MENU

मेरो कथा मेरो भोगाई

छोरालाई परदेशी बाबुको चिठ्ठी

रमेश पाण्डे । प्रकाशपुर, सुनसरी/हाल मलेसिया

प्यारो छोरा आदित्य,

तिमीलाई जन्मदिनको शुभकामना । एक वर्षअघि आजकै दिन तिमीले धर्तिमा आँखा खोल्दा जुन खुशी मलाई मिलेको थियो, त्यो नै मेरो जीवनको अहिलेसम्मको सबैभन्दा खुशीको क्षण थियो । म जति  भाग्यमानी संसारमा कोही छैनन् जस्तो लागेको थियो । 

तिमी जन्मिएको खबर सुन्दा मन शान्त हुन सकेन । कति खेर तिमीलाई देखौं झैं लागेको थियो । तिमी कस्तो होलाउ ? आँखा कस्ता होलान् ? नाक कस्तो होला ? हातखुट्टा कस्ता होलान् भन्ने कल्पनामा हराएको थिएँ । 

हजुरबाको पालामा भए तिम्रो तस्बिर हेर्न मैले महिनौ कुर्न पर्ने हुन्थ्यो । तर अहिले त्यस्तो समय छैन । प्रविधिको विकासले साह्रै सजिलो भएको छ । तर मलाई तस्बिर पठाउने तिम्री मामु तिमी जन्मिएपछि अस्पतालको बेडमा अचेत थिइन् । त्यसैले तिमीलाई हेर्न केही समय कुर्नै पर्ने भयो । त्यो पल मलाई एक एक सेकेण्ड पनि साह्रै लामो लागेको थियो । 

तिम्रो तस्बिर नआउँदासम्म मेरा आँखा मोवाइलबाट एकपल पनि हटेनन । होस खुल्ने बित्तिकै तिम्री मामुले मलाई तिम्रो तस्बिर पठाइन । तस्बिर हेर्दा आफूलाई ऐनामा हेरे झैं लाग्यो । मैले आफ्नो चेहेरा तिमीमा पाएँ । तस्बिरमै सुम्सुम्याएँ । म्वाईं खाएँ । तिमीलाई हेरेर मेरा आँखा अघाएनन ।

तिमीलाई स्पर्स गर्न मन लाग्यो । तिम्रा कोमल हातहरूमा चुम्न मन लाग्यो । छातिमा टाँसेर माया गर्न मन लाग्यो । तर मेरो भाग्यमा त्यो कहाँ रहेछ र ? म सात समुन्द्रपारी थिएँ । यी सबै कुरा कल्पना मात्रै थिए । त्यसबेला अघिसम्म संसारकै भाग्यमानी ठानेको आफूलाई म जति अभागी यो संसारमा कोही छैनन जस्तो लाग्यो । 

मान्छेहरू सन्तान भनेको मुटुको टुक्रा हो भन्छन, तर होइन रहेछ । टुक्रा भनेको त अलग हुन्छ, अलग धड्किन्छ । तिमी त मेरो मुटुको धड्कन हौ । सँगै धड्किन्छौ । नत्र किन तिमीलाई सन्चो छैन भनेको सुन्दा मेरो मुटुको चाल बढ्छ ? तिमीले खाना खाएनौ भन्दा मलाई अरूची हुन्छ ? हो छोरा तिमी मेरो मुटुको टुक्रा नभएर मेरो मुटुको धड्कन हौ । 

हाम्रो मुटुलाई समुन्द्र, पहाड पर्वत अनि खोलानालाले छेकेर अलग गराएका हैनन । यिनले त जोडेका छन तिम्रो र मेरो मुटुलाई नसाको रूपमा । पछि ठूलो भएर बाबा म नजन्मिदै मलाई छोडेर मबाट टाढा किन बस्नुभएको भनेर नभन्नु है । म त हरदम तिमीसँगै छु ।

अब त तिमी पाईला सारेर हिड्न थाल्यौ । फोनमा बाबा भन्न थाल्यौ । फोनमा बाबा भन्दा खुशीका आँसु आउँछन् । शायद सन्तान सुख भनेको यही होला । इन्टरनेटका भित्ताहरूमा जब तिमी जस्तै कलिला बच्चाहरुको तस्बिर देख्छु, ती तस्बिरले मलाई तिम्रो झल्को दिन्छ । 

तस्बिरले तिम्रो झल्को दिँदा हत्तपत्त ग्यालरीमा जान्छु र तिम्रा सबै तस्बिरहरू एक एक गर्दै हेर्छु । त्यसो गर्दा मन साह्रै आनन्दित भएर आउँछ । कुनै फोटोमा हाँसिरहेका छौ । कुनैमा रोइरहेको, खेलिरहेको । तिम्रा तस्बिरहरू मैले सम्हालेर राखेको छु । जब मलाई कुनै चिजले पिडा हुन्छ, त्यतिखेर ती अमूल्य गहनारूपी तिम्रा तस्बिरहरु हेर्छु । त्यतिबेला सबै पिडा एकाएक हराएर जान्छ । 

तिम्रो मामुले टाढा भएपनि तिम्रा हरेक क्रियाकलाप अडियो, भिडियो र फोटोमा कैद गरेर मलाई तिमीसँगै छु भन्ने महसुस गराउछिन । तर सँगै भएजस्तो कहाँ हुदोरहेछ र । तिमीले पहिलो पाईला कसरी सार्यौ । पहिलो शब्द के बोल्यौ ? हिँड्न सिक्दै गर्दा कति चोटी लड्यौ होला । आफै उठ्यौ कि कसैका सहारा लियौ होला । यी सबै कुरा ती तस्बिरले कहाँ पूरा गर्दोरहेछ र ।

छोरा, पितालाई आफ्नो सन्तान सधैं आफ्नो आखाँ अगाडी होस भन्ने लाग्छ । कलिला औंला पक्डेर ताते ताते भन्दै हिँड्न सिकाउने, घोडा हात्ति बनेर पिठ्युमा राखेर घुमाउने, यी सबै चिजबाट बिमुख हुनुपर्दा मेरो मन कस्तो भएको होला ? तर छोरा जब म जस्ता लाखौं बाहरूले मैले जस्तै बाध्यता र परिस्थितिले आफ्ना नाबालक सन्तान छोडेर टाढा बस्नुको पिडा भोगेको देख्छु बल्ल लाग्छ यो संसारमा यो पिडा लिएर बाँच्ने म मात्र एक्लो रहेनछु । त्यो देखेरपनि मन बुझाइरहेको छु । 

म आउँदा त तिमी दगुर्ने हुन्छौ होला । मामुसँगै बस बिसौनीमा मलाई लिन आउछौ होल । मामुले बाबा भनेर चिनाउदा अंगालो हालेर माया गर्छौ होला । या नचिनेको नयाँ मान्छे जस्तै गरी मामुसँगै टासिन्छौ होला । के गर्नु छोरा समयले हामी एउटै खुनको ढिक्कालाई अलग बनाएर राख्यो । कसलाई दोष दिने ? 

पछि ठूलो भएर प्रश्न गर्लाउ, बाबा सानोमा मलाई छोडेर किन टाढा बस्नुभएको के बाध्यता थियो ? मेरो माया लाग्दैनथ्यो ? त्यतिखेर म तिमीलाई के जवाफ दिउँला ? तिम्रो भविष्यको लागि तिमीबाट टाढा बस्नुपरेको थियो भनौं या गरिब देशको नागरिक भएर जन्मिनुको कर्मको फल हो भनेर देश र भाग्यलाई दोष दिउँ ? 

आमाबाबुको कर्तव्य हुन्छ छोराछोरीको उज्वल भविष्यका लागि सन्तानलाई त्यसतर्फ गोरेटो कोरीदिने ।  कसरी तिम्रो भविष्यलाई हतियार बनाएर तिम्रो प्रश्नबाट बच्न सकुँला । जलस्रोतको धनी, प्राकृतिक सौन्दर्यले विश्वलाई आफूतिर आकर्षित गर्न सक्ने क्षमता भएको देशको नागरिक म, कसरी गरिब देशको बिल्ला भिराएर पन्छिन सकुँला । अहँ छोरा म तिम्रो प्रश्नको जवाफ दिन शायद नसकुँला । तर वास्तविकता यही नै रहेछ भन्ने कुरा तिमी आफैंले बुझ्नेछौ । 

छातिमा हात राखेर स्विकार्नु पर्छ छोरा अहिलेको यो परिस्थिति सिर्जना गर्ने अरू कोहि नभएर तिम्रो बाबा र तिम्रो बाबाजस्ता लाखौं अरू बाबाहरू हुन, जो अहिले अर्काको देशमा श्रम बेचिरहेका छन् । हो छोरा हामीबाट ठुलो भुल भएको छ । देश र जनताको सेवाका लागि एक सच्चा राष्ट्रसेवकको ठाउँमा भ्रष्ट दलाल र घुसखोरलाई चुनेर देशको उच्च तहमा बसाइ देशको तालाचाबी बुझायौं । 

के थाहा ती भोकाएका अजिङ्गर हुन भन्ने कुरा । देशका लाखौं युवालाई विदेशमा बेचेर देशलाई खोक्रो बनाउछन भन्ने कुरा । अहिले ती अजिङ्गर अघाएर विदेशी भूमिमा लाखौं युवाले बगाएको पसिनाको पोखरीमा आहाल बसेका छन् । आफूले गरेको भुललाई सच्याउँदै लगेर एकदिन यी देशका धमिराहरूलाई निर्मुल गरी देश र जनताको सेवा गर्ने सच्चा सेवकको आगमन हुने छ । र तिमीहरुको पिडीले सुन्दर सम्पन्न नेपालमा बस्न पाउनेछौ भन्ने विश्वास अझै मरेको छैन । 

अब जीवनको एउटै लक्ष्य छ, तिमीलाई राम्रो शिक्षादिक्षा दिन सकुँ । आफ्नो देश अनि परिवारसँगै रहेर कुनै न कुनै क्षेत्रबाट देशकै सेवा गर्नुपर्छ भन्ने भावना तिमीमा जागृत गराउन सकुँ । त्यो गर्ने वातावरण बनाइदिन सकेंभने मेरो जीवन सार्थक भएको ठान्नेछु । 

अरु धेरै कुरा गर्न बाँकी छन् । अहिले पत्र लामो भयो । अरु धेरै कुरा गर्न बाँकी नै छन् । पछि कुरा गरौंला । फेरी पनि तिमीलाई जन्मदिनको शुभकामना ।                 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा । / भिडियोः उज्यालो ।