विशेष
मनको रोगी भएर मलेसियाबाट फर्केका दिनेश अर्मपर्ममा जुटे
- Tuesday, Jan 02, 2018
- 14:54 PM (4 months ago)
- Total Views: 19.4 K
मोहन पौडेल/उज्यालो ।
काठमाडौं, पुस १८ – रामेछापको गोकुलगंगा गाउँपालिका ३ का दिनेश सुनुवार बिहानको खाना नखाउञ्जेल घरमा आमालाई काम सघाउनुहुन्छ । गाउँमा अहिले पनि भुकम्पले भत्काएका घरको बनाउने काम चलिरहेको छ ।
गाउँलेहरु एकअर्काको घर अर्मपर्म गरेर बनाउँदै छन् । खाना खाइसकेपछि दिनेश पनि भूकम्पले भत्काएको काकाको घर बनाउन सघाउन जानुहुन्छ । काका सूर्यमान सुनुवारसँगै ३१ वर्षे दिनेश दिनभर काम गर्नुहुन्छ । केही समयअघिसम्म दिनेशको अवस्था यस्तो थिएन ।
अहिले सामान्य मान्छे जस्तै व्यवहार देखाउने दिनेशले ५ महिनाअघि गर्ने क्रियाकलाप सूर्यमानको आँखै अगाडि छ । ‘खाने बस्ने केही टुङ्गो थिएन’ सूर्यमान भन्नुहुन्छ ‘त्यत्रो वर्ष जेल बस्नु परेछ । आउँदा बुवा र बहिनीलाई पनि भेट्न पाएन त्यही भएर त्यस्तो भएको होला । तर अहिले त हामी भन्दा बलियो भएको छ ।’
दिनेशको व्यवहार फेरिएको झण्डै दुई महिना मात्रै भयो । त्यो भन्दा अघि दिनेशको न खानेको टुङगो थियो न त बोल्ने र हिँड्ने नै । एक्लै भयो कि एकोहोरिने, फिक्का चिया दियो भने रुने, चामलको भात खान मन नगर्ने, भात खान दियो भने रुने गर्नुहुन्थ्यो दिनेश ।
दिनेशको यस्तो व्यवहार मलेसियामा १० वर्ष जेल बसेर फर्केपछि सुरु भएको हो । मलेसिया जानुअघि दिनेश खेतीपाती गर्नुहुन्थ्यो । परिवारको जेठो छोरो भएकाले चाहँदाचाहँदै पनि पढ्न पाउनुभएन् । पढाई बिचमै छोडेर घर व्यावहार सम्हाल्नुपर्ने भयो ।
त्यतिबेला दिनेश अर्गेलीको खेती गर्नुहुन्थ्यो । औषधि बनाउन प्रयोग हुने भएकाले अर्गेली जापानको कम्पनीले किन्थ्यो । त्यसैले खेतीबाट पनि व्यापारकै जस्तो आम्दानी हुन्थ्यो ।
छ महिना काम गर्दा दिनेशले १ वर्षका लागि परिवार चलाउने खर्च जुटाउनुहुन्थ्यो । तर अवस्था एउटै रहेन । समय फेरियो । अर्गेलीबाट हुने कमाइ कम हुँदै गयो ।
कमाइ कम हुनु अनि सँगै पढेका साथीहरुले विदेश जाने कुरा गर्नु । यिनै कुुराले दिनेशले विदेश जाने सोच बनाउनुभयो । ‘भएको बेला राम्रो कमाइ हुने तर यो कमाई सधैं हुन्छ भन्ने टुङ्गो थिएन । त्यतिबेलै साथीहरुले पनि विदेशको कुरा गरेपछि विदेश जाने निधो गरें’ दिनेशले सुनाउनुभयो ।
विदेश जाने माध्यम खोज्दै उहाँ आफैं काठमाडौं आउनुभयो । के काममा जाने, कुन देश जाने भन्ने नसोची काठमाडौं आएका दिनेश मलेसिया जाने निधो गरेर घर फर्किनुभयो । म्यानपावरले सुपरभाइजरको काम र कमाइ पनि राम्रै हुन्छ भनेपछि उहाँले धेरै सोच्नुभएन ।
घर फर्किएको केहीदिनमै दिनेश मलेसिया उड्नुभयो । म्यानपावरले दिनेशलाई सुपरभाइजरको काम भनेर पठाएको थियो । तर सुपरभाइजरको काम पाउनुभएन् । न त म्यानपावरले भनेको जस्तो ओभरटाइम नै ।
भनेको काम र तलब नपाएपछि कमाई पनि भनेजस्तो भएन । तीन महिना काम गर्दा उहाँले २७ हजार रुपैयाँ जोगाउनुभएको थियो । कमाइ नै नभएपछि साथीहरुको लहैलहैमा लागेर दिनेशले कम्पनी छोड्नुभयो ।
कम्पनी छोड्दा उहाँसँग २७ हजार रुपैयाँ थियो । त्यो पैसा घर पठाउने सोचेर दिनेशले आमालाई फोन गर्नुभयो । त्यतिबेला दिनेशकी आमा लेखमाया काठमाडौं आउनुभएको थियो ।
छोरासँग बोल्न पाउँदा खुसी भएकी लेखमायाले कुरा सुनिसकेपछि आफूलाई थाम्नै सक्नुभएन । ‘सुरुमै आमा म अब तपाईंलाई फोन गर्न पाउँदिन भन्छ’ छोराले फोनमा गरेका सुनाउन थाल्ने बित्तिकै लेखमाया भक्कानिनुभयो ।
उहाँले किन त्यसो भन्छस् भनेर सोध्नुभयो । तर दिनेशले उत्तर दिनुभएन । लेखमाया सँगै रहेकी दिनेशकी काकीले फोन खोसेर किन त्यसो भनेको, तँ भागेर काम गर्न थालेको हो र भनेर सोध्नुभयो । काकीको प्रश्नको पनि जवाफ आएन । काकीले आशंका गरेजस्तै दिनेशले गर्दैै गरेको काम छोडेर अवैधानिक हुनुभएको थियो ।
अवैधानिक भएकैले फोन गर्न पाउँदिन भन्नुभएको थियो दिनेशले । तर परिस्थितीले दिनेशलाई कल्पनै नगरेको विपत ल्याइदियाे । पैसा पठाएर फर्किंदै गरेका दिनेशलाई वैशाखी टेकेर बाटोमा उभिएका एक व्यक्तिले एउटा सानो पोको दिएर हातले देखाउँदै केही परसम्म पुर्याइदिन आग्रह गरे ।
ती व्यक्तिलाई दिनेशले पहिला पनि देख्नुभएको थियो । दिनेशले देख्ता ती व्यक्ति वैशाखी नै टेकिरहेका हुन्थे । त्यही भएर दिनेशले पनि एउटा टेक्न नसक्ने भएको व्यक्तिलाई सहयोग गर्दा धर्मै हुन्छ भन्ने सोचेर सामान बोकेर पुर्याइदिन हिँड्नुभयो ।
तर ती व्यक्तिले भनेको ठाउँमा पुग्न नपाउँदै तीन जना महिलाले उहाँलाई पक्रिए । ‘उनीहरु को हुन भन्ने पनि थाहा पाइन अनि किन पक्रिए भन्ने पनि थाहा भएन’ दिनेश भन्नुहुन्छ ।
मलेसिया पुगेको तीन महिना मात्रै भएको थियो । दिनेशले त्यहाँको भाषा बुझ्नुहुन्नथ्यो । आफूलाई पक्रिनेहरु को हुन भन्ने पनि दिनेशलाई जानकारी भएन । झ्यालखानामा पुगेपछि मात्रै आफूलाई पक्रिने महिला प्रहरी रहेछन भन्ने उहाँले पत्तो पाउनुभयो ।
‘त्यो मान्छे लङ्गडो होइन रैछ, त्यो मान्छेलाई पनि पुलिसले पहिल्यैदेखि ‘वाच’ गरिरहेको रै’छ ।’ दिनेशले आफूलाई प्रहरीले लागुऔषधको कारोबारमा पक्रिएको रहेछ भन्ने कुरा प्रहरी कार्यालयमा पुगेपछि मात्रै थाहा पाउनुभयो ।
बिना कारण पक्राउ पर्नुपर्दा दिनेशलाई चिन्ताले सतायो । दिनेश दोषी नभएपनि उहाँको पक्षमा बोलिदिने कोही भएन । न चिनजानको व्यक्तिको पहुँच प्रहरीसम्म पुग्यो न त मलेसियामा रहेका नेपाली दूतावासले दिनेशका बारेमा सुइँको पायो । त्यसैले दिनेशको जेल बसाई लम्बिँदै गयो । ६/६ महिनामा जेल परिवर्तन भइरहन्थ्यो । जेल फेरिएपिच्छे समय पनि थपिइरहन्थ्यो ।
सुरुमा तीन महिनाका दरले दुई ठाउँ फेरेपछि दिनेशलाई १० वर्षको जेल सजाय सुनायो अदालतले । लामो जेल सजाय तोकिइसकेकाले परिवारलाई तनाव हुन्छ भनेर दिनेशले घरमा फोन गर्नुभएन । उहाँले जेल परेको कुरा सुनाउँदा परिवारमा चिन्ता हुन्छ भन्ने सोच्नुभयो ।
तर दिनेश हराएपछि बुवाआमालाई मात्रै होइन परिवारलाई झनै पीडा भयो । अब फोन गर्न पाउँदिन भनेको छोरो सम्पर्कविहिन भएपछि लेखमायाले छोरालाई खोजिदिन चिने जानेका जति सबैलाई गुहार्नुभयो ।
दिनेशका केही आफन्त काठमाडौंमा पनि थिए । उनीहरुले पनि प्रयास गरे । तर कसैको सीप चलेन । ‘काठमाडौंमा आएका काकाहरुले म्यानपावरलाई पनि सोधेछन । पत्रपत्रिकामा आइहाल्छ कि भनेर पनि हेर्दा रै’छन तर केही लागेन’ लेखमायाका आँखा ओभाउनै पाएनन् ।
लेखमायाका ४ जना छोरा अनि दुई जना छोरी । तीमध्ये दिनेश जेठा छोरा । माइला छोरा मलेसिया गएको ३ वर्ष भयो । दुईटी छोरीमध्ये एउटी छोरीको निधन भयो । अर्की छोरी अहिले काठमाडौं बस्छिन् ।
लेखमायालाई छोरो विदेशमै हराएको पीडा त छँदै थियो । श्रीमान् र छोरीको निधनको भारी पनि थपिएको थियो । दिनेश मलेसिया जाँदा घरमा बुवा र बहिनी पनि थिए । दिनेश विदेश गएको दुई महिनामा बहिनी पनि विदेश गइन् । विदेशबाट फर्किएपछि लेखमायाले काठमाडौं आएर अन्माएकी छोरीको पनि निधन भयो ।
छोरा मलेसियामै हराए । यता छोरीको पनि निधन भयो । दिनेशका बुवा सधैं यही कुराको पीर लिइरहन्थे । त्यसमाथि ७२ सालको भुकम्पले घर पनि भत्किएपछि उनलाई झनै पीडा थपियो ।
उनी जतिबेला पनि दिनेशकै कुरा गरिरहन्थे । बुवाको पनि २०७३ वैशाखमा निधन भयो । ‘सधैं उसकै चिन्ता लिइरहनुहुन्थ्यो । कहाँ होला, के गर्दैछ, छ कि छैन भनेर पीर लिइरहनुहुन्थ्यो’ लेखमायाले भन्नुभयो ।
दिनेश जेल परेको न परिवारलाई थाहा थियो न त दिनेशलाई घरमा भएका यी घटनाका बारेमा जानकारी भयो । १० वर्षपछि दिनेश जेलबाट छुट्ने दिन आयो ।
तर उहाँ पहिलाको जस्तो हुनुहुन्नथ्यो । आफ्नो ज्यान सम्हाल्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो दिनेश । परिवारका बारेमा सोच्न सक्ने त कुरै भएन् ।
१० वर्षपछि नेपाल फर्किएका दिनेश आधा होस गुमाए जस्तै हुनुहुन्थ्यो । ‘जेल बसाईले म एकोहोरो भइसकेको रहेछु । कति बेला केही कुरा झट्ट याद आए जस्तो हुन्थ्यो तर पछि केही पनि हुँदैनथ्यो’ दिनेश भन्नुहुन्छ ।
दिनेशले भनेजस्तै जहाजबाट उत्रिएपछि भने काका काठमाडौंमै हुनुहुन्छ भन्ने कुरा सम्झिनुभयो । विदेश जाने बेलामा उहाँ काकाको घरमा बस्नुभएको थियो । काका बसेको घर उहाँले खोज्नुभयो । तर न काका भेटिए, न त काका बस्ने घर नै ।
काकाको घर पनि भूकम्पले भत्काएको थियो । घर भत्किएपछि काकाको परिवार अन्तै सरिसकेको थियो । काका नभेट्टाएपछि दिनेश काठमाडौंबाट घर जान दोलखाको गाडी चढ्नुभयो ।
दिनेश विदेश जाने बेलामा रामेछापलाई सिन्धुली हुँदै काठमाडौं जोड्ने बाटो बनेकै थिएन । त्यसैले उहाँले सिधै रामेछापको गाडी पाइन्छ भन्ने नै पत्तो पाउनुभएन ।
उहाँ दोलखाको जिरी जाने गाडी चढ्नुभयो । गाडीमा गुडिरहँदा उहाँलाई कोही कोही बेला अनौठो लागिरहन्थ्यो । अनौठा व्यावहार पनि देखाउनुहुन्थ्यो ।
‘बिच बाटोबाट एक जना दिदी गाडीमा चढ्नुभयो अनि मलाई झोला बोकिदिनु न भन्नुभयो तर मैले मानिनँ । मैले त झोला बोकिदेउ भन्ने बित्तिकै मलेसियामा अर्काको झोला बोकिदिँदा जेल बस्नु परेकै कुरा सम्झिएछु’ दिनेशलाई आफूले अनौठो व्यावहार देखाएँ भन्ने पनि थाहा छ । तर त्यसलाई नियन्त्रण गर्न सक्नुभएन ।
गाडीमा कसैसँग नबोली उहाँ दोलखाको जिरी पुग्नुभयो । विदेश जानु अघि जिरीका प्रायःले दिनेशलाई चिन्थे । किनकि उहाँ चरिकोट ओहोरदोहोर गरिरहनुहुन्थ्यो ।
तर १० वर्षपछि फर्किएका दिनेशलाई कतिले ठम्याउन सकेनन् । कतिले अनुमान मात्रै लगाए । विदेशबाट फर्किंदा दिनेशको हुलिया धेरै फेरिएको थियो ।
जाँदा खाइलाग्दो ज्यान भएका दिनेश फर्किंदा दुब्लाउनु मात्रै भएको थिएन कालो पनि हुनुभएको थियो । चारिकोट पनि १० वर्षमा धेरै फेरिइसकेको थियो ।
त्यहाँबाट कसरी घर भन्दा आधा घण्टा मात्रै पर बुर्के भन्ने ठाउँमा पुग्नुभयो दिनेशलाई केही थाहा छैन । बुर्केमा दिनेशका बडाबाको घर थियो । बडाका परिवारका सदस्यले दिनेशका भाइलाई फोन गरे ।
भाइ त्यतिबेला स्थानीय तहको चुनाव प्रचारका लागि हिँडेका थिए । दाइ आएको खबर पाएपछि अचम्ममा परेका तत्कालै आमालाई फोन गरे । तर लेखमायालाई विश्वासै लागेन ।
‘आमा अचम्म भयो भन्दै फोन ग¥यो मैले त बाइकले कसैलाई हान्देछ कि भन्ने सोचें अनि भनें पनि तर उसले होइन क्या दिनेश दाइ आउनुभयो रे बडाबाको घरमा हुनुहुन्छ रे म लिन जाँदैछु भन्यो’ छोरा आएको खबर पाएका बेलाका कुरा सुनाउँदा अघि रसाएका लेखमायाका आँखा केही ओभाएका थिए ।
तर छोराका कुरा उहाँले पत्याउनुभएन । ‘मैले त जे पायो त्यही नभन है पनि भनें छोरालाई ।’
पत्यार नलागेपछि उहाँले आफन्तहरुलाई पनि फोन गर्नुभयो । केही आफन्तहरुले पनि उहाँलाई यत्रो वर्ष हराएको मान्छे कसरी आउँछ होइन होला भन्दिए । त्यसले उहाँका कुरालाई मलजल गर्यो ।
बडाबाको घरमा रहेका दिनेशलाई भाइले भेटे । भाइले दाइ चिने । तर दिनेशले भाइलाई चिन्नुभएन । भाइसँग तपाईं भनेर बोल्नुभयो दिनेश ।
भाइले दिनेशलाई गाउँ र गाउँलेका बारेमा पनि बताउँदै र चिनाउँदै लगे । त्यतिञ्जेलसम्म दिनेशलाई बाबु र बहिनीको निधन भएको थाहा थिएन । अर्कातिर भुकम्पले घर भत्काएको कुरा पनि जानकारी थिएन ।
भाइले पनि घर पुगेपछि मात्रै भनौंला भनेर सुनाएका थिएनन् । तर घर पुग्न नपाउँदै गाउँलेले बाटै त्यो खबर सुनाइदिए । यो खबरले दिनेशलाई पीडा माथि पीडा थपियो । ‘बुवा पनि बित्नुभएछ, बहिनी पनि छैन भनेको सुनेपछि म कसरी घर आएँ भन्ने पनि थाहा पाइन’ दिनेश घर आइपुग्दा साँच्चै नै होस हराए जस्तै हुनुभयो ।
छोराले फोन गर्दा लेखमायालाई शंका लागेको थियो तर केही समयमा लेखमायाका शंका मात्रै भयो । भाइले दिनेशलाई लिएर घर आइपुग्नुभयो । दिनेश घर पुगेपछि लेखमायाले आफूलाई सम्हाल्न सक्नुभएन । ‘म त होस हराए जस्तो पो भएछु’ लेखमायाले गएको वैशाखको कुरा सम्झिनुभयो ।
गाउँमा पनि मले भाषा नै बोल्थे दिनेश
त्यतिबेला त आमा छोराको अवस्था उस्तै उस्तै जस्तै भयो । छोरालाई देखेपछि लेखमायाको पनि होस हराए जस्तै भयो । छोराको अवस्था देखेपछि लेखमायाले मन थाम्न सक्नुभएन ।
केहीदिनपछि दिनेशले देखाउने व्यावहारले आमालाई झनै सतायो । ‘छोरो फर्कियो भनेको त कस्तो भएर फर्किएछ फर्किएछ’ लेखमायाले सुनाउनुभयो ‘खान दियो भनेपछि हेरिरहन्थ्यो । बारीको डिलमा गएर के सोचेर बस्थ्यो कुन्नि, कुनै बेला त रुन्थ्यो पनि ।’
एकातिर छोराको अवस्था अर्कोतिर गाउँलेले गर्ने कुरा । यस्तो समस्याले लेखमायालाई के गर्नु न कसो गर्नु हुन थाल्यो । दिनेशलाई हेर्न घर पुग्ने जो कोहीले पनि विदेशबाट बौलाएर आएछ मात्रै भन्थे ।
दिनेशको व्यावहार पनि त्यस्तै थियो । दिनेशका साथी केबी सुनुवारलाई अहिले पनि त्यतिबेलाको दिनेशको अवस्था याद आउँछ । ‘पागल मान्छे जस्तै व्यावहार देखाउथ्यो त्यतिबेला’ केबीले भन्नुभयो ।
त्यति मात्रै होइन । छरछिमेकको घरमा पुग्दा होस या गाउँका चिया पसलमा । उहाँ मलेसियाकै भाषामा चिया माग्नुहुन्थ्यो । त्यो देखेपछि त गाउँलेले बौलाएछ भन्ने नै भए ।
एकातिर छोराको बिग्रिएको अवस्था अर्कोतिर आफन्त र गाउँलेले गर्ने कुरा । यी सबै कुरा सहन लेखमायालाई गाह्रो हुन्थ्यो । ‘देख्ने र सुन्ने सबैले तपाईंको छोरो त अनुहार देखाउन मात्रै आएको होला भन्थे त्यतिबेला मलाई कस्तो हुन्थ्यो होला बाबु ।’
माया मारेका मान्छे फर्किंदा परिवारसँगै गाउँले पनि खुसी थिए । दिनेशको यस्तो व्यवहारले खुसीसँगै चिन्ता पनि भित्रियो परिवारमा ।
यसरी फेरियो दिनेशको अवस्था
दिनेश आफन्त नै चिन्न नसक्ने भएर फर्कनु भएको थियो । गाउँ ठम्याएपनि आफन्त र तिनका घर चिन्ने अवस्थामा हुनुहुन्नथ्यो उहाँ । जेल बसेर फर्कदा दिनेशलाई मनोसामाजिक समस्या भएको थियो ।
मानिसले सोचेको जस्तो नहुँदा ऊ तनावमा पर्छ । यसकै कारण देखिने समस्या नै मनोसामाजिक समस्या हो । कसैले धम्क्यायो, जिस्क्यायो, एक्ल्यायो, आरोप लगायो भने मानिस मनोसामाजिक समस्यामा पर्छ । त्यसैले मनोविदहरु यसलाई व्यक्ति र समाजबिच हुने अस्वस्थ अन्तरक्रियाले उत्पन्न हुने समस्या भन्छन् ।
यस्ता समस्या कसैलाई प्राकृतिक प्रकोपका कारण देखापर्छ त कसैलाई पारिवारिक कलह वा घरेलु हिंसा, दुव्र्यवहार, कुटपिट तथा गालीगलौच, लागु पदार्थको प्रयोग, दिर्घरोगी, भेदभाव तथा पक्षपातपूर्ण व्यवहारले गर्दा ।
मनोसामाजिक समस्यामा परेका व्यक्तिहरु एकान्तमा वस्ने, भविष्यबारे योजना बनाउन नसक्ने, पहिलेका नराम्रा कुराहरुको याद आइरहने, खाना खान मन नलाग्ने, उत्तेजनात्मक वा झगडालु व्यवहार देखाउने, ध्यान केन्द्रित गर्न नसक्ने, आफूलाई नराम्रो लागेको व्यावहार सम्झिरहने हुन्छन् ।
दिनेशलाई पनि यस्तै भयो । घर आएको महिना दिन बितिसक्दा पनि दिनेश मलेसियामा जेल परेको कुरा र बुवा र बहिनीको निधन भएको कुरा सम्झिरहनुहुन्थ्यो ।
दिनेशका बारेमा सामाजिक परिचालक मार्फत मन्थलीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा खबर आइपुग्यो । जानकारी पाएपछि मनोसामाजिक परामर्शकर्ता नोर्वु योञ्जन दिनेशकै घरमा पुग्नुभयो ।
मनोसामाजिक परामर्श दिन थाल्नुभयो । नोर्वुले पहिलो पटक भेट्दा दिनेश मलेसियाबाट फर्किएको डेढ महिना भएको थियो । तर अवस्था बीसको उन्नाइस भएको थिएन् । ‘मैले भेट्दा पनि उहाँ के भाषामा बोल्नुहुन्थ्यो मैले नै बुझ्दिनथें’ नोर्वु भन्नुहुन्छ ।
सुरुमा नोर्वले उहाँ समस्यामा पर्नुको कारण पत्ता लगाउनुभयो । केही कुुरा दिनेशले सुनाउनुभयो अनि केही कुरा आमा र भाइले । त्यसकै आधारमा उहाँले परामर्श सुरु गर्नुभयो । दिनेशलाई १० वर्षको जेल बसाईले समस्यामा पारेको थियो । त्यसमाथि घर फर्किएपछि बुवा र बहिनीको निधनको खबरले पनि थिचेको थियो ।
दिनेशको अवस्था बुझेका नोर्बुले परिवारलाई पनि दिनेश समस्यामा पर्नुको कारण र त्यसबाट बाहिर निकाल्न परिवारले खेल्नुपर्ने भूमिका बारे बुझाउनुभयो ।
७ हप्ताको परामर्श र औषधोपचारपछि दिनेशको अवस्था धेरै सुधार भएको छ । ‘सुधार भएको कुरा दिनेशको व्यावहार हेरेर थाहा पाउने हो । उहाँको व्यवहारका आधारमा भन्दा ८० प्रतिशत जति ठिक भएको छ’ मनोपरामर्शकर्ता नोर्वुले भन्नुभयो ।
दिनेशको अवस्था सुधार हुनुमा मनोसामाजिक परामर्शसँगै परिवारको पनि उत्तिकै ठूलो भूमिका छ । परिवारले दिनेशलाई खाली बस्न दिएको छैन । ‘त्यतिकै बस्यो भने त्यही कुरा याद आइहाल्दो रैछ’ आमा लेखमाया भन्नुहुन्छ ‘त्यसैले उसलाई मैले एक्लो हुन दिएको छुइन ।’
मनोसामाजिक समस्याबाट जोगिन अनि समस्यामा परिसकेपछि पनि त्यसबाट निस्किन व्यक्ति आफ्नै भूमिका महत्वपूर्ण हुन्छ भन्छन मनोविद्हरु । समस्यामा परेको व्यक्तिले आफैले पनि आफूलाई सम्हाल्नुपर्छ । तर कसरी सम्भव छ ।
‘दिनेशले जीले आफैले गरेको कुरा के हो भने उहाँ केही न केही काम गरिरहनुहुन्छ । कुनै कुराले पुराना कुरा याद आउन खोज्यो भने आफैं अर्को काममा लागिहाल्नुपर्छ दिनेश जीले त्यही गरिरहनुभएको छ’ नोर्वुले आफूले आफैलाई सम्हाल्ने तरिका बताउनुभयो ।
‘अब बिहे गरिदिने मन छ’
हेर्दै अचम्म लाग्ने भएर आएको छोरामा आएको परिवर्तनले लेखमाया दङ्ग हुनुहुन्छ । ‘त्यति बेलाको मान्छे हेर्दा तर साँच्चै गाउँले भने जस्तै अनुहार मात्रै देखाउन आएको होला जस्तो लाग्थ्यो तर अहिले त राम्रो भएको छ’ लेखमाया भन्नुहुन्छ । लेखमाया मात्रै होइन आफन्त र परिवार पनि दिनेशको अवस्था सुध्रिएको देखेर छक्क पर्छन्।
अहिले दिनेश घरको मात्रै होइन खेतबारीको काम पनि गर्नुहुन्छ । घरको कुलपूजा पनि गर्न थाल्नुभएको छ ।
अब त उहाँले दिनेशको बिहे गरिदिने सोच्नुभएको छ लेखमायाले । यस बारेमा छोरासँग सल्लाह पनि गर्नुभयो तर दिनेशले मान्नुभएको छैन । ‘यसको बिहे गर्दिन पाए मलाई सन्तोक हुन्थ्यो’ लेखमायाले आफ्ना इच्छा सुनाउनुभयो ।
उज्यालो अनलाइनमा प्रकाशन भएका यी सामग्री कार्यक्रम देश परदेशको अंक २८८ मा प्रसारण भएको छ । ती सामग्री सुन्न यहाँ क्लिक गर्नुहोस् ।
सम्बन्धित समाग्रीहरु
-
बुवा डेढ वर्षदेखि साउदीको अस्पतालमा बन्धक, छोरीको बिहे समाजसेवीले गरिदिए
धनुषा, वैशाख ११ – साउदीको अस्पतालमा बन्धक बनाइएका जनकपुरका धर्मनाथ पासवानकी छोरीको विवाह एक समाजसेवीले गरिदिएका छन् ।
-
विदेशमा पेटभरी पानी खान नपाउँदा मिर्गौला बिग्रियो, देशमा उपचार गर्न चन्दा माग्दैछु
जे नसोचेको त्यही भयो । उहाँको कमाइले घरव्यवहार चलेन । राजकुमारको शरीरको अंग चाहिँ काम नगर्ने भए । ‘मिर्गौला त दुईवटै काम नलाग्ने भएछ त्यो पनि नेपाल आएपछि मात्रै थाहा पाएँ,’ राजकुमारले सुनाउनुभयो ।
-
उद्धार गर्न निवेदन दिएको आठ महिनापछि विभागले भन्यो ‘केश हेर्नुपर्छ, फेरि निवेदन दिनुहोस्’
बलबहादुर आफैंले गएको हप्ता वैदेशिक रोजगार विभागको उद्धार शाखाका अधिकृत शशी लम्साललाई फोन गरेर उद्धार गरिदिन आग्रह गर्नुभयो । तर उहाँले दिएको जवाफले बलबहादुर निराश हुनुभएको छ ।
-
‘विदेश पुगेपछि थाहा पाएँ पैसा त नेपालमै रहेछ’
‘विदेशको दुःख भन्दा यो धेरै सहज लाग्छ’ दुवै जनाले एकै स्वरमा भन्नुभयो ‘विदेश पुगेपछि पैसा त नेपालमै रहेछ भन्ने थाहा पाएँ ।’
विशेष
समाचार
-
घर फर्कन खोज्दा कम्पनीले नदिएपछि मलेसियामा बिरामी परेका प्रदिप समस्यामा
वैशाख ११ – चार महिना अघिमात्रै मलेसिया आएका एक नेपाली समस्या परेका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ का प्रदिप बिकलाई बिरामी पर्दा कम्पनीले उपचार नगर्ने र घर फर्किन खोज्दा पनि नदिने गरिपछि उहाँ समस्यामा पर्नुभएको हो ।
-
विदेशमा रहेकालाई इमेलमै चारित्रिक प्रमाणपत्र
काठमाडौं, वैशाख ११ – विदेशमा भएकाले चारित्रिक प्रमाणपत्र इमेल मार्फत पनि लिन सक्ने भएका छन् ।
-
कतारमा अलपत्र परेका ४२९ नेपालीलाई दूतावासले खाद्यान्न व्यवस्था गर्ने
काठमाडौं, वैशाख ११ – कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल (एचकेएच) कम्पनीमा समस्यामा परेका ४२९ जना नेपालीलाई कतारस्थित नेपाली दूतावासले खाद्यान्न उपलब्ध गराउने भएको छ ।
-
आबुधाबीमा हुने २८ औं अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा नेपाल सहभागी हुने
वैशाख ११ – युएईको आबुधाबीमा हुने पुस्तक प्रदर्शनीमा नेपाल पनि सहभागी हुने भएको छ ।
मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु
-
फोनको खर्च कटाएँ, दक्षिणाको पैसा पनि बचाएँ मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई विदाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ । सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई मैले घर सम्हाल्छु भनेर विश्वास दिलाएर पठाएँ पछि त मैले आफ्नो जिम्मेवारी पूरा गर्नै पर्यो । घर व्यवहार राम्रोसँग चलाउने तरिका नजान्दासम्म सजिलो चाहिँ हुदो रहेनछ । श्रीमानले विदेशमा कमाएको त जोगाउन पर्छ भन्ने भएपनि जोगाउने तरिका नजान्दा भने जस्तो भएको थिएन । चार महिना अघि गाउँमा विदेशमा हुनेका परिवारलाई वित्तीय साक्षरताका कक्षा सञ्चालन... पुरा पढ्नुहोस
-
तपाईंको बोली पनि परदेशी सम्पर्कविहीन हुने कारण बन्न सक्छ मलेसियाबाट श्रीमानले पैसा पठाई दिन्छु भन्दा निशा फुरुङ्ग थिइन् । भोलिपल्ट श्रीमानले फोन गरेपछि भने निशा रिसले चुर भइन् । पैसा पठाइदिने भनेका श्रीमानको कुरा फेरिएछ । श्रीमानले निशालाई पुलिसले पैसा खोसिदियो भनेपछि उनलाई धेरै रिस उठेछ । उनले पनि रिसको झोंकमा पैसा जति सबै कुन केटी खुवायौ होला भनिदिइन् । उनलाई पुलिसले पनि पैसा खोस्छ त भन्ने लागेर त्यसो भनेकी हुन रे । उनले त्यति भन्न नपाउँदै फोन काटेका श्रीमानले त्यसपछि फोन गरेका छैनन् । पार्वतीका छोरा मलेसियामा थिए । उनले छोरालाई फोनमा ट... पुरा पढ्नुहोस
रेडियो कार्यक्रम
-
देश परदेश ३०४
कार्यक्रम देश परदेशको अंक ३०४ परदेशीका परिवारले आम्दानी, खर्च र लगानीका बारेमा जानकारी पाएपछि उनीहरु...
Download Podcast -
देश परदेश ३०३
Download Podcast -
देश परदेश ३०२
Download Podcast
मेरो पनि भन्नु छ
-
माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।
प्रकाश थापा / युएई -
कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।
निशान राई / दक्षिण कोरिया -
खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या, -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्यो भने ठिकै हुन्छ खराब पर्यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्
अबिर मान लिम्बु / साउदी अरब -
हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ। पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।
दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
प्रतिक्रिया दिनुहोस