ईंटा उद्योगमा तीनलाखलाई रोजगारी : नेपाली विदेशिएपछि भारतीयको भर

 मंसिर १८, २०७५ मंगलबार | उज्यालो सहकर्मी

काठमाडौं – देशमा काम पाइएन भन्दै दैनिक सरदर १५ सय युवा विदेश उड्छन् । रोजगारदाता भने नेपालमा कामदार पाइएन भन्दै काम गर्ने मानिस भारतबाट ल्याउनु परेको बाध्यता सुनाउँछन् ।

अरु उद्योगीले जस्तै ईंटा उद्योगीले भने आवश्यक संख्यामा नेपाली कामदार नभेटेर भारतीय कामदारको भर पर्नु परेको बताएका छन् । पाटन घर भएका महेन्द्र चित्रकारको चन्द्रागिरिमा उमा ईंटा उद्योग छ । उहाँ ईंटा उद्योग महासंघका अध्यक्ष पनि हुनुहुन्छ । अघिल्ला वर्षहरुमा उहाँको ईंटा उद्योगमा नेपालीले नै काम गर्थे ।

 
सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक लगायत काठमाडौं नजिकका जिल्ला तथा तराईका अरु ठाउँबाट पनि ईंटा बनाउने काम खोज्दै आउने युवाहरु धेरै हुन्थे । परिवारसँगै आउने उनीहरु ५÷६  महिना ईंटा भट्टामै बास बसेर ईंटा बनाउँथे । एकजनाले कम्तिमा दुई÷अढाई लाख रुपैयाँ लैजान्थे ।

तर यसपटक उहाँले ईंटा बनाउने नेपाली कामदार धेरै भेट्नुभएन । ‘नेपाली धेरै नभेटिएपछि भारतबाट मजदुर खोजेर ल्याउनुपर्यो’ उहाँले भन्नुभयो, ‘पहिले प्राविधिक मात्रै भारतीय हुन्थे, अहिले ईंटा बनाउने समेत धेरै भारतीय नै छन् ।’

उहाँको ईंटा भट्टामा मात्रै झण्डै तीन सय मजदुरले काम पाउँछन् । ती तीन सय कामदार नेपाली नै होउन् भन्ने लाग्छ उहाँलाई पनि । 

‘नेपालीले  नै काम गरे हुन्थ्यो जस्तो लाग्छ, तर के गर्नु नेपालीहरु काम खोज्न विदेशिएका छन्, हामीले चाहिँ भारतबाट खोजीखोजी कामदार ल्याउनुपरेको छ’ उहाँले नेपाली कामदार नपाउँदाको बाध्यता सुनाउनुभयो ।

देशभरका झण्डै ११ सय ईंटा उद्योगमा यतिखेर एकैपटक ईंटा बनाउने काम सुरु भएको छ । तर चित्रकारले जस्तै धेरै उद्योगीले ईंटा बनाउने कामदार भेटेका छैनन् । नेपाली कामदार नभेटिएपछि धेरै उद्योगीले भारतीय कामदार खोजेर ल्याएका छन् । 

विदेशमा जस्तै छ ईंटा बनाउने कामदारको पनि कमाई

ईंटा बनाउनेले दिनमा कम्तिमा एकहजार रुपैयाँ कमाउँछ । जति धेरै ईंटा बनाउन सक्यो, उति नै धेरै कमाई हुने भएकाले योभन्दा धेरै कमाउनेहरु पनि हुन्छन् ।

ईंटा उद्योग महासंघका अध्यक्ष चित्रकार भन्नुहुन्छ, ‘विदेशमा भन्दा कम दुःख गरेर पनि उताको भन्दा धेरै कमाउन सकिन्छ । ईंटा बनाएरै गुजारा चलाउने नेपालीहरु पनि छन्, तर आवश्यक संख्यामा कामदार भेट्याउन सकेका छैनौं ।’

मंसिरदेखि चैत वैशाखसम्म ईंटा बनाउने काम हुन्छ । सबै ईंटा उद्योगमा गरी झण्डै ३ लाखले प्रत्यक्ष काम पाउने चित्रकार बताउनुहुन्छ । तर नेपाली कामदार नभेट्दा देशभर रहेका ईंटा उद्योगमा धेरै कामदार भारतीय नै छन् । ईंटा नै बनाएर गुजारा चलाउने नेपाली कामदारको संख्या कम छ ।

विदेश जान भन्दै हिँडेको मान्छे बाटोबाटै फर्किएँ, र्इंटा बनाएरै गुजारा चलेको छ

नैनबहादुर तामाङ, धनुषा ।

मैले १२/१४ वर्ष अगाडि नै ईंटा बनाउने काम गरेको हो । बुढाबुढी दुवै सँगै ईंटा बनाउँथ्यौ । दुईजना छोराछोरी त ईंटा भट्टामै जन्मिएका हुन् । अहिले उनीहरु पनि कमाउन सक्ने भैसके । 

अहिले ८ वर्षपछि फेरि ईंटा बनाउन आउँदैछु । यसबीचमा अरु नै काम गरें । ईंटा बनाउने काम त्यति सजिलो छैन । पुस, माघको जाडोमा त धेरै गाह्रो हुन्छ । तर जहाँ जे काम गरे पनि सजिलो हुँदैन । दुःखै हुन्छ । 

विदेशमा पनि सजिलो हुँदैन । यहाँभन्दा धेरै दुःख गर्नुपर्छ । विदेशमा गएर पनि दुःखै गर्ने हो भने त्यहाँ गर्ने दुःख यहाँ किन नगर्ने ? विदेशको कामभन्दा ईंटा बनाउने काम नै सजिलो हुन्छ ।

अझ पहिलेभन्दा अहिले काम सजिलो छ । पहिले आफैंले माटो मुछ्नुपर्दथ्यो । अहिले साहुले नै मेशिनबाट माटो पेलेर दिन्छ । अहिले धेरै  सुविधा छ । पानीको सुविधा छ, शौचालयको सुविधा छ । 

तर धेरै युवाहरु विदेश गएका छन् । म त भन्छु उहाँ जत्तिको दुःख यहीँ गर्ने हो भने उताकोभन्दा धेरै कमाई यहीँ हुन्छ । ईंटा बनाएरै विदेशको भन्दा धेरै आम्दानी गर्न सकिन्छ । 

पहिले मैले एकहजार ईंटा बनाएर  दुईसय रुपैयाँ मात्रै आम्दानी गर्थें । अहिले एकहजार ईंटा बनाउँदा ११ सय ५० रुपैयाँ पाइन्छ । ६÷७ घण्टा कस्सेर काम गर्दा एकहजार ईंटा बनाउन सकिन्छ । दिनमा एकहजार रुपैयाँ त त्यसै पनि कमाई हुन्छ । अनि किन विदेश जाने ?

कतिपय युवाहरु कमाउन भन्दै विदेश गएका छन् । दुःख पाएका छन् । कोही बाकसमा फर्केर आएका छन् । कतिको बिजोग भएको छ । 

मलाई पनि परिवार र साथीभाइले विदेश जान दबाब दिएका थिए । पासपोर्ट पनि बनाएको थिएँ । कतार जान भनेर घरबाट  निस्कें पनि । यही भट्टाबाट फूलमाला  भिरेर बाटो लागें । तर ओहो किन जाने विदेश भन्ने मनमा सोंच आयो र सिधै गाउँ फर्कें । 

यो आठ वर्षअघिको कुरा हो । कतार जान भनेर दलाललाई  दिएको पैसा बल्लतल्ल फिर्ता लिएँ र गाउँमै काम गरें । अहिले फेरि ईंटा बनाउन आएको छु । पहिले राम्रो काम गरेको भनेर ईंटा साहूले मलाई १० हजार रुपैयाँ पुरस्कार पनि दिनुभयो ।

मलाई लाग्छ, मजस्तै युवाले काम पाइएन भनेर विदेश भौंतारिनु पर्दैन । ६ महिना ईंटा बनाएर मज्जाले परिवारको गुजारा चलाउन सकिन्छ ।  

विदेशको भन्दा दुःख कम, कमाई धेरै : महेन्द्र चित्रकार, नेपाल ईंटा उद्योग महासंघका अध्यक्ष

देशभरका झण्डै ११ सय ईंटा उद्योगमा साढे दुई लाखदेखि तीन लाखले प्रत्यक्ष रोजगारी पाउँछन् । अप्रत्यक्ष रोजगारी पाउनेको संख्या पनि ठूलो छ । माटो मुछ्ने, काँचो ईंटा बनाउने, ईंटा बोक्ने, पोल्ने र पोलिसकेपछि हार मिलाएर राख्नेसम्मको काम हुन्छ । 

एउटा ईंटा बनाउँदा एक रुपैयाँ आम्दानी हुन्छ । एकजनाले दिनमा सरदर एकहजार ईंटा बनाउँछ । एकै दिनमा दुईहजार, पच्चीसय ईंटा बनाउनेहरु पनि हुन्छन् । यही हिसाबले पनि एकजनाले ईंटा बनाएर महिनाको कम्तीमा ३० हजार रुपैयाँ कमाउँछ । ५०/६० हजार रुपैयाँ कमाउनेहरु पनि छन् । 

मंसिरदेखि चैत/वैशाखसम्म ईंटा बनाएर दुई/चार लाख रुपैयाँ कमाई हुन्छ । धेरैले ईंटा बनाउने काम दुःख हुन्छ भन्ने सोच्छन् । तर विदेशमा गर्ने जत्तिको दुःख ईंटा बनाउँदा हुँदैन । विदेशमा भन्दा कम दुःख गरेरै धेरै आम्दानी गर्न सकिन्छ ।

कमाई आकर्षक भए पनि ईंटा बनाउने नेपाली कामदार भेट्न मुश्किल छ । भारतीय मजदुर खोजेर ल्याउनुपर्ने बाध्यता छ । काम गर्न सक्ने धेरै नेपाली युवा विदेशिएका छन् । झण्डै तीनलाख युवालाई कम्तीमा ६ महिनासम्म ईंटा उद्योगीले रोजगारी दिन सक्छन् ।
 

तपाईको प्रतिक्रिया