगाडि बढेको छ। प्रतिनिधीसभा र प्रदेशसभाको चुनाव भर्खरै सम्पन्न भएको छ। अब स्थायी सरकार बन्छ भन्ने विश्वास धेरै नागरिकलाई छ। विकास गर्न ५ वर्षे स्थायी सरकार बन्नुपर्छ। आशा छ, वाम गठबन्धनले ५ वर्षका लागि सरकार बनाउँछ। विदेशमा भएका युवालाई तत्कालै देशमा नै रोजगारीको सुनिश्चितता गर्न गाह्रो छ। किनभने अब बन्ने केन्द्रीय सरकारको काँधमा काम धेरै छ। संघीयता सम्बन्धी बिमतीहरु मिलाउन समय लाग्छ। प्रान्तिय सरकारले विदेशिएका लाखौं युवालाई विकास र समृद्धिको ठाउँमा योग्यता अनुसार लगाउन सक्नुपर्छ। नेपाली युवाको कमजोरी यौटै छ, विदेशमा घण्टौं खट्ने, तर स्वदेशमा राम्रो काम गर्न नचाहने। यो परिपाटीको अन्त्य हुन चीनको जस्तो कम्युनिष्ट सरकारको आवश्यक छ । चीनमा इन्जिनियरले तारजाली ग्याबिन भर्छ। तर नेपालको सवओभरसियरले ढुंगा समेत छुँदैन । अनि, कसरी देश विकास हुन्छ र रोजगारी पाइन्छ। देशभित्र रोजगार सिर्जना गर्न चार वटा वादको अन्त्य हुन जरुरी छ, नातावाद, कृपावाद, भ्रष्टवाद र ठगवाद। 

    यम श्रेष्ठ संगीतप्रेमी / मलेसिया
  • मेरो मनमा लाग्छ म परिश्रम गर्छु र अगाडि बढ्छु तर सोचेको जस्तो सजिलो छैन यहाँ जीवन।

    पदमबहादुर खत्रि / दोहा, कतार
सबै हेर्नुहोस