MENU

विशेष

दुवै खुट्टा र मेरुदण्डमा चोट बोकेर इराकदेखि फर्किइन् शान्ता

खर्च नहुँदा उपचारमा समस्या

बसन्त घिमिरे । 

काठमाडौं, पुस १२ – गएको शुक्रबार बिहानै आप्रवासी कामदार सञ्जालको फेसबुक ग्रुपमा कतारमा रहेका एकजना साथीले सूचना पोष्ट गर्नुभयो । 

लेखिएको थियो, ‘इराकमा ३ वर्ष अगाडि घरेलु कामदारका रुपमा गएकी भोजपुर गोगने ७ की शान्ता राईलाई मालिकले चरम शारीरिक, मानसिक यातना र पाउनु पर्ने तलब पनि नदिई निकालेको रहेछ । अचेत अवस्थामा अस्पताल भर्ना भएर २० दिन उपचार गराउनु भएको रहेछ । दुवै खुट्टा भाँचिएको र मेरुदण्डमा चोट लागेको अवस्थामा नेपाल जाने क्रममा हामीले शान्तालाई कतारको दोहा एयरपोर्टमा भेट्याैं । र कतार एयरवेजमा कार्यरत साथीहरुले केही रकम सहयोग गरी उहाँ डिसेम्बर २२ मा त्तच् टछद्द नम्बरको उडानबाट दोहाबाट बिहान १०ः३० बजे काठमाडौं आउँदै हुनुहुन्छ । उहाँको आर्थिक अवस्था अत्यन्तै नाजुक, हिँडडुल गर्न नसक्ने र पारिवारका सदस्यसँग सम्पर्कका लागि कुनै माध्यम नभएकाले यो सन्देश सक्दो सेयर गरी उहाँका परिवार वा आफन्तसम्म पुर्‍याइदिन अनुरोध गर्दछौं । नोट : आफन्तसँग सम्पर्क हुन नसकेकाले उहाँलाई नेपालको एयरपोर्टमा रिसिभ गर्न सहयोग गरिदिनुहोला ।’

बिहानको १०ः२० बजेको थियो । तुरुन्तै सुचना पोष्ट गर्ने साथीसँग सूचनाको आधिकारिकता पुष्टि गरें । सूचनाको आधारमा भोजपुर जिल्ला सम्मन्वय समितिमा फोन गरेर गोगनेको बारेमा जानकारी मागें । साविकको गोगने गाविस, हाल गोगने गाउँपालिका वडा नम्बर ८ भएको रहेछ । 

सबैको सहयोगले आफन्त सजिलैसित भेटियो 

जिससका अधिकारीले गाउँपालिकका प्रमुखको नम्बर उपलब्ध गराए । तत्काल प्रमुखलाई फोन गरेर अवस्थाबारे जानकारी गराएँ । उनले वडा अध्यक्षको फोन नम्बर दिएर आफूले पनि परिवारको खोजी गर्न लगाउने वचन दिए । 

गाउँपालिका प्रमुखले दिएको जानकारीका आधारमा वडाध्यक्षलाई फोन गरेर सक्दो चाँडो परिवारका सदस्य खोजिदिन आग्रह गरें । त्यस वडामा ५/७ घर मात्र राई जातिको बसोबास रहेछ । वडाध्यक्षले तुरुन्तै परिवारलाई सम्फर्कमा ल्याउन प्रयास गर्ने र पीडितको बुवाका बारेमा जानकारी पाए खोजी गर्न अझै सजिलो हुने जानकारी दिए । 

त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगें । कतार एयरवेजको विमान आगमनको सुपरभिजन गरेका अधिकारीसँग सम्पर्क गरी शान्ताको अवस्था र रिसिभ गर्न सहयोग गरिदिन अनुरोध गरें । 

बिहान ११ः२० बजे ह्विल चियरमा बसेर आएकी शान्तालाई रिसिभ गरें । उनको साथमा इराकबाट ल्याएको ह्विल चियर र लगेज थियो । शान्तालाई आफ्नो परिचय दिएँ । र कतारबाट साथीहरुले पठाएको सूचनाको आधारमा रिसिभ गर्न आएको बताएँ । 

हातमा पिसाबको थैली र दुवै खुट्टा पट्टिले बेरिएको थियो । रनवेबाट आगमन कक्षसम्म विमानस्थलका कर्मचारीले ह्विल चियरमा ल्याइदिए । विमास्थलका कर्मचारी, आफन्त लिन आएकी एकजना बुढीआमाको सहायतामा शान्तालाई उनको ह्विल चियरमा सारियो । त्यसपछि प्रिपेड ट्याक्सी पार्किङमा लगेर घाममा राखें । 

शान्तालाई बुवाको नाम सोधेर वडाध्यक्षलाई जानकारी गराएँ । वडाध्यक्षले ५ मिनेटमै परिवार  सम्पर्कमा आएको जानकारी गराए । धरानमा रहेकी बहिनीकोमा बसेर बाँकी उपचार गर्ने भन्दै शान्ताले आफ्नो अवस्थाबारे अहिल्यै बुवाआमालाई जानकारी नगराउन आग्रह गरिन् । 

मैले वडाध्यक्षलाई धरानमा रहेकी शान्ताकी बहिनीको सम्फर्क नम्बर मागिदिन अनुरोध गरें । वडाध्यक्षले नम्बर उपलब्ध गराए । 

बहिनीलाई फोन गरेर तपाई्रकी दिदी अहिले त्रिभुवन विमानस्थल काठमाडौंमा मसँगै हुनुहुन्छ मात्र भनें । थप केही कुरा भन्ने आँट आएन । र फोन शान्तालाई नै दिएँ । शान्ताले आफू दुर्घटनामा परेर चोट लागेको र मोवाइल हराएकाले नेपाल सम्पर्क गर्न नपाएको बहिनीलाई बताइन् । थप उपचारका लागि धरानमा आउन चाहेको बताइन् । 

खर्च नहुँदा उपचारमा समस्या, सहयोग गर्न परिवारको आग्रह 

बहिनीले दिदीको कुरा नकार्ने कुरा भएन । त्यसपछि ह्विल चियरमा शान्तालाई धरान कसरी पढाउन सकिन्छ भन्ने विषयमा बहिनीसँग कुरा गरें । उनले विराटनगरसम्म हवाइजहाजमा र त्यहाँबाट धरान १ घण्टाको बाटो भएकाले त्यसै गरिदिन भनिन् ।

त्यसै अनुसार शान्तालाई ह्विल चियरमा राखेर विमानस्थलको आन्तरिक टर्मिनलतर्फ लागें । उनको लगेज बोक्न मलेसियाबाट फर्कंदै गरेको छोरो लिन आएकी एकजना आमाले सहयोग गर्नुभयो । 

आन्तरिक टर्मिनल पुगेपछि विराटनगरको टिकटको जोहो गर्न लागें । शान्ताको अवस्था देखेर कतारको एयरपोर्टमा ड्युटीमा रहेका नेपालीहरुले ३५ हजार रुपैयाँ जति सहयोग गरेका रहेछन् । शान्ता आफैंले विराटनगरसम्मको भाडा तिरिन् । 

बोर्डिङ गर्ने क्रममा कर्मचारीले शान्तालाई आफन्तबिना पठाउन नमिल्ने बताए । वास्तविक कुरा बताएपछि त्यसै उडानमा जाने कोही व्यक्तिलाई आफन्त बनाएर पठाउन ती कर्मचारी राजी भए । शान्तालाई विराटनगरमा बहिनी रञ्जनाले रिसिभ गरिन् । 

शान्ता अहिले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमर्जेन्सी वाडको बेड नम्बर ४ मा थप उपचार गराइरहेकी छिन् । उनकी बहिनी रञ्जनाका अनुसार घाउ पाकेकाले थप समस्या परेको छ । दिदीको थप उपचारका लागि सहयोग गरिदिन ममताले अनुरोध गरिन् । शान्ताको दुई जना बहिनी इराकमै घरेलु कामदारका रुपमा कार्यरत छन् । भाइ साउदीमा छन् । 

यसरी भएको थियो दुघर्टना 

शान्ताका अनुसार श्रीमानसँग सम्बन्धविच्छेद भएपछि छोरीको लालनपालन र पठनपाठनको खर्च जुटाउन उनी विदेश हिँडेकी थिइन् । स्याङ्जाका धनबहादुर थापामागर र उनकी श्रीमती सशी घलेले ३ वर्ष अगाडि शान्तालाई विदेश पठाएका थिए । 

हुन त शान्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गएकी हुन् । तर उनी अवैधानिक रुपमा इराक पुगेकी थिइन् । सुरुमा उनी भिजिट भिसा लिएर युएई पुगिन् । र घरेलु कामदारका रुपमा युएईबाट इराक । कामदार असुरक्षित हुने भएकाले सरकारले रोजगारीका लागि इराक जान रोक्का गरेको छ । 

काम गरिरहेको घर मालिकसँग गरेको करार सकिएपछि शान्ताले घर परिवर्तन गर्ने सोच गरेकी थिइन् । अर्को घरमा काम गर्ने जानकारी गराएपछि मालिकले शारीरिक र मानसिक यातना दिन थालेको रहेछ । त्यसपछि भागेर रोजगारी लगाइदिने कार्यालयमा शान्ता पुगेकी थिइन् । 

रोजगारी लगाइदिने कार्यालयमा तीन दिन बसिन् । त्यसपछि याताना दिने मालिक आइपुगे । घर मालिकले तलब वढाइदिने र यातना नदिने भनेपछि उनी फेरि त्यही घरमा फर्किन् । 

तर मालिकको बाचा एक दिन पनि टिकेन । घर पुग्नेवित्तिकै मालिकले शान्ताको मोवाइल खोस्यो र हिर्काउन थाल्यो । त्यसपछि के भयो शान्तालाई अहिले पनि सम्झना छैन । 

१३ दिनपछि होस खुल्दा शान्ता अस्पतालको बेडमा थिइन् । हातखुट्टा भाँच्चिएको थियो । मेरुदण्डमा चोट लागेको थियो । दिसापिसाव समेत गर्न नसक्ने अवस्थामा थिइन् शान्ता । त्यही घटनापछि परिवारसँग शान्ताको सम्पर्क टुटेको थियो । 

अस्पताल भर्ना भएको १८ औं दिनमा तिनै मालिक आइपुगे । मालिकले आफूले गल्ती गरेको र उपचार गराएर घरमा फर्काउने भनेर एउटा कागजमा सही गर्न भने । विश्वास गरेर शान्ताले कागजमा सही गरिदिइन् । सही गरेको अर्को दिन शान्तालाई नेपाल फर्काउन घर मालिकले एयरपोर्ट पुर्‍याएको थियो । 

घिमिरे सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स् (सिएमआइआर)का कार्यक्रम अधिकृत हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस