MENU

मेरो कथा मेरो भोगाई

​परदेशीका परिवारले यस्ता कुरा नगर्नुस्, सम्बन्ध बिग्रिन सक्छ

दुर्गाप्रसाद भट्टराई/सर्लाही

मनोपरामर्श गर्ने सिलसिलामा महिनाको चार वटा समूहलाई मनोपरामर्श दिने गर्दछु । सामूहिक मनोपरामर्श परिवारको मुख्य सदस्य विदेशिएको व्यक्तिलाई लक्षित गरी गर्ने गरिन्छ । जसमा सहभागी प्रायः सबै श्रीमन विदेश भएका महिलाहरु नै हुन्छन् । 

वैदेशिक रोजगारीका कारण सम्बन्धमा देखापर्ने असरका विषयमा समूह छलफल चलाउँदा परिवारको मुख्य सदस्य विदेशिएपछि घर परिवार, आफन्त, छिमेकी र श्रीमान–श्रीमतीबिच खटपट हुने केही कारणहरु थाहा पाएँ । श्रीमान परदेशी भएका धेरै महिलाको परिवारमा देउरानी, जेठानी र सासुससुरासँग सम्बन्ध बिग्रिने समस्या देखियो । कारण कतै पैसा थियो त कतै अर्काको कुरा काट्ने प्रवृत्ति । देउरानी जेठानीहरुले यसको पो श्रीमान विदेश गएर डलर कमाउको छ अनि मिठो मिठो खान्छे भन्ने कुरा दोहो¥याउन थालेपछि सम्बन्धमा खटपट देखापर्ने रहेछ । 

मसँगको भेटमा केही महिलाले सासुससुराले छोराले विदेशबाट कमाएर पठाइदिएको पैसा बिना काममा खर्च गरिरहेकी छे भन्न थालेपछि सम्बन्ध पहिले जस्तो नभएको बताए । त्यस्तै कमाउने सपना बोकेर विदेश पुगेकाहरुको श्रीमतीसँगको सम्बन्धमा पनि सानै कुराले चिसो ल्याउने गरेको छ । विदेशबाट फर्किएपछि श्रीमानले हिसाब खोज्दा श्रीमतीले देखाउन नसक्ने वा देखाए पनि श्रीमानलाई चित्त नबुझ्दा समस्या थप जटिल बन्ने र सबन्ध नै बिग्रने गरेको पाइन्छ । त्यसैले यस्ता कुरामा सबैले ख्याल राख्नुपर्छ ।

समाजका कारण पनि सम्बन्ध बिग्रने गरेको छ । घरमा श्रीमान नभएका महिलाले केही काममा गाउँका अरु पुरुषसँग सहयोग माग्यो भने पनि नराम्रो दृष्टिकोणले हेर्ने र त्यही निहुमा सम्बन्ध बिग्रने गरेका धेरै घटना छन् । कमाउन गएको मानिस विदेशबाट दीर्घ रोगी तथा अपाङ्गता भएर फर्किंदा परिवारले सहज रुपमा नलिँदा पनि सम्बन्ध बिग्रिरहेका छन् । किनकी विदेश जानेहरुको उद्देश्य पनि कमाउने हुन्छ र परिवारको पनि । व्यावहारिक रुपमा हेर्नुपर्ने ठाउँमा पनि व्यावसायिक रुपमा हेर्दा सम्बन्ध बिग्रिएका छन् । 

यी सबै कुराको सार के हो भने जसरी महिनौं लगाएर बुनेको स्वेटर एउटा सानो किल्ला पर्ना साथ उध्रिन्छ त्यसरी नै परदेशीसँगको सम्बन्ध पनि साना साना कुरामै अडिएको हुन्छ । त्यही सानो कुराले सम्बन्ध बिग्रिन्छ । त्यसैले यस्ता कुरामा परदेशीका परिवारका सबै सचेत हुनु जरुरी छ । 

(दुर्गाप्रसाद भट्टराई सर्लाहीको ग्रमिण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा हरिऔनमा संचालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा मनोसामाजिक परामर्शकर्ताको रुपमा कार्यरत हुनुहुन्छ । )

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।