MENU

विशेष

विदेशबाट आउने पैसाको होइन, कामदारको सुरक्षामा ध्यान जाओस् : मानव अधिकार आयोग

मोहन पौडेल/उज्यालो ।

काठमाडौं, पुस ३ – राष्ट्रिय मानव अधिकार आयोगले विदेशबाट आउने विप्रेषणमा नभई विप्रेषण  पठाउने व्यक्तिको जीउधनको सुरक्षामा ध्यान दिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । 

सबैको ध्यान लाखौं नेपाली विदेश गएर पठाउने रेमिट्यान्समा हुने तर ती मध्ये विदेशमै ज्यान गुमाउने व्यक्तिका बारेमा पर्याप्त ध्यान नगएको भन्दै आयोगले यस तर्फ ध्यान दिन सरकारसँगै सम्बन्धित सबैको ध्यानाकर्षण गराएको हो ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आयोगले गरेको सुरक्षित वैदेशिक रोजगारी : सरोकारवालाहरुको प्रभावकारी भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले विभिन्न देशको भ्रमणका क्रममा समस्या नेपालबाटै सुरुवात भएको पाइएकाले यहीबाटै समस्या समाधान हुनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि सरकारले प्रयास गरिरहेपनि त्यो पर्याप्त नदेखिएको भन्दै सरकारले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । 

आफ्नो देशभित्रैबाट आउने समस्या समाधान गर्न नसक्दा मानव अधिकारको अवस्था कमजोर रहेको देशमा पुगेका नेपालीको अधिकार संरक्षण गर्न समस्या हुने उहाँको भनाई थियो । उहाँले नेपाली कामदारलाई आइपर्ने समस्या समाधान गर्न कामदार पठाउने देशको सरकारसँग नेपाल सरकारले सिधै सम्झौत (जी टु जी) गरेर पठाउनुपर्नेमा उहाँको जोड थियो । 

आयोगका सदस्य सुदिप पाठकले सबै पक्षले अहिले भएको कानुनकै आधारमा काम गर्दा पनि वैदेशिक रोजगारीको क्षेत्रका ८० प्रतिशत समस्या समाधान हुने भन्दै जिम्मेवार बन्न सबैलाई आग्रह गर्नुभयो । नेपाली कामदार जस्तै धेरै कामदार पठाउने फिलिपिन्सको सरकार जिम्मेवार हुँदा समस्या आउँदा पनि तत्काल समाधान हुने गरेको उदाहरण दिँदै उहाँले सरकार फिलिपिन्सको जस्तो वैदेशिक रोजगार व्यावसायी जिम्मेवार हुनुपर्ने बताउनुभयो । 

प्रत्येक वर्ष दिवस मनाउँदा पीडितको कुरा मात्रै गर्नु भन्दा पीडितलाई न्याय दिने दिनुपर्नेमा उहाँको जोड थियो । त्यसैले कुरा भन्दा पनि काम गर्नुपर्ने उहाँको भनाई छ । अहिले वैदेशिक रोजगारका पीडितले वैदेशिक रोजगार विभागमा दिएका उजुरी ८ हजार भन्दा धेरै रहेको आयोगले गरेको अनुगमनका क्रममा पाइएको भन्दै सदस्य पाठकले अर्को वर्ष दिवस मनाउँदा यस्तो अवस्था रहन नहुनेमा जोड दिनुभयो ।

त्यसका लागि सरकारले उजुरी लिने र गुनासो सुनुवाई गर्ने निकायलाई विकेन्द्रिकरण गर्न सरकारलाई सुझाव दिनुभयो । आयोगका सदस्य मोहना अन्सारीले सरकार कडा रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो । विदेश पठाएर सयौं व्यक्तिलाई अलपत्र पार्दा पनि एउटा म्यानपावरलाई कारवाही गर्न नसक्नु सरकारको कमजोरी रहेको उहाँको भनाइ छ । 

सदस्य अन्सारीले सरकारले त्यस्ता व्यावसायीलाई तत्काल कारवाही गर्नुपर्ने र त्यसमा म्यानपावर व्यावसायीले पनि अवरोध गर्न नहुने बताउनुभयो । म्यानपावरलाई कारवाही गर्न खोज्दा व्यावसायीले आन्दोलन गर्नु गलत भएको उहाँको टिप्पणी छ । 

जी टु जी प्रभावकारी छैन : व्यवसायी  

कार्यक्रमका अन्य वक्ताले जी टु जी गर्न सके वैदेशिक रोजगार क्षेत्रमा अहिले देखिएका धेरै समस्या समाधान हुने बताएका थिए । 

तर वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तुनाले सरकारले अहिले जी टु जी गरेका देशमा कामदार पठाउने काम प्रभावकारी नभएको टिप्पणी गर्दै एक अर्कालाई दोष दिनु भन्दा सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

सबैले समस्या मात्रै देखाउने गरेको भन्दै समाधानको उपाय अहिलेसम्म निस्किन नसकेको बताउनुभयो । आफूहरुले सरकारलाई सन् २०१८ सम्म नेपालीका सबै गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न प्रस्ताव गरेको भन्दै उहाँले ठग्ने म्यानपावर कम्पनीलाई कारवाही गर्न आफूहरु तयार रहेको बताउनुभयो । 

अहिलेको तालिम र अभिमुखिकरण प्रभावकारी नभएको गुनासो बढी आइरहेको भन्दै उहाँले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) जस्ता निकायबाट तालिम दिने व्यवस्था मिलाउन सके प्रभावकारी हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस