MENU

विशेष

हर्कबहादुरका माइला छाेराकाे पुनर्जन्म र बिहे

सन्जिता देवकोटा/उज्यालो ।

काठमाडौं, कात्तिक २८ – स्थान: हर्कबहादुर तामाङको घर, कुदाक काउले, भोजुपुर जिल्ला, प्रदेश नम्बर १ । 

मिति: २०७४ साल जेठ १५ गते ।

समारोह: हर्कबहादुरको माइलो छोरा, सन्तोषीको ३६ वर्षे लोग्ने सुवास तामाङको पुनर्जन्म ।  

  - सन्जिता देवकोटा

हर्कबहादुरका माइला छोराको १ वर्ष पहिल्यै किरिया भैसकेको थियो । तर परार साउदीबाट बाकसमा ल्याएर सदगत गरेको मान्छे यो वर्ष हवाईजहाज चढेर जिउँदै आयो । 

त्यसैले, छिमेकी र नजिकका आफन्त हर्कबहादुरका माइला छोरा सुवासको पुनर्जन्म हेर्न जम्मा भएका थिए । आँगनमा भकारी राखिएको थियो । हेर्नेको भिडले भकारी चारैतिरबाट घेरेका थिए । यसअघि कहिल्यै नदखेको दृश्य नियाल्दै थिए उनीहरु । 

भकारीबाट हर्कबहादुरका १४ सन्तानमध्ये माइलोलाई जन्माइदै थियो, ३६ वर्षको उमेरमा । त्यहाँ प्रसव पीडा थिएन । के जन्मेला भन्ने उत्सुकता पनि थिएन । किनकी पुर्नजन्म कसको हुँदैछ भन्ने सबैलाई थाहा थियो । तै पनि सबैजना जन्माइदै गरेको सन्तानको अनुहार हेर्न आतुर थिए ।

हेर्दा हेर्दै भकारीबाट सुवास तामाङ जन्मिए । तर बालख जस्तो च्याँच्याँ रोएनन् । बरु मुसुमुसु मुस्कुराउँदै आमालाई अंगालो हाले । गाउँले र आफन्ततिर हेरेर ङिच्च हाँसे । 

तामाङ संस्कार अनुसार लामा पढाएर अर्कोदिन उनको न्वारान गरियो । लामाले सुवासको नाम ‘रिन्छेन’ राखिदिए । ३६ वर्षसम्म सुवास भनेर चिनिएका उनी अब रिन्छेन भए ।

भोजपुरकै सन्तोषी गुरुङसँग सुवासले १२ वर्षअघि भागेर विवाह गरेका थिए । तर फेरि जन्मिएका सुवासको तीन दिनपछि आफ्नै पत्नी सन्तोषीसित फेरि बिहे भयो । पहिले भागेर बिहे गरेका सुवास र सन्तोषीको दोस्रो विवाहमा परिवार, आफन्त र गाउँले सबै भेला भएका थिए । 

उही श्रीमतीसँग दोस्रो पटक बिहे हुँदा सुवासलाई सपना झैं लाग्यो । ‘मेरो जीवन साँच्चिकैको एकादेशको कथा, रामायणमा लेखिने कथा जस्तो पो लाग्यो,’ सुवास मुस्कुराए । 

११ वर्षका छोरा र ९ वर्षकी छोरीका बाउ सुवासलाई पुर्नजन्म गराउनु पर्दा सुवासको परिवारलाई पनि एकादेशको कथा जस्तो नै लागिरहेको थियो । किनभने २ वर्षअघि सुवास मरिसकेका थिए । परिवारले उनको सदगत पनि गरिसकेका थिए ।

परिवारले बाकसमा आएको सुवासको शव मोरङको लक्ष्मीमार्गमा जलाइसकेको थियो । तामाङ संस्कार अनुसार लामा पढाएरै २०७२ साउनमा सुवासलाई बिदा गरिएको थियो । 

काजकिरिया पनि सकियो । श्रीमती सन्तोषीका सिन्दुर पखालियो । सुवासका नाममा सन्तोषीको गलाको पोते छिनाइयो । दुई सन्तान टुहुरा भए । उनको देह आगोले खरानी बनाइसकेको थियो । तर योपाली आगोले डढिसकेका सुवास जीवित भएर फर्किएका थिए ।

सुवास २०७१ सालमा साउदी गएका थिए । मोरङको लक्ष्मीमार्गमा घर बनाउँदाको ६ लाख र विदेश जाँदाको सहित ७ लाख ५० हजार रुपैयाँ ऋणको भारी बोकेर सुवास साउदी उडेका थिए । १ वर्षमा दुई लाख रुपैयाँ कमाएर सुवास घरविदामा मोरङ आए । विदा सकेर २०७२ जेठमा सुवास फेरि साउदी फर्किए । 

तलब हात पर्नासाथ सुवास घरमा पैसा पठाउँथे । घरबाट फर्किएको महिना दिनपछि उनीसहित कम्पनीमा सँगै काम गर्ने चार जना साथी पहिले झैं घरमा पैसा पठाउन बैंक गए । 

साउदीमा चाडको समय परेकाले बैंकको भिडका कारण उनले घरमा पैसा पठाउन पाएनन् । साथीहरुसहित ट्याक्सी चढेर लेवर क्याम्पमा फर्कर्दै थिए । उनी क्याम्प पुग्न पाएनन् । बाटोमै दुर्घटनामा परे ।

२०७२ साल असार २४ गते दुर्घटनामा परेका मध्येका सुवाससहित हुण्डाई कम्पनीमा काम गर्ने चार जनाको भोलिपल्ट मृत्यु भएको खबर बाहिरियो । मृत्यु हुनेमा सुवासको पनि नाम उल्लेख गर्‍यो साउदीको जेद्धामा रहेको किङ अब्दुल अजिज अस्पतालले । त्यही दुर्घटनामा परेका ट्याक्सी चालक बाग्लुङका तेजेन्द्र भण्डारीको अस्पतालमा उपचार भैरहेको थियो । 

घरमा सुवासको मृत्युको कहालीलाग्दो खबर आयो । हुण्डाई कम्पनीमै काम गर्ने सुवासका दिदीका छोरा अर्जुन तामाङले ‘मामाको त चोक्टा लाम्टा टिपेर अस्पताल लगेको छ रे,’ भन्ने खबर दिए । 

मामाको अवस्थाको बारेमा अर्जुनले आफ्नै आँखाले नियालेका त थिएनन् । तर रे को भरमा अर्जुनले दिएको खबरमा विश्वास गरेर सुवासको लास घर आइपुग्दा पनि कसैले हेर्न आँट गरेनन् । 

‘बाक्सामा लाशको टाउको बाङ्गो थियो, नाक चुच्चो लामो थियो, एउटा हात छातिमा थियो, औंला पनि लामा थिए । त्यो देख्दा मनमा चिसो पस्यो,’ सुवासकी जेठी सासु बिमला ओझा गुरुङलाई बाकसमा आएको सुवासको शव हेर्दा ज्वाईं भन्दा फरक मानिसको हो कि झैं लागेको थियो ।

बिमला जस्तै सुवासकी माइली सासुआमा वेदमाया गुरुङले पनि ज्वाईंकै लाश हो भनेर यकिन गर्न सकिनन् । त्यतिबेला पत्यार गर्नुपर्ने औषधि बन्यो उनै भान्जा अर्जुनले चोक्टा लाम्टा जोडेर लाश पठाएको छ रे भन्ने खबर । 

‘चोक्टा चोक्टा जोड्दा अरुकै नाक ज्वार्इंलाई परेछ जस्तो लाग्यो, शरीर सबै कपासले छोपेको थियो । चलाउँ भने जोडेको शरीर फुत्किएला कि जस्तो लाग्यो,’ बिमलाले भनिन् । घरमा राखेर सबै कर्म पूरा गर्दा पनि बाकसभित्रको शव कसैले नियालेर हेरेका थिएनन् । विश्वासै विश्वासमा नै सुवासको शवमा दागवत्ति दिइयो । 

सुवासको मृत्यु भएको तीन महिनो बित्यो । साउदीको अस्पतालमा तीन महिनादेखि कोमामा रहेका ट्याक्सीचालक तेजेन्द्रको अनुहारको पट्टी खोलियो । उनी होसमा आए । 

कोमाबाट बिउँतिएका तेजेन्द्र होसमा त आए, तर भर्खरै जन्मिएको बालक जस्तै भएर । उनलाई आफ्नो बारेमा केही थाहा थिएन । उनले आफ्नो बारेमा जम्माजम्मी बताएका दुई शब्दले उपचार भैरहेका मानिस तेजेन्द्र होइनन् भन्ने कुरा खुल्यो ।

तेजेन्द्रको नाममा उपचाररत उनले आफ्नो घर र श्रीमतीको नाम बताए । त्यति भएपछि तेजेन्द्रका साथीले उनी हुण्डाई कम्पनीकै भएको ठहर गरेर कम्पनीलाई खबर गरे । कम्पनीले उनको बारेमा बुझ्दा होसमा आएका उनी तेजेन्द्र नभई सदगत गरिसकेका सुवास तामाङ भएको निधो भयो ।

कोमाबाट होसमा आउँदा सुवासले पहिलेको सबै कुरा बिर्सिए । कम्पनीबाट भान्जासहित साथीहरु भेट्न गए । उनले कसैलाई पनि चिनेनन् । सुरुसुरुमा त नेपाली पनि बोलेनन् । 

अस्पतालमा हिन्दी, अरबी र अंग्रेजी बोल्ने मानिसहरु नै बढी भएकाले उनी अंग्रेजीमात्र बोल्थे । हाउसकिपिङको काम गर्ने नेपालीले सुवासलाई नेपाली बोल्न सिकाउँदा पनि उनी अंग्रेजी मात्र बोल्थे । सुवासको मानसिक सन्तुलन बिग्रिएको थियो । 

‘म त खत्रै इङलिस बोल्थें रे, पछि पो साथीहरुले जिस्क्याए,’ सुवास आफूले अस्पतालमा गरेको क्रियाकलाप सम्झिएर खित्का छाडेर हाँसे । अनि सुनाए, ‘मलाई त भारतमा छु जस्तो लाग्थ्यो, साउदीमा पो रैछु, म त छक्कै परको थिएँ ।’ 

सुवास अस्पतालमा अनेक हर्कत गर्थे । भाग्न खोज्थे । त्यसैले अस्पतालले उनलाई फलामे साङलोले बाँधेर राखेको थियो । त्यो दाग अझै पनि उनको नाडीमा प्रष्ट देखिन्छ ।

सुवास जिउँदै रहेको कुरा उनका भान्जा र साथीहरुले मात्रै थाहा पाएनन् । यो खबर घरसम्मै आइपुग्यो । श्रीमान जीवित छन भन्ने खबर सुनेपछि श्रीमती सन्तोषी श्रीमानको बोली सुन्न आत्तिइन् । भान्जाले सुवाससँग कुरा गराए । सुवासले सन्तोषीको नाम बाहेक सबैकुरा बिर्सिएका थिए ।

हेलो भन्नासाथ सुवासले सोधे, ‘तिमी मेरो श्रीमती सन्तोषी हैन त ?’ 

सन्तोषी श्रीमानको आवाज सुनेपछि एकै स्वासमा भनिन्, ‘हो नि हाम्रो दुई जना छोराछोरी पनि छन् ।’

सन्तोषीका कुरा सुनेपछि सुवासले अच्चम मान्दै सोधे, ‘ए तिमीले एक्लै पायौ कि, म हुँदै पाएको ?’

सन्तोषी श्रीमानकोे कुरा सुनेर हाँस्न पनि सकिनन्, रुन पनि । फोन राखेपछि सन्तोषीलाई मरेका श्रीमान सपनामा आएर जिस्क्याए जस्तो लाग्यो ।

श्रीमानको बोलीबाट उनले सजिलै सुवासको अवस्थाको बारेमा पत्तो पाइन् । झन छट्पटी भयो । भान्जाले केही दिनपछि भिडियो च्याट गराए । चोटले सुवासको अनुहार बिग्रिएको थियो ।

सुवासले चाहिँ सन्तोषीलाई भर्खरकी देखेछन् । ‘मेरो श्रीमती त बुढी होला भनेको तिमी त तरुनी पो रहेछौ,’ सुवासले भिडियोमा देख्दा भनेको कुरा सुनाउँदै सन्तोषी हाँसिन् । 

अहिले श्रीमानकै अघिल्तिर बसेर २ वर्ष अघिका कुरा सुनाउँदा सन्तोषीले हाँसो रोक्न सकेकी थिइनन् । उनको हाँसोमा सुवासको पनि हाँसो मिसिँदै थियो । 

सुवासका ६ महिना अस्पतालमा बिते । असारमा दुर्घटनामा परेका उनी मंसिरमा कम्पनीको क्याम्पमा फर्किए । क्याम्पमा फर्किंदा पनि सुवास राम्ररी ठीक भैसकेका थिएनन् । उनलाई हेरचाह गर्न एकजना चाहिन्थ्यो । 

कम्पनीले भान्जा अर्जुनलाई सुवासको हेरचाह गर्न खटायो । सुवासको कम्मर र हिपको पछाडिको भागमा गहिरो चोट लागेकाले सजिलै उठ्न बस्न सक्दैन थिए । ‘बामे सरे जसरी हिँड्नु पथ्र्यो, शरीर गह्रौं हुन्थ्यो,’ सुवासले सुनाए ।

एकछिन अघि बोलेका र गरेका काम बिर्सन्थे सुवास । घरबाट श्रीमती र साथीभाइले अगाडिका सबैकुरा बताउँदा सुवासलाई अचम्म लाग्थ्यो । कम्पनीमा पहिले उनले गर्ने काम, कमाईको बारेमा साथीहरुले बताए । घरमा लाश आएको, सदगद गरेको श्रीमतीले बताइन् । 

साथीहरु र श्रीमतीका कुरा सुन्दा सुवास छक्क पर्थे । अनि एकछिनमा सबै कुरा बिर्सिन्थे पनि । 

‘त्यस्तो कसरी भयो भनेर कति सम्झन खोज्थें, मलाई याद नै हुँदैनथ्यो । केही जस्तो नै लाग्दैन थियो,’ सुवास सम्झिएर छक्क परे ।

पहिलेका कुरा अनि परिवारको बारेमा भन्दा, सम्झाउँदा उनले श्रीमती र छोराछोरीलाई त चिने । तर भोजपुरबाट मोरङ झरेर बनाएको घर अनि त्यही घर उकास्न साउदी उडेको उनलाई अहिले पनि सम्झनामा आउँदैन । भन्छन्, ‘सन्तोषीले मोरङमा छु भनिन्, मैले त मोरङमा घर छ भन्ने नै बिर्सेछु । किन त्यहाँ गएको भनेर गाली गरें । कम्ता रिस उठेन ।’

अस्पतालबाट कम्पनीमा फर्केको तीन महिना सुवासले बेहोसीमै बिताए । उनको स्वास्थ्यमा सुधार हुँदै थियो । कमाउन आएको रहेछु यसरी सुतेर हुँदैन जस्तो लाग्यो सुवासलाई । मंसिरमा क्याम्प फर्किएका सुवासले चैतमा कम्पनीसँग काम मागे ।

कम्पनीले हाउस किपिङको काम दिने बताएपछि ११ सय रियाल मासिक तलब पनि पाउने भए । १३ महिनासम्म हाउस किपिङको काम गरे । घरमा पैसा पनि पठाए । साथीहरुले धेरै तलब थापेको देखेपछि उनलाई चित्त बुझेन । त्यसैले कोरियन साहुसँग तलब बढाउन अनुरोध गरे ।

त्यति बेलासम्म सुवासले काम गर्छन भन्नेबारे कम्पनीका साहु बेखबर थिए । सुवासको कुरा सुनेर कोरियन साहु छक्क परे । सुवासलाई हाउसकिपिङको काम नगर्न भने । त्यसको सट्टा सुरक्षागार्डको काम दिए । 

काम फेरिएसँगै सुवासले तलब १६ सय रियाल पुग्यो । ‘कोरियनले हाउसकिपिङको काम त नो नो भन्यो, रेक्युरिटीको काम गर त्यो नि मन नलागे नगर, तैंले तलब पाउँछस् भन्यो । म त कम्ता खुशी भइन,’ सुवासले कोरियन साहुलाई धन्यवाद दिए ।

मृत्युुको कागजपत्र बनाएर शव नै पठाएका व्यक्तिलाई फेरि जीवित बनाएर घर पठाउन कम्पनीलाई पनि सहज भएन । सुवास आफूलाई घर फर्काइदिन कम्पनीसँग दिनहुँ अनुरोध गर्थे । दुर्घटनामा परेकै कारण उनको औंलाको छाप पनि आएन । 

उनलाई घर फर्काउन कम्पनीलाई निकै समस्या पर्‍यो । २ वर्षपछि मात्रै साउदीले दिएको आममाफीको मौका छोपेर कम्पनीले सुवासलाई घर फर्काइदियो । सुवास गएको जेठमा नेपाल आइपुगे । 

कम्पनीले पठाउन ढिलो गर्दा परिवारलाई मरेको मान्छे जीवित छन् भन्ने भए पनि भेट्न पाइँदैन कि जस्तो लागेको थियो । साँच्चै फर्केर आएको देख्दा सबैजना छक्क परे । परिवारमा खुशी छायो । 

सुवास काठमाडौंमा विमानबाट ओर्लिंदा उनलाई घरसम्म पुर्‍याउने गाडी तयार थियो । घरमा उनलाई भित्र्याउन परिवार तयार थियो । सदगत गरिसकेका मानिस फर्कदा पुनर्जन्म गराउनुपर्ने मान्यता छ । सोहीअनुसार सुवासको पुर्नजन्मदेखि श्रीमतीसँग फेरि विवाह पनि गराइयो ।

सुवास फर्किएको पाँच महिना भयो । दुर्घटनामा परेका सुवासको अनुहारभरि दाग छ । दाहिने हातमा स्टिल राखिएको छ । उनको कम्मर र हिपको बिचमा पछाडि लागेको चोट अझै निको भएको छैन । 

उनी अहिले पनि बेलाबेला होसका कुरा गर्दैनन् । हाँस्न थालेपछि दिनभरी हाँसिरहन्छन् । कहिलेकाहीँ धरानबाट भोजपुर चल्ने बस चलाउँछु पनि भन्छन् । ‘घर बैंकमा राखेर गाडी निकाल्छु अनि धरानबाट भोजपुरको रुटमा आफैँ चलाउछु,’ सुवासले भने । 

सुवाससित आफ्नै मृत्युदर्ता छ । साउदीको सम्बन्धित निकायले प्रमाणित गरेको ‘डेथ सर्टिफिकेट’ पनि छ । दराजमा मृत्युको प्रमाणपत्र थन्क्याएर सुवास अहिले मोरङको लक्ष्मीमार्गमा सिटी सफारी चलाउँछन् ।

दुई लाख १० हजार रुपैयाँ ऋण काढेर सुवासले सिटी सफारी किनेका हुन । दिनको चारदेखि पाँचसय रुपैयाँसम्म कमाई हुन्छ । उनको कमाइले चार जनाको परिवारलाई बिहान बेलुका हातमुख जोर्न पुगेको छ ।

उनी बेलाबेला उपद्रो गरिराख्छन् । कहिले सफारी स्पिडमा कुदाएर झाडीमा पुर्‍याउँछन्, त कहिले कुखुरा लखेटी हिँड्छन् । ‘म एकदिन कुखुरो खोज्दै थिएँ, ज्वाईंले पो लखेट्दैरैछन् । के गरेको ज्वाईं भनेर सोधेको, हाँस्छन पो,’ सुवासकी काकी सासु वेदमायाले हाँसो रोक्न सकिनन् ।

सुवास आफूले गरेको काम सम्झेर छक्क पर्छन् । पहिलेका कुरा अरुले सुनाउँदा अचम्ममा पर्छन् । अहिले पनि श्रीमतीले आफ्नो मान्छे भनेर चिनाएका बाहेक अरु मान्छे चिन्दैनन् । 

अगाडिका कुरा कसरी बिर्सिएँ खै, क्रिकेट खेल्दो रैछु, भलिबल खेल्दो रैछु, त्यो बेलाका साथीहरु बाटोमा बोलाउँछन देखे देखे जस्तो लाग्छ तर चिन्दिन,’ सुवासले आफ्नो अवस्थाको बारेमा बताए । आफू दुर्घटनामा परेर परिवारले दुःख पाए भनेर सुवासलाई नरमाइलो लाग्छ । त्यसैले हातगोडा चलुन्जेल परिवारलाई सुखले पाल्ने सपना छ, सुवासको ।

खरानी बनिसकेका सुवास जीवित भएर फर्किएका छन् । उनलाई भकारीबाट पुनर्जन्म गराइयो । १२ वर्षअघि बिहे गरेकै श्रीमतीसित विवाह पनि भयो । परिवारलाई सुखी बनाउने सपना उनका लागि उति टाढा पनि छैन । त्यति हुँदाहुँदै पनि सुवाससित आफ्नै मृत्युदर्ताको प्रमाणपत्र सुरक्षित छ । अथवा कागजी रुपमा उनी मरेकै छन् । साँच्चै उनी कसरी जीवित होलान् ? 

यो पनि पढ्नुहोस् ।

आफैंले किरिया गरेका पतिसँग फेरि बिहे गरेकी सन्तोषीको प्रश्न : मेरा श्रीमानलाई कसरी जीवित गराउने ?

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • म नेपालबाट ब्याचलर इन होटल म्यानेजमेन्ट सकेर हाल दुवईमा किचनमा सेफको रुपमा कार्यरत छु। नेपालमा प्राविधिक पढाइ भएकाले होला यहाँ काम र सबै कुरा कन्ट्र्याक्टमा भनिएझैँ पाएको छु। समग्रमा भन्दा दुवई बसाई खुशीमा नै बित्दै छ। यसको मुख्य कारण भनेको मेरो दक्षता र सीप हो जस्तो लाग्छ र विदेश आउने सबैले सीप सिकेर आउँदा राम्रै सेवा सुविधा र कमाई हुने हुन्छ। साथै म सबै कानुनी प्रकृया पुर्‍याएर व्यक्तिगत श्रम स्वीकृती लिएर आएको हुँ। यो काम त्यति झन्झटिलो पनि छैन यदि सबै प्रावधान पुर्‍यायोभने। सके नेपालमै केही गरेको राम्रो। नसके सीप सिकेर विदेश आउन मेरो सुझाव। 

    नबीन अधिकारी / युएई
  • मैले CTEVT बाट इलेक्ट्रोनिक तालिम लिएको छुँ। मैले भोगेको र दखेको सरकारले तालिम दिन्छ तर नेपालमा काम नै पाइदैन। अगाडि लागेका ठेकेदारले आ-आफ्ना ब्याकतिलाई काममा लगाउछन। कतै काम पाए पनि हामिलाई सम्झौता अनुसारको तलब दिदैनन्। त्यसैले हामि जस्ता गरिब कामदारले विदेशिनु पर्छ।

    मनराज बोगटी / कुच्चि, कालिकास्थान, अछाम
  • वैदेशिक रोजगारीमा सरकार आफैले आफ्नै निगरानीमा पठाउनु पर्छ, त्यो भन्दा पहिला सरकारलाई सम्पूर्ण जानाकारी प्रशासनिक रुपमा सम्बन्धित दूतावासले गर्नुपर्छ र बढिमा २ महिनाको कमाइ सरकारले आफैले राख्नुपर्दछ। रेमिट्यान्समा चलेको देशले यति कदम चाल्न मिल्छ कि नाई? म्यानपावरले गर्ने नै ठगी हो, सबै सचेत होउँ। सबै म्यानपावर सरकारको मापदण्ड र नियमसँग चल्ने हुनुपर्दछ, ब्याक्तिगत हावी कत्ती हुनुहुन्न।  

    किरण ढुङ्गाना / युएई
  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
सबै हेर्नुहोस