MENU

मेरो कथा मेरो भोगाई

परदेशी पिताजीको डायरीबाट : तिमीहरुको भविष्यका लागि आधा जीवन परदेशमा बित्यो

खुमबहादुर कटुवाल, तेह्रथुम/हाल इस्टोनिया ।

मेरा प्यारा छोराछोरीहरु, अटुट सम्झना अनि तिमीहरुलाई मेरो हृदयदेखिको न्यानो न्यानो माया । 

आराम छु भन्दा कथा व्यथाहरु धेरै छन । त्यही कथा व्यथाकै कारण अवस्था चिन्ताजनक छ । मान्छेले नचाहेर पनि बोल्नुपर्ने एउटा झुटो कुरा के भने जसले खबर सोधे पनि आराम छु ठिक छु भन्ने गरिन्छ । तर आज म यहाँ झुट्टो बोल्दिन । 

केही पनि ठिक छैन जिन्दगीले नयाँ मोड लिइसकेको छ । उमेर पनि ढल्किँदै छ । आफैंले आफ्ना र परिवारका लागि बुनेका सबै सपनाहरु पूरा नहुने हुन कि भन्ने डरले पनि आजकाल सताउन थालेको छ । 

मैले मेरो छोराछोरीको निम्ति भनेर आफ्नो जीवनमा धेरै सम्झौता गरें । छोराछोरीलाई दुःख नहोस भन्ने सोचले तिमीहरूलाई सुखी राख्न धेरै प्रयास गरें । तर अफसोच मैले एउटा कुरा भुलेको रहेछु । कसैले कसैलाइ पनि खुसी पार्न सक्तैन रहेछ, यदि कोही खुसी नै हुन चाहँदैन भने ।  हो मलाइ लाग्छ तिमीहरुलाई पनि मेरा कुनै प्रयासले खुसी बनाउन नसकेकै होला । त्यो पनि तिमीहरु भित्र मैले दुःख बुझ्ने बीउ रोप्न नसकेर यस्तो भएको हो कि भन्ने लाग्छ ।

मान्छेले दुःख नपाई सुख र खुसीको अनुभब गर्न सक्तैन रहेछ भन्ने कुराको यो एउटा प्रमाण पनि हो । तिमीहरुले भोगिरहेको जीवनशैलीमा तिमीहरु आज सन्तुष्ट छैनौ भन्ने कुरा पनि बुझेको छु । यहाँनेर तिमीहरुले बुझ्नुपर्ने एउटा कुरा के छ भने समाजमा तिमीहरुको भन्दा पनि निम्नस्तरको जीवन बाँच्नेहरु पनि छन् । उनीहरुलाई हेरेर तिमीहरुले चित्त बुझाउनुपर्छ । आफ्नो जत्तिको पनि जीवनस्तर नभएकाहरुलाई देखेपछि पक्कै तिमीहरुको चित्त बुझ्नेछ । 

तिमीहरुले मलाई बुझ्ने भनेको मेरै ठाउँमा आइपुगेपछि मात्रै हो । तर त्यति बेलासम्म धेरै ढिलो भइसकेको हुन्छ । सम्पूर्ण परिवारको खुशी, सुख र उज्वल भविष्यका लागि मेरो आधा जीवन परदेशमा बित्यो । जसका कारण परिवारलाई पर्याप्त समय दिन सकिन । आज मेरो पारिवारिक जीवन पनि सोचेको भन्दा फरक हुन भएको छ । सायद यस्तो नियती भोग्ने म एक्लो पक्कै होइन । हरेक परदेशीको पीडा मेरो भन्दा ठुलो र कथा मेरो भन्दा कहाली लाग्दो हुनसक्छ ।

यो सबै हुनुमा म आफु दोषी हुन सक्छु तर अरु कसैलाइ दोष दिन चाहन्न । किनकी मैले आफैंले सबै भोगेको र बुझेको छु । फरक यति हो कि मैले आफैंले बुझे जसरी अरुलाई बुझाउन सकिन र सक्तिन पनि । समयले बुझाउला शायद । 

म भाग्यमा त्यति धेरै विश्वास गर्दिन । कर्ममा निर्भर छु । तर भाग्यलाई विश्वास गर्नेहरुलाई भने बुझाउन एकदम सजिलो छ कि सम्झनुहोस यो सबै भग्यको खेल हो ।  मैले आफ्नो जीवनमा जुन किसिमका समस्याहरु आफैंलाई परे त्यस्ता समस्याहरु तिमीहरुलाई नपरुन भनेर धेरै ख्याल राखेको छु ।

मैले ६ वर्षको उमेरदेखि भोग्नु परेका समस्याले तिमिहरुलाई त्यस्तो दुःख नहोस भनेर आफुले दुःख गरिरहेको छु । तिमीहरुबाट टाढा भएर पनि तिमीहरु २०/२२ वर्षको पुग्दासम्म कुनै काममा लगाएको छैन । तिमिहरुलाई दुःख हुन्छ भनेर मैले पहाडमा पनि राखिन । मैले   ७/८ वर्षको हुँदा घाँस दाउरा अनि मेलापात गर्नुपथ्र्यो । ९/१० वर्षको छँदा मलाई स्कुल पठाउनुको साटो भैंसी बाख्रा हेर्न खेतमा काम गर्न र वनबाट घाँस दाउरा बोक्न लगाइन्थ्यो । 

२० वर्षको पुग्दा नपुग्दै मलाई पारिवारिक जिम्मेवारीले घेरी सकेको थियो । त्यसबाट मैले सानो उमेरमा विवाह गर्नु हुँदैन रहेछ भन्ने पाठ सिकें । त्यसमा पनि वेरोजगारीले त हुँदै हुँदैन रहेछ । मेरो काम भएपनि त्यो कामले परिवारको गुजारा चल्दैनथ्यो । 

त्यसैले विदेशिनुपर्ने अवस्था आयो । विदेश जान खोज्दा खोज्दै तीन वर्ष जति त्यतिकै बित्यो । त्यति बेलामा परिवार ऋणमा परिसकेको थियो । त्यसैले त्यही ऋण तिर्न र तिमीहरुले आफुले जस्तो दुःख नहोस भनेर विदेशिएँ । परदेशी जीवनबाट अहिले पनि म धेरै कुरा सिकिरहेको छु । 

त्यसैले तिमीहरु जन्मेदेखि नै मैले तिमीहरुले मेरो जस्तो दुःखको जिन्दगी भोग्नु नपरोस भन्ने सङ्कल्प गरेको थिएँ । त्यसैले मैले तिमिहरुलाई उच्च शिक्षासम्म पढाइसकेको छु । मेरो यो सङ्कल्प त मैले पुरा गरेको छु । तर तिमीहरुलाई मेरो एउटै गुनासो के भने उमेर अनुसार समय र परिस्थितीले सबैमा चेतनाको विकास भएपनि तिमीहरुमा मैले गरेको दुःख बुझ्ने क्षमताको विकास भएन । 

१६ वर्ष कटेपछी छोराछोरी पनि साथी जस्तै हुन्छन रे भन्ने कुरा कुनै पुस्तकमा पढेको थिएँ । तिमीहरु कहिले त्यस्तो होलाउ भन्ने थियो तर तिमीहरु त्यस्तो भएन । त्यसमा म तिमीहरुसँग नभएर पनि होला तर परदेशिनु मेरो रहर होइन बाध्यता हो । 

तर अब तिमीहरुको कर्तव्य आफैंले बुझ्ने हो । मैले थोरै पढेर पनि यति गर्न सकें भने अब तिमीहरुले धेरै पढेलेखेका छौ । त्यसैले मेरो तिमीहरूप्रति धेरै आशा छ । हाम्रो परिवारका आधारभुत आवश्यकता साथै मेरा अधुरा सपनाहरू पूरा गर्न तिमीहरुले पनि आफ्नो भुमिका निभाउने प्रयास गर्ने छौं ।  आफ्ना पनि सपनाहरू पूरा गर्ने छौ भन्ने आशाका साथ ।

उहीं तिमीहरुको भाग्यमानी पिता ।

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा भिडियोः उज्यालो ।