MENU

विशेष

वैदेशिक रोजगारीमा राम्रो काम गर्न खोज्दा फाइल मन्त्रालयमै अड्किन्छ

मोहन पौडेल/उज्यालो । 

काठमाडौं, पुस २ – वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन खोज्दा फाइल मन्त्रालयमै अड्किने गरेको बताउनुभएको छ । 

कामदारको हित हुने गरी धेरै पटक बोर्डले प्रस्ताव लगेपनि अहिलेसम्म पनि मन्त्रालयमै अड्किएको भन्दै उहाँले वैदेशिक रोजगारीका क्षेत्रमा काम गर्ने सरकारी निकायको नेतृत्वमै शुद्धिकरण हुनुपर्ने बताउनुभयो । 

सरकारी निकायले गरेका निर्णय प्रभावकारी रुपमा कार्यान्वय गर्न नसकिरहेको भन्दै उहाँले अहिले वैदेशिक रोजगारीबाट फाइदा लिइरहेकाहरुलाई सही थाप्ने काम मात्रै बताउनुभयो । 

प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)ले विदेशमा मृत्यु भएका कामदारका बारेमा तयार पारेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा निर्देशक काफ्लेले वैदेशिक रोजगारीका क्षेत्रमा अहिले देखिएको समस्या ठूलो रहेको बताउनुभयो । नागरिक समाज, सञ्चार क्षेत्रका तर्फबाट खबरदारी नभएको भए स्थिती अझै खराब हुने उहाँको भनाई छ । 

एक महिनामा ८ सयदेखि ९ जना नेपालीको विदेशमा ज्यान जाने गरेको भन्दै काफ्लेले मृतकका परिवारलाई सक्नेसम्म राहत दिइरहेको बताउनुभयो । अहिलेकै अवस्था सन्तोषजनक नभएको भन्दै यसलाई प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

यस्तै श्रम मन्त्रालयका उपसचिव शिवराम पोख्रेलले राजनीतिक स्वार्थ बाझिदा वैदेशिक रोजगारीका क्षेत्रमा काम गर्न समस्या रहेको बताउनुभयो । एउटा नेतृत्वले ल्याएका योजना अर्को नेतृत्व आएपछि स्वार्थका कारण अघि बढ्न नसकिरहेको भन्दै पोख्रेलले त्यस्ता योजना ल्याउने व्यक्ति र संस्था नै दोषी हुनुपर्ने विडम्बना रहेको पनि बताउनुभयो । 

पछिल्लो १८ महिनामा विदेशमा ज्यान गुमाएका ३ सय ५ जनाको विवरण समेटेर पिएनसिसीले प्रतिवेदन तयार पारेको हो । यो अवधिमा सबै भन्दा धेरै साउदी अरबमा १ सय २९ जनाको ज्यान गएको छ । 

यस्तै मलेसियामा १ सय ११, कतारमा ४१, युएईमा ११, कुवेतमा ५, ओमान र फिनल्याण्डमा २÷२ जना र कोरिया, बहराइन, अफगानिस्तान र साइप्रसमा एक एक जनाको ज्यान गएको छ । 

यस्तो छ विदेशमा मृत्युको कारण 

प्रतिवेदनमा विदेशमा नेपाली कामदारको मृत्युको कारण पनि उल्लेख छ । विदेशबाट शव आउँदा मृत्युको विवरणमा सबै भन्दा धेरै ‘नेचुरल डेथ’ अर्थात प्राकृतिक मृत्यु हुने गरेको भन्दै प्रतिवेदनमा ३ सय ५ जनामध्ये १ सय ९६ जनाको मृत्यु प्राकृतिक रुपमै भएको उल्लेख छ । 

त्यस्तै ४६ जनाको सडक दुर्घटनामा, ४२ जनाको कार्यस्थलमा भएका दुर्घटनामा ज्यान गएको छ । यो अवधिमा १८ जनाले आत्महत्या गरेका छन् भने ३ जनाको हत्या भएको छ । १८ महिनाको अवधिमा ज्यान गएका ३ सय ५ जनामध्ये २ सय ८३ जनाको वैधानिक र १८ जना अवैधानिक रहेको अवस्थामै ज्यान गएको पाइएको प्रतिवेदनमा उल्लेख छ । 

धेरै नेपालीको प्राकृतिक मृत्यु भनिने गरिएपनि मृतकका आफन्तले त्यसबारे सोधिखोजी गर्न पाएका छैनन् । यहाँबाट एउटा काम भनेर लगिएपनि विदेश पुगिसकेपछि जबरजस्ती काम लगाउने, जबरजस्ती लगाइएको काम छोडेर अवैधानिक भएर काम गरिरहेको अवस्थामा ज्यान जाँदा राहत पाउन समस्या भएको पिएनसिसीको भनाई छ ।

यस्तै सुरक्षाका दृष्टिले नेपाली कामदार सुरक्षित नहुनु, बिरामी हुँदा समयमै उपचार नपाउनु र कामदार आफैंले पनि स्वास्थ्य र सुरक्षाका कुरामा ध्यान नदिँदा मृत्युको दर बढेको समितिका महासचिव सोम लामिछानेले बताउनुभयो । 

यस्तो छ क्षतिपूर्ति पाउने अवस्था 

प्रतिवेदनका अनुसार विदेशमा ज्यान गएका मध्ये धेरैका एक हप्ताभित्र राहत पाएको उल्लेख छ । १ सय ३४ जनाको परिवारले एक हप्ताभित्रै, ७२ जनाको परिवारले तीन हप्तादेखि अढाई महिनासम्ममा क्षतिपूर्ती पाएका छन् ।

यस्तै ५२ जनाको परिवारले अढाइ महिना भन्दा धेरै र ४० जनाको परिवारले दुईदेखि तीन हप्ताभित्र क्षतिपूर्ती पाएको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा सहभागीले मृतकका आफन्तले मृत्यु भएको बर्षौंसम्म पनि क्षतिपूर्ती नपाएको गुनासो गरेपछि प्रवर्द्धन बाेर्डका कार्यकारी निर्देशक काफ्लेले यस्ता समस्या गर्न पहल गरिरहेको बताउनुभयो ।

कार्यक्रम पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीको अध्यक्षतामा भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस