MENU

मेरो कथा मेरो भोगाई

परदेशबाट फर्कंदा पाँच दिन हिँडेर घर पुगें

राम बहादुर बस्नेत/गुल्मी, हाल कुवेत ।

२०६१ वैशाख २८ गतेको मेरो यात्रा बिर्सन खोजे पनि कहिल्यै बिर्सन नसक्ने बनेको छ ।  रोजगारीका क्रममा त्यति बेला म भारतको गाजियावादमा थिएँ । झण्डै डेढ वर्ष भैसकेको थियो परिवारबाट टाढिएको । 

लामो समयपछि छुट्टि पाउने पाउने भएपछि घर आउने तरखरमा थिएँ । मेरो साथमा सँगै काम गर्ने साथीले गाउँमा आफन्तलाई उपहार पठाउने भए । साथीहरुको सामन गरी झण्डै ३० किलो भयो । 

धेरै पछि घर फर्कन पाएकोमा मन खुसी थियो । तर साथीभाइसँग छुट्टिनु पर्दा दुखी पनि थिएँ । घर आउने भएपछि बिदाइका बेला साथीहरुसँग सानो जमघट गरियो । भोलिपल्ट बिहान पाँच बजे बस चढें । साथमा एक जना साथी पनि थिए ।

झण्डै २८ घन्टाको बस यात्रा पछि हामी सुनौली पुग्याैं  । सुनौली सिमाका नेपाल प्रहरीको अवस्था देख्दा म चकित भएँ । मनमा अनेक प्रश्न उब्जिए । सुनेको थिएँ, सिमामा प्रहरीले पैसा लिन्छन् । नेपालीलाई ठग्छन् । 

तर त्यो दिन त्यस्तो भएन् । उनीहरुले पैसा लिएनन् । मैले सोधे, ‘दाइ किन पैसा नलिएको’ उनले जवाफ दिए, ‘के लिनु भाइ आज देखि १८ दिन नेपाल बन्द छ । बरु राम्रोसँग जाउ बाटोमा दुःख पाउलाउ ।’

मेरो हातखुट्टा गले । घर पुग्न अतालिएको मन थकित भयो । अब घर कसरी पुग्ने ? भारत फर्कौं त बल्ल बल्ल घर आइएको छ । जे होला भनेर नेपाल तिरै लागियो । 

त्यतिबेला देश संकटकालिन अवस्थामा थियो । माओवादीको युद्धको झण्डै ९ वर्ष भएको थियो । जताततै त्रास मात्र थियो । परिवार भेट्ने चाहनाले मन हतारमा थियो । म बुटवल तिर लागें । 

तराईमा गर्मी अच्चाक्ली थियो । ८ सय रुपैयाँमा रिक्सा रिर्जभ गरेर बुटवल लागियो । बुटवल आइपुग्न झण्डै चार घण्टा लाग्यो । बुटवलको नयाँगाउँ होटेलमा बस्ने व्यवस्था गरियो । १८ दिन बुटवल बस्नु भन्दा हिडेरै घरमा जाने सल्लाह भयो । भोलिपल्ट बिहान अर्थात बैशाख २९ गते तम्घास तिर लागियो ।

साथीको शरीर पातलो थियो । हिँड्न पनि सक्ने । म ८० किलो भन्दा धेरै भएकाले ज्यान पनि मोटो । हिँड्न निकै गाह्रो भयो । ३० किलोको झोला पनि साथै लैजानु पर्ने भएकाले  यात्रा निकै कठिन थियो ।

पक्की सड्कको गर्मीले मेरा खुट्टाका छाला पिल्सिन थालेका थिए । एक घण्टामा चार किलोमिटर जति पार गरियो । उकालोमा साथीहरुले पनि छाडेर अगाडि गइ सकेका थिए । 

साथीहरुले पाल्पाको तानसेनमा पर्खने बताएका थिए । निकै कष्ट पछि म १२ घण्टा लगाएर साँझ ५ बजे तानसेन पुगें । मेरा साथीहरु खोजें तर भेटिन् । तानसेनमा आन्दोलन चर्किरहेको थियो । 

तानसेनको एउटा मेडिकलमा खुट्टामा मलमपट्टि बाँधेर म फेरि बाटो लागें । बेलुकीको ७ बज्यो । बतासेमा बास मागें । तर उनीहरुले खाना मिल्छ, बास मिल्दैन तल बजार जानु पर्छ भनेपछि जोर्तेमा गएर बास बसें । साथीहरु बाटोभरी कतै भेटिएनन । 

यस्ता धेरै दुःख सहेर पाँच दिनको हिडाइ पछि घर पुगें । संसार जिते झैं लाग्यो । घरमा सबै सुतिसकेका रहेछन् । ढोका ढक्ढक्याँए । तर ढोका खुलेन । माओवादीले यसरी नै राती राती ढोका ढक्ढक्याएर होला । 

रातभरी त्यसै बसें । बिहान भएपछि मात्रै परिवारसँग भेट भयो । घर पुग्दाको क्षण शब्दमा बयान गर्न सक्दिन । म त्यती खुसी थिए । तर त्यो यात्रामा भोगेका दुःख मेरो मनबाट कहिल्यै हटेन ।

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।