MENU

विशेष

सरकारी राहत ससुराले खान खोजे, १७ वर्षिया विधवा न्यायको खोजीमा

सन्जिता देवकोटा/उज्यालो ।

काठमाडौं, पुस २ – धनुषाको साविकको भरतपुर गाविस – २ की रोशन खातुन १७ वर्षकी हुनुभयो । १४ वर्षमा बिहे गरेकी रोशनले २ वर्ष नहुँदै श्रीमान् गुमाउनु पर्‍यो । रोशनको सिउँदो पखालियो । त्यो पनि कानुनी रुपमा बिहे हुन नपाउँदै । 

२०७२ साउनमा ६ लाख रुपैयाँ दाइजोसहित धनुषाकै सविकको भरतपुर गाविसका सबिर रायनसँग बिहे गरेकी खातुन बिचल्लीमा पर्नुभएको छ । बिहे भएको १ वर्ष पनि नबित्दै खातुनका श्रीमान् रोजगारीका लागि १ लाख २० हजार रुपैयाँ ऋण काढेर साउदी उडे ।

सबिर विदेशतिर लागेपछि घरबाट रोशनलाई निकालिदिए । ‘तिमी किन यहाँ बसेको भन्दै देवर र सासु ससुराले निकालिदिए । म माइत गएर बसें,’ रोशनले भन्नुभयो ।
घरबाट निकालिदिएपछि रोशन आमाबुवाको साथमा माइती मै बस्नुहुन्थ्यो । सबिरले दिनहुँ फोन गर्थे । उहाँहरु बिचमा नराम्रो सम्वन्ध थिएन । ‘मलाई घर नजाउ बुवाआमा राम्रो छैन् । त्यही बस म आएपछि घर बनाउँला, म दुई तीन वर्षमा सबै मिलाएर आउँछु भनेको थ्यो,’ रोशनले श्रीमानसँग भएको सल्लाह सुनाउनुभयो । 

तर केही समयपछि सासु ससुरा लिन आएपछि उहाँ घर जानुभयो । सासु ससुरासँग रोशन कै विषयमा झगडा भइरहन्थ्यो सबिरको । तर रोशनलाई सबिरले कहिल्यै नराम्रो शब्द बोलेका थिएनन् । रोशनकै मोबाइलमा फोन गरेका थिए सबिरले ।

फोनमा रोशनकी सासु पनि बोल्नुभएको थियो । सासु र श्रीमानका बिचमा के कुरा भयो रोशन जान्दिनन् तर त्यसपछि आएको फोनले भने रोशनलाई १६ वर्षकै उमेरमा बिधुवा भएको खबर दियो । सबिरले साउदीमै आत्माहत्या गरे ।

रोशनलाई श्रीमानले आत्माहत्या गरे भनेर पत्यार लागेन । उहाँ अन्योल मै हुनुहुन्थ्यो । सबिरको मृत्युको खबर पाएपछि परिवारले रोशनलाई घरबाट निकालिदिए ।
रोशनलाई यी सबैकुरा सपना भन्दा फरक लागेनन् । ‘छोरा नभएपछि तिम्रो के काम भनेर ससुराले, सासुले माइत जाउ भने । मैले जाँदिन भनेको पुलिसको हवाला गरिदिन्छ भने म डराएर माइत गए,’ रोशन परिवारले गरेका व्यवहार सुनाउनुहुन्छ ।

सबिर साउदी पुगेको कति समय भएको थियो त रोशन हेक्का राख्नुहुन्न तर वर्ष दिन पुगेको थिएन । रोशनलाई घरपरिवारले नराम्रो व्यवहार गर्नु अनि श्रीमानको मृत्युको खबर आउनु पत्यार नै लागेको थिएन । 

घरबाट निकालिदिएपछि फेरि पनि माइत नै गएर बस्नुभयो । श्रीमान् बितेको खबर बाहेक रोशनले श्रीमानको बारेमा केही पनि जानकारी पाउनुभएन । किनकी, न त उहाँले घरमा श्रीमानका बारेमा बुझ्न आउने आँट गर्नुभयो न त घरपरिवारले नै उहाँलाई केही खबर गरे ।

बुहारी माइत गएपछि रोशनका ससुरा ल्याकत मिया कवारी शव झिकाउने प्रक्रियाका लागि काठमाडौं आउनुभयो ।  ल्याकत शव झिकाउने प्रक्रियाका लागि सिधै वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड जानुभएन ।

उहाँ काठमाडौंको अनामनगरमा रहेको प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा सहयोग माग्न आइपुग्नुभयो । मियासँग भएको सबै कागजपत्र हेरेपछि बोर्डमा निवेदनका लागि पिएनसिसीकी कार्यक्रम अधिकृत पूर्णिमा हमालले सहयोग गर्नुभयो । 

तर क्षतिपूर्ति लिन बुहारी पनि लिएर अर्कोपटक आउन हमालले सुझाव दिँदा आएको मियाको प्रतिक्रियाले हमाल छक्क पर्नुभयो । ‘छोरा जन्माउने म बुहारीलाई पनि क्षतिपूर्ति दिनुपर्छ भने लाश उतै कुहियोस मलाई चाहिँदैन भनेर कागज त मेरो हातबाट खोस्नुभयो,’ हमालले मियाका अचम्म लाग्दो व्यावहार सुनाउनुभयो । 

कागजपत्र झोलामा राखेर फर्किएका मिया केही समयपछि फेरि शव झिकाउन सहयोग माग्दै पिएनसिसी आइपुग्नुभयो । पिएनसिसीले सबिरको शव झिकाउन सहयोग गर्‍यो । २०७३ भदौमा मृत्यु भएका सबिरको २०७३ फागुनमा मात्रै शव आयो ।

सदगत गरिसकेपछि वैदेशिक रोजगार प्रबद्र्धन बोर्डबाट पाउने सहयोगका लागि मिया फेरि पिएनसिसीमा बुहारीले अर्को बिहे गरिन भन्दै सहयोगका लागि आइपुग्नुभयो ।

‘बुहारीले अर्कै बिहे गरिन भन्नुभयो तर कागज चाहिँ अहिलेसम्म बिहे नभएको भनेर बनाउनु भएछ । मलाई शंका लाग्यो । धनुषामा रहेको सुचना केन्द्रलाई बुझ्न लगाउदा बुहारी रोशन माइती मै हुनुहुँदो रहेछ । मैले रोशनलाई खबर गरें,’ पुर्णिमाले सुनाउनुभयो । 

धनुषाको सूचना केन्द्रले सबैकुरा बताएपछि मात्रै रोशनले श्रीमानको शव पनि देख्न पनि नपाएको कुरो पिएनसिसीले पत्तो पायो । श्रीमानको शव जलाइसकेको र क्षतिपूर्तिका लागि ससुराले सबिर अविवाहित भएको प्रमाणपत्र बनाएको थाहा पाएपछि रोशन काठमाडौं आउनुभयो । क्षतिपूर्ति रोक्का गर्न उहाँले बोर्डमा निवेदन पनि दिनुभयो । रोशनको निवेदनपछि बोर्डले अहिले क्षतिपूर्ती रकम रोकेको छ । 

आउने फागुनभित्रमा क्षतिपूर्तिका लागि आवेदन नदिए न रोशनले क्षतिपूर्ति पाउनुहुन्छ न त ससुरा मियाले नै । तर क्षतिपूर्ति कसले लिने भन्ने विषयमा उहाँहरु बिच सहमति हुन सकेको छैन् । 

अर्कातिर सबिरको मृत्यु हुँदा सबिर र रोशनको विवाह दर्ता पनि थिएन । १४ वर्ष मै दुलही बनेकी रोशनसँग न त नागरिकता नै छ । सबिरको मृत्युपछि बिहे दर्ता गर्न पनि रोशनले ससुरासँग लडाइँ नै गर्न पर्‍यो । ‘मेरो छोरा मरिसक्यो तिमीलाई किन दिने बिहे दर्ता म त केही पनि दिन्न भन्नुहुन्छ,’ रोशनले ससुराको जवाफ सुनाउनुभयो ।

रोशनले २०७४ असार २९ गते धनुषाको साविकको भरतपुर गाविसबाट बिहे दर्ता गर्नुभएको छ । तर अहिलेपनि उहाँसँग नागरिकता छैन । ‘ससुराले नागरिकता बनाउन माइतीको सम्पत्ति लालपूर्जा दिए वा १२ लाख रुपैयाँ ऋण लिएको कागज गरेमात्र नागरिकता बनाइदिने नत्र नबनाउने भनेका छन्,’ रोशनलाई यो सबै गर्न मन छैन । उहाँ भन्नुहुन्छ, ‘श्रीमानको मृत्युको क्षतिपूर्ति जति आउँछ म त्यसको आधा ससुरालाई दिन्छु ।’ 

तर रोशनका ससुरा मियाँ बुहारीलाई क्षतिपुर्ति र अंश दिने पक्षमा हुनुहुन्न । बुहारीले जे नै गरेपनि अंश र क्षतिपूर्ति नदिने मियाले उज्यालोसँग बताउनुभयो । रोशनको माइतीको आर्थिक अवस्था पनि राम्रो छैन् । उहाँको बिहे गर्दाको ६ लाख रुपैयाँ ऋण अझै तिरेर सकिएको छैन । सबिरले विदेश जानका लागि काढेको ऋण पनि बाँकी नै छ ।

सानो उमेर मै बिहे  हुनु, विधुवा हुन अनि परिवारले गरेका व्यवहारले रोशनको बाल मनस्थितीमा असर परेको छ । माइतीकै साथ र सहयोगले रोशनको जीवन चल्दैन् । वैदेशिक रोजगारीका कारण पीडित रोशन अहिले न्यायको पर्खाइमा हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस