MENU

विशेष

बुबाले ‘तेरो कमाईलाई मेरोले जित्यो है’ भनेपछि दुवईबाट युवराज फर्किए, अहिले हातमा कामैकाम

सुजता सुनुवार/उज्यालो ।

 इलाम, जेठ १ – पढाई कम छ वा पढेर पनि हातमा जागिर भएन भने युवा विदेश जाने र कमाउने सपना देख्न थाल्छन् । भ्रम नै सही, दुःख धेरै गर्नुपरे पनि कम्तीमा कमाई त हुन्छ भन्ने आश उनीहरुमा हुन्छ ।

काम छैन, अब विदेश जाने र कमाउने भन्ने अधिकांश युवाले देख्ने सपना हो । कतिले ती सपना पूरा गर्छन् त, कतिको अधुरै रहन्छ । त्यस्तै सपना देख्नुभएको थियो इलामको सन्दकपुर गाउँपालिका ४ माबुका युवराज गुरुङ्गले ।

तर उहाँको सपना पूरा हुन सकेन । धेरै कमाउने सपना टुटेपछि २९ वर्षीय गुरुङ्गले गाउँमा परिवारसँगै बसेर विभिन्न व्यवसाय सञ्चालन गरेर मनग्य आम्दानी गरिरहनु भएको छ । 

युवराज २०६७ सालमा युएईको दुवई जानु भएको थियो । ३ वर्ष परदेशमा बिताउँदा चार लाख रुपैयाँ कमाई भयो । तर त्यो भन्दा अहिलेको कमाईले उहाँलाई सन्तुष्टी दिएको छ । ‘पाखुरीको बल लगाए र कामलाई निरन्तरता दिए घरैमा बसीबसी विदेशको कमाईलाई जित्न सकिँदो रहेछ,’ युवराजले हाँस्दै सुनाउनुभयो । 

उहाँले घरको हिसाव सुनाउनुभयो, ‘बुबा (बालकृष्ण गुरुङ्ग)ले अलैंची नर्सरीबाट दुई महिनामा ६ लाख कमाउनुभयो ।’ एकदिन बालकृष्णले फोन गरेर छोरालाई भन्नुभयो, ‘तेरो कमाईलाई मेरोले जित्यो है ।’ त्यसपछि हो युवराजलाई विदेश बस्न मन नलागेको । अहिले पनि नर्सरीमा १० लाख रुपैयाँ बराबरको बिरुवा छ । उहाँ आफैले अलैंची खेती समेत गरिरहनु भएको छ । 

२०७१ मा खोलेको गाई फर्ममा अहिले  ६ वटा उन्नत जातका दूधालु गाई छन् । तीन बाच्छी एक बाच्छा छन्  । आफ्नै फर्मबाट ५० लिटर दूध उत्पादन हुन्छ । गाउँबाट १५० लिटर दूध संकलन हुन्छ । यसैबाट डेरीमा विभिन्न उत्पादित खाद्यपदार्थ देश विदेशमा विक्री गर्नुहुन्छ । 

युवराज भन्नुहन्छ, ‘स्वदेशमै बसेर पनि नाम र दाम दुवै कमाउन सकिने रहेछ । बुवाको प्रेरणाले नेपाल फर्किएँ । अहिले रोजगार पाएको छु, अरुलाई समेत दिएको छु ।’

गाई फार्म, डेरी, होटलमा अहिले परिवारको सहित गरी सात जनाले रोजगार पाएका छन् । सकेसम्म गाउँका छोरा बुहारी र छोरीचेलीलाई स्वदेशमा नै रोजगारी दिलाउने सपना उहाँहरुको छ । युवराज पनि बुबाको सपना पूरा गर्न लागि पर्नुभएको छ । 

बालकृष्णको कृषि फार्मलाई उन्नति परियोजनाले सहयोग समेत गरेको छ । परियोजनाको सहयोगले व्यवसायलाई व्यवस्थित बनाउन थप टेवा समेत पुगेको छ । यसै हप्ताभित्र अलैंची नर्सरी राख्ने व्यवस्थित आधुनिक घर निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेको युवराजको भनाई छ ।

 अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा उन्नति परियोजनाले चलाएको तालिममा सहभागी भएपछि उहाँले ऐन नियमका बारेमा मात्रै बुझ्नु भएन, सुरक्षित कार्यस्थल बारेमा पनि जानकारी पाउनु भएको छ ।

गाई फर्मका लागि सुरुमा चार लाख रुपैयाँ लगानी गरेको युवराजको भनाई छ । फर्म दर्ता गरेपछि कृषि विकास बैंकले छ लाख रुपैयाँ ऋण दियो । बाँकी अलैँची नर्सरीबाट बिरुवा बेचेर लगानी भएको छ । 

अहिले उन्नत जातको घाँस पनि लगाउनु भएको छ । उन्नत जातको घाँसको खेती गाउँमा थोरैको मात्र छ । उहाँले घाँसको बीऊ पनि उत्पादन गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ’अहिले अलैचीको बिरुवाबाट भन्दा पनि डेरी टमाटर खेती र  घाँसको बीऊबाट राम्रो आम्दानी हुन थालेको छ ।’ 

गुरुङ्गले ‘बालकृष्ण कृषि फार्म’ र घर नजिकै होटल चलाएर वार्षिक २० लाख रुपैयाँ आम्दानी गरिरहनु भएको छ । डेरीमा घ्यू, दूध, दही , छुर्पी, चिज लगायतका खाद्य पदार्थ उत्पादन हुन्छ । उत्पादित खाद्यपदार्थ जिल्लाका स्थानीय बजार, झापा, धनकुटा सँगै अन्तर्राष्ट्रिय बजारमा समेत जाने गरेको छ । 

यस वर्षबाट व्यवस्थित अलंैची नर्सरी र कामदारका लागि सुरक्षित काम गर्ने वातावरण जस्ता पक्षको व्यवस्थापन गर्न उहाँ लागि पर्नुभएको छ । डेरीका लागि आवश्यक सामग्रीको जोरजाम समेत गर्नु भएको छ । थप योजनामा होटलसँगै जडिबुट्टी खेती र होमस्टे राख्ने अवधारणा बनाएको उहाँले बताउनुभयो । 

गाई फर्मदेखि घाँस खेती र डेरी,  होटल अलैंची नर्सरी लगायका काममा कामदारसँगै गुरुङ्ग बिहानदेखि रातीसम्म खटिनुहुन्छ । गाई फार्म, टमाटर, अलैँची, घाँस र होटलबाट गरी यस वर्षमात्रै उहाँले २१ लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । 

बालकृष्णका दुवै हातमा लड्डु 

आफ्नो मेहेनतले सफलता पाउँदै गएपछि र छोरो नेपाल फर्केपछि बालकृष्णका दुवै हातमा लड्डु भने झैं भएको छ । छोरो नि साथमा दाम पनि हातमा । कामबाट थोरै भए नि फुर्सदिलो बन्नु भएको छ । व्यापार व्यवसाय छोरोलाई जिम्मा लगाउँदै उहाँ समाजसेवामा जुट्न थाल्नु भएको छ । 

जिल्लामा सफल र नमुना व्यावसायिक कृषकको रुपमा परिचय बनाएका बालकृष्ण हिजोआज लोक संस्कृति संरक्षण र उत्थानमा व्यस्त हुनुहुन्छ । छोरोलाई सबै व्यवसाय जिम्मा लगाउने सोच बनाएका बालकृष्ण विभिन्न संघसंस्थामा आबद्ध हुनुहुन्छ । युवराज भने बुबाको सपना साकार पार्न दिनरात मेहेनत गरिरहनु भएको छ । 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस