MENU

मेरो कथा मेरो भोगाई

खाडीमा सलाम हान्ने हात वीर गोर्खालीको हो भन्ने हामीले बिर्सियौं

मनोज अर्याल, कोल्बुङ ३ इलाम/हाल : जोहोर मलेसिया ।

अर्काको देशमा श्रम गर्ने कसैलाई रहर हुँदैन । तर देशमा नै रोजगारी पाउने सम्भावना कम हुँदा युवा विदेश गइरहेका छन् । पारिवारिक जिम्मेवारी, अस्थिर राजनीतिका कारणले पनि नेपाली युवा विदेशिन बाध्य हुन्छन् । धेरै नेपालीको आर्थिक स्तर ठिकठिकै हुन्छ । पैसा भइकन विदेश जाने रहर कसैलाई हुँदैन । चर्को ब्याजमा साहुसँग ऋण लिएर म्यानपावर र दलाललाई धेरै लागत तिरेर विदेश जानुपर्ने बाध्यता छ । 

विदेशमा फरक किसिमको सामाजिक रहनसहन, त्यहाँको भाषा बोल्न बुझ्नमा कठिनाइ, दक्षताको कमी, नेपालमा रहँदा सोचिएको भन्दा फरक ठाउँमा रहँदाबस्दा आइपर्ने चुनौतीको सामना गर्न विवश छन लाखौं नेपाली युवा । म्यानपावर र विदेश जाने युवाबिच हुने सम्झौता तथा विदेशस्थित रोजगारदाता र कामदारबिच हुने सम्झौताका कारण लाखौं नेपाली ठगिएका छन् । नेपालमा धेरै तलब सुविधा देखाएको सम्झौतामा हस्ताक्षर गराईन्छ । त्यो सम्झौता ढाँटेर गरिएको हुन्छ । विदेश पुगेपछि कम तलब सुविधा भएको सम्झौतामा हस्ताक्षर गर्नुपर्छ । 

खाडी लगायत अन्य देशहरूमा जोखिम काम गर्नुपर्ने बाध्यता छ । सरदर दैनिक तीन जना युवा बाकसमा घर फर्किएका छन् । निश्चित समय विदेशमा काम गर्ने र कमाएको पैसाले परिवारसँग सुखका साथ बस्ने बाचा, अपेक्षा र सपनासहित विदेश पुगेको मान्छे बाकसमा लाश भएर फर्कनुपर्ने कस्तो विडम्बना ? 

नागरिकको ज्यानधनको सुरक्षा र कामदामको ग्यारेन्टीको सवालमा आवश्यक कदम चालेको पटक्कै पाइन्न नेपाल सरकारले । संसारको जुनै कुनामा रहेपनि नागरिकलाई अप्ठेरो परेको बखत उद्दार गर्ने जिम्मेवारी सरकारको हो । विदेशमा स्थापना भएका नेपाली दूतावासहरु पनि कामदारको सहयोगी हुन सकेका छैनन । 
रोजगारीका लागि विदेशमा भएकाहरु प्रायः विवाहित छन् । श्रीमान् श्रीमतीबिचको सम्बन्धलाई दूरीले कतिसम्म निकटता या शंका उत्पन्न गराउँछ भन्ने सबैलाई थाहा छ । पछिल्लो समय सम्बन्ध विच्छेदको खबरहरु पनि थुप्रै आएका छन् । जसको कारक वैदेशिक रोजगार नै हो भन्नेमा दुईमत नहोला । 

विदेशमा रहेका पुरुष घरपरिवारसँग सम्पर्कविहिन हुने, अन्य महिलासँग सम्बन्ध बनाएर बस्ने, जाँडरक्सीको कुलतमा फस्ने लगायतका अनेकौं घटनाहरु छन् । अर्कातिर नेपालमा बस्नेहरुले विदेशबाट दुःख गरेर पठाएको पैसाको सदुपयोग नगर्ने, अनावश्यक खर्च गर्ने र सम्पत्तिसहित दोस्रो मानिससित सम्बन्ध स्थापित गर्ने घट्नाहरु देखिएकै हो । गाउँमा युवा छैनन । लाश उठाउने मानिससम्म भेट्न मुश्किल पर्छ । 

वैदेशिक रोजगार आफैंमा नराम्रो छैन । मुलुकभित्र रोजगार नपाएको बखत बिदेशमा नै भएपनि रोजगार पाएका छन युवाले । त्यसले सबैलाई थोरबहुत राहत नै भएको छ । तर त्यो भन्दा उपयुक्त त नेपाली युवालाई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । सम्मानजनक काम र उपयुक्त पारिश्रमिकको ग्यारेन्टी सरकारले गर्नुपर्छ । 

खाडीको बालुवामा दुबो रोप्ने नेपालीहरु हुन । उनीहरुलाई आफ्नै देश विकासका लागि प्रयोग गरियोस् । कम्पनीका कार्यालयदेखि ठूला ठूला महलहरुको गेट अघि ठडिएर मालिकदेखि पिउनसम्मलाई सलाम हान्ने नेपाली हातलाई कुनै बेला कोहीसँग नहारेको नझुकेको वीर गोर्खालीकै हात हो भनेर सम्मान गर्ने बेला भएको छ । उनीहरुलाई मुलुक भित्रै रहने सक्ने अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता हो । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

साउदी अरबले दिएकाे अाममाफीमा सहभागी हुने प्रक्रिया  :  सेन्टर फर माइग्रेशन एण्ड इन्टर्नेश्नल रिलेशन्स