MENU

विशेष

इलामको चिया मजदुरका दुःख फेरिएनन्

सुजता सुनुवार/उज्यालो । 

इलाम, पुस ५ – कन्याम चिया बगानका चियाका बोटहरु अहिले पुराना भइसके । पुराना बोटका कारणले खासै हरियाली नदेखिने बगानमा  भेटिनुभयो टेकमाया महत । चिसो मौसममा सिरसिरे हावा चलिरहेको बेला टेकमाया बेत पुगिसकेका चियाका बुट्टाको ‘स्किप’ गर्न व्यस्त हुनुहुन्थ्यो । 

जिल्लाको सुर्योदय नगरपालिका कन्यामको चिया बगानमा काम गर्दै टेकमायाले सुनाउनु भयो, ‘अरु कुरा फेरिए, हाम्रो दुःख कहिल्यै फेरिएनन् ।’

कन्याम चिया बगानमा टेकमायाले मजदुरी गर्न थालेको ३१ वर्ष पुग्यो । उहाँले काम गरेको १४ वर्ष पुग्दासम्म ८ सय ५८ जना मजदुर बगानमा काम गर्थे । 

कन्याम चिया बगानका मजदुरको बगान व्यवस्थापनसँग एउटै माग छ, तलव वृद्धि होस् र सुरक्षित रुपमा काम गर्न पाइयोस् । तर दशक बितिसक्यो, उनीहरुको माग सम्बोधन भएका छैन । माग पुरा नहुँदा मन मर्दै जान थालेको बताउँछन् मजदुरहरु । 

यसपालीको चुनावमा उनीहरुले मनका पीडा पोख्ने मानिस भेट हुने आश गरेका थिए । तर चिया मजदुर भेट्न उम्मेदवार बगानमा पुगेनन् । ‘नेताहरु भोट माग्न नआएकाले भोट हालिँन’ टेकमायाले सुनाउनुभयो । 

प्रत्येक दलका उम्मेदवार मतदाताको घरदैलोमा पुगे । चुनावी आमसभा आयोजना गरे । तर नेता कुरेर बसेका चिया मजदुरकहाँ उम्मेदवार पुगेनन् । त्यसैले मजदुरले आफ्ना दुःख पीडा सुनाउन पाएनन् । नेता आएका भए टेकमायाले सुनाउने कुरा पनि मनमा तयार पारेर बस्नुभएको थियो । ‘बिहान ८ बजेदेखि ४ बजेसम्म काम गर्छु । ८ घण्टा काम गर्दा २४१ रुपैयाँ मात्रै ज्याला पाउँछु । यत्ति पैसाले बालबच्चा पढाउनु कि आफू बाँच्नु ।’ 

कन्याममा मात्र होइन, जिल्लाका इलाम, शोक्तिम र चिलिमकोट चिया बगानका मजदुरसँग समेत नेताहरु भेटघाट गर्न गएनन् । यी चार चिया बगानका मजदुरहरुको गुनासो छ, सरकारले तोकेको ज्याला समेत पाइएन । 

टेकमायाका जस्तै कन्याम चिया बगानमै काम गर्ने धनमाया प्रधानका गुनासो उस्तै छ । आफूहरुले ज्याला नपाएपनि प्रधानले अरु चिया बगानका कामदारको सुखद खबर सुन्नुभएको छ । ‘झापामा भने सरकारले तोकेको ज्याला कामदारले पाइरहेका रहेछन् । बर्ने, टोकला र बाह्रदशी चिया बगानका कामदारलाई सजिलो छ,’ उहाँले सुनाउनुभयो । 

यस्तै कन्याम चिया कारखाना बनाउँदा गिट्टी बोक्ने माया तामाङको पनि उस्तै छ पीडा । बगानमा काम गर्दा कम ज्याला दिएकै कारण मायाले बगानको काम छाड्नुभयो । 

कन्याम चिया बगानमा स्थायी कामदार घट्दो क्रममा रहेको नेपाल चिया मजदुर श्रमिक संघ कन्यामका सचिव अम्बर निरौलाले जानकारी दिनुभयो । निरौलाका अनुसार घर चलाउन पुग्ने तलव नपाएपछि धेरैले काम छोडेका हुन् । काम छोडेकाहरु धेरैजसाे रोजगारीका लागि विदेश गएको निरौलाले जानकारी दिनुभयो ।  

२०५७ सालमा चिया बगान र कारखाना निजीकरण गरियो । चिया विकास निगम अन्तर्गतको संघाइ समुहलाई ठेक्का दिएपछि भने मजदुर विस्थापित हुन थाले । 

सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल चिया विकास निगम २०५७ सालमा संघाई समुहलाई ५० वर्षका लागि भाडामा दिइएको थियो । त्यसपछि मजदुरहरुले मारमा परेको गुनासो गर्दै आएका छन् । विस्थापित मजदुर भारतको दार्जिलिङ, सिक्किमका साथै खाडी मुलुकहरुमा पुगेका निरौलाले बताउनु भयो ।

जिल्लाका ४ वटा बगान इलाम, कन्याम, शोक्तिम र चिलिमकोट चिया विकास निगम अन्तर्गतको संघाइ समुहले हेरिरहेको छ । ४ सय ७३ स्थायी मजदुर रहेको सबै भन्दा ठूलो अर्थोडक्स चिया उत्पादन गर्दै आएको कन्याम चिया बगानमा १ सय ५ जना मजदुर मात्र कार्यरत छन् । यस्तै एक सय ६५ जना स्थायी मजदुर रहेको इलाम चिया बगानमा २६ जनाले मात्र काम गरिरहेका छन् । 

५ वर्ष अघि इलाम चिया बगानमा १ सय ३५ चिया मजदुर थिए । बगानमा ३४ जना करारका कामदार लगाएर काम जारी राखेको बगान प्रशासनले जनाएको छ । त्यहाँका कर्मचारीले दैनिक २४१ रुपैयाँ ज्याला पाउने गरेका छन् । इलामको देऊमाई नगरपालिकाका शोक्तिम र चिलिमकोट चिया बगानमा पनि केही मजदुर मात्र स्थायी छन् । अरु करारमा काम गर्छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस