MENU

मेरो कथा मेरो भोगाई

कतारको अवस्थाका बारेमा सरकार र दूतावासले अध्ययन गर्नुपर्ने बेला भएको छ

मधुविलास पण्डित/वैदेशिक रोजगार विज्ञ ।

लुटपाट, रिंगिटको अवमूल्यन लगायतका कारणले वैदेशिक रोजगारीको आकर्षक मलेसियाको गन्तव्य परिवर्तन भयो । नेपालीको रोजाइ साउदी अरब बन्न थाल्यो । केही वर्ष अघिसम्म नेपाली कामदार साउदी जान रुचाउँदैनथे । गएको वर्ष आर्थिक समस्या परेपछि फेरि नेपाली कामदार साउदी जान डराउन थाले ।

सन् २०२२ को विश्वकप फूटबल कतारले आयोजना गर्ने भएकाले पनि कतार नेपालीको रोजाइमा पर्‍यो । तर पछिल्लो समय कतारले आतंकवादलाई सहयोग गरेको भन्दै छिमेकी देशले कुटनैनिक सम्बन्ध तोडेपछि उनीहरुले कतारलाई नाकाबन्दी लगाएका छन् ।

यदि कतारमा लामो समय नाकावन्दी भयो भने नेपाली कामदारकोे गन्तव्य कहाँ हुने । सरकारले न आन्तरिक रोजगार वा स्वरोजगार बन्न सक्ने परिपाटीको व्यवस्था गरेको छ । न त नयाँ गन्तव्यको नै पहिचान गर्न सकेको छ । 

आर्थिक वर्ष २०५०/५१ देखि २०७३ साल पुस मसान्तसम्म नेपालबाट  श्रम स्वीकृति लिएर १२ लाख ९३ हजार ६ सय ६३ जना युवा कतार गएका छन् । जसमा १२ लाख ८३ हजार तीन सय ६ पुरुष रहेका छन भने १० हजार तीन सय ५७ महिला रहेका छन् ।

अहिले कतारमा झण्डै चार लाख ५० हजार नेपाली कार्यरत छन् । तर श्रम स्वीकृति विनै अवैधानिक  रुपमा कतारमा काम गर्ने नेपालीको संख्या पनि धेरै हुन सक्छ ।

नेपालको आफ्नै कुटनीतिक प्रयासले समस्याको समाधान गर्न नसके पनि कामदार पठाउने देश भएको नाताले यस्ता प्रकृतिका अन्य मुलुकसँगको साझेदारीमा कामदारको अधिकतम हक हितमा के गर्न सकिन्छ त्यस्तै काममा जनमत बनाउनु उत्तम हुन्छ । 

दोहामा भएको नेपाली राजदूतावासले पनि सुक्ष्म अध्ययन गरी नेपाल सरकारलाई सजग गराईराख्नु पर्छ । कतारमा अहिले राजदूत, काउन्सेलर श्रम र श्रम सहचारी भएको अवस्था छ । कर्मचारीको कारणले सूचना नपाउने वा अध्ययन नै गर्न नसकिने अवस्था छैन । कतारको अवस्था कस्तो हुँदै जान्छ त्यस अनुसार कतारको श्रम स्वीकृतिमा कडाई गर्ने, बन्द गर्ने या खुला नै राख्ने नीति सरकारले अख्तियार गर्नुपर्छ । 

हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने बानी त्याग्नु पर्छ । सरकार भन्दा व्यवसायीहरुको आवतजावत कतारमा बढी हुने भएकोले सरकारले समेत समय समयमा त्यहाँको अवस्थाको जानकारी लिनु राम्रो हुन्छ । नेपाली कामदारको हकहितमा अघि सर्ने एनआरएनए र अन्य संघसंस्थासंग सहयोग लिन र समन्वय गर्न सरकारले कन्जुस्याँई गर्नु हुँदैन । नेपाली कामदार विदेशमा असुरक्षित हुन नपरोस भन्ने कामना गर्दछु ।

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुर्घटनामा परि अंगभंग भएका कामदारले नेपालबाट क्षतिपूर्ति लिने तरीका। भिडियाे : सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (सिएमअाइअार)