MENU

मेरो कथा मेरो भोगाई

​तपाईंसँग सीप छ ? विदेशबाट फर्किए पनि काम पाईंदैन भन्नै पर्दैन

कमल श्रेष्ठ, तारकेश्वर नगरपालिका–१६

म अहिले त काठमाडौं तारकेश्वर नगरपालिका–१६ फुटुङको स्थायी बासिन्दा भएको छु तर पुरानो घर रामेछापको सुकाजोर गाविस–१ रजयछाप हो । 

२०५७ सालमा पुख्र्यौली थात थलो रजयछापमा भविष्य उज्वल नहुने देखेपछि पुर्खौली थलो छोडेर नव बिवाहित दुलहीलाई साथमा लिएर काठमाडौं छिर्दा मसँग गोजीमा ५० रुपैयाँ मात्र थियो । उमेरले ४३ वर्ष टेके पनि मसँग काम गर्ने जोस जाँगर थियो तर पढाइलेखाई थिएन । त्यसैले जागिर पाउन सजिलो थिएन । र पनि मलाई आफू र श्रीमतीको ज्यान त कुल्ली काम गरेर भएपनि पाल्छु भन्ने थियो । यही आँट लिएर राजधानी छिरेको सुरुमा आफन्तकै कोठामा बसें । तर काठमाडौंको बसाई त्यो पनि साँघुरो कोठा, किनेको पानीदेखि चामलसम्म त्यसैले आफन्तले सिधै त भनेनन् तर पनि कोठाबाट गइदिए हुन्थ्यो जस्तो गरेको मैले बुझें । त्यसपछि अर्कै ठाउँमा आफैं कोठा लिएर दैनिक ज्यालादारीमा डकर्मीको काम गर्न थालें । 

त्यतिबेला काठमाडौंमा ८ घण्टा मजदुरी गरेको ज्याला १०० रुपैयाँ मात्रै थियो । मैले दैनिक १२ घण्टा सम्म मात्र ज्यालामा काम गरेर बेलुका बागमतीमा बालुवा चाल्ने काम पनि गरें । एक वर्ष  काम गरेपछि खाएर कोठा भाडा तिरेर बचेको ७० हजार रुपैयाँ बल्खुको एक म्यान पावरलाई बुझाएर टाएल फिनिसिङ हेल्परको  काममा २०५८ सालमा श्रीमती र काखे छोरालाई छोडेर पहिलो पटक कतार पुगें । 

जानु अघि एजेन्टले मासिक ८ सय ५० रियाल हुने अनि खाना र बासको सुबिधाका साथै ओभर टाइम पनि छ भनेको थियो । तर कतार पुगेपछि मलाई महिनाको ६ सय रियाल मात्रै दियो । अनि खानाको पैसा पनि आफैं तिर्नुपर्यो । त्यसैले महिनाको चारसय रियाल बच्थ्यो । त्यसैले म्यानपावरमा फोन गरेर भने जस्तो तलब भएन भनेर कुरा गरें । म्यानपावरले हामी कुरा गर्छौं भन्यो । कुरा गरे कि गरेनन मैले थाहा पाइन तर मेरो तलब चाहिँ बढेन । 

तर पनि मैले बाध्यता सम्झिएर दुःख गरिरहें । त्यसैले  दुई वर्ष कतार बसेर नेपाल फर्किंदा मैर दुई लाख ५० हजार रुपैयाँ बचाएर ल्याएँ । यही पैसाले काठमाडौं ग्रामिण भेगमा पाँच आना जग्गा किनें । २०६१ फेरि पनि त्यही कम्पनीमा काम गर्न गएँ । दोस्रो पटक चाहिँ कम्पनीले मासिक आठ सय ५० रियाल दियो । ओभरटाइम पनि नियमित जस्तै पाएपछि मैले २०६४ सालमा नेपाल फर्कदा सात लाख रुपैयाँ बचाएर ल्याउन सकें । 

त्यसपछि त पहिले किनेको जग्गा बेचेर त्यसमै पैसा थपेर तार्केश्वर नगरपालिका–१६ फटुङमा घडेरी किनेर ४ कोठाको पक्की घर बनाएको छु । घर बनाउने धेरै सीप आफूसँगै भएकोले धेरै कामदार लगाउनुपरेन । त्यसैले कामदारले लाने ज्याला बचाएँ । परिवारबाट पनि मलाई राम्रो सहयोग छ । म विदेश हुँदा मैले पठाएको पैसा श्रीमतीले जोगाइदिएकी थिइन् । जसले मलाई सजिलो भयो । अहिले छोरा र श्रीमती आइस क्रिम फ्याक्ट्रीमा जागिर गर्छन् । 

विदेशबाट फर्किएपछि धेरैलाई के काम गर्ने भन्ने तनावले सताउँछ । तर म यो मामलामा ढुक्क छु । किनकी मसँग विदेश जानुभन्दा पहिल्यैदेखिको डकर्मीको सीप थियो । त्यसैले अहिले त्यही काम गरेर एकदिनमै १५ सय कमाउँदैछु । त्यसैले तपाईंको हातमा सीप छ भने विदेश गएर फर्किएपछि पनि के गर्ने भनेर तनाव लिनै पर्दैन । 

(सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारका सामाजिक परिचालक राजुविक्रम बस्नेतले गर्नुभएको कुराकानीबाट)

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।