MENU

मेरो कथा मेरो भोगाई

​कमाउने लोभमा लुटिएको त्यो आइतबार

हरि थापा । भेड्पुर, दोलखा/हाल मलेसिया

असोज महिनाको अन्तिम आइतबार सार्वजनिक बिदा थियो । नेपालमा शनिबार बिदा हुन्छ तर विदेशमा आईताबार बिदा हुन्छ तर पनि सामान्यतया विदेशी कामदारले आइतबार काम गर्ने विशेष जोड दिन्छन । अरु दिन सामान्य काम अनि दाम तर आइताबार अफिस बिदा हुने भएकाले काम थोरै गरेपनि पैसा धेरै हुन्छ । त्यसैले सकेसम्म आइतबारको ड्युटी खुट्टाले नसके टाउको टेकेर गएर भएपनि गर्न खोज्छन जो कोहीले पनि । त्यो आइताबारको बिदा भने दुर्भाग्य बन्यो । बिदा चाहिने बेलामै भएको थियो ।

घरमा खर्च पठाउन बजारतिर लाग्योैं । चार जना साथीहरु मिलेर हामी घरखर्च पठाउन अनि कोठाको लागि चाहिने सामान तरकारीहरु ल्याउने योजना स्वरुप बजार हिड्यौं । रुमबाट आठ मिनेट जति हिँडेपछि हाइवे भेटिन्छ । त्यहाँबाट पब्लिक बस चढेर जाने योजना बनाएर हिडेका थियौं । बिदा भएकोले बसहरु पूरै भिड आउँथ्यो तर पनि नरोकी गएपछि हामीले  झण्डै एक घण्टा भन्दा बढि पर्खियौं । बस आउने जाने मात्र भयो । 

दिनको १२ बजिसकेको थियो । ढिला हुन्छ भनेर अब ट्याक्सीमा जाने सल्लाह गर्यौं तर ट्याक्सी पनि त्यो बेला भीड नै थियो । रोकौंला जसरी आउँथ्यो तर नरोकी छेउबाट जान्थ्यो । त्यतिकैमा एउटा प्राईभेट कार छेउमा आएर रोकियो र इंग्लिसमा सोध्यो ‘होयर डु यु गो ? क्यान यु हेल्प मी टु चेन्ज रुम, आई गिभ यु वन थाउजेन’ भन्यो अनि हामीले सोच्यौं लगभग एक घण्टाको काममा चार जनालाई एक हजार दिन्छु भनेपछि त्यो रकम नेपाली ४० हजार रुपैयाँ हुने भयो । त्यसैले हामीले सल्लाह ग¥यौं के गर्नै एक घण्टामा यति राम्रो पैसा दिन्छ भने गरौं त्यसपछि पनि बजार जान समय हुन्छ भनेर चारै जना खुसी हँुदै ‘ओके’ भनेर एक जना अगाडि अनि तीन जना पछाडी बस्योैँ । 


अनि कारमा हामी नेपालीमा कुरा गर्दै गयौं । उसले हामीलाई नेपाली हो ? भनेर सोध्यो  हामीले खुलेर कम्पनीको नाम पनि त्यो खुसीमै बताइहाल्यौं । अब त्यो पैसा दुई सय पचासका दरले हिसाब पनि गर्न भ्याएका थियौं । त्यो पैसाले टिसर्ट, जुत्ता अनि अरु चाहिने सामान किन्ने योजना बनायौं । योजना बनाएर नसक्दै उसले कार भर्खरै बन्दै गरेको एउटा ठुलो भवनभित्र लगेर पार्किङ गर्यो। अनि हामीलाई चार तलामाथि लग्यो ।

चार तलामाथि लगेपछि एकछिन सबै मौन भयौं । त्यहाँ हेर्दा हामीलाई भनेको कुनै काम थिएन त्यहाँ त बन्दै गरेको भवन ईटाको टुक्राहरु फलामका टुक्रा थिए । कुनै बेड, सोफा केही थिएन । हाम्रो खुसी एकाएक दुखमा परिणत भयो । हामी छागाँ बाट खसेझै भयौं । त्यहाँ कालाकाला अनुहार परेका गुण्डा जस्ता देखिने व्यक्ति बसेका थिए । माक्स लगाएका थिए । भाषा चाहिँ चिनियाँ बोल्दै थिए । हामीलाई कारमा लिएर जाने चिनियाँ नै थियो । सबै मिलेर हामी चारै जनालाई हामीसँग भएका दुईदुई सेट मोबाईल घरखर्चका लागि पठाउन बोकेका पैसा सँगै लगाएको जाकेट, टिसर्ट र पाइन्ट पनि उतार्न लगायो । हामी केहि नबोली उसले   भनेजति सबै उतारेर केहिछिन अघिको खुसी जति त्यहिँ छोडेर दिउसैँ सपना जस्तो गरी निरास हुँदै रुम फर्कियौं । 

हाम्रो त्यो हालत देख्दा हामीलाई साथीहरुले पनि नचिन्ने अवस्था थियो । हामी बल्लतल्ल रुम आयौं ।  कोहीसँग न कुनै प्रश्न थियो न त उत्तर नै । सबै चुपचाप भएर आँसु खसाल्दै बसिरहेका थियौं । भएका सामान सबै बुझाएर आयोैँ अब हामीसँग केहि थिएन । न त पासपोर्ट न पैसा न खाने कुरा । त्यो अप्रिय आइतबारले हामीलाई नाङ्गै बनायो । धेरै सोच्यौं । अहिले लेखिरहँदा आफैलाई सपना जस्तो थियो तर यो वास्तविकता नै हो । 

साथीहरुले पनि सुरुमा पत्याएनन् । पछि उनिहरु पनि डराए र हामीलाई सान्त्वना दिँदै धन्न ज्यान गएनछ भने । ज्यान भए सम्पती कमाउन सकिन्छ भनेर हामीलाई सम्झाए । त्यो दिनदेखि अहिलेसम्म पनि हामी आइतबारसँग डर लागिरहन्छ । त्यो दिनदेखि बाहिर जाने आँट पनि आउँदैन । फेरि लामो समय पछि विदा भयो । अब बाहिर जानु परे पनि सतर्कता अपनाएर मात्र हिँड्ने गथ्यौं । मोबाइल कोठामा राखेर चाहिने मात्र खर्च र एटिएम कार्ड पनि परीक्षामा चिट लुकाए झैं गोजीमा नराखी चेक गर्दा नभेट्ने गरी राखेर जान थाल्यौं । तैपनि मनमा डर भने हुन्थ्यो ।

त्यो अर्को दिन पनि हामी बजारमा सामान किनेर फर्किदै थियौं । बाटोमा एउटा नेपाली केटा भेटियो । हातमा केही खानेकुरा र तरकारीहरु बोकेका थियौं । केहिबेर ऊ हामीसँगै हिँड्यो । हाम्रो कोठा आउन दुईवटा जेब्रा क्रस काटेर आउनु पर्थ्यो । एउटा जेब्राक्रसपछि एउटा चोक आउछ । त्यहाँबाट दुई वटा बाटो भेटिन्छ । जुन बाटो गएपनि कोठा पुगिन्छ । एउटा बाटो जंगल जस्तो छ पाँच मिनेट जंगल हिँडेपछि कोठा पुगिन्छ । अर्को बाटो हाइवे भएर जान्छ । तर दुवै बाटोबाट जाँदा लाग्ने समय चाहिँ उही हो । त्यो नेपाली केटा र हामी कुरा गर्दै आयौं । दुई बाटो आएपछि त्यो केटाले जङगलतिरको बाटो जाउँ भन्यो । त्यो भनेपछि अगाडि भएको मेरो साथी तर्सिए जस्तै गरेर हुन्न भन्यो । म पछाडी थिएँ । मैले पनि उनीहरुका कुरा सुनें । त्यसले म पनि तर्सिएँ । अनि नेपाली बोले पनि कहाँको को हो केही थिएन । जे होस ऊ पुरानो रहेछ । यहाँ बसेको चार वर्ष भइसकेको रहेछ । हँस्यौली पाराको रहेछ । त्यसैले उसले मेरो साथीको हात समाउँदै हैन यही बाटो जाउँ भन्यो तर साथी आतिएर नाई नाई भन्दै थियो ।

त्यो केटापनि अच्चमले हेर्दै अझै तान्दै थियो । अनि साथी कराएकोले म पनि डराएँ । मैले उसको हात तानेर त्यो नेपाली केटाको हात बाट फुत्काएँ । त्यो हात फुत्काएपछि मेरो साथी यसरी भाग्यो की बतास झैं तुफान गुडेका गाडी र मोटरसाइकलको गति भन्दा कम थिएन । पछि कोठामा पुगेर सास फेर्दै थियो । उ भागेपछि म पनि भागें । जब कोठा पुग्यौं । आराम गरेर लामो सास तान्दै भगवानले बचायो भनेर बाहिर निस्कियौं अनि त त्यो केटा त हाम्रो कोठाको साथीसँग पो कुरा गर्दै रहेछ । हामी बुर्कुसी मार्नुको कारण बुझेनछ । त्यै भएर हामीसँगै बस्ने साथीसँग उनीहरुलाई के भएको रहेछ भनेर सोध्दै रहेछ । अनि त हामी पनि त्यही गयौं र सबै कुरा भनेपछि सबै मरिमरि हास्यौं । 

यहाँको परिस्थितीले मनमा कस्तो छाप बसेछ जहाँ जोसँग पनि डराउनुपर्ने । चोरको डरले आफ्नो साथीलाई पनि चोर सम्झिएर भाग्नुपर्ने ।  साथीसँगै भागेको कुरा सम्झिँदा अहिले पनि लाज लाग्छ । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

कतारमा भवन निर्माण गर्दै नेपाली लगायत अप्रवासी कामदार। यस्ता भवन बनाउँदा सामान्य जिआई पातालाई मेसिनले पेलेर चाहिएको नापमा कम्प्युटराइज बिधिद्वारा निकालिन्छ। तस्बिरः गोबिन्द थापा मगर/दोहा, कतार