MENU

मेरो कथा मेरो भोगाई

​लौरो टेकेर हिँड्नु पर्ने म अहिले महिनाको १५ हजार कमाउँछु

उपेन्द्र पासवान, श्रीपुर ३ सर्लाही

यो मेरो ११ महिना अगाडिको तस्वीर हो । २०७२ चैतमा  मनोसामाजिक परामर्शकर्ता दुर्गाप्रसाद भट्टराईलाई भेट्दा फोटोमा देखिएझैं लौरो लर्खराउँदै लौरो टेकेको थिएँ । गरिखाने जीउ थलिएको थियो । त्यसैले त्यो बेला मेरो दैनिकी चिन्तामै बित्ने गथ्र्यो । मसँग त्यसबेलाको साथी भनेकै हिनताबोध र निराशापन मात्रै थियो । 
१० वर्ष भारतको पञ्जाव गएर काम गरें तर त्यहाँको कमाईले छाक टार्न मात्रै ठिक हुन्थ्यो । त्यसैले श्रीमतीसँग सल्लाह गर्दा विकल्प निस्कियो विदेश जाने । विदेश जानुका पछाडि घर बनाउने सपना त मेरो छँदै थियो । कान्छी छोरीको बिहेका लागि पनि पैसाको जोहो गर्नु पनि थियो । त्योसँगै दुई जना छोरीको विवाह गर्दा लागेको ऋण तिर्नु पनि थियो । त्यसैले सय कडा ३ रुपैयाँका दरले ऋण लिई म विदेश जान तयारीमा लागें । सिसौटिया ५ का रामशरण पासवानलाई एजेण्टका रुपमा भेटें । उसलाई मैले ९० हजार रुपैयाँ बुझाएँ । पैसा बुझाएको ६ महिनापछि बल्ल बल्ल २०६८ पुस महिनामा एजेण्टले मलाई  मलेसिया उडायो । 

चार वर्ष मलेसिया बस्दा कमाएको पैसाले मैले २ जना छोरीको विवाह गर्दा लागेको ऋण तिरेर कान्छी छोरीको विवाह पनि गरिदिएँ । म २०७२ पुसमा नेपाल फर्किएँ । घर फर्किएको २ महिनापछि काम गरेर फर्किदै गर्दा खप्नै नसक्ने गरी मेरो टाउको दुख्यो । म सुते विहान उठ्न खोज्दा शरीरको देब्रे पाटो नै नचल्ने भयो  । त्यसैले  मलाई त्यही दिन काठमाडौंको वीर हस्पिटलमा  श्रीमती उर्मीलाले पुर्याइन । डाक्टरले उपचारपछि ठिक हुन्छ भनेकाले सात दिन अस्पतालमा राख्दा मेरो ७५ हजार सकियो । तर अवस्था बीसको उन्नाइस भएन । त्यसैले एघार महिनासम्म घरमै थलिएर बसेको थिए । मलाई थाहा छैन उहाँसँग मेरो भेट कसले गरायो । जसले गरायो उसलाई म मुरिमुरि धन्यवाद दिन चाहान्छु । ती अँध्यारा दिनहरु सम्झिँदा मलाई अहिले पनि निराशा तिर फर्कने हुँ की भन्ने डर लाग्छ ।

त्यसबेला म जहिले पनि आफू भन्दा शक्तिशाली व्यक्तिलाई हेरेर आफूलाई कमजोर रहेको  अनुभुति गर्थें । अबको बाँकी जीवन परिवारको लागि बोझ हुनेछु भन्ने कुरा मात्रै मेरो मनमा बारम्बार आईरहन्थ्यो । जसले गर्दा मेरो आत्माबल कमजोर हुँदै गएको थियो । दुर्गा सरसँग कुरा गरेपछि म भन्दा कमजोर व्यक्तिले आफ्नो जीवनयापन राम्रोसँग कसरी अगाडि बढाई रहेका भन्ने सोच्न थालें । त्यसपछि त अब म पनि केहि गर्नेछु भन्ने सोच आयो । सोच सँगसँगै मेरो शरीरले सहज रुपमा काम गर्ने र आम्दानी गर्ने काम के हुन्छ भनेर खोज्न थालें । त्यसपछि मैले किराना पसल सुरु गरें ।  

मैले मंसिरमा छोरीसँग ५० हजार सापट मागें । अनि त्यही पैसाले सामान किनेर पसल थालें । अहिले दिनको १५ सय जतिका बिक्रि हुन्छ । त्यसबाट दिनको ४ सय देखि ५ सय कमाई हुन्छ । त्यही कमाईले अहिले मेरो घर व्यवहार चलिरहेको छ । म आफनो अबको जिन्दगी एघार महिना अगाडि फर्काउन्न चाहन्न । जुन जिन्दगीले मलाई हिनताबोध र निरासा वाहेक केहि दिएन । त्यतातिर फर्केर केहि फाईदा छैन ।    

 

 

(सर्लाहीको ग्रमिण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा हरिऔनमा संचालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा मनोसामाजिक परामर्शकर्ताको रुपमा कार्यरत दुर्गाप्रसाद भट्टराईले परामर्श दिएपछि फेरिएको जीवन बारे उहाँले नै गर्नुभएको कुराकानीबाट)

                                             

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

विदेश जाँदा लिएको ऋणले घर जग्गा साहुको कब्जामा। भिडियोः उज्यालो।