MENU

विशेष

वैदेशिक रोजगारका पीडित भन्छन् – ‘आश्वासन होइन न्याय चाहियो’

सन्जिता देवकोटा/उज्यालो ।

काठमाडौं, पुस १ – झापाकी शर्मिला (नाम परिवर्तन) काठमाडौंको बुद्धनगरमा रहेको फिस ल्याडर म्यानपावरबाट एक वर्ष अघि दुवई पुगिन् । क्लिनरको काममा ९ सय दिर्हाम तलब हुने लोभ देखाएर उनलाई दुवई पुर्‍याइयो । कम्पनीमा क्लिनरको काम पाइने भएपछि शर्मिलाले म्यानपावरलाई ३० हजार रुपैयाँ बुझाइन् ।

 तर दुवईबाट उनलाई ओमान पुर्‍याइयो । उनले ६ महिना काम पनि पाइनन् । कामको सट्टा उनलाई बन्दी बनाएर राखियो । गाली गर्ने, खान नदिने जस्ता दुव्र्यवहार सहनु पर्‍यो उनले ।

उद्धारका लागि म्यानपावरसँग शर्मिलाको परिवारले अग्रह गरे । तर यसको सुनुवाइ भएन । ६ महिनापछि दूतावासको सहयोगमा शर्मिला नेपाल फर्किइन । वैदेशिक रोजगजार विभागमा म्यानपावरविरुद्ध उजुरी गर्न जाँदा विभागले तत्काल उजुरी पनि दर्ता गरिदिएन् ।

ढिलो गरेर उजुरी त दर्ता भयो तर म्यानपावरलाई अझै कारवाही भएको छैन् । विभागमा उनले एक पटक मात्रै दुई पटक मुद्धा दर्ता गराइन तर अझै न्याय पाएकी छैनन् ।

सर्लाहीका पदम तामाङ साउदीमा जेल परेका भतिज नगेन्द्रलाई छुटाउन विभागमा धाएको ५ महिना भन्दा धेरै भयो । गाडी चलाउने काममा २१ सय रियाल मासिक तलव हुने सम्झौता गरेर साउदी उडेका नगेन्द्रले मासिक १ हजार रियाल मात्रै तलब पाए । कम्पनीले उनलाई सवारी चालक अनुमति पत्र पनि दिएन् ।

 नगेन्द्रले घर फर्कन कोसिस गरे तर उनलाई कम्पनीले फर्किन दिएन । दुई वर्षको करार अवधि सकिँदा पनि घर फर्कन दिएको थिएन । करार अवधि सकिएपछि पनि काम गरिरहेका नगेन्द्रले रोकेर राखेको कारमा पछाडिबाट आएर अर्को गाडिले ठक्कर दिँदा दुर्घट्ना भयो । 

त्यही निहुँमा नगेन्द्र जेल परेको ८ महिना भयो । उनले जेलमुक्त हुन १० लाख रुपैयाँ तिर्नुपर्ने भएको छ । जबरजस्ती काममा लगाएपनि दुर्घट्नापछि नगेन्द्रको जिम्मेवारी न कम्पनीले लियो न त पठाउने म्यानपावरले ।

नगेन्द्रलाई १० लाख रुपैयाँ तिरेर छुटाउने परिवारको क्षमता छैन । त्यसैले पदम भाइलाई उचित न्याय दिलाउन विभाग धाइरहेका छन् । तर पाँच महिना बित्दा पनि आफ्नो समस्याको सुनुवाइ नभएको उनले गुनासो गरे ।

पदम भतिजलाई न्याय दिलाउन २५ पटक भन्दा धेरै काठमाडौं धाइसके । पटक पटक काठमाडौं धाउँदा झनै समस्या भएको उनले बताए । शर्मिला, नगेन्द्र र पदम त उदाहरण मात्र हुन । जसले वैदेशिक रोजगारीका कारण पीडित बनेकाहरुको प्रतिनिधित्व गर्छन् । जो न्याय पाउन कै लागि महिनौंदेखि धाइरहेका छन् । 

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको सन्दर्भ पारेर पिपुल फोरमले वैदेशिक रोजगार पीडितको सुनुवाइ कार्यक्रम राखेर पीडितका गुनासो प्रत्यक्ष सरोकारवालासँग राख्ने मौका मिलाएको थियो ।

आफ्ना समस्या सुनाउने ठाउँ नपाएका पीडितलाई मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) ले समस्या सुनाउने ठाउँ  दियो । पीडितले सरोकारवालासँग आफ्नो पीडा  पोखे । । उनीहरुलाई सरोकारवाला निकायका व्यक्तिले फेरि एक पटक आश्वासन  बाँडे । 

पीडितले वैदेशिक रोजगार विभागमा आएर उजुरी दिने गरे पनि समयमै त्यसको टुंगो नलाग्दा उनीहरुको न्यायमा पहुँच घट्दै गएको कार्यक्रममा सहभागीको भनाइ थियो ।

पीडितको गुनासो सुनेपछि वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारीले विभागमा आएका कामदारका उजुरी सुनुवाइ गरी न्याय दिन आफूहरु प्रतिबद्ध रहेको भन्दै प्रक्रियागत झण्झटका कारण केही उजुरीमा कारवाही ढिलाइ हुने गरेको स्वीकार गर्नुभयो ।

साथै विभागमा प्रक्रियामा रहेका मुद्धाको अनुसन्धान गरी चाँडै सुनुवाइ गर्ने प्रतिवद्धता पनि गर्नभयो । न्याय दिलाउने निकाय वैदेशिक रोजगार विभागका निर्देशक अधिकारीले आइपरेका समस्या छिट्टै समाधान गर्ने बताइरहँदा पदमले प्रश्न गर्नुभयो ‘छिटो भनेको कहिले हो ? हामीलाई सधैं आश्वासन होइन न्याय चाहियो ।’

यस्तै, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले विदेशमा कुनै नेपालीलाई समस्या परे बोर्डले निःशुल्क कानूनी सेवा दिने तथा आवश्यकता अनुसार उनीहरुको उद्धार र राहातका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

पीडितको गुनासो सम्बोधन गर्दै राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले पीडितले उजुरी दिएको निश्चित समयभित्र त्यसको छिनोफानो गर्नुपर्ने गरी समयसीमा तोक्न आवश्यक रहेको बताउनुभयो । 

अहिलेको कानून प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके वैदेशिक रोजगारका ८० प्रतिशत समस्या समाधान हुने बताउँदै उहाँले वैदेशिक रोजगारीका ठगीको विषय सरकारवादी फौजदारी कसुर भएकाले विभागले मिलापत्र गर्न नहुने सुझाव दिनुभयो ।

सरोकारवालाले भनेजस्तै समयमै पीडितलाई न्याय दिलाउनका लागि सरकारी स्तरबाटै पहल हुने हो भने वैदेशिक रोजगारीका कारण पीडित भएका व्यक्तिलाई राहत मिल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस