MENU

मेरो कथा मेरो भोगाई

बेलायत जाने चक्करमा बेचेकाे घर उकास्न साउदी

नबराज बिसी ।

म साइबर चलाएर खुसिका साथ नेपालमै बसेको थिएँ । आम्दानी राम्रो नभए पनि कसैको अन्डरमा बस्न नपर्ने र परिवारसँग बसेर सामान्य तरिकाले जीवन बित्दै थियो । 

एक दिनको कुरा हो । जब म इमेलमा च्याट गर्दै गर्दा म्यासेन्जरमा अचानक नचिनेको मान्छेको म्यासेज आयो । सामान्य हाई हेल्लो पछि उसले आफ्नो परिचय दिन थाल्यो । 

उसले भन्यो ‘मेरो नाम चर्चिल पिङ्टोन हो । म अमेरिकामा बस्छु । यहाँ साततारे होटेल छ । जस्को नाम हो ओल्ड बेलि होटल, म यसको मेनेजर हुँ ।’ 

मैले पनि भारतको राची भन्ने ठाउँमा क्यापिटल रेसिडेन्सी भन्ने ठूलो चलेको होटलमा र ओमानमा इटालियन रेस्टुरेण्टमा काम गरिसकेको छु भनें । उसले झन् खुसीहुँदै सोध्यो, ‘के छ बिचार ?’

यो होटेलमा आउने भए मैले पठाएको फारम भर भन्यो । मेरो इमेल आइडी मागेर फारम पठायो र मैले भरें । अर्को दिन बधाईं छ तिमी छनौट भयौ भन्यो । 

त्यसपछि सम्झौता पत्र दियो । जसमा ओल्ड बेलि होटेलको लोगो सहितको मासिक तीन लाख ७५ हजार रुपैयाँ र हप्तामा ४८ घण्टा काम गर्नु पर्ने लेखिएको थियो । 

साइन गरेपछि स्क्यान गरि पठाएँ । बेलायतको दूतावास भारतको मुम्बाइमा छ, जति सक्दो छिटो एप्लाइ गर भन्यो र त्यहीँ को कन्सुलरको नम्बर भनेर भारतिय मोबाइल नम्बर दियो । उसले भनेअनुसार गर्नु भनेको थियो ।

उसले भनेको कन्सुलरले एप्लाइ गर्न २५ हजार लाग्छ भन्यो । म सँग भएको पैसा उसको खातामा जम्मा गरिदिएँ । 

केहि दिन पछि फेरि ५० हजार लाग्छ भन्यो । तर मसँग त्यो रकम थिएन । मैले घरमा यो सबै सुनाएँ । आमा बाले त्यति धेरै तलव छ, छोराको भविश्यको सबाल छ भनेर घर नै बेचेर मलाइ दिनुभयो । पैसा पठाउने दिन नेपाल बन्द थियो । बुटवलबाट साइकल चढेर भैरहवा हुँदै सुनौलि पुगेर एस बि आइ बैंकमा पैसा जम्मा गरें ।  लगतै फेरि फोन आयो । 

उसले भन्यो वधाईं छ नवराज ९० प्रतिशत काम सकियो । अव ट्राभल खर्च ५० हजार  रुपैयाँ पठाइदेउ तिम्रो काम सकिन्छ भन्यो । 

अनिचाहिँ मलाइ कतै ठगिएको त हैन भन्ने संका लाग्यो । फोन गरेर भने तपाईंले भनेको पैसा त दिन्छु तर पहिले भेटौं अनि दिन्छु भनें । बेलायत दूतावासको ठेगाना दिएर मुम्वई रेल्वै प्लेटफर्ममा लिन आउँछु फोन गर्नु भन्यो । त्यो दिन झण्डै एक बजेको थियो । 

नेपाल बन्द थियो । जानै पर्ने बाध्यता भएपछि म साइकलमा सुनौलीसम्म गएँ । पुलिस चौकिमा सकल थन्काए र सुनौली गोरखपुर हुँदै मुम्बाइको यात्रा तय गरें । 

बिहानै मुम्बई पुगें तर उसले फोन गरिन । किनकि ठग रहेछ भने जे पनि हुन सक्छ भनेर सोचें र सिधै उसले दिएको ठेगानामा गएँ साच्चै बेलायतको दूतावास रहेछ ।

भित्र जान खोजें तर जान दिएन गार्डले । बरु भित्र बाट एक जना मान्छे आयो । सबै कुरा सुनाएँ र उस्ले मलाइ पठाएको कगजपत्र सबै देखाएँ । भित्र लिएर गयो, एकछिनपछि बाहिर आएर भन्यो, ‘बाबू तिमी त ठगिए छौ, यस्तो कागजपत्र लिएर महिनामा धेरै मान्छे आउने गर्छन, एउटा कुरा याद गर एम्बेसी द्वारा हुने कामहरुमा पहिलै पैसा दिन पर्दैन ।’

मलाई तुरुन्त क्राइम ब्रान्चमा जाउ र कम्प्लेन गर भनेर पठायो । त्यो मान्छेले के के बोल्दै थियो तर म सुनिसक्ने हालतमा थिएन । हात खुट्टा लगलग कामिरहेका थिए, मन भित्र ठूलो पहाड ढले जस्तो भैरहेको थियो । घरमा के भन्ने होला, घर बेचेर बसेका बाबू आमालाई के भन्ने होला, कसरी मुख देखाउने होला भनी ठूलो चिन्ताले सताइरहेको थियो । 

हिम्मत गरेर क्राइम ब्रान्च गएँ ।  झण्डै एक घण्ट पर्खेपछि पालो आयो सब कुरा सुनाइसकेपछि यो घटना नेपाल बाट भएको रैछ, त्यसकारण तिमी नेपाल बाटै उजुरी गर भनेपछि कुरै सकियो । 

त्यो दलाललाई कल गरें । केही उपाए भेटिन्छ कि भनेर सुरुमा उठायो, म मुम्बाइ आइपुगें भन्दा बितिक्कै फोन कटियो, फेरि गरेको उठाएन । त्यसपछि मोवाइल बन्द गर्‍यो । 

रित्तो हात मनभरी पीडा र बेदना लिइ मुम्बई बाट बिदा भएं । सुनौली आएर गेटमा उभिएका एक प्रहरी दाइलाई सुनाएँ सबै कुरा । उनले भने ‘असम्भब छ भाइ, नेपाल भित्रैका गुन्डा पक्रिन सकिएको छैन, अब बिदेशको कुरै नगर ।’ अहिले म साउदीमा छु, तर त्यो  अतित सम्झिंदा अझै पीडा हुन्छ ।

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

ओमानमा कार्यरत नेपाली युवाहरु नयाँ वर्ष वि.स. २०७४ हर्षोल्लास पुर्वक मनाउदै। ​ तस्बिरः राजु कुमार श्रीवास्तव / ओमान