MENU

मेरो कथा मेरो भोगाई

म्यानपावरले नेपालकै एयरपोर्टमा च्यात्नु भनेको कागजात नै हाम्रो हतियार भयो

बुद्धि कुमार कार्की, भलायडाँडा ३, बिजनबारी गाउँ, उदयपुर

२०५९ सालमा एसएलसी पास गरेपछि घरमा जिम्मेवारी थपियो । त्यसैले घरको जिम्मेवारी पूरा गर्न कमाउनका लागि भारत गएँ । गाउँका दाइहरु पनि त्यही भएकाले काम पाउन गाह्रो भएन । तर त्यहाँको कमाइले आफुलाई खान लाउन मात्र पुग्ने भएकाले विदेश जाने सोच आयो । यो सोचले मलाई एउटा मात्रै होइन चार वटा देश घुमायो । म युएई, कतार, मलेसिया र साउदी अरब गएँ । यी चारमध्ये सबै भन्दा अविस्मरणीय यात्रा चाहिँ कतार जाँदाको रह्यो । त्यो पनि दोस्रो पटकको यात्रा । पहिलो यात्राले धेरै कुरा सिकाए पनि अप्ठेरोमा पर्दैन भन्ने जस्तो लाग्थ्यो । तर होइन रहेछ ।

मेरो पनि धेरै पैसा कमाउने घर परिवारमा खुसीको दिन ल्याउने रहर थियो । कुरा २०६६ सालको हो । आफन्त पर्ने गाइघाटको एजेण्टलाई पासपोर्ट दिएको दुई महिनापछि भिसा आयो । उनले काम गर्ने काठमाडौंको लाजिम्पाटमा रहेको शिखर इन्टरनेशनल म्यानपावर रहेछ । कतार जान ७७ हजार ५ सय लाग्ने बताएपछि मैले साहुबाट एक लाख रुपैयाँ सयकडा ३ रुपैयाँका दरले ऋण लिएर एजेण्टलाई बुझाएँ । पैसा बुझाउँदा भरपाई दिएन । कतारमा भर्खर खुल्न लागेको ठूलो एयरपोर्ट छ त्यहाँ ट्रली ब्वाइको रुपमा काम गर्नु पर्ने भनेको थियो । खाएर पनि नेपालको ३५ हजार रुपैयाँ बच्छ भनेको थियो । विदेश जाने प्रक्रिया मिलेपछि काठमाडांैमा मेनपावरको प्रेम सर भन्नेले लाजिम्पाटको एक होटलमा बोलाए । मैले भेटमा कम्पनी कस्तो छ, के काम गर्नु पर्छ भनेर सोधें । डिमान्ड लेटर हेर्न दिनु भनें । तर म्यानपावरले दिएन । उल्टै कति पढेको छस् भनेर सोध्यो । तै पनि मेरो पहिलो युएईको यात्राले केही कुरा सिकाएकै थियो । त्यसैले म सम्झौता पत्र पढ्न पढेर सबै जानकारी लिनुपर्छ भन्ने कुरामा अडिरहें । तर पनि पढ्न पाइन । 

भोलिपल्ट २ बजे अफिस आउनु भन्यो । भोलीपल्टको १२ बजे नै म्यानपावर पुगेँ । त्यहाँ   मसँग जान लागेका अरु ८ जना पनि थिए । म्यानपावरले हामी सबैलाई टिकट पासपोर्ट दियो । करारपत्रमा सहि गर्न लगाए । हामीलाई हस्ताक्षर गर्न लगाउने बेला करारपत्रमा लेखिएका सबै कुरा छोपेर हस्ताक्षर गर्ने ठाउँ मात्रै देखाइएको थियो । तर मैले पढेर मात्रै सहि गर्छु भनें । अरु कसैले पढेनन् तिमीले चाहिँ किन पढ्नु प¥यो भन्ने जवाफ पाएँ ।पढ्न नदिने भए म सहि गर्दिन भनें । त्यसपछि एकछिन बस्दै गर्नु भने । त्यतिबेला मैले गाइघाटको एजेण्टलाई फोन गरेर भनेँ करार पत्र नपढी कसरी सहि गर्नु, मलाई त विश्वास लागेन, यो त कन्ट्र्याकमा लगेर काम लगाउने जस्तो छ भनिदिएँ । एजेण्टले नै फोन गरेर होला, प्रेम सरले फेरी अर्को कोठामा लग्यो । मलाई सम्झौता पत्र पढ्न दिए । त्यसमा २६ दिन काम, हप्तामा ६ दिन काम गर्नु पर्ने र दिनमा ८ घण्टा काम गर्दा मासिक ९ सय रियाल अनि खानका लागि ३ सय रियाल लेखिएको थियो । 

ओभरटाइम कम्पनीको नियम अनुसार हुनेछ भनिएको थियो । अर्को सम्झौतापत्रमा थियो ११ घण्टा काम, ६ सय रियाल र २ सय रियाल सेलरी । मैले किन दुइवटा सम्झौता पत्र भनेर सोधें । उनले बताए अनुसार ९ सय लेखिएको सम्झौता पत्र नेपालको एअरपोर्टमा देखाउनका लागी अनि ६ सय रियाल लेखिएको चाहिँ विदेशका लागि रहेछ । यसो हो भने मलाई चित्त बुझेन भनेर गुनासो गरें । उनले त्यसो हो भने नजाँदा हुन्छ भनिदिए । मैले पनि पहिले भनिए बमोजिम हुनुपर्छ नभए म फर्किन्छु भनें । त्यसपछि मिलाएर पठाउछु भनेर फकाउन थाले । त्यसपछि अर्को कोठामा बोलाए । त्यहाँ हामीलाई म ८ सय मासिक तलबमा जान लागेको भन्नु भनेर अह्राए अनि जहाज उड्ने समय हुन लाग्यो जहाज छुट्यो भने हामी जिम्मेवार हुने छैनौं भनेर अत्याउन थाले । ऋण काढेको पैसा एजेण्टलाई बुझाइसकेकाले विदेश जानु पर्ने बाध्यता नै थियो । त्यसैले ८ सय तलबमा काम गर्न तयार छु भनेर प्रतिबद्धता जनायौं । त्यो रेकर्ड सिसी क्यामेरामा कैद गरिएको रहेछ । प्रत्येक जनालाई कागजात दिँदै भन्न थाल्यो ९ सय प्लस ३ सय लेखिएको कागजातहरु नेपालको एयरपोटबाट उडेपछि सबैले फ्याँक्नु यदि फ्याँकेन भने पुलिसले समात्छ भनेर डर पनि देखायो ।  

यसरी विदेश जानु पर्दा मलाई एकदमै डर लागेको थियो । अनि सचेत पनि थिएँ । त्यसैले मैले उड्नु भन्दा पहिले नै म्यानपावरले दिएका दुवै कागजातको फोटाकपी गरें । अनि ती कागजात एयरपोर्टमा आएकी माइजुलाई दिएँ । आफूले पनि एक प्रति फोटोकपी लिएर गएँ । हाम्रो यात्राको ट्रान्जिट युएईमा थियो । कतारको जहाज पर्खिंदा साथीहरुले म्यानपावरले भने अनुसार कागजातहरु सबै फ्याकी दिए । मैले नफ्याँक्नु भन्दा पनि कसैले मानेनन् । तर उदयपुरकै पदम कार्की र काठमाडौं ठमेलका एक जना साथीले चाहीँ फ्याक्नु भएन । कतार पुगेपछि थाहा भयो हामीले ट्रली ब्वाईको होइन क्लिनरको काम गर्नु पर्ने रहेछ । तलब पनि ६ सय रियाल । खानाका लागि २ सय रियाल दिने रहेछ । काम गर्न थालेको दोस्रो दिनदेखि नै काम गर्नुपर्ने समय बढ्न थाल्यो । पैसा कमाउन विदेश गएपछि काम गर्नुपर्छ भन्ने सोच त थियो तर काम गरे अनुसार तलब नभएपछि मनै मरेर आयो । नेपाली पैसा ३५ हजार हुन्छ भन्थ्यो । तर त्यसको आधा मात्रै भयो । कम्पनीले पनि यहाँ जस्तै ८ सय तलब भएको कागजात सहि गर्न लगाए । अरुले त सहि गरे तर म सहित तीन जनाले भने ९ सय प्लस ३ सयमा आएको हो भन्दै त्यही अनुसार तलब र सुविधा नपाए काम गर्दैनौं भन्यौं । 

त्यसपछि म्यानेजरले तिमीहरुको एजेण्टले के भनेको छ म जान्दिन यति मात्र दिन्छु भन्यो ।  १६ घण्टा खटेर पनि ८ सय मात्र मैले यसो हिसाव गरेँ तर साहुको ब्याज, घरखर्च, आफूलाई खान नधान्ने रैछ । त्यसैले त्यो पत्रमा हस्ताक्षर गरिन । त्यसपछि त म सहित तीन जना साथीलाई कोठा खाली गर भनेर धम्क्यायो । त्यसपछि न्याय पाइन्छ कि भनेर नेपाली दूतावासमा पुग्यौं । त्यतिबेला श्रम सहचारी इन्द्रदेव पाण्डे र राजदूत माया कुमारी शर्मा हुनुहुन्थ्यो । उहाँहरुलाई सबै कुरा बताएपछि कम्पनीको मान्छे बोलाइयो । 

कम्पनीको मान्छे आएर १३ सय तलब दिने भनेर गइयो । तर कम्पनीले दिएन बरु हामीमाथि नराम्रो व्यवहार देखाउन थाल्यो । वास्तवमा हामीलाई विदेशमा खानै नपाएर गएको झैं व्यवहार गर्छन् । खान नपाएर मर्न किन नपरोस् तर यस्तो व्यवहार खप्न सकिएन । त्यसपछि फेरि हारगुहार गर्न दूतावास गयौं । हाम्रा बारेमा पत्रिकामा खबर पनि प्रकाशित भयो । त्यसपछि कम्पनीको मान्छे दूतावासमा गएर म यिनीहरुले भने अनुसारको काम र तलब दिन सक्दिन नेपाल फर्काउँछु भन्यो । हामी त कामगर्न गएका थियौँ त्यसैले कामगर्न चाहन्थ्यौं । 

मैले गाइघाटको एजेण्टलाई फोन गरेर यी सबै कुरा बताएँ । उनले सहयोग गर्छ भन्ने धेरै आशा लागेको थियो तर उल्टो भयो । बढी किचकिच गरिस् भने उतै कुहाइदिन्छु भनेपछि मेरा सबै सपना खरानी भए । तीन जना २७ दिनमा नेपाल नेपाल फिर्ता भयौं । हामी ठगिएका थियौं । तर हामीले त्यति बेला एयरपोर्टमा नच्यातेको कागजपत्र नै हाम्रो हतियार भयो । त्यही कागजका आधारमा हामीले म्यानपावरबाट प्रतिव्यक्ति ५७ हजार ५ सय रुपैयाँ फिर्ता पायौं । अबदेखि विदेश नजाने भन्ने सोचेको थिएँ । तर घरमा साहुको ऋण बढेको बढेकै भएर फेरी मलेसिया गएँ । त्यसपछि साउदी अरब गएँ । साउदी अरब मेरो वैदेशिक रोजागरीको अन्तिम देश बनोस् भन्ने चाहन्छु । अहिले म जिल्ला विकास समिती उदयपुरले सञ्चालन गरेको सामी परियोजनामा रिटर्नी भोलेन्टियरका रुपमा काम गरिरहेको छु । हामी विदेश जाने बेला जानकारी र सीप तालिम दिने संस्था थिएनन् । म आफू त ठगीमा परें । तर मजस्ता विदेश जानेहरु ठगीमा नपरुन । 

(प्रस्तुती : रमा मगर, परामर्शकर्ता, जिल्ला समन्वय समितिद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी) 

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

विदेश जाँदा लिएको ऋणले घर जग्गा साहुको कब्जामा। भिडियोः उज्यालो।