MENU

विशेष

आठ घण्टा भन्दा काम लगाउनुहुँदैन भनेर सिकाउने धनबहादुरले मलेसियामा १६ घण्टा काम गर्नुपर्‍यो

मोहन पौडेल/उज्यालो ।

काठमाडौं, असोज २७ – कैलालीको टिकापुर ९ का धनबहादुर बुढामगर झण्डै १२ वर्ष अघि लुथरन विश्व फेडेरेसनको सशक्तिकरण परियोजनामा काम गर्नुहुन्थ्यो । साढे ३ वर्ष काम गरेपछि माओवादी द्वन्द्वका कारणका लुथरनको कार्यालय त्यहाँबाट काठमाडौं सर्‍यो । धनबहादुरको जागिर सकियो । 

जागिर नभएपछि उहाँले टिकापुरमै होटल चलाउनुभयो । तर त्यसमा पनि द्वन्द्वको असर प¥यो । सोझै धम्की त आएन तर पनि द्वन्द्वका कारण होटल राम्रोसँग चलेन । होटल नचलेपछि उहाँले विदेश जाने सोच बनाउनुभयो । 

त्यतिबेला उहाँलाई विदेश गयो भने के के नै गर्न सकिन्छ अनि त ‘लाइफ स्टाइल’ नै चेन्ज हुन्छ भन्ने सपना देख्नुभयो । मलेसिया उड्दै गर्दा विदेश भनेपछि कति हो कति राम्रो हुन्छ भन्ने सोचेका धनबहादुरसँग कमाउने सपना पनि थियो । ‘यहाँबाट जाने बेलामा हाम्रो देशमा भन्दा विदेशमा त मानवअधिकारको अवस्था पनि त राम्रो छ नी भन्ने सोचेको थिएँ’ धनबहादुरले भन्नुभयो ।  

तर त्यहाँ पुगेपछि मात्रै थाहा पाउनुभयो विदेश त आफूले सोचे जस्तो नहुने रहेछ । यहाँ हुँदा श्रमिक अधिकार र मानव अधिकारका कुरा सिकाउने धनबहादुरले मलेसिया पुगेपछि त्यो विपरितको सामना काम र नियम सहनुपर्यो । 

‘यहाँ मौलिक अधिकारका बारेमा एक जना सर्वसाधरणलाई ४० किलो भन्दा धेरैको भारी बोकाउनुहुँदैन अनि ८ घण्टा भन्दा धेरै काम लगाउन पाइँदैन भन्ने सिकाउँथ्यौं तर मलेसियमा त ठिक उल्टो भयो ’ धनबहादुर सुनाउनुहुन्छ, ‘सकेजति भारी बोकाउने अनि ८ घण्टा होइन ३६ घण्टासम्म पनि काम लगाउँदो रहेछ ।’ 

उहाँले नेपालीसँगै त्यहाँ काम गर्ने सबै विदेशी कामदारको अवस्था यस्तै देख्नुभयो । यसले धनबहादुरलाई केही समय निराश त बनायो । तर यो सास्ती एक वर्ष भन्दा धेरै सहनु परेन । ४ वर्ष बसेका धनबहादुर बाँकी ३ वर्ष त आफूले काम गर्ने ठाउँको कमाण्डर नै हुनुभयो । त्यही तीन वर्षमा धनबहादुरले धेरथोर कमाउनु अनि बचाउनु पनि भयो ।

कमाई भइरहेपनि एक वर्षसम्म पाएको दुःखले उहाँलाई मलेसिया बस्ने इच्छा मरिसकेको थियो । त्यही एक वर्षमा उहाँले नेपाल फर्किने अठोट गरिसक्नुभएको थियो ।नेपाल फर्किने निष्कर्षमा पुगेका धनबहादुरले नेपाल गएर खेतीपाती नै गर्छु भन्ने पनि निधो गर्नुभयो । किनकि उहाँले मलेसियामा व्यावसायिक तरिकाले गरिएको खेती पनि देख्नुभएको थियो ।

खेती गर्ने त्यो तरिका देख्दा उहाँलाई मलेसियामा गरे जति दुःख गर्ने हो भने नेपालमै विदेशको भन्दै चौबर कमाउन सकिन्छ भन्ने लाग्थ्यो । यही अठोट लिएर धनबहादुर सन् २०११ मा नेपाल फर्किुभयो । उहाँले नेपालको विकास गर्ने हो भने कृषिलाई व्यावसायिक र आधुनिक बनाउनुपर्छ भन्ने कृषि विशेषज्ञका कुरा सुन्नुभएको थियो । त्यसैलाई मूल मन्त्र मानेर उहाँले केरा खेती गर्ने निधो गर्नुभयो ।

अहिलेको उहाँकै शब्दमा त्यहाँको काम र कमाई अनि यहाँको काम र कमाईमा आकाश जमिनको फरक छ । उहाँले अहिले डेढ विगाहमा केरा खेती गरिरहेका धनबहादुरले वर्षमा पाँच लाख रुपैयाँ कमाइरहनुभएको छ । त्यो पनि परिवारसँगै बसेर । 

‘मैले अहिले एक बिगाहा झण्डै दुई हजार बोट केरा रोपेको छु । एक बोटबाट ३ सय रुपैयाँ आम्दानी हुन्छ । यसरी हिसाब गर्दा पहिलो वर्ष ६ लाख रुपैयाँ आम्दानी भयो ।’ धनबहादुरले आम्दानीको हिसाबकिताब सुनाउनुभयो । विदेशमा भुक्तमान, स्वदेशमा प्रगतिको कथा टिकापुरका नरेश बहादुर राउतको पनि उस्तै छ । 

‘बिल्डिङमा बोर्ड लगाउने भनेर लग्यो तर ४५ डिग्रीको घाममा तार तान्न लगायो’

उहाँले मलेसिया र कुवेतमा गरी ३ वर्ष बिताउनुभयो तर कमाउन सक्नुभएन । रेष्टुरेण्टमा कुक हेल्पर भनेर मलेसिया लगेपनि यहाँ भनेको काम पाउनुभएन । मलेसिया जानु भन्दा अघि उहाँले भारतमा होटलमै काम गर्नुभएको थियो ।

त्यसैले त्यही कामका लागि भनेर मलेसिया पुग्नुभयो तर भनेको काम पाउनुभएन् । हुन त अरु नेपाली जसरी भाँडा माझ्नु र नाली सफा गर्नु त परेन । तर ३५ हजार रुपैयाँको तलब भनेको आधा मात्रै दिने अनि काम चाहिँ ८ घण्टा भनेकोमा १५/१६ घण्टा लगाउने । 

त्यसले उहाँलाई न कमाउन सक्नुभयो न जमाउन नै । ‘भनेको तलब पनि दिएन अनि त्यतिबेलै मलेसियन रिंगिटको भाउ पनि घटेपछि मलेसिया बस्नु नबस्नुको कुनै अर्थै भएन’ नरेश भन्नुहुन्छ । 

दुई वर्ष कुर्दा पनि न काम फेरियो न तलब नै बढ्यो । मलेसियामा कमाएको  पैसा त्यहाँ खाँदा बस्दै ठिक्क भएपछि उहाँ दुई वर्षमा खाली हात नेपाल फर्किनुभयो । घर फर्किएर पनि कमाउने मेलो पहिल्याउन नसकेका नरेश कतार पुग्नुभयो ।

कतारमा नरेशले मलेसियाको भन्दा पनि धेरै दुःख पाउनुभयो । नेपालमा म्यानपावरले उहाँलाई इलेक्ट्रोनिक्स हेल्परमा पठाउने बतायो । तर उहाँसँग इलेक्ट्रोनिक्स हेल्परको सीप थिएन । 

उहाँले त्यो कुरा म्यानपावरलाई भन्नुभएको पनि हो तर म्यानपावरका चिल्ला कुरामा उहाँ झुक्किनुभयो र कतार पुग्नुभयो । ‘बिल्डिङहरुमा बोर्डहरु लगाउने भनेर लगेको थियो तर त्यहाँ पुगेपछि त मोटामोटा तार तान्नु पर्ने अनि खाल्डोमा हाल्नुपर्ने त्यो पनि ४५ डिग्री भन्दा पनि धेरैको गर्मीमा ’ नरेशले सुनाउनुभयो । 

गर्मी खप्न नसकेर सँगै काम गर्ने साथी ढलेको देखेका नरेश पनि एक महिना पनि नपुग्दै ढल्नुभयो । टाउकोमा चोट लाग्यो । तर कम्पनीले उपचार गरेन । अकामा अथवा परिचयपत्र पनि नबनेकाले साथीहरुसँग सहयोग मागेर उपचार गर्नुभयो अनि मलेसियामा भएका दाईसँग पैसा मगाएर घर फर्किनुभयो ।

उहाँलाई उद्धार गर्न सहयोग गरेको सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजागार प्रवद्र्धन बोर्डबाट डेढ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन पनि सहयोग गर्यो । कुनै समय विदेशको विकल्प नदेखेका नरेशका लागि मलेसिया र कतारमा भोगेको दुःख पाठ बन्यो । विदेशमा मान माथिको भुक्तमान खेपेका नरेशले घर फर्किएर धनगढीमा सबै भन्दा धेरै जग्गामा केरा खेती गरेका विनोद शाहसँग काम गर्नुभयो । 

झण्डै एक वर्ष काम गर्दा केरा खेतीले उहाँलाई लोभ्यायो । त्यतिबेलाको लोभ अहिले नरेशका लागि सहि साबित भएको छ । उहाँले पनि एक बिगाहामा केरा लगाउनुभएको छ । अनि आम्दानी धनबहादुरको जस्तै छ । ‘पहिलो फसल बेच्दा झण्डै तीन लाख जति कमाएँ त्यसपछि त यो बढ्दै जान्छ’ उहाँले पनि धनबहादुरकै जस्तो आम्दानीको गज्जबकै हिसाबकिताब सुनाउनुभयो । त्यही भएर त उहाँ केरा खेती बढाउने योजना बनाउनुभएको छ । 

विदेश जाने धेरै जसो युवालाई एजेण्ट र म्यानपावरले घरबाट पाइला बाहिर राखेदेखि नै ठगिन थाल्छन् । त्यसमाथि पनि विदेश पुगेपछि भने अनुसारको काम र दाम नहुँदा हतास भएर फर्किन्छन् । 

धनबहादुर र नरेश पनि यसरी नै दुःख पाएर फर्किएका हुन् । तर उनीहरु अरु भन्दा अपवाद बनेका छन् । ठगियो भनेर पुर्पुरोमा हात लाएर बसेनन् नेपालमै भएको सम्भावना खोज्नतिर लागे । 

त्यसैले युवाहरुलाई उनीहरुको सुझाव पनि त्यस्तै नै छ । ‘विदेशमा सकिनसकी दुःख गर्नु भन्दा त यहीँ दुःख गर्नु कति हो कति राम्रो त्यसैले विदेश जान लागेका र विदेशबाट दुःख पाएर फर्किएकाहरुले पनि एक पटक सोच्दा राम्रो ।’ नरेश र धनबहादुरको एउटै सुझाव छ ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
  • साउदी अरेबियामा आजिवन जेल परेका स्थानेस्वरलाई बचाउ अभियान नै चलाइदै रहेछ, राम्रो कुरा हो। बिगतमा पनि अमर राई र बमबहादुरको लागि चाहिने भन्दा धेरै रकम संकलन भएको थियो। अझ एकजनाको त पुरै ब्लडमनि अज्ञात ब्यक्तिले दिएको थियो। त्यो पैसा अहिले कहाँ र कोसँग छ ? त्यस्को सोधी खोजी कसले गर्ने ? यदि त्यो पैसा त्यस्तै निर्दोशलाई बचाउन राखिएको हो भने त्यसबाटै स्थानेस्वरलाई बचाउन सकिँदैन र ?

    दुर्गेस सापकोटा
  • मलेसियामा न त कानुनसम्बन्धी कुनै भरपर्दो निकाए नै छ जस्ले कामदारका हितमा सघाओस् न त भनेजस्तो तलब सुबिधानै। अन्तराष्ट्रीय नियम अनुसार श्रमिकहरुको न्युनतम कामगर्ने समय र महिनाभरी पर्ने पब्लिक डे र अन्य बिदाको त कुनै अर्थ नै छैन। न त कम्पनीले दिन मान्छ, न यहाँको सरकारी निकायबाट छानबिन नै हुन्छ। दिनरातको असुरक्षित बातावरणमै दुःखमा दिन बिताउन बाध्य छ्न् यहाँ कार्यरत अधिकांश नेपाली कामदारहरु। नेपालसरकारको त कुरै नगरौँ, दुतावासले सहयोग गर्ला सोच्योकी बिचौलियालाई ठिक्क पारिन्छ।

    करन महरा / मलेसिया
  • मलेसियामा सुरक्षा गार्ड कम्पनीले श्रम सम्झौतामा उल्लेख  भए अनुसारको न काम दिन्छ, न त  तलब नै। आफ्नो ब्यक्तिगत सुरक्षाको त कुरा नै नगरौं। त्यस्तै परे आफ्नो कम्पनीको मानिसले नै कुन बेला मान्छे र पुलिस लगाएर कुटाउन बेर लगाउदैन। हामी श्रमिकले त नेपालका म्यानपावरलाई एक देखि दुई लाख सम्म बुझाएका हुन्छौं। मलेसियामा बेसिक नौं सय रिङ्गिट  गरी जम्मा १६ सय हुन्छ। होस्टेल, लेबि, ड्रेस अनि यातायातको पैसा कट्दा र खाना खाँदा मुस्किलले एक बर्षमा ऋण तिरिएला। बरु यो भन्दा नेपाल सकारले मालेसियामा कामदार पठाउन बन्द गरेर विकल्प खोज्नुपर्छ। किनकि नेपालको दूतावासले पनि दीर्घकालीन समाधान भन्दा कामदारलाई  थम्थमाउने तिर मात्र लागेको देखिन्छ।

    ठाकु योञ्जन / मलेसिया
सबै हेर्नुहोस