MENU

मेरो कथा मेरो भोगाई

​फेरि विदेश जाने मन छैन तर यहाँ के गर्नु ?

शिव अर्याल/तसर्पु–६ धादिङ

म नेपालमा स्काभेटर चलाउँथें । तर सँधै काम नहुने अनि काम पाइहाल्यो भने पनि दुःख गरेजति पैसा नपाइने समस्या थियो । श्रीमान् श्रीमती मात्रै हुँदा त त्यो पनि ठिकै थियो । तर छोराछोरी भएपछि उनीहरुको पढाइदेखि परिवार चलाउन त्यो कमाइ पर्याप्त थिएन । छोराछोरी हुर्कंदै थिए । उनीहरु स्कूल सकेर कलेज पढ्ने भएपछि मैले सोच्नुपर्ने भयो । त्यही भएर गदौगर्दैको काम छोडेर विदेश जाने सोचें । 

गाउँकै एजेण्टमार्फत म काठमाडौं आएँ । उसले मलाई काठमाडौंको एयरपोर्टको छेउमै रहेको म्यानपावरमा लग्यो । अहिले मलाई त्यो म्यानपावरको नाम पनि याद छैन । मैले स्काभेटर चलाइरहेकोले थिएँ । स्काभेटर अप्रेटरमै कतार जाने भएँ । मलाई महिनाको १५ सय रियाल हुन्छ भनेको थियो । त्यसका लागि मैले म्यानपावरलाई एक लाख २० हजार रुपैयाँ तिरें । कतार पुगेपछि मैले म्यानपावरले भनेकै काम अनि तलब पनि पाएँ । ओभरटाइम गर्दा त मैले २ हजारदेखि २२ सय रियालसम्म बचाएँ । दुई वर्ष बस्दा राम्रै कमाइ भयो । 

अहिले म नियम अनुसार पाउने तीन महिनाको विदामा दुई महिना थपेर नेपाल आएको हुँ । विदा सकिन अब १५ दिन बाँकी छ । म १५ दिनपछि कतार जाने कि नजाने भनेर धेरै सोचिरहेको छु । यो बिचमा मैले मलेखुमा काम गरें । तर केहीदिनका लागि मात्रै भयो । केहीदिन अघि एउटा हाइड्रोपावरमा स्काभेटर अपरेटरमा जागिर खुलेको थाहा पाएँ । त्यसमा निवेदन दिएको छु । काठमाडौंबाट फोन आउँछ भनेको छ तर अहिलेसम्म आएको छैन । यदी फोन आयो र काम अनुसारको पारिश्रमिक पाउने भएँ भने म विदेश जान्न होला । 

परिवालाई छोडेर विदेश जाने मन त मेरो पनि कहाँ छ र, तर पनि के गर्नु यहाँ न भनेजस्तो काम पाइन्छ न त कामको मूल्याङकन गरेर त्यो अनुसारको तलब नै । त्यही भएर फेरि पनि विदेश नै जानुपर्ने भयो । पहिला पनि म त्यही भएर नै विदेश गएको हुँ । अहिले पनि श्रीमती अनि छोराछोरीले विदेश जानुभन्दा यतै केही गर्न पाए सबैसँगै हुन पाइन्थ्यो भनिरहेका छन् । तर के गर्नु मसँग अरु कुनै विकल्प नै छैन । यहाँ काम गर्ने निश्चित समय हुँदैन अनि आराम गर्ने कुन बेला हो त्यो पनि टुङगो हुँदैन । तर विदेशमा ८ घण्टा काम हुन्छ अनि त्यसपछि ओभरटाइम भयो भने थप पैसा पाइयो । यदी काम भएन भनेपनि ८ घण्टाको पैसा त पाइहाल्यो । त्यसैले त्यस्तै काम अनि काम अनुसार तलब पाउन यहाँ निक्कै मुस्किल छ । यदी विदेशको जस्तै कामको सम्मान गर्दै त्यही अनुसारको तलब पाउने भए म विदेश जान्न थिएँ ।  

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा भिडियोः उज्यालो ।