MENU

मेरो कथा मेरो भोगाई

‘डोरी लाहुरे’ हुनुमा मलाई गर्व छ

राजु खडका/सन्धिखर्क नगरपालिका–१ हटारिनेटा, अर्घाखाँची । हाल, युएई ।

परदेशमा बस्ने हामीलाई सुन्दर शान्त देश प्राण भन्दा प्यारो लाग्छ । हामी खाडीमा बस्नेलाई पनि चिन्ता छ देशको । ‘डोरी लाहुरे’ भन्ने वित्तिकै खाडीमा काम गर्नेहरुलाई विशेष रुपले चिने पनि भारत र अन्य देशमा गएकाहरु पनि एक प्रकारले लाहुरे नै हुन । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको घुम्ने पेटीमा हजारौं डोरीले कसिएका झोलाहरु अस्तव्यस्त देखेर हुनेखानेहरुले राखीदिएको नाम हुन सक्छ ‘डोरी लाहुरे’ । तर पनि मलाई गर्व लाग्छ डोरी लाहुरे हुनुमा । इमान्दारिताका साथ वर्षौं पसिना बेचेर घर फर्कने हामी मेहनत गरेर आमा र अरु आफन्तलाई कोसेली कुम्लो पारेर बोरामा डोरीले कसेर फर्कन्छौं । जब डोरीले कसेको झोला बोकेर जन्मभूमीमा पाइला टेकिन्छ, तब मलाई स्वर्गमा पुगे जस्तो महसुस हुन्छ । 

पढने अवसर मिल्यो तर राजनीतिको चपेटामा परियो । दिनहुँ आन्दोलन र बन्दमा बित्यो स्कुले जीवन । पास हुनु मात्र ज्ञान आर्जन गर्नु होइन । अनुशासन र व्यहारिक ज्ञान कक्षा कोठामा सिक्ने अवसर मिलेन । 

महँगीको चपेटामा परेको जीवनमा गाँस जोर्नको लागि आफ्नै देशमा काम गर्ने कलकारखाना भएनन् ।  ठूलाबडाको साथबिना रोजगारी नपाइने भएपछि बाँच्न र अरु प्रगतीका लागि नेपाली युवा सात समुन्द्र पारी जान्छ । अनि लड्छ तातो घामसित । तातो बालुवामा बिमारी पर्दा न छुट्टी हुन्छ, नत पानी तताएर दिने मानिस हुन्छन् । तर पनि निरन्तर अघि बढ्छ । 

त्यसरी काम गरेर नेपाल फर्केको युवालाई विमानस्थलका कर्मचारीदेखी घर पुगुन्झेल भेटिएकाहरुले कस्तो व्यवहार गर्छन, भन्नै परेन । शिक्षा देखी भिक्षासम्म, सुन देखी नुनसम्म, आँटो देखी माटोसम्ममा राजनीति हावी हुने समाजमा हुर्किएको हामी जब आफूले पसिना बगाएर महल, बजार र विकासका आधारहरु निर्माण गरिरहेका हुन्छौ, त्यतीबेला हामी आफ्नो देश कहिले यसरी बनाउने होला भनेर सोचिरहेका हुन्छौ । विकासमा अघि लम्किरहेका देशहरुमा बसेर मेरो देश यस्तो होस भनेर कल्पना गरिरहेका हुन्छौं । 

हामी परदेशीको चाहना पनि देशमा केही गरौं भन्ने हो । तर देशमा वातावरण नभएकाले मात्रै हिँडेका हौं, देश बिर्सिएर होइन ।     

याद त उसैलाई गरिन्छ जसलाई हामी बिर्सिएका हुन्छौं । जन्मभुमी रगतको कण कणमा छ । याद गर्न जरुरी नै छैन, किनकी तातो बालुवा माथि हुँदा पनि झलझली झरनाको पानी सम्झिएका छौं । शरीरबाट पसिनाका खोला बग्दा हिमालको कल्पना गरिरहेका छौं । बरफमा जमेका सागपात हेर्छौं, तब तराईको खेती सम्झन्छौं । त्यसैले विमानस्थलका कर्मचारीदेखी राजनीतिक दलका नेताले खाडीमा बस्नेहरुलाई हेप्नु हुँदैन । हामीले घर घडेरी किन्न मात्रै देश छोडेका होइनौं । 

भिसा, स्वास्थ्य, कल्याणकारी कोषका नाममा शुल्क बढ्दै छ । शुल्क बढाउनु ठिकै हो, सँगै विदेश आउजाउ गर्दा प्रक्रिया सहज बनाइदिए कमसेकम देश छोडदा दुःख लाग्ने थिएन । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।