MENU

मेरो कथा मेरो भोगाई

साइकोनलाई साइकल कम्पनी भन्ने बुझ्दा पानी जहाजको पाता बनाउनु पर्‍याे

पूर्णबहादुर माझी/मन्थली गाइखोरा, रामेछाप ।

म अहिले ३४ वर्षको भएँ । तीन जना छोरीसहित मेरो पाँच जनाको परिवार छ । तर परिवारको खर्च चलाउने कुनै माध्यम थिएन मसँग । तीन जना छोरीलाई पढाउने पैसा पनि भएन । त्यसैले परिवारको खर्च जुटाउन र छोरीहरुलाई पढाउन २०६५ सालमा मलेसिया गएँ ।


कम्पनीको नाम साइकोन रहेछ । तर हामीले साइकल कम्पनी भन्ने बझ्यौं । तर हाम्रो बुझाई गलत रहेछ भन्ने त्यहाँ पुगिसकेपछि थाहा पायौं । त्यहाँ हामीले पानी जहाजको पाता बनाउनु पथ्र्यो ।

हामीलाई महिनाको  न्युनतम तलब पाँच सय ४१ रिगिंट थियो । कम्पनीले  पछि बढउछु भनेर आश्वासन दिन्थ्यो तर आश्वासन मात्रै भयो । दुई वर्ष काम गर्दा पनि एक रुपैयाँ बढेन । भाषा नजान्दाको समस्या पनि त्यतिकै थियो । त्यसैले तीन वर्ष बसेर म फर्किएँ ।

राम्रो कमाई गर्न नसकेपछि फर्किए पनि घरमा ११ महिना बसेपछि विदेश नै जान मन लाग्यो । त्यतिबेला मलाई आफ्नै भान्जाले कतार पठाए । उनले मलाई यहाँ सिसा पुछ्ने काम भनेका थिए तर मैले त्यहाँ कारपेन्टरको काम गर्नुप¥यो । त्यै पनि काम फेरिरहने । काम फेरेर गरिरहँदा पनि तलब चाहिँ भनेको जस्तो भएन । 

पछि कम्पनीले नै हाउस किपिङको तालिम दियो । कामको माग अनुसार मानिसहरु कम्पनीले पठाउँथ्यो । तालिम दिएपछि मैले सुपरमार्केटमा हाउसकिपिङको काम पनि गरें । त्यहाँ बस्ने सुविधा थियो ।

एक वर्षपछि अमेरिकन आर्मीको क्याममा अफिस ब्वाईमा हाल्दियो । त्यहाँको काम साह्रै गाह्रो । दिन भर चिया र पानी दिँदैमा हैरान भइन्थ्यो । कतार पनि दुई वर्ष नै बसेर फर्किएँ  ।

तर यतिञ्जेल न कमाउन सकें न जमाउन नै । त्यसैले फेरि पनि विदेश नै जानुपर्ने बाध्यता भयोे । दुई ठाउँमा पाएको दुःखले सीप सिकेर  जानु पर्ने रैछ भन्ने बुझिसकेको थिएँ । त्यसैले काठमाडौंमा प्लम्बरको तालिम लिएँ अनि तेस्रो पटक चाहिँ दुवई गएँ  । दुवईमा महिनाको १९ सय दिर्हाम तलब पाउँथें ।

कमाई राम्रो हुन थालेको थियो । त्यतिबेला बिरामी परें । मेरो पिँडुला दुख्थ्यो । चार महिनासम्म त वास्ता नगरी काम गरें । तर चार महिनापछि खुट्टै नचल्ने भयो । चर्पी जान पनि नसक्ने गरी दुख्थ्यो । उपचार गर्न हेल्थ कार्ड बनेकै थिएन् । 

बिरामी भएपछि हेल्थ कार्ड बन्यो अनि अस्पताल गएँ । तर केही रोग देखिएन । अस्पतालले दुख्ता लगाउनु भनेर मल्हम दिएको थियो । तर त्यो मल्हम लगाउँदा पनि सुनिन छोडेन । खुट्टा चलाउन नसक्ने भएपछि म छुट्टी लिएर पाँच महिनामै घर फर्किएँ । 

अहिले दुवई हुँदाको जस्तो सुनिएर चलाउनै नसक्ने समस्या छैन । अलिअलि दुख्छ तर माछा मार्न चाहिँ सक्छु । यो मेरो पुख्र्यौली पेशा पनि हो । त्यसैले अहिले माछा मारेरै घर खर्चमा धेरथोर सहयोग गरिरहेको छु । फेरि यो त सिजनको बेला न हो । नदिमा भेल आएको बेला त कसरी माछा मार्नु ? 

सँधैका लागि यसले पनि कमाउन र घर चलाउन त समस्या नै छ । त्यसैले पनि पुरै ठिक भएपछि फेरि पनि विदेश नै जानुपर्ला भन्ने सोचिरहेको छु । तर अब जाँदा चाहिँ जाने देश, गर्नुपर्ने काम सबै कुरा बुझेर र सिकेर मात्रै जान्छु । 

(सन्जिता देवकोटाले गर्नुभएको कुराकानीबाट)

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।