MENU

मेरो कथा मेरो भोगाई

श्रीमानको विदेशमा ज्यान जाँदा रोएर बसेको भए मेरो हालत के हुन्थ्यो ?

ज्ञानीकुमारी हुबदार ( चौधरी ), गौरीशंकर सुकना, सर्लाही

फोनमा कुराकानी गर्दा दुई वर्षमा अब विदेश नफर्किने गरी घर आउँछु भन्नुभएको थियो । तर घर आउन पाउनुभएन । उहाँको साउदीमै ज्यान गयो ।  ऋण खोजेर पठाएको १ लाख ५० हजार रुपैयाँ चाहिँ उहाँले तिर्नुभएको थियो । ऋण तिरेर के गर्नु अब त उहाँ नै रहनुभएन । 


६ वर्षको छोरा अजित र म असहाय भयौं । त्यतिबेला सबैले सान्त्वना दिन्थे । के गर्नु यस्तै रहेछ भनेर चित्त बुझाएँ अरुका छेउमा । सबै मानिसहरुको अगाडि मन बुझाएपनि आफूले आफैंलाई कमजोर भएको महसुस गर्दथे । अब मेरो र छोराको जिन्दगी के गर्ने होला भन्ने कुरा झल्यास्स मनमा आउँथ्यो ।

सानो गल्तीले गर्दा आर्थिक साहायता पनि पाएनौं । करार अवधी नागेकोले गर्दा प्रवद्र्धन बोर्डबाट किरिया खर्च भनेर १० हजार रुपैयाँ मात्रै दियो । श्रीमानको ज्यान गएपछि दुई चार महिना सबै आफन्तले हेरचाह गरे । तर त्यसले निरन्तरता पाएन । पाउने कुरा पनि भएन । किनकी कहाँ सँधै सबैले अरुलाई नै सहयोग गरिरहन्छन र । 

साथ नपाएपछि मलाई दैनिकी चलाउन निक्कै गाह्रो हुन थाल्यो । ज्यालामा काम गर्न त थालें तर त्यो सँधै हुँदैनथ्यो । त्यसै गर्दै पाँच वर्षसम्म जेनतेन गुजारा चलाएँ । 

तर २०७३ वैशाखमा मलाई अर्कै सोचाइ आयो । दिनमा दुई छाक भात खानु मात्रै केही होइन जस्तो लाग्यो । छोरालाई पढाउनु पनि थियो । उसका आवश्यकता पनि पूरा गर्नु थियो । त्यसैले गएको जेठ १ गतेदेखि गौरीशंकर गाविस भित्रको कच्ची सडक रेखदेखको काम गर्न थालें ।

सुरु सुरुमा महिलाले के यस्तो काम गरेको होला भनेर गिज्याए । तर मैले हिम्मत हारिन । काम के सानो के ठूलो के महिला के पुरुष जस्तो लाग्यो । अहिले मेरो काम सडकको रेखदेख र भत्केको ठाउँ मर्मत गर्ने हो । यो कामबाट मैले महिनाको १० हजार रुपैयाँ पाउँछु । त्यसैले हामी आमा छोराको दैनिकी चलाउन अरुसँग सहयोग माग्नु परेको छैन । 

तर बिमार भयौं भने ऋण बढ्छ । मेरो लक्ष्य भनेको छोरालाई पढाउने र ठुलो मान्छे बनाउने हो । अहिले म सोच्छु यदी रोएर बसेको भए मेरो हालत के हुन्थ्यो । मलाई लाग्छ जीवनको अर्को नाम भनेकै सघर्ष नै रहेछ । तर हामी संघर्ष गर्न डराउद दुख पाउने रहेछौं । 

(सर्लाहीको ग्रमिण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा हरिऔनमा संचालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रका मनोसामाजिक परामर्शकर्ता दुर्गाप्रसाद भट्टराईले गरेको कुराकानीका अाधारमा )

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।