MENU

मेरो कथा मेरो भोगाई

कोरियन साहु हातपात गर्न खोज्ने, नेपाली साथी सहयोग नगर्ने

मधुसूदन ओझा, दार्चुला । हाल, दक्षिण कोरिया ।

ठूलो सपना बोकेर म कोरिया आएको थिएँ । कार्यस्थलमा काम सिकाउने एक नेपाली र अर्का एक जना कोरियन थिए । फलामको काम गाह्रो भएपनि सुरुमा गर्छु भन्ने सोच बनाएँ । तर काम गर्ने ठाउँमा काम सिकाउने कोरियन र साहुले पेलिरहने । गाली गर्ने, हातपात गर्न खोज्ने । 

काम राम्रो गरेन भने तीन वर्षसम्म थोरै काम मात्रै दिएर राख्छु भन्ने । अलि डराउने मान्छेलाई त कुटपिट गरेर नेपाल फर्काइदिन्छु भनेर धम्की दिने । एकजना नेपाली साथी कोरियनको कुटाई खाएर तनावमा पर्नुभएको थियो । तनाव भएर वहाँले एकपटक त आत्महत्या गर्न मन लाग्छ भन्नुभो ।

मलाई पनि सुरुमा आउँदा कोरियन काम सिकाउनेले त गाली गर्ने नै, सँगै नेपाली दाइ पनि राम्रोसँग बोल्नुहुन्नथ्यो । काम राम्ररी गरेन भने तँलाई काम दिँदैन मात्रै भन्ने । गैरकानूनी बनाउन सक्छ आदि भनेर तनाव दिइरहने । 

धेरै दिन तनावले नसुतेर पनि काम गरियो । पछि काम गर्दै जाँदा मेरो कम्मरमा समस्या आयो । जचाउँन गएँ । डाक्टरले आरम गर्नु भनेर लेखिदिएछ । त्यो रिपोर्ट कम्पनीमा बुझाउदा नेपाल जा, तैंले मरे पनि अर्को कम्पनी पठाउन्न भन्थ्यो । अनि सहयोग माग्दै विभिन्न व्यक्ति र संघसंस्थामा गएँ । म प्रवासी मजदुर संघको सदस्य पनि हुँ । यमटियु र केसिटियुले मिलेर ठूलो ¥याली गर्ने योजना बनाएपछि कम्पनी झुक्न बाध्य भयो । 

म जस्ता हजारौं नेपालीले मजस्तै समस्या झेलिरहेका छन् । कम्पनीले जबर्जस्ती काम गराएकै मुद्दा धेरै छन् । कामको तनाव, त्यसमाथि कोरियनको अभद्र व्यवहार र आफ्नै साथीभाइले सहयोग नगर्दा झनै तनाव हुँदोरहेछ । 
समस्याको मुख्य जड इपिएस प्रणाली हो । सम्पूर्ण अधिकार रोजगारदातामा निहित छ । हामीले आफूखुसी कम्पनी परिवर्तन गर्न पाउँदैनौं । काम गर्न गाह्रो भएमा र काम गर्ने वातावरण नमिले पनि  साहुले हामीलाई नपठाएसम्म बस्नै पर्छ । त्यसैले यो पद्दतीलाई सुधार गर्न जरुरी भइसकेको छ । 

नेपाली राजदूतावास र विभिन्न संघसंस्थाहरुले पनि खासै सहयोग गरेको पाइन्न । साहुले भनेकै आधारमा सत्यतथ्य नबुझी कार्यस्थलमा समस्यामा परेकालाई साथ दिनुको साटो फोनबाट नै साहु त राम्रै रहेछ काम गर्नु भनिँदो रहेछ । यसो हुँदा झनै तनाव हुन्छ । 

चारैतिरबाट सहयोग नपाउँदा मनस्थिती कमजोर हुँदै गयो भने नराम्रो कदम पनि उठाउन सक्छ । आत्महत्या भइसकेपछि रिर्पाेट पनि साँचो हुन्छ भन्ने छैन् । सँगै बस्ने साथीलाई पनि साहुले विभिन्न डरत्रास देखाउन सक्छ र कम्पनी भन्दा मजदुर कै कमजोरी देखाउन बाध्य तुल्याउन सक्छ ।

यसका लागि घटना भएको ठाउँको गहिरो अध्ययन गर्ने र पिरमर्कामा परेका साथीको कुरा सुनिदिनुपर्छ । कार्यस्थलमै गएर सहयोग गर्ने गरेमा अप्ठेरो परेका बेला सम्बन्धित निकायमा सम्पर्क गर्छन् । 

यहाँ आउँदा ठूलो सपना बोकेर आएका हुन्छौं । परिवारले पनि त्यै अनुसार को आश गर्छ । जस्तो कि शहरमा ठूलो घर बनाउने, कार किन्ने आदि । कोरिया आउँदा भैंसेपाटीमा हामीलाई तालिम दिने केही सरहरुले कोरिया जानु भनेको करोडपती हुनु हो भनेर सपना देखाउँछन् । कोरिया आएपछि सबै सपना बिस्तारै टुट्न थाल्छ । र तनाव बढ्दै जाँदा नराम्रा कदम उठाउने सम्भावना रहन्छ । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

कतारमा भवन निर्माण गर्दै नेपाली लगायत अप्रवासी कामदार। यस्ता भवन बनाउँदा सामान्य जिआई पातालाई मेसिनले पेलेर चाहिएको नापमा कम्प्युटराइज बिधिद्वारा निकालिन्छ। तस्बिरः गोबिन्द थापा मगर/दोहा, कतार