MENU

मेरो कथा मेरो भोगाई

रिंगिटको भाउ घट्यो, असुरक्षा बढ्यो त्यसैले अब मलेसिया जान्न

शिव कुमार बस्नेत/रामेछाप नगरपालिका ७, रामेछाप ।

पहिलो पटक मलेसिया पुग्दा घरमा भित्रिएकी नयाँ दुलही जस्तै अलमलमा परेको थिएँ । पहिलो पटक घर छाडेर हिँडेको मलाई विदेश भनेपछि त के के न होला जस्तो लाग्थ्यो ।

त्यसैले त यहाँ गर्दै गरेको काम छोडेर विदेश जाने सुर गरें । २०६० सालसम्म बिस्कुट फ्याक्ट्री चलाइरहेको थिएँ । तर माओवादी द्वन्द्व चर्किएपछि बन्द गरें । त्यसपछि मलेसिया गएँ । 

मलेसियामा शनिबार र आइतबार बिदा हुँदो रहेछ । म शनिबार नै पुगेको थिएँ । एक दिन एक रात म एयरपोर्टमै बसें । कम्पनीका मान्छे लिन नआएको मलाई मात्रै होइन रहेछ । २२ दिनदेखि कम्पनीका मान्छे लिन नआएर अलपत्र परेकाहरु पनि रहेछन् । उनीहरुलाई हेरेर चित्त बुझाएँ । ]

दुई दिनपछि लिन त आयो तर कम्पनीमा लगेन । मान्छे राख्ने ठाउँ त थुनेर राख्ने ठाउँ जस्तै रहेछ । त्यही जेल जस्तो ठाउँमा कैदीलाई जस्तै गरेर राखे । त्यति बेला कहाँ फसेंछु भन्ने लागेर रुन्थें । त्यसको केहि दिनपछि मात्र काममा लगायो । काठका सामान बनाउने ठाउँमा काम गर्नु पथ्र्यो । तर तलब भनेको जस्तो थिएन् । 

दुःख धेरै भए पनि फर्किने आधार थिएन । त्यसैले जेनतेन २ वर्ष पुरा गरेर घर फर्किएँ । तर घर आएर के गर्नु गर्ने केही थिएन । त्यसैले फेरि पनि मलेसिया नै गएँ ।त्यतिबेला चाहिँ म सेक्युरिटी गार्ड गएको थिएँ । पहिलाको भन्दा सेक्युरिटी गार्डको काम राम्रो भयो । कमाई पनि ठिकै थियो । मेरो काम सिसी क्यामेराबाट निगरानी गर्नुपर्ने थियो । 

तर दुर्भाग्य भनौं कि के भनौं मलेसियन रिंगिटको भाउ घटेर एक रिंगिटको ३० बाट २३ रुपैयाँमा झर्‍यो । त्यति मात्रै होइन । त्यहाँका स्थानीयले पैसा माग्ने, कुट्ने, लुट्ने भनेको जस्तो नभए मारिदिन थाले नेपालीलाई । अर्कातिर नेपालीबाटै पनि नेपाली असुरक्षित भए । स्थानीय चोरसँग मिलेर नेपालीले पनि नेपालीलाई लुट्न थाले । त्यतिबेला मानवीयता भन्ने कुरा सकिएछ जस्तो लाग्न थाल्यो । 

त्यसैले तीन वर्ष बसेर फर्किएँ । मैले दुई पटक गरेर मलेसियामा ६ वर्ष बिताएँ । अहिले एक महिनाको छुट्टि लिएर नेपाल आएको छु । तर पैसाको मूल्य घटिरहको छ । त्यसमाथि पनि म मलेसियामा सुरक्षित हुन्छु जस्तो लाग्दैन । त्यसैले अब मलेसिया नजाने सोच बनाएको छु । बरु नेपाल मै केही गरेर बस्छु । 

तपार्इं पनि मलेसिया जाँदै हुनुहुन्छ भने बुझेर मात्र जानुहोला । नत्र कति बेला चोर डाकाहरुको सिकार भइन्छ पत्तो हुँदैन । मलेसियामा अंग्रेजी बोल्न सक्ने, अलिकति हातमा सिप छ भने सबैलाई नराम्रो हुन्छ भन्ने हैन् । तर राती तिर एक्लै बाहिर हिँड्नु हुँदैन । साथीहरुसँग मात्र हिँड्न पर्छ । आफ्नो सुरक्षा आफैं गरेन भने ज्यान पनि जान सक्छ । 

(सन्जिता देवकोटाले गर्नुभएको कुराकानीबाट

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

विदेश जाँदा लिएको ऋणले घर जग्गा साहुको कब्जामा। भिडियोः उज्यालो।