MENU

विशेष

मलेसियाबाट दुई दिनमा घर आइपुग्छु भनेका राजेन्द्र ७ वर्षमा पनि पुगेनन्

रुपा राई/सिरहा । 

माघ २६ – सिरहाको कर्जन्हा नगरपालिका ७ का राजेन्द्र पासवान रोजगारीका लागि मलेसिया गएको झण्डै ७ वर्ष भयो । त्यहाँ पुगेको सात महिनादेखि उनको अत्तोपत्तो छैन । 

उनलाई कम्पास रिक्रुटमेन्ट प्रालि म्यानपावरले नेपालबाट इलेक्ट्रिसियनको कामका लागि भनेर ९० हजार रुपैयाँ लिएर मलेसिया पठाएको थियो । आफन्त पर्ने दलालको भर परेर उनी रोजगारीका लागि मलेसिया गएका हुन् । 

उता पुगेपछि भनेको काम नपाएको र ग्लोब्स बनाउने कम्पनीमा काम लगाएको भन्दै राजेन्द्रले घरमा फोन गरेका थिए । सात महिनासम्म उनले ग्लोब्स बनाउने कम्पनीमै काम गरेका थिए । त्यो अवधिमा राजेन्द्रले २० हजार रुपैयाँ घर पठाएका थिए । 

पछिल्लो चोटी घरमा फोन गर्दा राजेन्द्रले आफू काम गर्न नसक्ने भन्दै नेपाल फर्काउन आग्रह गरेका थिए । राजेन्द्रले आफूलाई मलेसिया पठाउने गाउँकै आफन्त पर्ने एजेन्ट जगत साहलाई विदेशमा आफूलाई परेको समस्या सुनाएका पनि थिए । जगतले अर्को कम्पनीमा सारिदिने आश्वासन दिएका थिए । तर त्यो आश्वासनमै सिमित रहयो । 

बुवाको अवस्था परदेशमा के कसो छ भन्ने थाहा नपाउँदै छोरा अक्षयकुमार पासवानलाई विदेश जानुपर्ने बाध्यता परेको छ । घरमूली विदेशमा नै हराएपछि अक्षयकुमार माघ २४ गते पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय आउनुभयो । त्यही बेला उहाँले मलेसियामा हराएका बुवाका बारेमा सूचना केन्द्रमा जानकारी गराउनु भएको थियो । 

‘बुवालाई कम्पनीका मान्छेले बेलाबेलामा कुट्ने र तनाव दिइरहन्छ भनेर सुनाउनुहुन्थ्यो’ अक्षयकुमारले भन्नुभयो । अहिलेसम्म परदेशी बुवाको खुटखबर पत्ता नलाग्दा अक्षयकुमारका मन पोल्छ । बुवाको कुरा सुरु गर्ने बित्तिकै उहाँका आँखा भरिन्छन् । 

अक्षयकुमारका अनुसार कम्पनीमा काम गर्न नसक्ने भनेपछि घरबाट राजेन्द्रका लागि हवाई टिकटका लागि खर्च पनि पठाइयो । उताबाट राजेन्द्रले टिकट किनेको र दुई दिनपछि घर आइपुग्ने जानकारी पनि गराएका थिए । 

तर झण्डै ७ वर्ष पूरा हुन लाग्दा पनि त्यो दुई दिन पूरा भएको छैन । घर आउने खबर दिएपछि परिवारका मानिसले राजेन्द्रसित कुराकानी पनि गर्न पाएका छैनन् । 

परिवारले राजेन्द्रको सोधखोज पनि नगरेको होइन । तर हात लाग्यो शुन्य । अक्षयले भन्नुभयो, ‘बुवालाई खोज्न विभिन्न ठाउँमा गएर भन्यौं । मलेसियामा भएका आफन्तलाई पनि खोज्न लगायौं । तर केही खबर पत्ता लागेन ।’

मलेसिया जाँदा वैदेशिक राेजगार विभागले राखेकाे राजेन्द्र पासवानकाे रेकर्ड  

अहिले त कतिपयले शंकाका भरमा यता हुन सक्छन्, उता हुन सक्छन् भनिरहेका छन् । एकजना आफन्त ओपिन्द्र पासवानले मलेसियाको जोहोरबारुमा रहेको जेलबाट अन्तै सारिएको भनेर परिवारलाई सुनाएका थिए । 

तर परिवारलाई यो खबर सही कि गलत हो भन्ने थाहा छैन् । जेलमै भए त छुटेर घर फर्कन्थे भन्ने आशा छ परिवारको । 

राजेन्द्रको खोजीका लागि सुरक्षित आप्रवासन सामी परियोजनाको सूचना केन्द्रले परिवारलाई सहयोग गरिरहेको छ । राजेन्द्रको अवस्था पत्ता लगाउन परिवारले सबैसँग सहयोगका लागि आग्रह समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • ​दु:खबाट सिकेर सुखद कथाको सुरुवात

    विदेशमा ‘डिसब्रेक’ बनाउन गएको थिएँ । बनाउनु त परको कुरा देख्न पनि पाइएन । अहिले टेम्पोको ब्रेकमा हात राखेदेखि मेरो दैनिकी फेरिएको छ । अझ भनौं टेम्पोको स्टेरिङ समातेसँगै मेरो जीवनले गति लिएको छ ।

  • अहेवलाई साउदीमा फूलबारी गोड्ने काम

    बसन्त आफूले गर्नुपर्ने काम देखेर छक्क मात्रै मात्रै पर्नुभएन छाँगाबाट खसै जस्तै हुनुभयो । अहेव पढेर अस्पतालमा काम गर्न गएका बसन्तलाई माली ( फुलबारीको हेरचाह गर्ने ) को काम लगायो ।

  • ​न पठाउने म्यानपावरको पत्तो, न कुनै कागजात, भिमलाललाई कसरी खोज्ने ?

    गीत सुनेर आफूलाई सम्हाल्न नसक्नेहरु मध्येकी एक हुनुहुन्थ्यो गंगा गिरी । उहाँलाई बाकसमा फर्किनेहरु बारे बनाइएको गीतले भन्दा श्रीमानको सम्झनाले रुवाएको थियो ।

  • ​‘काम गरेरै कमाउँछु भन्नेले विदेश नजानु’

    ‘साहु काढेर विदेशिएँ, दुवईमा दुई वर्ष बस्दा चेतें । काम गरेरै कमाउँछु भन्नेले विदेश नजानु,’ उहाँ भन्नुहुन्छ, ‘यहाँ गाउँमा काम गर्छु भन्दा ठाउँ जत्ति छ, तर त्यहाँ काम गर्छु भन्दा न काम पाइन्छ, न त समयमै काम गरेको पारिश्रमिक नै ।’

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

    ठाकुरप्रसाद तिवारी
  • कामदारको अवस्था नाजुक रहेका बेलामा दिवस मनाउनु र कामदारका अधिकारका कुरा गर्नुको कुनै अर्थ छैन । उहाँले हजारौ नेपली कामदार जो आफ्नो अधिकार नपाएर खडिको तातो मरुभुमी मा घोडाले खाने चना खानाको रुपमा खादै रगतको पसिना बगाउदै छन । तर न त भने बमोजीम तलब पाउछन, न त करार अबधि मा मेनपावरलाई बुझाएको ऋणको चर्को ब्याजनै तिर्न सक्छन ? फर्केर आउदा न त घर रहन्छ न जग्गा ? यस्तो अबस्थामा दिबस मनाउनु ति पिडित कामदारको पिडामा उत्सब मनाउनु हो ।

    ​दिलु घर्तीमगर
सबै हेर्नुहोस