MENU

मेरो कथा मेरो भोगाई

रेमिट्यान्ससँगै भित्रिँदैछ मनोरोग

दुर्गाप्रसाद भट्टराई/सर्लाही ।

रेमिट्यान्स भनेको एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउनु हो । कतिले त यसलाई  विप्रेशण भन्दा बुझ्छौं । अहिले बैदेशिक रोजगारीको कमाई हो भन्ने नेपाली जनमानसको बुझाई रहेकोछ ।

२०६८ सालको जनगणनाको तथ्याङ्कले १९ लाख १७ हजार ९ सय ३ जना नेपाली  रोजगारीको लागि देश बाहिर रहेको देखाउँछ । यो तथ्याङक आधिकारिक रुपमा विदेशिने कामदारको हो । 

अवैधानिक रुपमा विदेशिने कामदारको संख्या पनि ठूलै रहेको विभिन्न संघसंस्थाले प्रकाशित गरेका प्रतिवेदनमा उल्लेख छ । विदेशिने नेपाली कामदारले पठाएको रेमिट्यान्सबाट नै देशको कुल गाह्रस्थ उत्पादनको झण्डै २५ प्रतिशत बराबर छ ।

रेमिट्यान्सले विदेशिने परिवारको दैनिक जिविकोपार्जनमा मद्दत पुर्‍याएको, ऋणको भार घटाएको, छोराछोरीको स्वास्थ्य शिक्षामा सहजै पहुँच पुर्‍याएको, घरजग्गा गाडीमा सहजै पहुँच पुगेको, व्यक्तिगत पारिवारिक र सामाजिक जीवनस्तर बढाएको, रोजगारीको अवसर सिर्जना गरेको, सुचना प्रविधिमा सहजै पहुँच पुगेको र घर परिवार आफन्त र समाजले हेर्ने दृष्टिकोणमा फेरिएको छ । 

रेमिट्यान्सले क्षणिक रुपमा आर्थिक तथा दैनिक समस्या समाधान गरेतापनि यसको सही तरिकाले प्रयोग हुन नसक्दा सामाजिक र सांस्कृतिक समस्या देखिएको छ । परिवारको दैनिक हातमुख जोर्ने अवस्था सुधारौंला भन्ने ईच्छा र सन्तानलाई विदेशमा पठाउने आमाबाबु त्यतीखेर मानसिक र आर्थिक रुपले मर्माहित हुन्छन् जब छोराले विदेशमा कमाएको पैसा घर पठाउँदैन । अथवा पठाएको पैसा पनि बाबुआमाको हात पर्दैन । 

एकथरी आमाबुवालाई नदेखाइ श्रीमतीलाई मात्रै पैसा पठाउनेहरु छन भने अर्काथरी बुवाआमालाई मात्रै पैसा पठाउने श्रीमतीलाई वास्तै नगर्ने पनि छन् । यी दुवै गलत हुन् । आवश्यकता सबैका हुन्छन । त्यसैले फजुल खर्च गर्ने पैसा नदिएपनि चाहिने खर्च श्रीमतीलाई पनि दिनुपर्छ । 

विदेशमा काम गर्ने क्रममा भोग्नु परेको समस्याले नेपालमा रहेका परिवारका सदस्यहरु पनि मानसिक रुपमा समस्यामा पर्छन । कमाउन गएको परिवारको सदस्य अप्ठ्यारोमा परेपछि घरमा तनाव हुनु स्वभाविकै हो । 

नेपालमा भनेको जस्तो काम र तलब नपाउँदा, काम गरेतापनि समयमै पारिश्रमीक नपाउँदा, काम गर्न गएकाहरु उतै विरामी पर्नु, स्वदेशमा मेडिकल फेल हुँदाहुँदै पनि सेटिङ मिलाएर जाँदा समस्यामा पर्नु, धेरै कमाई हुने आशामा कामगर्ने कम्पनी छोडेर अन्यत्रै काम गर्नु, काम गर्न जाने देशको भाषाको ज्ञान नभएर विनाकारण जेलमा पर्नु, काम गर्ने दौरानमा कार्यस्थलमानै दुर्घटना परि शारीरिक रुपमा अशक्त हुनु र रोजगारदाताबाटै शारीरिक र मानसिक हिंसामा पर्दा उनीहरु त तनावमा पर्छन नै त्यसले परिवारमा पनि मानसिक समस्या ल्याएको पाएँ । 

हामी रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको छ भन्छौं । झट्ट हेर्दा यो यथार्र्थ पनि हो । गाउँदेखि शहरसम्मको भौतिक, सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा कहिँ न कहिँ रेमिट्यान्स ठोकिन पुगेकोछ । तर बिडम्बना रेमिट्यान्स सँगसँगै भित्रिएको मनोरोगमा राज्यको आँखा जान सकेको छैन । बेलामै राज्यको निकायमा बस्नेहरुको यसतर्फ ध्यान जान जरुरी छ । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

विदेश जाँदा लिएको ऋणले घर जग्गा साहुको कब्जामा। भिडियोः उज्यालो।