MENU

मेरो कथा मेरो भोगाई

​मुनड्रप्स म्यानपावरले दुवईको सप्लाई कम्पनी र त्यसले ब्लक बनाउने कम्पनीमा हामीलाई बेचेछ

राम अधिकारी, इटहरा–९ मोरङ/हाल, दोहा कतार ।

परदेशिनुको कारण आआफ्ना समस्याका कारणले नै हो । समस्या मेरो पनि थियो । घरको आर्थिक अवस्था कमजोर थियो । दाजुले पनि राम्रो कमाइ गर्न सक्नुभएको थिएन । काठमाडौंमा गुजारा चलाएर बस्नुभएको थियो । 

घरमा खर्च बढ्न थाल्यो । दिदीको विवाह गर्नुपर्ने बेला भएको थियो । त्यसका लागि पैसा थिएन । यिनै  समस्याका कारण मैले नेपाल छोड्ने विचार बनाएँ । चिनेजानेकै एजेन्टलाई पासपोर्ट जिम्मा लगाएर पैसाको बन्दोबस्त गर्न लागियो । 

गाउँकै साहुबाट सयकडा तीन रुपैयाँको ब्याज दरमा ७० हजार रुपैयाँ ऋण लिएर सेल्सम्यानको कामका लागि दुवई उडियो । मसँगै अरु ६ जना साथी पनि थिए । तर दुवईमा पाइला के राखेका थियौं, हाम्रो होसहवास् उड्यो । जुन महिनाको तातो घामले हाम्रा सबै चाहनाहरु सुकाई दियो । 

११ घण्टाको प्रतीक्षा पछि बल्ल बल्ल एउटा अरेबियन मानिसले हामीलाई लिएर गयो । दुई घण्टाको दूरीपछि एउटा अँध्यारो कोठामा हामीलाई पुर्‍याइयो । केही समय पछि खानेकुरा दिइयो । हामी दुई दिनदेखी भोकै थियौं । खानेकुरा भोकाएको बाघले मृगलाई लुछे जस्तै खोसाखोस गरेर खायौं । 

अरबियनले हामीलाई बाहिरबाट चाबी लगाइदियो । अब हामी पिञ्जडामा चरालाई थुने जस्तै भयौं । निन्द्राले मात्तिएका हामी मज्जाले सुतेछाैं । कसैले बोलाए जस्तो लाग्यो । घरमा बुबाले बिहान अबेरसम्म सुत्दा घरको बार्दलीबाट कराए जस्तै लाग्यो । उहीँ अरबियन रहेछ । हामीलाई उठाएर बर दुवईबाट सारजाह भन्ने ठाउँमा लैजान आएको रहेछ ।

एल्ला एल्ला जल्दी जल्दी भन्दै थियो । हामी पनि हतार हतार गरेर उसले भनेको मान्दै गयौं । १० मिनेट जतिमा हात मुख धोएर तयार भइयो । अनि एयरकण्डिसन भएको बसमा बसियो र दुवईको विकास अवलोकन गर्न थालियो । 

कति अग्ला अग्ला घरहरु भन्दै साथीहरुले सडक किनारमा रहेका गगनचुम्बी भवनहरु देखाउँदै थिए । म चाहिँ घरबाट कहिल्यै बाहिर नगएको भएर होला घरको यादमा टोलाइ रहेको थिएँ । केही घण्टापछि हामीलाई व्यस्त शहरको एउटा अध्यारो घरमा पुर्‍याइयो । त्यहाँ हाम्रा लागि भनेर एउटा कोठामा ६ वटा ओछ्यान तयार पारिएको रहेछ । रात निक्कै छिप्पिएको थियो । हामी थाकेका पनि थियौं । सबैजना पैसा कमाउने र सुन्दर भविष्य बनाउने सपना देख्दै निदाएछौं । 

भोलीपल्ट अर्कै मानिस आएर हामीलाई उठायो । ऊ बंगलादेशी रहेछ । ऊ भन्दै थियो ‘आज से आप लोग हमरा कम्पनीका मेम्बर हे, हामरा कम्पनी आपलोगोको कन्ट्रयाक्टमे लेलिया हे ।’ 

वास्तवमा हामीलाई नेपालको मुनड्रप्स म्यानपावरले यहाँको सप्लाएर कम्पनीमा बेचेको रहेछ । अनि यहाँको सप्लाएर कम्पनीले अर्कै ताबुक (ब्लक) बनाउने कम्पनीमा बेचेको रहेछ । त्यही कम्पनीको फोरमेन रहेछ बंगाली चाहिँ । 

हामी उसलाई सबै कुरा सोध्न थाल्यौं । ऊ भन्दै थियो, यो ब्लक बनाउने कम्पनी हो, खुला आकाशमा काम गर्नुपर्छ । ५२ डिग्रीसम्म तापक्रम हुन्छ । अस्ति भर्खर एउटा केटा गर्मीका कारण ढल्यो । ऊ अस्पतालमा नै छ । 

यी कुरा सुनिरहँदा हाम्रा आँखाहरु पिलपिलाउन थालेका थिए । एकले अर्काको आँखामा हेर्न सकेका थिएनौं । बंगाली हामीलाई ड्युटी हिँड्न आग्रह गर्दै थियो । तर हामी कसैको हिम्मत थिएन काममा जान । अन्तिममा हामीले यस्तो काम नगर्ने निर्णय गर्‍यौं । काममा पनि गएनौं । 

त्यसपछि हामीलाई अनेक प्रकारका मानिसहरुले धम्की दिए । कतिले सम्झाउने प्रयास गरे । तीन दिनसम्म खाना पनि दिएनन । तीन दिन बंगालीले दिएको दालमोठ र पानीको भरमा बिताइयो । पछि हामीलाई सप्लाएर कम्पनीले जिम्मा लियो । अरु एक हप्ता फेरी हामीलाई बन्द कोठामै राख्यो । केही नलागेपछि हामीलाई नेपाल पठाइयो । 

त्यसबेला नेपालमा द्वन्द्व चलिरहेको थियो । हामीले विदेश गएको पैसा पनि फिर्ता पाएनौं । नेपालमा काम गरिखान पनि सकेनौं । आखिरमा विदेशिनुको विकल्प थिएन । हिजोआज म कतारमा श्रम बेचिरहेको छु । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

कतारमा भवन निर्माण गर्दै नेपाली लगायत अप्रवासी कामदार। यस्ता भवन बनाउँदा सामान्य जिआई पातालाई मेसिनले पेलेर चाहिएको नापमा कम्प्युटराइज बिधिद्वारा निकालिन्छ। तस्बिरः गोबिन्द थापा मगर/दोहा, कतार