MENU

मेरो कथा मेरो भोगाई

​अर्कैको पासपोर्टमा नेपालबाट हिँडेको ६ महिनापछि साउदी पुगियो

राजमान तामाङ/बाक्सिला २ खोटाङ ।

गाउँघरमा काम गर्दा गर्दा साहै्र गाह्रो भयो । आज त्यही काम भोली त्यही काम गर्न दिक्क लाग्न थाल्यो । कुरा २०५५ सालको हो । 

त्यसपछि म ‘देशपनि हेरिने मुख, पनि फरिने’ भन्दै वैदेशिक रोजगारीको चक्करमा लागें । एजेन्ट कैलाश केसीलाई ६५ हजार रुपैयाँ बुझाएँ । फर्निचरको काममा मासिक ५ सय रियाल तलव भनिएको थियो । 

तर म नरेन्द्र राईको पासपोर्टमा बंगलादेश पुगें । बंगलादेश पुगेपछि ६ महिना सम्म परिवार लाई केहि थाहा थिएन । ६ महिना सम्म उसिना चमलको भात, आलु र भेन्टाको तरकारी खाँदै दुःखले बसियो बंगलादेशमा । अब त यसै बित्ने रहेछ जीवन भनेका बेला ६ महिला पछि साउदी पुर्‍यायो । 

साउदीमा १२ सय भेडा गोठालो गर्ने गर्नु पर्‍यो । भाषा बोल्न नआएपछि म यो काममा आएको होइन भन्न पनि सकिंन जे जे भन्छ त्यसै त्यसै मात्रै गरें । 

आगोको भुंग्रो जस्तो गर्मी । वालुवामा भेडा गोठालो गराई । खबुस (रोटी) को भरमा । त्यहि पनि भनेको समयमा खान पाए त हुने नी ! धेरै छाक एकै चोटी ल्याइदिन्थ्यो । खबुस सुरुमा नरम हुन्थ्यो र मिठै पनि लाग्थ्यो । 

तर धेरै दिन भए पछि टोक्नै गाह्रो । के गर्नु परदेशको ठाउँमा रुदै साश अल्झाउँनै भए पनि खानै पथ्र्यो । 

मरुभूमिमा एक्लै भेडा कुदाउँदा गाउँघरको साह्रै याद आउँथ्यो । बोल्ने कोही साथी थिएनन् भेडासँगै दिन रात काट्नु पथ्र्यो ।

साहुलाई तलबको कुरा गर्दा अर्काे महिना दिन्छु भन्दै खाली टाथ्र्यो । साउदी पुगे पछि परिवारको चिठी एक पटक हात परेको थियो । त्यतिबेला साह्रै खुसी भएँ । 

भेडा चराउँदै जाँदा ७ महिनापछि रामेछापका एक जनालाई भेटें । त्यो दिनको खुसी अझै सम्झना छ । तर भेडा कुदेपछि उहाँसित लामो कुरा गर्ने समय मिलेन । 

मलाई यस्तो काममा बस्न मन नलागेपछि साहुलाई घर पठाइदे भन्थें । मेरो दिनरातको बिन्तिपछि साहुले एक वर्ष पुगेपछि पठाउने कुरा गर्‍यो । तर महिनाको ३ सय ५० रियाल १० महिनाको मात्रै तलब दिने सर्तमा । 

साउदी बसुन्जेल दुई छाक मात्रै भात खाएको थिएँ । अरु धेरै कुरा गर्नु थिएन । मलाई जसरी पनि घर फर्किनु थियो, हुन्छ भनें । 

अरु त विदेशबाट आउँदा सुकिला मुकिला भएर फर्किन्छन् । म त जाँदाभन्दा थोत्रा लुगा लाएर घामले डढेर फर्किएँ । मेरो त साउदी बसाई कष्टकर रह्यो ।

जमनै त्यस्तो थियो । अहिले जस्तो सहयोग गर्ने संघ संस्था पनि थिएनन् । अचेल त विदेश जान लागेकाहरुलाई दिक्तेलमा रहेको सूचना तथा परामर्श केन्द्रमा बुझेर, सिप तालिम लिएर मात्रै जानु भन्छु । मैले जसरी दुःख नपाउन् । 

(प्रस्तुती–सन्तोषकुमार राई, समाजिक परिचालक, नवकिरण सेवा समाज द्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामि) ।) 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

विदेश जाँदा लिएको ऋणले घर जग्गा साहुको कब्जामा। भिडियोः उज्यालो।