MENU

विशेष

पाँच हजार ऋणले लखपति !

सागरविक्रम बस्नेत/रामेछाप ।

रामेछाप, पुस ६ – खाँडादेवि गाउँपालिका ४ माडी मुहानको कुलो नजिकै दुई वटा पिपलका बोट । दुई वटै बोटलाई छेकेर एउटै चौतारो बनाइएको छ । केहीदिन अघि मात्रै सकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको प्रचारमा टाँगिएका झण्डा अझै हटाइएको छैन । 

यो चौतारो गाउँभरिका बुढापाकाको गफिने थलो हो ।

तर यही चौतारो नेर चिया पसलमा ५० वर्ष नाघेको जस्तो देखिने एक व्यक्तिलाई चिया पकाएर बेच्न भ्याइ नभ्याइ छ । उहाँ हुनुुहुन्छ ५२ वर्षका हरिबहादुर पौडेल । हरिबहादुरलाई न बुढापाकासँग गफिने फुर्सद छ न त उनीहरुका कुरामा हो मा हो मिलाउने नै ।

 
हरिबहादुरले चिया पसल चलाएको १७ वर्ष पुग्यो । पसल सुरु गरेको तीन महिनासम्म पनि व्यापारको मेलो समाउन नसकेपछि कमाउन त परको कुरा गरेको लगानी पनि उठाउन सक्नुभएन । 

लगानी नै डुबेर पसल बन्द गर्ने अवस्थामा पुगेका हरिबहादुरलाई स्थानीय शिक्षक केदारप्रसाद प्रसाईंले सहयोग गर्नुभयो ऋण दिएर । ‘उहाँ असाध्यै मेहेनत गर्नुहुन्थ्यो त्यही भएर उहाँको पसल बन्द हुने अवस्थामा पुगेको मलाई राम्रो लागेन ।’ केदारले हरिबहादुरलाई सहयोग गर्नुको कारण सुनाउनुभयो ।

त्यही पाँच हजार रुपैयाँ हरिबहादुरका लागि संजिवनी बुटी जस्तै बन्यो । किनकी ऋण लिएको पाँच हजार रुपैयाँले सप्रिएको व्यापारले उहाँलाई लखपति बनाएको छ ।सप्रिएको व्यापारबाट घर परिवार चलाउन थालेका हरिबहादुरले पाँच वर्षमा पसल छेवैमा ९ आना जग्गा किन्नुभयो २ लाख ५० हजार रुपैयाँमा । त्यही जग्गामा ढुङ्गा माटोले बनाएको घर पनि थियो । 

हरिबहादुरले पसल त्यही घरमा सार्नुभयो । पसल वरबाट पर सर्यो तर व्यापार घटेन । सुरुका दिनमा ३/४ सय रुपैयाँको चिया बेच्ने हरिबहादुरको व्यापार बढ्दै गयो । व्यापार बढेपछि कमाई पनि बढ्ने नै भयो । अहिले त उहाँ दिनमा पाँच हजार रुपैयाँसम्मको चिया बेच्नुहुन्छ ।

उहाँले पुरानो घरकै छेउमा चार कोठे पक्की घर बनाउनुभएको छ । पसल सुरु गर्दा १ सय २५ रुपैयाँ कोठा भाडा तिर्ने हरिबहादुर अहिले घरबेटी हुनुभएको छ । कोठा भाडामा लगाएर महिनाको ११ हजार थाप्नुहुन्छ । 

चिया पसलेबाट पसले साहु जी भएका हरिबहादुरले अहिले पनि चिया बेच्न भने छोड्नुभएको छैन । दिनदिनै उहाँको व्यापारको क्षेत्र बढ्दैछ । चियासँगै खुवा पनि बनाएर बेच्ने हरिबहादुरले अहिले त तरकारी व्यापार पनि थाल्नुभएको छ । श्रीमान् तरकारीको व्यापारतिर लागेपछि चिया पसलको जिम्मा शिवकुमारीको हातमा पुगेको छ । 

गाउँका दुई वटा विद्यालयको भवन बनाउन खटिएका १ सय ५० जना कामदारलाई तरकारी पुर्याउने ठेक्का पाउनुभएको छ हरिबहादुरले । गाउँका किसानबाट तरकारी किन्नुहुन्छ अनि केही नाफा खाएर ठाउँसम्म पुर्याउनुहुन्छ । 

घर चलाउनदेखि छोरा पढाउन व्यापारकै पैसा 

हरिबहादुर तीन जना छोरा छन् । तीनै काठमाडौंमै बसेर पढ्छन् । गाउँमा दुःख गरेर छोरालाई राम्रै ठाउँमा पढाउन सकेकोमा दंग हुनुहुन्छ हरिबहादुर । माइला छोरा कोरियन भाषा परीक्षा पास गरेर दक्षिण कोरिया जाने तयारीमा छन् । अब हरिबहादुरको आशा छोराले राम्रो कमाउन सक्ला भन्ने छ । 

हुन त घर बनाउँदा १० लाख रुपैयाँ ऋण पनि लागेको छ । तर उहाँलाई  ऋण कुनै चिन्ता छैन । आफ्नो कमाई छ त्यसमाथि छोरा पनि कोरिया पुग्ने भएपछि ऋण धेरै महिना रहँदैन भन्नेमा ढुक्क देखिनुहुन्छ हरिबहादुर । 

चिया पसलसँगै किराना पसल पनि चलाउनुभएको छ उहाँले । त्यति मात्रै होइन आफैं तरकारी खेती र कुखुरा पनि पाल्ने सोच पनि बनाउनुभएको छ हरिबहादुर । त्यसैले १० लाख रुपैयाँ ऋण एक वर्षभित्रमा चक्ता गर्ने योजना छ हरिबहादुरको । 

सिजन अनुसारको व्यापार 

चियाबाट सुरु भएको हरिबहादुरको व्यापार अहिले एउटा मात्रै छैन । उहाँ सिजन अनुसारको व्यापार गर्नुहुन्छ । त्यसको उदाहरण उहाँकै अघिल्तिर थियो । गाउँबाट केरा बेच्न ल्याएका किसानसँग एक घरी केरा १ हजार ९ सय ८० रुपैयाँमा किनेका हरिबहादुरले किसानकै आँखा अघि त्यही केरा बेचेर ५ सय रुपैयाँ कमाउनुभयो । हरिबहादुरले ५ सय रुपैयाँ कमाएको देखेका किसान निराश थिएनन् । उनी हाँस्दै भन्दै थिए ‘मैले त मेरो दाम पाइहालें नी ।’

केहीछिनमै ५ सय रुपैयाँ कमाएका हरिबहादुरका कुरा वैदेशिक रोजगारतिर मोडिए । ‘अहिलेको केटाहरुलाई यहीँ केही गर्न सकिन्छ भन्ने छैन त्यही भएर विदेश जान्छन तर गर्न खोज्यो भने त यहीँ पनि त गर्न सकिन्छ ।’ हरिबहादुरले भन्नुभयो । 

सकेसम्म विदेश नजानु राम्रो भन्ने विचार लिने हरिबहादुर वैदेशिक रोजगारीलाई नकारात्मक नै चाहिँ भन्न चाहनुहुन्छ । तर महिनाकै २०/२५ हजार कमाउन परिवारबाट टाढा खाडीका देशमा जानुपर्छ भन्ने चाहिँ उहाँलाई लाग्दैन । 

‘विदेश गएर महिनाको डेढ दुई लाख रुपैयाँ कमाइन्छ भने त ठिकै हो नत्र त के परिवारबाट टाढा बसिरहनु र ।’ छोरा कोरिया जान लागेकाले उहाँले त्यतै संकेत गरेको कुरा बुझ्न गाह्रो थिएन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस