MENU

मेरो कथा मेरो भोगाई

परदेशमा अस्पतालको बेडमा सुत्दा आमा अगाडी भैदिए हुन्थ्यो झैं लाग्थ्यो

हरि थापा/दोलखा

साच्चिकै मेरो मन चञ्चल हुदै थियो । आत्तिएको थियो । परदेशमा एक्लोपनले खाँदै थियो । अर्काको देशमा कसको के वास्ता र । पसिनाले ज्यान निथ्रुक्कै भिजेको थियो । परिवारको सम्झनाले मन आत्तिरहेको थियो । कति दिन यसरी दिन बिताउने परदेशमा कमाउन आएको मन र दिमाग थिरमा बस्न छाड्यो ।

मलाई मौसमी रुघाखोकी र ज्वरोले सताएको थियो । नीजि क्लिनिकमा गएर औषधि ल्याएको थिएँ । केहि समय आराम गर्नु भनेको थियो । तर मलाई एक्लै कोठामा बस्ने मनै थिएन् । 

सन्चो नभएर पनि होला घरको साह्रै याद आइरह्यो । साथीभाइले विदेशमा कमाएको छस मोज मस्ति छ भनेको सम्झिएँ । आफ्नो अवस्था देखेर नरमाइलो लाग्यो । ज्यानलाई गाह्रो भैरहेको थियो । छटपटिले रातभर निदाउन सकिन । 

बिहान उठेर क्लिनिक गएँ ।  क्लिनिकले यहाँ हुदैन सरकारी अस्पताल जाउ भनेर पत्र दियो । विरामी पर्दा पनि तातो पानी खान दिने कोही नहुने यो परदेशमा यहि खान आएँछु भनेर आफूले आफैलाई धिक्कारें । डाको छाडेर रुन मन लाग्यो । रोएर पनि के गर्नु । भाषा त नबुझ्ने यो देशमा मेरो रुवाईको पीडा कसले बुझ्ने ? धन्न अंगे्रजी जान्ने भएकाले जेनतेन चलाएको छु ।

क्लिनिकले सरकारी अस्पताल जाउ भनेर पत्र दिएको एक हप्तापछि कम्पनीले सरकारी अस्पताल लग्यो । मलाई ज्वरो पनि अलि कम भैसकेको थियो । सरकारी अस्पतालमा मेरो उपचार सुरुवात देखि गरियो । अरु त सबै ठिकै थियो तर छातीको जाँचबाट मलाई निमोनिया भएको देखायो । म आत्तिएँ ।

एकछिन अघिको साधारण विरामी म असाधारण भैसकेको थिएँ । मलाई एम्बुलेन्समा हालेर अपरेशनको लागि लाने तयारी गरियो । मलाई एम्बुलेन्सको आवाज सुन्दा एकदमै डर लाग्छ । आफै एम्बुलेन्समा चढ्दा मलाई एम्बुलेन्समा भएको बिरामी कुर्न चढ्दै छु झै लाग्यो । म मानसिक रुपमा तन्दरुस्त थिए । मोवाइल निकालेर सेल्फी खिचें । आफ्नै अनुहार फिक्का देखें ।

मलाई एम्बुलेन्सबाट झर्न टेवल जस्तो राखिएको थियो ।  मलाई भित्र लगेर सामान्य प्राथमिक उपचार गरिँदै थियो । रोगले नदुखेपनि डाक्टरले मेरो शरीरमा पारेको ज्वाल देखेर आँङ जिरिङ गरिरहेको थियो । केहि समयपछि मलाई अस्पतालमा भर्ना गरियो । ईमरजेन्सी वार्डमा लगेर ‘रेड जोन’ एरियामा राखियो । घर परिवार, आफन्त सबैलाई सम्झिएँ । मन डराईरहेको थियो ।

एकछिनमा डाक्टर आएर इन्जेक्सन लगाइदिए । मलाई त्यहाँबाट तीन तला माथि लगियो । अस्पतालकै कपडा फेर्न लगाइयो । म अस्पतालको वातावरणले आफुलाई झनै विरामी भएको महशुस गर्दै थिएँ । मेरो अवस्थाको अनुसन्धान सुरु भयो । सिक्न आएका पढ्दै गरेका विद्यार्थीले मेरो बारेमा रिपोर्ट बनाए । उनीहरु मेरो भाषा बुझ्दैन थिए । कतिले सोधे तर कतिले त अनुहार हेरेरै रिपोर्ट बनाए ।

मलाई त्यहाँको गतिविधि देखेर साह्रै हाँस्न मन लागिरहेको थियो । नर्सहरु मलाई पुलुक्क हेरेर फटाफट मेरो बारेमा रिपोर्ट तयार पार्दै थिए । तर एक बचन पनि सोधेनन् । भाषाकै कारणले यो कष्ट भोग्नु परेको थियो ।

म उनीहरु गतिविधिलाई नियाल्दै थिएँ । एक जना नर्सले मलाई सोधिन अनि रिपोर्ट लेखिन् । आफूलाई भएको पीडा उसलाई सुनाउन पाएँ । जब उनीहरु रिपोर्ट बनाईसकेर फर्किए । त्यहाँ बिरामी कुरुवामात्र बाँकी थिए । निदाउने कोसिस गरें तर एकजना बिरामीले नै बेलाबेलामा कराएर निदाउन दिएनन् ।

मलाई खासै केहि भएको छैन झै लाग्थ्यो । अब त औषधीले पनि गलिसकेको थिएँ । शरीरभरि पारेका प्वालले साह्रै पीडा भइरहेको थियो । मलाई त्यो कराउने बिरामीले निदाउन दिदैनथ्यो । आमाको यादले साह्रै सताउँथ्यो । परदेशमा आउँदा सजाएका सपना सम्झन्थ्यें । अनि आफुलाई नियाल्थ्यें । सपना सबै सक्किए झैं लाग्थ्यो ।

आमा मेरो अगाडी भैदिए हुन्थ्यों झैं लाग्थ्यो । सोच्दासोच्दै औषधीले गर्दा होला निदाउथें । नर्सहरुले हात समातेर रगत निकाल्दा बिउझँदो रैछु । अस्पताल मसानघाट झैं लाग्थ्यो । अनि फेरि आमालाई सम्झिँदै निदाउँथें । 

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुर्घटनामा परि अंगभंग भएका कामदारले नेपालबाट क्षतिपूर्ति लिने तरीका। भिडियाे : सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (सिएमअाइअार)