MENU

विशेष

पीडा बिर्सिएर नयाँ जीवनको सुरुवात

नवलपरासी, जेठ २ – ‘बाँच्ने रहर छैन त्यसैले यो संसारबाट बिदा हुन चाहन्छु’ सुशिला हरिजनले १ वर्षअघि भनेको वाक्य हो । सुशिलालाई तीन जना छोराछोरीसहित पाँच जनाको परिवार सधैंका लागि छोडेर जाने अवस्थामा पुर्यायो वैदेशिक रोजगारीले । 

सुशिलाका श्रीमान वैदेशिक रोजगारीका लागि १६ महिना अघि मलेसिया जानुभएको थियो । कमजोर रहेको परिवारको आर्थिक अवस्था सुधार्न गएका उहाँ फर्किन पाउनु भएन । लेबर काममा गएका उहाँको काम गर्दा गर्दै ज्यान गयो । परिवारको आयस्रोतको आधार गुम्यो । 

श्रीमान् गुमाउनु र घर व्यवहारले थिच्नु । यिनै कारणले सुशिलाले आफ्नो ख्याल गर्न छोड्नुभयो । ‘ज्यान दुब्लाएको थियो । खुट्टामा चप्पल पनि हुँदैनथ्यो,’ सुशिलाका छिमेकी भन्छन् । 

दिन हप्ता महिना हुँदा सुशिलालाई एक ठाउँबाट अर्को ठाउँमा जान पनि अर्को व्यक्तिको सहयोग चाहिन थाल्यो । आफ्नै ख्याल गर्न नसकेकी सुशिलाले छोराछोरीको हेरचाह गर्न सक्ने कुरै थिएन । जाओ भन्ने कोही नभएपछि छोराछोरी विद्यालय जान छोडे । 

सुशिलालाई छोराछोरीको कुनै वास्तै थिएन । छरछिमेकले सकेसम्म सम्झाए तर केही लागेन । ‘दुई चार जना भेला भए भने मलाई दिक्क लाग्थ्यो’ सुशिला भन्नुहुन्छ । तर मनोसामाजिक परामर्शपछि उहाँले नयाँ जीवन पाउनुभएको छ । पहिलाको अवस्थामा सुधार आएपछि सुशिलाले आफूलाई परेको समस्या पनि सुनाउनुभयो । 

श्रीमानको मृत्यु भएपछि शुशिलालाई उहाँकै याद मात्रै आइरहन्थ्यो सुशिलालाई । अभिभावक नै नरहनेपछि अब छोराछोरीको भविष्य के होला भन्ने चिन्ताले सताउँथ्यो । पीडाले राती उठेर रोएको धेरै पटक छोराछोरीले पनि थाहा पाए । ‘बुवालाई सम्झेर राति राति उठेर आमा रुनु हुन्थ्यो’ १० वर्ष पुगेकी शुशिलाकी छोरीले सुनाइन् । 

सुशिलाका समस्या बुझेपछि मनोसामाजिक परामर्शकर्ता सुमित्रा चौधरीले उहाँसँग छलफल थाल्नुभयो । ‘चिन्ता कम गर्न श्वासप्रश्वास अभ्यास साथै समयमा खाना नखाँदा परिवार र आफूलाई पर्ने असरका बारेमा चित्र देखाएर छलफल थालें’ सुमित्राले भन्नुभयो ‘उहाँ श्रीमानकै विषयमा मात्रै कुरा गर्नुहुन्थ्यो त्यसैले मैले उहाँको माया लागेको हो भने उहाँले पनि त तपाईंहरु भोकै बसेको र रोएको त कसरी देख्नसक्नु हुन्छ त भनेर सम्झाउन सुरु गरें ।’

यो परामर्शको पहिलो चरण थियो । सुशिलामा परिवर्तन देखिन थालेपछि ननिदाउँदा शरीरमा पर्ने असरका बारेमा छलफल सुरु भयो । त्यसका लागि खुशी महिला र दुखी महिलाको चित्र देखाएर कुराकानी गरें भन्नुहुन्छ सुमित्रा । 

योसँगै उहाँले शुशिलाले सम्हालेको घरको प्रशंसा गर्दै सकरात्मक सोचको विकास गर्ने कुराकानी गर्नुभयो । त्यति मात्रै होइन सुशिलासँग भएको सीपका बारेमा बताएर त्यसले उहाँलाई जीवन जिउन सजिलो हुने कुरा सिकाउनुभयो सुमित्राले । 

यो छलफलपछि शुशिलाले आफ्नो र परिवारका बारेमा सोच्न र कुरा गर्न थाल्नुभयो । सँगै छोराछोरीको भविष्य र जीवनको योजना पनि बनाउनुभयो । सुशिलाको अवस्था फेरिएपछि छोराछोरीलाई विद्यालय पठाउन थाल्नुभयो । छोराछोरीले सुरक्षित आप्रवासन परियोजनाको आकस्मिक कोषबाट प्रोत्साहन स्वरुप शैक्षिक सामग्री पनि पाए । 

श्रीमान् गुमाएकी शुशिलाले क्षतिपूर्ति बापत सरकारबाट १० लाख ५० रुपैयाँ पाउनुभएको छ । त्यो रकमले घर बनाउने, छोराछोरीको पढाइमा लगाउने र बचेको पैसा बचत गर्ने सुशिलाको योजना छ । साइकल चलाउन नजान्ने सुशिलाले साइकलसँगै सिलाई कटाईको सीप सिक्नुभयो ।

अहिले त उहाँ घरमै कपडा सिलाउनुहुन्छ । ‘अहिले त गाउँमा मान्छेले कपडा सिलाउन ल्याउँछन्, यसले म पनि काम गर्न सक्ने रहेछु भन्ने लाग्छ’ सुशिलाले सुनाउनुभयो ।सुशिलाको परिवारको नुन तेलको खर्च त्यही पैसाले चलिरहेको छ । श्रीमानको मृत्युपछिको निराशा सुशिलालाई सम्झन मन लाग्दैन । 

(समाचारमा उल्लेख गरिएको नाम परिवर्तन गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस